कुरो करिब ५ वर्ष पहिलेको हो। साँझको समय थियो। अफिस नजिकैको चिया पसलमा हामी चिया पिउँदै समसामयिक विषयमा गफिँदै थियौं। विवाहको लगनको महिना थियो। यत्तिकैमा हुटिङ गर्दै बेहुलाबेहुली सहित जन्ती बोकेको एउटा बस आएर पसलअगाडि रोकियो।
'विचरा जन्मकैदमा पर्यो,' हामीसँगै चिया पिउँदै गरेका एकजना पुरुष साथीले भन्नुभयो।
यो कुराले मेरो मनमा मात्र होइन दिमागमा नै ठाउँ जमायो। अहिले पनि कुनै विवाहको गाडी देख्दा त्यो समय र कुराको याद अहिले पनि आउँछ। मनमनै भन्छु, साँच्ची विवाहपछि केटा जन्मकैदमा जान्छ होला कि केटी? यो मेरो मनमा सधैं उठ्ने प्रश्न बनेको छ।
पृथ्वीमा भएका मध्येको एक सुन्दर सृजना हो मानव। शास्त्रका अनुसार विवाहलाई दुई आत्मा बीचको पवित्र मिलन भनिएको छ। यो जगतलाई निरन्तरता दिनका लागी विवाह अपरिहार्य हुन्छ। विवाह गर्नुलाई महिला पुरुष दुवैको नयाँ जीवनको सुरुआत पनि भन्ने गरिन्छ।
विवाह एउटा संस्था हो जसले परिवार र समाजको निर्माण गर्छ। जीवनको करिब एक चौथाई उमेर बिताइसक्दा पनि अन्जान रहने उनीहरू दुवै एकअर्काका परिपूरक हुन पुग्छन्, जीवनमा सबैभन्दा धेरै माया लाग्ने र माया गर्ने हुन्छन्।
भनिन्छ महिला र पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हुन्। एउटा पाङ्ग्रामा अलिकति पनि खराबी आयो भने त्यो गाडी चल्न सक्दैन। त्यसैले जीवनको गाडी दुर्घटनारहित ढंगले कुदाउन दुवै पाङ्ग्राहरू अर्थात् महिला र पुरुष सही तरिकाले चल्न अत्यन्त आवश्यक हुन्छ। मतलब समानान्तर तरिकाले चल्न आवश्यक छ।
अधिकांशले भने विवाहलाई अर्कै ढंगले अर्थाउँदा यसको महत्व नै ओझेलमा पर्ने डर बढ्दै गइरहेको छ। विवाह र विवाहपछिका सम्बन्धहरूप्रति वितृष्णा पैदा भइरहेका छन्।
स्वतन्त्रपूर्वक आफ्ना आमा बुवाका काखमा बसेकी छोरी जब बिहे भएर अर्को घरमा जान्छे तब उसले बोल्ने बोली, उसले हाँस्ने हाँसो, उसले लगाउने कपडा, उसले हिँड्ने हिँडाइ, उसले गर्ने आराममा, उसले खाने खाना, आदि आदि कुराहरू अरुको नै अधिनमा हुन्छ। यसबाट पनि सजिलै अनुमान गर्न सकिन्छ कि विवाहपछि बेहुला जन्मकैदमा जान्छ कि बेहुली भनेर।
तर हामीले यसलाई नकारात्मक ढंगले परिभाषित गर्न भने हुँदैन। मानव सभ्यताको परिचालनका लागि महिला र पुरुषको उत्तिकै बराबर भूमिका रहन्छ। विश्वका हरेक घरमा महिला र पुरुष छन् । नारी–पुरुषको सम्बन्ध विशुद्ध प्राकृतिक हो । प्राकृतिक रूपमा नारी र पुरुषको अन्योन्याश्रित सम्बन्ध छ । एकअर्काबिना बस्न र बाँच्न नसक्ने किसिमको प्रकृति छ ।
पितृसत्ताले त्यो अन्योन्याश्रित सम्बन्धलाई शासक र शासितका रूपमा स्थापित गरिरहेको छ, महिलालाई कज्याएर आफू बलियो बन्दै गइरहेको छ। यसकारण पनि महिला पुरुषका बीचमा विवाह हुँदा पुरुषले महिलाहरूप्रति बढी नै जिम्मेवार भएको महसुस गर्न त्यति आवश्यक हुँदैन। वैवाहिक जीवनमा दुवैको बराबर जिम्मेवारी हुन्छ भन्ने कुरा जबसम्म बुझ्न सकिँदैन तबसम्म महिला र पुरुष व्यवहारिक रुपमा बराबर हुन सक्दैन।
जुन घरमा महिला र पुरुष बीचको सम्बन्ध सुमधुर हुन्छ त्यो घरमा उनीहरूबीच समानता रहन्छ। कुनै पनि केटी आफ्नो माइतीमा खान लाउन नपाएर विवाह गरेर आएकी हुँदिन। यो त सामाजिक नियम हो कि महिला र पुरुषबीच विवाह हुनु तर कतिपय पुरुष मित्रहरूले आफ्ना श्रीमतीहरूलाई आफूले विवाहपश्चात लाउन, खान बस्न दिएर ठूलो राहत प्रदान गरेको महसुस गरेका उदाहरण प्रशस्त मात्रामा हाम्रै समाजमा पाइन्छ। महाशय! त्यो तपाईंको उदारता होइन, यो त सम्पूर्ण महिलाहरूको अधिकारको कुरा हो।
विवाहपछि श्रीमानको घरको सम्पूर्ण जिम्मेवारी लिई मरिमेटी लाग्दा त्यो श्रीमती चाहिँ संस्कारी हुने, उत्तिकै जिम्मेवारी श्रीमानहरूले आफ्ना श्रीमतीहरूप्रति देखाउँदा भने ती श्रीमानहरूलाई जोइटिङ्ग्रे भन्ने! यो कस्तो मूल्याङ्कन हो?
