ललितपुर जिल्लाको दक्षिण पहाडी भूभागलाई म ललितपुरको कर्णाली भन्थेँ।
सुदूरपश्चिम र कर्णालीको यात्रापछि, अनि अलि पछिपछि हाम्रा नेताहरूले पनि यो 'ललितपुरको कर्णाली हो' भनेको सुनेँ। तर मैले भनेको कसैले सुनेनन् किनकी म नेता होइनI
ललितपुर भन्नेबित्तिक्कै सबैको सोच कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल अनि टाढा सोच्यो भने लुभु अनि चापागाउँसम्म सम्झिने चलन अहिले पनि छ।
अहिले पनि प्रश्न आउँछन्- ललितपुरमा पनि गाउँपालिका छ र? उपत्यकाका जिल्ला त गाउँपालिका मुक्त जिल्ला होइन र?
म स्वयंसँग यसको जवाफ छैन।
तर पनि कहिलेकाहीँ सोच्छु, बाजुराको कोल्टी, कालिकोटको रासकोट, दैलेखको दुल्लु, अछामको कमल बजार जस्ता धेरै नगरपालिका हुँदा ललितपुरका तीन गाउँपालिका किन नगरपालिका हुन सकेनन्?
यो प्रश्न गर्न मन नलागेको पक्कै होइन। तर गरेको छैन र अब गर्दिनँ पनिI
मैले जानेदेखि नै गोटीखेल बजार दक्षिण ललितपुरको एउटा ठूलो बजारका रूपमा थियो। गोटीखेल बजारस्थित महांकाल मावि हाम्रो विद्यालय। यो ललितपुरकै उत्कृष्ट विद्यालयका रूपमा चिनिन्थ्यो। दक्षिण ललितपुरका अधिकांश भूगोलको विद्यालय यही थियोI
मेरो सम्झनामा २०४४/२०४५ सालतिर गोटीखेल क्षेत्रमा मोटरबाटो पुगेको होI तर मोटर चढेर त्यो बाटो हुँदै उपत्यका छिर्ने अवसर मैले पाउन सकेको थिइनँ।
२०५५ सालतिर एकपटक दिदीसँग काठमाडौं छिर्ने अवसर प्राप्त गरेको थिएँ। लामो बसाइ नभएकाले साथीहरूलाई गफ लगाउनेसम्मको खासै सम्झना र कुरा केही भएन। तैपनि काठमाडौं नछिरेका साथीहरूलाई गाडी, मोटर, ट्याम्पो आदिको गफ सुनाउनुको मजा बेग्लै हुन्थ्यो। त्यो झिनो अनुभवमा हल्का थपेर, मिलाएर स्कुलको हाफटाइम बिताइन्थ्यो।
२०५७ सालमा एसएलसी उत्तीर्ण भएपछि वैधानिक रूपमै प्रस्थान गरियो काठमाडौं। काठमाडौंमा कलेज पढ्न सुरू भयो। विभिन्न जिल्लाका साथीहरूसँग चिनजान भयो। स्कुल पढ्दा सामाजिक शिक्षामा जिल्ला र सदरमुकामहरू बल्लबल्ल कण्ठ गरेको थिएँ। ती ठाउँका साथीहरू भेट्दा उनीहरूको घर जाने बाटो कस्तो होला, हाम्रो दक्षिण ललितपुर जाने जस्तै होला कि भन्नेजस्ता प्रश्नैप्रश्न मनमा आउँथ्यो। सोधौं कि भन्ने पनि हुन्थ्यो। तर साथीहरूले के भन्ने होलान् भनेर कहिलै सोधिनँI
प्रसंग निक्लिँदा साथीहरू 'हिजोको नाइटमा आको' भन्थे।
म सोच्थेँ, हिजो राति आएका होलान्!
अनि अंग्रेजी बोलेका साथीहरूले भन्ठान्थे- म विचरा!
