रामु मेरा छिमेकी हुन्। उमेर २५ वर्ष होला। मेरो घर नजिकै उनको किराना पसल छ। राम्रै कारोबार गरेका छन् जस्तो देखिन्छ।
यस्ता युवा आफ्नो व्यवसायमा लागेको देख्दा निकै खुसी लाग्छ। हामी धेरै जसो सामान रामुकै पसलमा किन्छौँ।
सधैँझैँ केही दिन अघि केही समान किन्न म बिहानै रामुको पसलमा गएँ।
सामानको लिस्ट बनाएको थिएँ। लिस्ट रामुका हातमा दिएँ। यति सामान प्याक गरेर राखिदेऊ, म साथीहरूसँग चिया पिएर आउँछु भनेर अघि बढेँ। रामुतिर फर्केर फेरि भनेँ– अँ, बिल पनि बनाइदेऊ है।
‘दाइ, बिल चाहिन्छ र,’ अचम्म माने जसरी रामुले सोधे।
मैले भनेँ, ‘हो नि, मलाई त चाहिन्छ।’
उनले फेरि भने, ‘दाइ, बिल त हुन्छ तर सामान्य बिल मात्रै छ मसँग।’
घरायसी सामानमा मलाई प्यान बिल, भ्याट बिल चाहिएको थिएन। एउटा बिल भए भइहाल्थ्यो।
साधारण बिल बनाइदेऊ, भइहाल्छ भनेर म हिँडे।
फर्केर आउँदा सामान प्याक गरेर राखेका रहेछन्। बिल हातैमा दिए। पैसा बुझाएँ।
फिर्ता पैसा दिँदै गर्दा रामुले नागरिकताको कुरा झिके। उनले भने, ‘दाइ, तपाईंलाई थाहै छ, मेरो नागरिकता छैन। मैले पसल दर्ता गराउन पनि पाएको छैन।’
पसल दर्ता गराउन नपाउनुमात्रै उनको समस्या होइन।
नजिकै एउटा सरकारी कार्यालय छ। त्यसले पनि सामान किन्न खोज्छ तर रामुले बेच्न पाउँदैनन्। सरकारी कार्यालयले भ्याट बिल खोज्छ। भ्याट नभए पनि प्यान बिल त चाहिन्छ नै।
रामुको पसल नै दर्ता छैन। प्यान बिल, भ्याट बिल हुने कुरै भएन।
रामुको नागरिकता छैन भन्ने कुरा मलाई थाहा थियो। उनका बाआमाले जन्मसिद्ध नागरिकता पाएका छन्। जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन्।
रामु पनि त्यही घानमा छन्।
नागरिकता नभए पनि उनी व्यवसायी भए। प्रत्यक्ष नभए पनि कुनै तरिकाले राजस्वमा पनि योगदान गर्दैछन्।
चिया खाँदै गर्दा साथीहरूलाई रामुको कुरा सुनाएँ। ती साथी सबैले रामुले नागरिकता पाउनु पर्ने हो भने। कुरा कानूनमा पुगेर अड्क्यो।
रामु कहिलेकाहीँ मेरो घरमा आउँछन्। भेट्नसाथ उनको पहिलो प्रश्न सधैँ एउटै हुन्छ– दाइ, मेरो नागरिकता बन्दैन र?
मैले के जवाफ दिनु!
माथि भनेको सामान किनेपछि पनि रामु एक दिन मेरो घर आए। उसै गरी सोधे– दाइ, अब कहिले बन्ला त मेरो नागरिकता?
रामुको यो प्रश्न संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछिको थियो।
मैले भनेँ, ‘नागरिकतामा तिम्रो भविष्य जोडिएको छ, नेताहरू राजनीति जोडिएको छ। मिनेटभित्रै अध्यादेश जारी हुन्छ। न्यायपालिकले रोक्छ। संसदले पारित गरेको विधेयक प्रमाणीकरण हुँदैन।’
रामुको पसल नजिकै मेरा साथी बिकुको घर छ। हालै एक दिन बिकुले रामुको बिहेको एउटा प्रसंग सुनाए।
बिकुले भनेअनुसार केही दिनअघि रामुको बिहेको कुरा भएको रहेछ।
के भएछ भने नजिकैको अर्को गाउँकी एक केटीसँग रामु प्रेम परेका रहेछन्। एकतर्फी होइन, केटी पनि प्रेममा परेकी थिइन्। प्रेम चलेको तीन वर्ष जति भएको रहेछ।
रामुको व्यवसाय अलिक राम्रो भएपछि बिहे गर्ने कुरा भएको रहेछ। व्यवसाय राम्रो हुँदै गएपछि रामुले बिहे गर्ने विचार गरेछन्।
रामुको चाहना केटी मागेरै बिहे गर्ने रहेछ। प्रेमी–प्रेमिकाको सल्लाहअनुसार रामु र उनका परिवारजन केटी माग्न गएछन्।
कुरा मिल्यो, बिहे हुने भयो। बिहेको मिति तोक्न बाँकी रह्यो।
मिति नतोकिँदै एक दिन केटीका बाबु आफैँ आएर रामुसँग छोरीको बिहे गरिदिन नसक्ने कुरा भनेछन्।
रामु छाँगाबाट खसे। किन? सबै कुरा मिलेपछि पनि के भयो?