श्रीमतीहरूलाई पनि आफ्ना साथी, दिदीबहिनीहरूसँग समय बिताउन मन हुन्छ। चिया पसलमा हुने विभिन्न छलफलहरूमा सहभागी हुन मन हुन्छ। आफ्नो विचार व्यक्त गर्ने इच्छा हुन्छ। हप्ताका अन्तिम दिन (विकेन्ड)मा साथीहरूसँग रमाइलो गरेर तनावमुक्त हुन मन हुन्छ। पुरुष र महिला दुवैको मन उस्तै त होला नि तर आफ्नो घर, परिवार, श्रीमान, छोराछोरीभन्दा माथि अरु केहीलाई पनि नराखेर जीवन व्यतित गर्ने श्रीमतीहरूका श्रीमानहरू कसरी विवाहपश्चात जन्मकैदमा गएको भन्न सकिन्छ?
कतिपय पुरुष साथीहरू पनि व्यवहारीक रुपले नराम्रा श्रीमतीहरूको जालमा पर्दा जीवन बर्बाद भएको हामीले देखेका, भोगेका छौं। यसो लेखिरहँदा सबै श्रीमतीहरूलाई माथि उल्लेख भएजस्तै जीवन बिताइरहेका छन् भन्न खोजेको चाहिँ होइन। कतिपय महिलाहरू विवाहपश्चात नै आफ्नो श्रीमान, घर परिवारको साथ सहयोगका कारण नै समाजमा स्थापित हुन सकेका छन्। यस्ता थुप्रै उदाहरणहरू पनि हामी माझ छन्। तर बाहिरबाट हेर्दा कुनै एउटा महिलाको जीवनशैली जति सहज देखिन्छ भित्री रुपमा बुझ्दा त्यति सहज नहुन सक्छ।
महिलाले विवाहपश्चात जसरी उसको घरको रेखदेख गर्छे, उक्त परिवारको जिम्मेवारी लिन्छे त्यत्तिकै रुपमा पुरुषले पनि महिलाको परिवारको बारेमा अलिक बढी चासो दियो भने पनि हाम्रो समाजलाई पाच्य हुँदैन। जब श्रीमान् र श्रीमती दुवै मिलेमा घर घर मात्रै नभएर पवित्र स्थल बन्छ। सभ्य समाज निर्माणका लागी श्रीमान र श्रीमती दुवै बीचमा सुमधुर सम्बन्ध कायम रहनुपर्दछ। पुरुषहरूले घरमा अथवा व्यक्तिगत रुपमा गर्ने व्यवहार समान हुनुपर्छ न कि अरुको अगाडि ठिक्क पार्ने, एक्लै हुँदा आफ्नो कुरुप देखाइहाल्ने।
आफ्नो घरमा हुर्किँदै गरेकी आफ्नी बहिनीलाई स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न प्रोत्साहित गर्ने एउटा दाइले आफूले विवाह गरेर ल्याएकी श्रीमती पनि कसैको बहिनी हो भन्ने सोचेर उसको स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु कत्तिको जायज हो?
प्रायःजसो हाम्रो समाजमा पुरुषहरूले आफूभन्दा उमेरले कम, पढाइले कम र पदले पनि तल्लो तहका केटीहरूसँग विवाह गर्ने चलन छ। तर कुनै अवस्थामा त ऊ पढाइ, क्षमता र पदले आफ्नो श्रीमानभन्दा माथि हुन सक्छे, त्यो कुरा स्विकार्न कतिपय पुरुषहरूलाई एकदमै गाह्रो परेको हुन्छ।
हाम्रो समाज नै त्यस्तै छ, हामीलाई सिकाइएको नै त्यस्तै हुन्छ। तर कतिपय पुरुषहरूले भने यो कुरालाई सहजै स्वीकार गरेका हुन्छन्। अफिस जान हतार हुने श्रीमती र अफिसबाट थाकेर आउने श्रीमतीलाई सघाउने पुरुष कसरी जोइटिङ्ग्रे हुन सक्छ? कसैको घर राम्रो भएको देख्न नसक्ने यस्ता दुखीआत्माहरूसँग डराएर जहिलेसम्म बसिरहन्छन् हाम्रा श्रीमानहरू तबसम्म विवाहलाई जन्मकैदका रुपमा नै लिइन्छ।