धानका पहेंला बालाहरू लहलह झुलेर मुसुक्क हाँस्दै चिसो सिरेटोको मिठासले जब हृदयलाई चसक्क छुन थाल्थ्यो तब बल्ल देउरालीबाट दसैं चियाउँथ्यो।
असत्यमाथि सत्यको विजय हुन्छ भन्ने विश्वासमा सम्पूर्ण चराचर जगतले नै उत्साहित भएर वातावरणमा नौलो आल्लाद फैल्याउँथे।
शरद ॠतुको खुला निलो आकाशबाट सेता बादलहरूले आस्था र विश्वासको आँखा उघार्दा धर्तीबाट गगनतिर उड्दै गरेका रङ्गीविरङ्गी चङ्गाहरू पिठ्यूँमा खुसीको मञ्जूषा बोकेर बहेली खेलेको देखेर प्रकृति अत्यन्त खुसी हुँदा आँगनभरि पारिजातको फूल बर्सिन थाल्दा हाम्रो गाउँमा टुप्लुक्क दसैं आइपुग्थ्यो।
कमेरो माटोको सुगन्धले गाउँ नै गम्किएको हुन्थ्यो। घरदेखि चौतारोसम्मको सरसफाइ र लिपपोतले दसैंलाई हृदयबाटै स्वागत गर्थ्यो। दसैंको स्वागतमा पिसान र कुटानको चटारोले मिलको धड्कन जोडजोडले धड्किन्थ्यो।
घरका भित्ताहरूले रातो किनारा भएको सेतो सारी लगाएर बेहुलीझैं सजिएर हाँस्दा काठका ठूला घरहरूले कर्के नजर लगाएर हेर्थे। लाहुर गएका कान्छाहरू टिनको बाकसमा खुसीको अत्तर बोकेर गाउँ फर्किएपछि टोलै थर्किने गरी दसैं कराउँथ्यो। परदेशी छोराहरूको राप र ताप पाएर कृशकाया शरीरहरू पनि जुरुक्क उठेर मालश्री धुन गुनगुनाउन थाल्थे। मालाश्री धुनको सुर र संगीतमा वृद्ध बाआमाहरूमा पनि सोह्र बर्से जवानी चढ्थ्यो।
बगैंचामा लटरम्म फलेका अम्बा, सीताफल, बोटमै पाकेर पट्ट फुटेको आँटी, कान्लाभरि लरबर फलेका बोडी, पहेंलपुर भएर पाकेका केराहरूले दसैंलाई मीठो उपहार दिन कम्मर कस्थ्यो।
हरियो गोबरले लिपेर सफा र स्वच्छ पारेको आँगनमा घटस्थापनाको दिन ढोलक, दमाह, ट्याम्को, झ्याली र कर्नालको आवाजसँगै जस्केलोमा दसैंले पाइलो टेक्दा खुसीको मापन नै गर्न सकिँदैथ्यो। बेली, चमेली र पारिजातको सुगन्धले गाउँभरि अलौकिक सुवास छरेर वातावरणलाई रोमान्चित पारिदिँदा तत्थर भएको मन पनि पग्लिएर कंचन बन्थ्यो।
चिउरा कुट्न दुई दिन अगाडिदेखि भिजाएर ठीक्क पारेकोको धानलाई पानीबाट तारेर ओभानो पारेर ढिकीको वरिपरि चम्कामा (तीन वटा ढुङ्गालाई तीनतिर राखेर बनाएको चुलो) हाँडी बसालेर दाबिलोले भुटेरको धानको घान ढिकीमा हालेर डङ्ङङ् कुटेको आवाज र चिउराको सुगन्धले ब्रम्हमूर्तमै गाउँभरि दसैंको रौनक सुनिथ्यो।