कलेजमा विभिन्न जिल्लाका साथीहरूमध्ये दुई जना मेरा मिल्ने थिए। उनीहरू उमेरले अलि पाका भए पनि अति मिलनसार थिए।
एक जना गोरखाका अनि एक जना सिन्धुपाल्चोकका। हामी तिनै जना प्रायः शुक्रबार घर जान्थ्यौं। म बिहान उठेर कजेज नै हापेर घर जानका लागि चापागाउँमा गाडी कुर्न आउँथे। साथीहरू बिहान कलेज सकेर अनि घर जान्थे। उनीहरू समयमै घर पुगेर आइतबार पनि दिउँसोको प्राक्टिकल कक्षा भ्याउँथे। म भने न शुक्रबार समयमा घर पुग्ने ठेगान हुन्थ्यो न आइतबारको कक्षा भ्याउने कुनै टुंगो हुन्थ्यो।
म ललितपुर जिल्लाबासी भएर पनि हप्तामा दुई दिन कलेज छाड्नुपर्ने!
एक जना साथी रौतहटका थिए। गफ राम्रै गर्थे। उमेरले मभन्दा केही कम। गफ भने मेरो उचाइभन्दा माथि नै पुर्याउन खोज्थे। तर पनि मेरो मिल्ने साथी उनी। उनको हिरो साइकल थियो।
कहिलेकाहीँ म 'मलाई पनि साइकल चडाउनु न' भन्थेँ।
उनी 'दुई जनामा चलाउन सक्दिनँ, तपाईं चलाउनुहोस्, म पछाडि बस्छु' भन्थे।
म 'हस' भन्थेँ।
अनि साइकलको ड्राइभर बन्थेँ। त्यो गजबको अनुभव थियो।
ती साथी कहिलेकाहीँ मात्र घर जान्थे। कुनै पर्व वा उत्सव आदिमा मात्र। काठमाडौं फर्किएपछि बसको सिटको तारिफ, बसमा बजेको गाना, बसमा हेरेको फिलिम, केके हो केके सुनाउँथे।
आफू घर जाँदा आउँदा दूधको क्यान माथि मिनिटाटा चढेको कहानी कसरी सुनाउनु मैले?
कहिल्यै सुनाइनँ। अनि उनीबाट नाइट बस भनेको के रहेछ भन्ने कुरा बल्ल बुझ्दै गएँ। नबुझेजस्तो भने कहिल्यै गरिनँ।
२०५९ साल मंसिरतिर लगभग कलेजको पढाइ सकेर ओजेटी गर्नुपर्ने थियो। ओजेटीका लागि एउटा प्राइभेट कन्सलटेन्सीमा काम गर्ने अवसर पाएँ। काम सिक्ने अवसर र जागिर पनि!
यसरी हेर्दाहेर्दै जागिर खाने पो भैयो!
एकदिन अफिस पुग्नेबित्तिकै हाकिम साबले उनको कोठामा बोलाए।
मलाई रूपन्देही जिल्लामा एउटा प्रोजेक्टमा काम गर्न जान भने।
'भोलिको नाइट बसमा जानू' भने।
मैले केही नसोची 'हस्' भनेँ।
मेरो खुसीको कुनै सीमा रहेन। घरमा सम्पर्क गरेर म रूपन्देही जाँदैछु भनेर भन्न अहिलेजस्तो मोबाइलको जमाना थिएन। त्यसैले घरमा कुनै खबरै नगरी म भोलिपल्टको यात्राको तयारीमा लागेँ।
अफिसले भोलिपल्ट साँझ ५ बजेको नाइट बसको टिकट थमाइदिएको थियो। सम्पूर्ण जानकारी लिएर झोला बोकेर नाइट बसको सपना देख्दै कोठामा आइपुगेँ। दाइहरू अनि घरबेटी दिदीहरूसँग भोलिको यात्राको विषयमा कुरो गरेँ।
तर उहाँहरूले त 'एक्लै जान लागेको, समय ठीक छैन, माओवादीको बिगबिगी छ, कस्तो ठाउँ हो, बुझेर जानुपर्ने, यहीँ ललितपुरमा त यस्तो छ' भन्दै केके हो केके भन्नुभयो।
मैले सुनेँ मात्र। के गर्नु, भोलिको टिकट छ। गोजीमा पेस्की छ। जानुको विकल्प नै छैन। मैले जाने निधो गरिसकेको हुँदा मैले उहाँहरूको कुरो मात्र सुनेँ मात्र। कुनै जवाफ दिइनँ।
आफ्नो भने काठमाडौं उपत्यका छाड्ने, नाइट बस चढ्ने सपना पूरा हुँदै थियो।
दिउँसो दुई बजेतिरै मामाका छोरा, एक जना दाइलाई साथी लिएर बसपार्क गएँ। बस छुट्ने समय ५ बजे भएकाले तीन घन्टा बसपार्कका सबै पसल र पूर्वदेखि पश्चिमसम्म जाने सबै बसको बाहिर-भित्र अवलोकन गरेँ। जीवनमा पहिलो पटक यति धेरै बस देखेको थिएँ। ओहो, यति ठूला बस!
