'१२ को परीक्षापछि कहाँ जाने हँ तिमीहरू?, म त अष्ट्रेलिया, म त जापान, म त क्यानडा, म त अमेरिका।' भर्खर कक्षा ८ मा पढ्दै गरेको हाम्रो छोरा र उसका साथीहरूको भिडिओ कलमा भएको कुराकानीले अघिपछि नतान्ने मेरो मन यो कुराले भने तान्यो।
'आफ्नै देशमा केही गर्ने चाहिँ कोहि छैन तिमीहरूको क्लासमा?' मैले प्रश्न गरें।
'के छ र यहाँ बस्नलाई?, कति धेरै लगानी लगाएर पढ्यो पहिला काम पाउन गाह्रो, काम पायो लगानी अनुसारको दाम पाउन गाह्रो। त्यसैले विदेश गयो टन्न काम गर्यो, पैसा पनि टन्न कमायो।'
सबैजना गललल हाँसे।
८ कक्षा पढ्दै गरेका केटाकेटीहरूलाई म कहिले प्लस टु सकौं र विदेश जाऊँ भन्ने हतारो भएको हुन्छ या भनौं उनीहरू दिन गनेर बसिरहेका हुन्छन्।
हिजोआजका केटाकेटीको मनमा अब म यो पढ्छु, यो बन्छु भन्ने भन्दा पनि म यो देश जान्छु भन्ने कुरा बढी हाबी भएको देख्दा के यो देश अब साँच्चिकै वृद्धाश्रम नै बन्ने हो त भन्ने प्रश्न मनमा उब्जियो।
प्रत्येक दिनजसो फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फलानोलाई फलानो देशको भिसा लागेकोमा बधाई, शुभयात्रा लगायतका पोष्ट नै बढी देख्दा लाग्छ युवाहरू किन स्वदेशमै आफ्नो भविष्य सुरक्षित देख्दैनन् होला भन्ने चिन्ता बढ्न थालेको छ।
विदेश जानका लागि भाषा सिक्नका लागि कन्सल्टेन्सीहरू, आवश्यक डकुमेन्टहरू बनाउनका लागि साइबरहरूको बाहेक अन्य धेरैजसो व्यापार व्यावसाय सञ्चालकहरू आफ्नो व्यवसायबाट सन्तुष्ट नहुनुजस्ता वर्तमान परिवेशलाई नियाल्दा आम जनतामा अहिले एकदमै धेरै निराशा देखिन्छ।
मैले आफ्नै देशमा केही गर्छु, विदेश जादिनँ, दुःखसुख जे हुन्छ म आफ्नै ठाउँमा गर्छु भनेर जनतन लगानी लगाएर व्यवसाय सञ्चालन गरेकाहरू पनि आफ्नो भविष्य असुरक्षित भएको महसुस गरेको आभाष उनीहरूको कुराकानीबाट गर्न सकिन्छ।
व्यवसायीहरूका अनुसार आफ्नो भाषणमा समृद्धिका कुरा, समाजवादका कुरा, राष्ट्रवादका चर्काचर्का कुरा गर्ने राजनीतिक दलका प्रतिनिधिहरूबाट नै छल्ने, ठग्ने , ढाँट्ने काम हुने गर्छन् जसले गर्दा हौसला बढाउनेभन्दा पनि निराशापन बढ्दै गएको पाइन्छ।
आफ्नो व्यवसाय सञ्चालनका लागि विभिन्न माध्यमबाट लगानी जुटाएर लागेकाहरूले आफ्नो लगानी उठाउन नसकेको देख्दा पछिल्लो पिँढीले लगानी गर्न हिच्किचाइरहेको सजिलै देख्न सकिन्छ।
राजनीतिक दलका नेताहरूले निर्वाचनका बेलामा मात्र युवाहरूलाई परिचालन गर्ने या भनौं प्रयोग गर्ने निर्वाचन सकिएपछि उनीहरूको अवस्थाका बारेमा बेवास्ता गर्ने परिपाटीले गर्दा पनि विदेशिने युवाहरूको संख्यामा वृद्धि भएको पाइन्छ।
राजनीतिज्ञहरूले निर्वाचनका बेला प्रस्तुत गर्ने एजेण्डाहरूमध्येका ५० प्रतिशत एजेण्डाहरू मात्रै पनि कार्यान्वयन गर्ने हो भने देशमा बेरोजगारीको समस्या धेरै नै मात्रामा हल भएर जान्छ तर यो उनीहरूको घैंटोमा घाम कस्ले लगाइदिने?
सत्तामा गयो कि आफ्नै दुनोमात्र सोझ्याउन जानेका उनीहरूको शैली देखेर अधिकांश युवाहरूमा राजनीति र राजनीतिज्ञप्रतिको वितृष्णा पैदा हुनु स्वाभाविक नै हो।
अहिलेको समयमा प्रत्येक मानिसले विलासिताको जीवन बिताउन चाहन्छ। आफ्नो वरपर अथवा आफ्ना साथीभाइ, आफन्तहरूका ठूला ठूला घर, महंगा गाडी, लगाउने गरगहना, महिनै पिच्छे गर्ने घुमघाम, हप्तै पिच्छे रेष्टुरेन्टहरूमा गरिने पार्टीहरू देख्दा जो कोहीलाई पनि आफ्नौ जीवनशैली त्यस्तै बनाउन मन लाग्छ। त्यसैले अहिलेका युवाहरू विदेशिन बाध्य छन्।
बेरोजगार युवायुवतीहरूलाई रोजगार बनाउनका लागि कुनै पनि विकास निर्माणका कार्य हुन सकेका छैनन्। किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल, दुग्धजन्य चिजहरूको उचित मूल्यमा बिक्री गर्नका लागि बजारको व्यवस्था नहुँदा, व्यावसायिक रूपमा कृषिजन्य वस्तुहरू उत्पादनका लागि आवश्यक सीप, दक्षता र सामग्रीको उचित व्यवस्थापन हुन नसक्दा, आयस्रोत न्यून तर दैनिक उपभोग्य वस्तुहरूको मूल्य छोइनसक्नु हुँदा स्वदेशमा आफ्नो भविष्य अन्धकार देख्ने गर्छन्।
भर्खरै पढ्दै गरेका विद्यार्थीहरूलाई कलेजहरूमा, विद्यालयहरूमा गएर उनीहरूको उज्जवल भविष्य कसरी निर्धारण गर्ने भन्ने विषयमा प्रशिक्षण दिने, उनीहरूलाई ऊर्जाशील बनाउने ठाउँमा उनीहरूको कमलो मस्तिष्कमा विभिन्न राजनीतिक दलको सिद्धान्त सिकाउने नाममा विद्रोह पैदा गराउने काममा हामी अग्रसर छौं।
युवा शक्तिमा पनि देशमै केही गरौं भन्ने जोस र आँट छैन। यसका लागि सरकारले उद्यमशीलतालाई प्रोत्साहन गरेर युवालाई स्वदेशमै राख्न पहिला त पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याउन जरूरी छ, जसले उद्योग व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्न सकोस्।