आँगनमा झिल्के दाइले लुगा छेक्न आउँदा हामी भुरा खुसीले उफ्रेर उत्पातै हुन्थ्यौं। सुनिता, मनिता, कुन्ता र अनिता सबैका लुगा प्रायः नाम जस्तै उस्तै हुन्थे। लुगा सिलाएर नसकुन्जेल दिनको तीन चार पटक झिल्के दाइको आँगन टेकेकै हुन्थ्यौं। कहिले लुगा तयार होला भन्ने चिन्ताले राति ओल्टेकोल्टे फेर्दै निन्द्रा खल्बल्याउँथ्यौं। नीता दिदी त झन् पोस्टकार्ड देखाएर नायिकाले लगाएको जस्तै लुगाको नमूना देखाएर झिक्के दाइलाई हैरान नै पार्थी। विचरा झिक्के दाइ श्रीदेवीले लगाएको डिजाइनर लुगा दुरूस्त पार्ने कोसिस गर्थे। प्रायः हामी दिनको एकपटक झिल्के दाइले श्रीदेवीको जस्तो लुगा पारेकी पारेनन् भन्दै चियाउन जान्थ्यौं।
खले गराको बिच्चको धान काटेर पल्लोपटी पाँजा पसारेपछि धानका बुट्यानलाई सिनित्त पारेर पिङ हाल्न बाँसको लिंगो गाडिन्थ्यो। शिखरको फेदीबाट काटेर ल्याएको खरको डोरी बाट्न लामबद्ध भएका महिला पुरूषको उन्मुक्त हाँसो कैयौं दिनसम्म पोखिन्थ्यो।
उत्साह र उमंगको वातावरणले बालक, जवान र वृद्ध सबै उमेर समूहलाई ऊर्जा संप्रेषित गर्थ्यो।
डोरी बाटेर ठिक्क भएपछि लिङ्गोमा डोरी झुन्ड्याउनुअघि डोरी बलियो छ कि छैन भनेर जाँच्न एउटा खेल खेलिन्थ्यो। त्यो खेलमा ( बाटेको डोरी) बरालाई एकातिर महिला र अर्कोतिर पुरूष भएर तान्ने परम्परा थियो।
जसलाई बराहा तान्ने भनिथ्यो। यो खेल निकै हर्सोल्लासका साथ सम्पन्न हुन्थ्यो।
ओहो! कम्ता रमाइला थिएनन् ती दिनहरू। हामी भुराहरू सोहोरिएर कहिले यता कहिले उता खुर्मुरिन्थ्यौं। हा:हा र हू: हू सँगै दोहोरीको संगीत घन्किन्थ्यो। साँच्चै बाल्यकालको त्यो दसैं जीवन्त रहेछ र त सम्झनाहरू हुरूरू आइरहेका छन्।
घटस्थापनाको दिन जमरा राख्दै नवदुर्गा भवानीको पूजापाठ धुमधामले आरम्भ गरिन्थ्यो। जमरा राख्न साइलो बुवा चण्डीको किताब बोक्दै आउँदा मैले पूजा भाँडा र फूल टिपेर ठिक्क पारिदिन्थे।
घटस्थापनाको दिन बिहानै घरभरिका हतियारहरू (खुकुरी, तरवार, खुँडा, चुलेसी) अर्जापेर आरनमा बस्ने माइला दाइ टुप्लुक आइपुग्नु हुन्थ्यो। जमरा राख्ने दिन बिहानै दर्नाल दाइले कर्नाल बजाउँदा आँखा मिच्दै अचम्म मानेर कर्नालको मुख भएतिर घोप्टो परिपरि निहुँरिएर हेर्थ्यौं।
दर्नाल दाइभन्दा ठूलो हुन्थ्यो कर्नाल, जताजता कर्नाल बजाउँदै हिँड्थे दाइ हामी पनि पछि लाग्थ्यौं। कसरी यस्तो ठूलो आवाज आयो होला भन्दै अनुसन्धान गर्न थाल्थ्यौं। चिने भन्थी ‘त्यहाँभित्र मान्छेको नली खुट्टाको हड्डी नदेख्ने गरी राखेको हुन्छ नत्र जाबो ड्वाङ्ग्रोबाट यत्रो आवाज कहीँ आउँछ।’ पत्याएर हामी डरले लुगलुग काम्थ्यौं। अहिले पो थाहा पाएँ। तमाम डरलाग्दो आवाज त हामी भित्रै पो हुने रहेछ। किन नलिखुट्टो चाहियो! आफूलाई सुन्न जाने ब्रह्माण्डका सम्पूर्ण आवाज त आफैंमा पो समाहित रहेछ।
प्रायः दसैंको छैठौं दिन हाम्रो घरमा आशीर्वादको ठूलो खजाना बोकेर हजुरआमा जनकपुरबाट आउनु हुन्थ्यो। हजुरआमा आउने खबर गाउँभरि फैलिएर हल्लिखल्ली भैसकेको हुन्थ्यो। भोलि कहिले होला भन्दै रात काट्थें म।