लगभग ५ बज्नै लागेको थियो। टिकट हेर्दै बस खोजेँ। भैरहवा जाने बस फेला पारेँ। मेरो सिट ड्राइभर पछाडिको झ्यालको थियो। तर मेरो सिटमा एक जना भारतीय नागरिक बसेका थिए।
मैले 'यो त मेरो सिट हो' भनेको, उनले अलि लामै प्रवचन दिए। के भने, मैले केही बुझिनँ।
अनि म बसका ड्राइभर खोज्न थालेँ। मलाई बसमा कन्डक्टर पनि हुन्छन् भन्ने कुरो थाहै थिएन। ड्राइभरलाई भेटेर मेरो गुनासो राखेँ। उनले कन्डक्टरलाई भन्नु न भनेर पन्छिए।
मैले सोचेँ- समस्याको अब कुनै समाधान छैनI
तैपनि एकपटक कन्डक्टरलाई गुनासो पोखूँ न त भनेर उनलाई भेटेँ।
उनले ती भारतीय तिर्थारू भएकाले अगाडिको सिट दिएको सुनाए।
अनि उनले 'पछाडिका सबै सिट खाली छन्, तपाईं हामी सँगै बसम्ला, बाटोमा स्टाफ खाना खुवाउँछु। तपाईं चिन्तै नगरी लास्ट सिटमा गएर बस्नुस्' भने।
मेरो खुसीको सीमा नै रहेन। आफू घर जाँदा-आउँदा दूधको क्यान माथि मिनीटाटा चढेको बानी! बसको लास्ट सिट पनि घरबेटी दिदीको सोफाभन्दा लचकदार थियो। मैले कुनै गुनासो गरिनँ।
अनि ५ बजेको बस भए पनि बसपार्कबाट छुट्दा लगभग ६ बजिसकेको थियो। मामाका छोरासँग बिदाबारी भएर भैरहवाको यात्रा सुरू भयो।
मनमा एक किसिमको खुसी थियो। एक किसिमको डर पनि। घरमा कुनै खबर नै छैन। यदि यो बस दुर्घटना भयो भने मेरो परिवारले पत्तो नै पाउँदैन होला। रेडियो नेपालको समाचार सुने भने त हो, नत्र थाहै पाउँदैनन्!
यस्तै सोच्दै थिएँ।
बसको अघिल्तिर ढोकामाथि टिभीमा फिल्म चल्न थाल्यो। तर हिन्दी फिल्म भएकाले मालाई खासै हेर्ने मन भएन।
जीवनको पहिलो लामो बस यात्रामा म थानकोट नकाट्दै निदाएछु। बस धार्केमा रोकिएछ। म निदाइरहेको थिएँ। एक जना आएर 'दाइ उठ्नुस्, नास्ता गर्न जाऔं' भने।
तिनै कन्डक्टर दाजु रहेछन्। उनले सँगै बसालेर नास्ता गराए। नास्तासँगै एउटा भोड्का पनि मगाए।
'लिनु हुन्छ' भनेर मलाई पनि सोधे।
मैले लिन्नँ भनेँ।
उनले सायद तीन घुट्कीमा सके। अनि जाऔं भने।
मैले पैसा भनेको त उनले 'दाजु भएपछि के चिन्ता' भने।
अनि मैले रक्सी खाने नै भए पनि दाजु चाहिँ गजबकै भेटेछु भन्ठानेँ।
म फेरि लास्ट सिटमा गएर बसेँ। दाजु कहिले लास्ट सिटमा त कहिले ढोकामा ओहोरदोहोर गरिरहन्थे। म भने फेरि भुसुक्कै निदाएछु।
लगभग ११ बजेतिर अघि जस्तै 'दाइ उठ्नुस्, खाना खान जाऔं' भनेर तिनै कन्डक्टर दाजुले बोलाए।
म बिस्तारै उनलाई पछ्याउँदै होटलभित्र छिरेँ। बसचालक, कन्डक्टर, बसका सहयोगी अर्का भाइ अनि म।
खाना खान सुरू गरेको, ससुराली गएको ज्वाइँलाई भन्दा मानसम्मान हुने रहेछ। जे खाए पनि 'फ्री'।