कुरा के परेछ भने केटीका बाबुले रामुको नागरिकता छैन भन्ने थाहा पाएछन्। उनले रामुलाई भनेछन्– नागरिकता नभएको केटासँग बिहे गरिदिएर छोरीको भविष्य अन्धकार बनाउन चाहन्नँ।
रामुसँग जवाफ भएन। तीन वर्षदेखिको प्रेम असफल हुने भयो। उनी चिन्तामा परे।
केटी पक्षलाई पनि मन परेकै हो। रामु जत्तिको केटासँग बिहे हुन लागेकोका खुसी भएकै हुन् तर नागरिकता छैन भन्ने थाहा पाएपछि पछि हटे। अर्को कुनै कारण थिएन।
रामुले आफ्नो भाग्यलाई दोष दिए। तीन वर्षको प्रेमको आशा छ। नागरिकता नबनून्जेल प्रेम नटुटोस् भन्ने कामना पनि छ।
रामुको व्यवसाय राम्रो चलेको छ तर मोबाइल फोनमा आफ्नो नामको सिमकार्ड प्रयोग गर्न पाएका छैनन्। बैंक खाता चाहिएको छ, त्यो पनि खोल्न पाएका छैनन्। ड्राइभिङ लाइसेन्स छैन।
बिकुको कुरा सुनेर म अक्क न बक्क भएँ। बिकु बिदा भएपछि रामुको पसलमा गएँ। केही सामान पनि किन्नु थियो।
आज रामुले मेरो नागरिकता कहिले बन्छ होला भनेर सिधा प्रश्न सोधेनन्।
सामान थैलामा हाल्दै भने– दाइ, मलाई त हाम्रो देशका शासकले हाम्रो नागरिकता नहोस् भन्ने चाहन्छन् जस्तो लाग्दैछ।
‘किन र?’ मैले सोधेँ।
‘राष्ट्रपतिले नागरिकताको विधेयक स्वीकृत गर्नु भएन अरे। दुई पल्ट पठाउँदा पनि गर्नु भएन अरे। अब त आश मरिसक्यो,’ रामु एक सासमा बाले।
मैले निर्णय दिने कुरा थिएन। ढाडस दिँदै भनेँ– मलाई पनि त्यस्तै लाग्दैछ तर आशा मार्नु हुन्न, आफ्नो नागरिकलाई नागरिकता नदिएर हुँदैन।
रामुको मुखाकृति मेरो कुरा नपत्याए जस्तो देखेँ।
नागरिकता भनेको राज्य र नागरिकबीच कानूनी सम्बन्ध स्थापित गरी नागरिकको अधिकार रक्षा गर्ने प्रमाणपत्र हो। राज्य र नागरिकलाई जोड्ने पुल हो।
नेपालको संविधानले प्रत्येक नागरिकले नागरिकता पाउने हक सुनिश्चित गरेको छ। त्यो हक व्यवस्थित गर्न कानून चाहिएको छ।
त्यही कानून बनाउनमा नेताहरूबीच स्वार्थको चलखेल छ।
रामुजस्ता कति नेपाली होलान् नागरिकता कुरी बसेका। तिनको भविष्यबारे नेताहरूलाई कुनै चिन्ता छैन। उनीहरूको दलीय स्वार्थ छ, व्यक्तिगत स्वार्थ छ। नागरिकताको यही मुद्दा बेचेर सत्ता हासिल गर्नु छ।
यही हो हाम्रो देशको सबैभन्दा ठूलो विडम्बना। जता गए पनि नागरिकता प्रमाणपत्र चाहिन्छ।
रामुलाई नागरिकताको कुरामा राजनीति भयो भन्ने लागेको छ तर किन भन्ने थाहा छैन।
सामान प्याक भयो। बिल बन्यो। पैसा तिरेँ।
बिदा हुनै लाग्दा रामुले भने, ‘दाइ म त नागरिकता नभए पनि गरिखाँदै छु। नागरिकता नभएको पीडा त भोग्नेलाई मात्र थाहा छ। पढ्न पाएको छैन, जागिर खान पाएको छैन। आफ्नो नाममा एउटा सिम कार्ड त नहुनेले अरू के गर्न सक्छ र!’
रामुले एक पटक काठमाडौं जाँदाको एउटा घटना सुनाए।
काठमाडौंमा आफन्त कोही पनि थिएनन्। रामु होटलमा गएछन्। होटलको कर्मचारीले सरकारी परिचयपत्र मागेछ।
नागरिकता नहुनेसँग अर्को सरकारी परिचयपत्र हुने कुरै भएन। आफ्नो यथार्थ सुनाएपछि बल्लतल्ल बस्न पाएछन्।
म बिदा हुन खोजेँ। पाइला अघि बढाउँदै गर्दा रामुले भने, ‘नागरिकता नभई बाँचेर के गर्नु जस्तो पनि लाग्छ दाइ!’
म अवाक भएँ।