हजुरआमा आउने खुसीले आँखाहरू बिहानदेखि नै खोलाको डिलतिर बटारिन्थें। जब हजुरआमाको सेतो भद्र आकृति कमलाको डिलमा झुलुक्क झुल्किन्थ्यो चप्पलै नलगाई बेतोडले खोलातिर दगुर्थें म।
साइलो बुवा, हजुरआमा र सामान बोक्ने मान्छेको झुन्डलाई जतिजति नजिक पाउँथें मेरो खुसी पोखिएर उत्पातै हुन्थ्यो।
हजुरआमाको हातमा सधैं एउटा गुलाफी रङ्गको बास्केट हुन्थ्यो। जनकपुरबाट आउँदा राम्रा लुगा, मीठा पापा र कोसेली ल्याइदिने मेरी प्यारी हजुरआमा। हजुरआमाको नजिकै पुगेपछि जानकी मन्दिरबाट ल्याएको सेता रामदाना हातमा राखिदिँदा सिंगान चुहाउँदै मुख मिठ्याएर हातले सकिनसकी त्यो बास्केट बोकेर हिँड्दा कैयौं पटक लर्बराएको थिएँ लिडेखोल्सोमा।
घर पुग्दा हजुरआमाको दर्शन गर्न आँगनमा भिड जम्मा भैसकेको हुन्थ्यो। हजुरआमाको आगमनले हाम्रो घर त के पूरा गाउँ नै उज्यालिएको हुन्थ्यो। भेट्न आउने इष्टमित्रहरू खाली हात कोही आउँदैनन् थिए। दही, दुध, कुरौनी, अम्बा, मेवा, केरा, आँटी, सीताफल र तरकारीहरूको बजार नै लाग्थ्यो घरमा।
सप्तमीको दिन सातओटी, अष्टमीको दिन आठओटी र नवमीको दिन नौओटी कन्यालाई हजुरआमाले लहरै राखेर गोडा धोएर देवी मान्दै पूजा गर्दा आफूभित्र त्यो अपार शक्ति आएको आभास हुन्थ्यो अनि महिषाशुरलाई मार्न पो सक्छु कि जस्तो लाग्थ्यो। मीठोमीठो खाना र दक्षिणा पाएर हामी कम्ता मख्ख पर्थ्यौं!
घरको दलानमा पनि सानो पिङ हालेको हुन्थ्यो प्रायः पिङमै झुलिरहन्थें म। ओर्याई पनि कति आको कति बोडी र केरालाई पिङभन्दा ठ्याक्कै अगाडिको दलिनमा झुन्ड्याएर राख्थें। अनि पिङमा मच्चिँदै गएर त्यो झुन्ड्याएको केरा र बोडी खान कोसिस गर्थें। कहिले नाकै भाँचिने गरी खुर्मुरिन्थें कहिले खान सफल पनि हुन्थें।
सप्तमीको दिन स्नान नगरे सुंगुर हुने, अष्टमीको दिन स्नान नगरे राँगो र नवमीको दिन स्नान नगरे बोको भइन्छ भन्ने हामीलाई डर देखाइएको थियो। अनि डरले थरथर हुँदै हरेक दिन खोलामा डुबुल्की मार्थ्यौं। खले गरा, मटेरी र चौतारा सबैतिर पिङ हालेको हुन्थ्यो। हामी भुराहरूलाई खाने, लाउने र गाउँ डुल्दै हिँडेर सबैतिरको पिङमा मच्चिन भ्याइनभ्याई हुन्थ्यो।
एक पटक ईश्वरीको हात मच्चिएर माथि पुगेको पिङबाट खुस्किँदा मटेरी खोल्सामा झरेकी थिई। ईश्वरी झरेपछि मेरो हात पनि पिङको लठारोबाट फुत्केर काम्रो समाउन पुगेको थियो। निकैबेर काम्रो समातेर लतारिँदै अर्धचेत जस्तै भएर बाँचेको थिएँ। धन्न ईश्वरीलाई ईश्वरले नै बचाए। आज पनि पिङमा मच्चिएर आकाश छुन लागेका जोडी देख्दा झसंग हुन्छु।