बल्ल स्टाफ खाना भनेको यो रहेछ भन्ने थाहा पाएँ।
११ बजे राति दुई निद्रापछि भात खाएको। यो मेरो पहिलो अनुभव थियो, राजमार्गको भात! मिठो थियो।
खाना खाइसकेपछि पुनः रात्रि बसको यात्रा सुरू भयो।
बस नारायणघाटको पुल तर्दासम्म ननिदाइ यात्रा गरेँ। पुल पार गरिसकेपछि त उही हो। फेरि निद्रादेवीको काखमा रमाएँ। रातिको यात्रामा कहाँ पुगियो, पत्तो नहुने हुँदा निदाउनु नै उपयुक्त लाग्यो।
भैरहवा पुग्न निकै छिटो हुने भएकाले बस दुम्कीबासमा बस्ने चलन रहेछ। सोहीअनुसार बस बिहान २ बजेसम्म त्यहीँ बस्दो रहेछ।
म मस्त निद्रामा थिएँ। बाहिरबाट 'चिया तातो तातो' भनेको आवाजले ब्युँझिएँ।
घडी हेरेको १:३० भएको रहेछ। कोही यात्रु मस्त निद्रामा थिए। कोही चिया खाइरहेका थिए।
म पनि बसबाट तल ओर्लिएँ। दायाँबायाँ हेरेँ। हिजो स्टाफ खाना खुवाउने दाजु नजिकैको एउटा चिया पसलमा चिया खाइरहेका थिए। उनले 'चिया खाऔं' भनेनन्। मैले आफैं चिया मगाएँ।
कन्डक्टर दाजुले त्यहाँ पैसा तिरेर चिया खाँदा रहेछन्। त्यसैले होला, मेरो चियाको पैसा तिरेनन्।
मैले सोचेँ, स्टाफ खाना भनेको पैसा नतिरी खाने खाना रहेछ! पैसा तिर्नुपर्ने ठाउँमा कन्डक्टरहरूले अरूको ५ रूपैयाँ पनि नतिर्ने रहेछन्!
म पैसा तिरेर बस चढेँ। २ बजेपछि दुम्कीबासबाट बसहरू धमाधम छुट्न थाले। हाम्रो बस पनि अघि बढ्न लाग्यो।
मैले कन्डक्टर दाजुलाई सोधेँ, 'दाजु अब कति समयमा पुग्छ भैरहवा?'
उनले त्यस्तै ५ बजे भने।
मैले मलाई रेसुंगा होटलमा ओरालिदिनू होला है भनेँ।
उनले हुन्छ भने।
बस दाउन्नेको उकालो पार गरेर ओरालो लागिसकेको थियो। म फेरि भुसुक्कै निदाएछु।
एक्कासि 'दाइ, तपाईंको झर्ने ठाउँ आइपुग्यो' भनेर कन्डक्टर दाजुले बोलाए।
म ओर्लिएँ। बिहानको ५ बज्नै लागेको थियो। उज्यालो भने प्रस्ट भएको थिएन।
दायाँबायाँ हेरेँ। पूरै अन्धकार थियो। मैले होटल रेसुंगा खोजेँ। अँध्यारोले देखिनँ। नजिकै एउटा सालिक रहेछ, कुन्नि कसको थियो। त्यो ख्याल गरिनँ। सालिकको छेउमा गएर बसेँ। त्यही सालिकमा पनि निदाउन बाँकी राखिनँ।
एकछिन झुमेँ। ब्युँझिँदा उज्यालो भइसकेको थियो। ६ बजिसकेको रहेछ। दायाँबायाँ फेरि हेरेर होटल रेसुंगा खोजेँ। ठ्याक्कै सालिककै अगाडि रहेछ। अहिलेजस्तो मोबाइल फोन नभएकाले फोन गर्न सकिएन। ७ बजेसम्म होटल खुल्ने प्रतीक्षामा कुरिरहेँ।
७ बजे बल्ल होटल खुल्यो। म सरासर होटलमा गएँ।
हाम्रा सरहरू पनि त्यहीँ हुनु हुँदो रहेछ। सबैसँग भेट भयो। सँगै चिया खाइयो। अनि काममा लागियो।
पहिलोपटक उपत्यका छाडेर बाहिर निस्केकोमा म दंग थिएँ।