'ओई केटी सन्चै छेस्, के छ हल्ली चल्ली? लेखहरू त खत्तरा खत्तरा आइरहेका छन् त आजभोलि। के हो प्रेममा निकै गहिरो घाउ लाग्ने गरी बिछोडिनु पर्यो कि क्या हो ? कहिले रोमान्टिक लेख, कहिले बिछोड त कहिले कामुकले भरिएको आउँछ त?
अनि तँ मान्छे चाहिँ कडै हो क्या.. आफ्नै लभ स्टोरी लेख्दिनी!'
फेसबुकमा मेरो स्कुल पढ्दाको एकदमै नजिकको साथीले भनी।
मैले प्रयोग गर्ने मेरो सामाजिक सञ्जालका प्रत्येक भित्तामा यस्ता प्रतिक्रिया नआएका भने होइनन्।
मैले यस्ता कुरालाई खासै वास्ता गर्दिन्थें। तर मेरो एकदमै नजिक भएकी आत्मीय साथीले सोधेको भएर यो लेख लेख्न बाध्य भएँ।
सेतोपाटीमा मेरो केही प्रेम सम्बन्धका लेखहरू प्रकाशित भएका थिए।
...त्यसपछि उनको नम्बर ब्लक लिस्टमा!
नगरकोटको त्यो एक रात
जुन प्रेमका लागि मैले घर छाडेको थिएँ...!
बस् अमेरिका पुग्ने धोको!
सरी माया, बिहे गर्न नसके पनि सधैंभरि साथी भएर बसौं न हुन्न!
यी सबै प्रेमसँग सम्बन्धित लेख थिए। यी लेख मैले यही आधुनिक परिवेशको बदलिँदो समाजभित्र नै भैराखेका घटनालाई समेटेर मात्रै लेखेकी थिएँ।
सबैले आफ्नो आफ्नो ठाउँबाट बुझिदिनु भयो। धेरै धेरै आभारी छु मेरा शुभचिन्तकहरूप्रति।
अरू पनि यस्तै केही म्यासेजहरू आएका थिए। मैले सामान्य रूपमा लिएँ।
अर्का एक जना मेरो भूपू प्रेमीले पनि म्यासेज गरे, 'राइटर बन्न खोज्दै छौ कि क्या हो कान्छी! मिठा शब्द हाल्छौ त, कि भाइरल हुन खोज्दैछौ ?, बा-आमा त पढे लेखे नहोलान् थाहा नपाउलान् छोरीले लेखेको। दिदी-बहिनी, नाता-गोता होलान् नि यस्तो नि लेख्छन्?' उनले प्रश्न नै खडा गरे।
मेरा सहकर्मी मित्र साथीले पनि 'प्रकृतिको कुरा लेख्नु न मिस किन सधैं प्रेम, शरीरको मात्रै नितान्त कुरा लेख्नु हुन्छ। साहित्यमा यही मात्रै पर्छन् र? तपाईं हामीसँगै काम गर्ने साथी युट्युबतिर तपाईंको फोटोसहित तपाईंका लेख पढेर भ्युज कमाएका छन् यस्ता प्रेमील कुराभन्दा अरू विषयमा जोड दिनुस् न।' सुझाव दिन समेत भ्याए।
म जवाफ फर्काउन नसकेर अक्क न वक्क भएँ। मौनता आफैंमा ठूलो जवाफ हो, हर सवालको जवाफ दिन आवश्यक हुँदैन भन्ने सोचें।
उनीहरूको सोचाइ सानो हो वा मेरो सोचाइ धेरै नै ठूलो भएको हो। प्रेमका विषयमा लेख्दा कसैको चरित्रमाथि नै औंला उठाएर बोल्नुपर्छ र? सोच्नुस् त एकचोटि फूलहरू नफुल्ने भए, धूनहरू नहुने भए जीवन कति निराश हुन्थ्यो होला।
सायद जीवनमा प्रेम सबैले गरेकै होलान्। मैले पनि त्यही प्रेम गरेको थिएँ। तर मैले मेरो प्रेमलाई छोड्न पर्यो।
मेरा प्रिय पात्रहरू..
मेरो प्रेम र यी लेखबीच कुनै सम्बन्ध छैन। भावनामा डुबेर शब्दका छालहरू व्यक्त गरेकी हुँ, यसमा अरू कुनै दिलचस्पी छैन।
मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र विषय हुन्छन्। आफ्नो मनको भाव अरूको सामुन्ने व्यक्त गर्न थाल्छ। मनको भाव बोलेर व्यक्त गरिन्छ कि त लेखेर।
बोलेरभन्दा लेखेर व्यक्त गरिएको भाव मिठो हुन्छ। रचनाको लागि चाहिने मूल तत्व भनेको भाषा नै होला। सौन्दर्यले भरिएका शब्दले लेखलाई राम्रो बनाउँछ भन्ने सोचेर लेख लेखेकी हुन्छु।
यस्तै, साना साना लेखबाटै साहित्य यात्रा सुरू गरौंला भन्ने सोचेकी थिएँ। तर यहाँ त ठिक विपरीत भैदियो। खुट्टा तान्नेहरूको त लाइन नै लाग्यो। विज्ञानमा न्युटनको परिभाषा भने जस्तो प्रेमको आफ्नै परिभाषा नभएको भएर होला जसलाई जसरी मन लाग्यो त्यसरी नै परिभाषित गरिदिएका छन्।
अलि अलि साहित्य, थोरै भोगाइ, धेरै देखिएको भरमा प्रेमको भावलाई जोडेर एउटा सानो लेख तयार गरेकी हुँ साहित्यका शब्द प्राय: काल्पनिक हुने गर्छन्। समाचार लेखेजस्तो '६ क' को उत्तर पनि त समेट्नु पर्दैन।
साहित्यका आफ्नै विधा होलान्, गहकिला शब्द होलान्, सायद मेरो अध्ययन कम भएर होला मेरो लेखाइ कम भएको। तपाईंहरू प्रतिक्रिया दिँदै गर्नुस् म लेख्ने क्रम जारी राख्छु।
धेरै आभारी छु मेरा शुभचिन्तकहरूप्रति मेरो बारेमा चासो राख्नु भएको छ। मेरो लागि आफ्नो व्यस्त समय छुट्याएर मलाई सुझाव दिँदै हुनुहुन्छ। निकै खुसी लाग्छ। मलाई झक्झकाइ राख्नुस् है सधैं। जसले मलाई लेखनमा उत्साह दिओस्।