झिल्के दाइले सिलाएर ल्याएको लुगा टीकाको दिन लगाउन कम्ता हतार हुँदैनथ्यो। नयाँ लुगाबाट एक किसिमको बास्ना ह्वास्स आउँथ्यो। मलाई त्यो बास्ना अघोर मन पर्थ्यो र बेला-बेला सुँघ्न जान्थें।
दशमीको दिन गाउँभरिका भुराहरू गुटुटु कमला खोलातिर नयाँ लुगा काखी च्याप्दै ताँती लागेर जान्थ्यौं। टीका लगाएपछि गोजीभरि पैसा कोचेरेर, पेटभरि खाएर पिङमा दिनभरि झुत्ती खेल्दै दिन बिताउँथ्यौं। टीकाको दिन ढल्दै गएपछि झमक्क साँझमा आमाहरू अक्षता र जमराले पिङलाई पूजा गरेर एक दिन भए पनि धर्ती छोड्नु पर्छ भन्दै पिङमा मच्चिनु हुन्थ्यो। आमाहरूले त्यसरी पिङ खेलेको ख्याल रमाइलो लाग्दैनथ्यो।
मासुको गन्धले गाउँनै अघाएको हुन्थ्यो। म कस्तो अचम्मको थिएँ भने दसैंभरि मासु नै नखाने। खसी काटेको, मासु पकाएको देखेर अघाउँथें। थोरै खसीको मासु खाए पनि बान्ता गर्थें अनि आमा र हजुर आमाले खाने बोडीको तरकारी, दही र दाल खान्थें। ठूली फूपुले कसौडीमा पकाएको बोडी, दरसहितको दही, काँक्रोको खल्पी आहा! आज सम्झँदा मुखबाट पानी आउँछ।
आमालाई दिनभरि दसैंको चटारोले सास फेर्ने फुर्सद हुँदैन थियो। जिम्मेवारीको पहाड फोडेर पनि साँझ हामीलाई दुनाभरि सिक्का दिएर घप्पु र जुटपत्ति खेलाउनु हुन्थ्यो। अलि बुझ्ने भएपछि घरमा दिदी भिनाजुहरूसँग किट्टी र फलास खेल्न थाल्यौं। फलास खेल्दा ब्ल्याइन्ड खेलेर ठूलो भिनाजुले धुरूक्क पार्नु हुन्थ्यो। सीमित पैसामा लामो समय फलास खेल्ने सपना ब्ल्याइण्ड खेलिदिएर चकनाचुर पारिदिँदा ठूलो भिनाजुदेखि उखुम रिस उठ्थ्यो। बल्लबल्ल टीका लगाएर पाएको पैसा जम्मै हारेपछि रूँदै उठ्थ्यौं। अन्तिममा भिनाजुलाई जितेको जम्मै पैसा फिर्ता दिन विवश पारिदिन्थ्यौं।
एसएलसी दिएपछि दसैंमा म्यारिज खेल्न कृष्ण दाइले सिकाउनु भयो। सुरू-सुरूमा त सपनामा पनि हातभरि तास बोकेर हात गलेको मात्र देख्थें। बाल्यकालको दसैंका तमाम सम्झनाहरूले आज पनि मलाई रोमान्चित पार्छ।
जीवनरूपी पहाड उक्लिने क्रममा, सुख, दु:खका कैयौं चौतारीहरू आए गए। हिजोभन्दा आज, आजभन्दा भोलि रमाइलो लाग्नुपर्ने हो नि तर खोइ किन हो किन त्यो बालापन नै रमाइलो लाग्छ।
बिस्तारै म पनि आमा भएँ। त्यो उल्लासमय दसैंलाई जिम्मेवारी र कर्तव्यले गिजोल्न थाल्यो। आज पनि भूतको दसैंले वर्तमानको दसैंलाई सदैव ऊर्जा प्रदान गर्छ। जब-जब छोरीहरू काठमाडौंको घरमा ग्याजेटमा सीमित भएर खुम्चिँदै रमाउँछन् मलाई मेरो दसैं याद आउँछ।
मार्बल ठोकेको घरमा तलमाथि गर्दा होस् या इन्डक्सनमा खाना बनाउँदा याद त मलाई त्यही धुवाँ र धुलोकै आउँछ।