पछिल्लो समय सामाजिक सञ्जालमा अनेकन मनगढन्ते तर्क/विर्तकले ढाकिएको छ। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका विषयमा आएका केही कुराबारे केही लेख्न मन लाग्यो।
केही दिनअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीप पक्राउ परेको विषयमा रोइलो चलेको थियो। अहिले फेरि अनुसन्धानकै क्रममा रहेको विषयमा जाहेरीवाला नाबालिग नभएको र उनकै आग्रहमा सन्दीप रातभर घुम्न गएका भन्दै सामाजिक सञ्जाल रंगिएका छन्।
सबैभन्दा हाँस्यास्पद विषय त एउटा मुलुकको नेतृत्व गर्ने जिम्मेवार खेलाडी विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुअगाडि बन्द प्रशिक्षण छाडेर रातभर घुम्नु र कुनै अर्को होटलमा बस्न जानु नै सबैभन्दा ठूलो गैरजिम्मेवारी हो।
खेलकुद र अनुशासन एक अर्काका पर्यायवाची हुन्। खेलाडीमा अनुशासन भएन भने त्यहाँ कुनै खेलले पनि सफलता हात पार्न सक्दैन। प्रारम्भीक रूपमा टोलीको नेतृत्व गर्ने खेलाडीले बन्द प्रशिक्षण छाडेर रातभर हिँड्नु नै गम्भीर गल्ती र अनुशासनहिनताको रूपमा प्रमाणित भइसकेको छ।
त्यसमाथि नाबालिगलाई ललाइफकाइ बलात्कार गरेका उजुरी दर्ता हुनु आफैंमा गम्भीर विषय हो। यहाँ ढाकछोप र मुलुकको प्रतिष्ठा जोडिएको विषय केही छैन।
सानै उमेरमा अन्तर्राष्ट्रिय जगतमा चम्किएका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीपकै कारण दुनियाँले नेपाल चिनेको भन्नु हाँस्यास्पद हुन्छ। सन्दीपभन्दा धेरै राम्रा स्पिनरहरू राज कुमार प्रधान, शक्ति गौचन, सन्जम रेग्मी अनी बसन्त रेग्मी थिए नेपालमा।
एक औसत खेलाडी जसले सानै उमेरमा राम्रो एक्सपोजर पाए। चर्चाको शिखरमा रहेर दुई चार वर्ष क्रिकेटबाट दाम र नाम कमाए। तर उनको छवि सचिन तेन्दुलकर र ब्रायन लारा अनि महेन्द्रसिंह धोनी र हरभजन सिहंको जस्तो पक्कै पनि होइन।
अब रह्यो कानुनी छुटको कुरा। उनी दोषी हुन् या होइनन्, त्यो अदालतले तय गर्ने कुरा हो। तर प्रहरीको प्रारम्भिक छानबिनमा उपलब्ध सबुत र प्रमाण उनको पक्षमा देखिएका छैनन्।
लागुपदार्थ सेवनमा पक्राउ परेका फुटबलर डियागो म्याराडोनालाई हतकडी मात्र लगाइएन, जेल हालियो। चर्चित मुक्केबाज माइक टाइसनमाथि सोही नीति अख्तियार गरियो।
तर सन्दीपको विषयलाई लिएर केहीको रोइलो बुझिनसक्नु छ। कानुन सबैका लागि समान हुन्छ र हुनुपर्छ पनि।
सन्दीपमाथि गम्भीर अपराधमा जाहेरी दर्ता हुनासाथ नेपाल फर्किएर छानबिनमा सहयोग गरेको भए सायद त्यसको अलग सहानुभूति बटुल्न सक्थे। तर उनी जसरी भागेर हिँडे त्यो उनको गल्ती थियो। नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा डिफ्यूजन नोटिससमेत जारी गर्नुपर्ने अवस्था उनले भित्र्याए।
हालै दिएको सन्दीपको पछिल्लो बयानले पनि उनको गल्ती या दोषको छनक देखिएको छ। सोमबार अदालतसामु दिएको उनको बयानले थप पुष्टि हुनसक्छ। उनले अदालतमा जोहरीवालाकै इच्छामा भेटेको भन्दै जाहेरीवाला नाबालिग नरहेको बयान दिएका छन्।
सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।
सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।
‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ। त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’
यो विषयमा अदालतले थप अनुसन्धान पक्कै गर्नेछ।
कुरो अनुशासन र खेलमा फर्कौं। यति बिघ्न उपद्रो भइसक्दा पनि नेपाल क्रिकेट संघ र यसका केही पदाधिकारी सन्दीपको बचाउमा लागेको देखिन्छ।
यसको आशय स्पष्ट छ- सन्दीप दोषी देखिए, क्रिकेट संघ पनि कारबाहीको भागिदार बन्नसक्छ। प्रहरीको छानबिन र अदालती प्रक्रिया चलिरहँदा क्रिकेट संघका अध्यक्ष लगायतका एक टोली सञ्चार माध्यममा सन्दीप निर्दोष रहेको दाबी गर्दै हिँडेका छन्।
यसको अर्थ बन्द प्रशिक्षणको अघिल्लो रात कप्तान होटलबाट गायब हुनु र यो घटना हुनुसँग जोडेर हेर्न सकिन्छ। व्यवस्थापक, प्रशिक्षकसहित बन्द प्रशिक्षणमा होटलमा रहेको टिमका कप्तान अचानक रातभर हिँड्ने छुट कसले दियो? यो गम्भीर विषयको उठान हुन सकेको छैन।
बन्द प्रशिक्षणका दौरान खेलाडीको सबै जिम्मेवारी क्यान व्यवस्थापनको हुन्छ। पारिवारिक कारणले खेलाडी बाहिर जान पनि अनुमति माग्नुपर्छ।
यस विषयमा खेलकुद मन्त्रालयले पनि छुट्टै छानबिन समिति बनाएर बन्द प्रशिक्षणमा रहेका कप्तान कसरी रातभर गायब भए वा छुट दिइयो भनेर छानबिन अगाडि बढाउनुपर्ने जरूरी देखिन्छ।
क्यानले व्यवस्थापनको विषयमा छानबिन गर्न सकिने बताए पनि अहिलेसम्म कुनै औपचारिक छानबिन समिति गठन गरेको छैन।