अस्ट्रेलिया बस्ने फुपूले जिस्किँदै फोनमा सोधिछन्, 'तिमीलाई अस्ट्रेलियाबाट के पठाइदिम् भन त नानु?'
छोरी एकछिन सोचमा परिछन्। धेरैबेर घोरिएको देखेर फुपूलाई डर लागेछ। हैन अब ठुलै कुरा माग्ने पो हो कि भनेर हतारिँदै फेरि सोधिछन्, 'भन न अस्ट्रेलियाबाट फुपूले के पठाइदिनु पर्यो?'
पढन्ते छोरीले के पो माग्थिन्, झट्ट स्कुलको याद आयो होला हतारिँदै भनिछन्, 'मलाई एउटा स्कुल ब्याग पठाइदिनु ल।'
यस्तो जवाफ सुनेर फुपूले हाँस्दै भनिछन्, 'ए, एउटा जाबो स्कुल ब्याग पठाइदिनु भन्न पनि यति समय लगाएकी! म त अब नानीले ल्यापटप, मोबाइल, ट्याबलेट माग्ने हुन् कि भनेर डराएकी। ल ल म छिट्टै तिमीलाई दुई/तीन वर्षसम्म स्कुल लैजान मिल्ने बलियो स्कुल ब्याग पठाइदिन्छु है।'
यति सुनेपछि छोरी खुसीले गद्गद् हुँदै 'हुन्छ हुन्छ' भन्दै फोन राखिछन्।
त्यस दिनदेखि छोरीको मुखमा छुट्टै चमक देखिन्थ्यो। कहिले अस्ट्रेलियाबाट फुपाजु आउनुहुन्छ, नयाँ ब्याग आउँछ र त्यो लिएर स्कुल जान पाइन्छ भन्ने आशमा दिनहरू गन्दै छोरीको समय बित्न थालेको थियो।
छोरीको स्कुल ब्यागको कथा पनि बेग्लै छ। पहिले स्कुल बसमा आवतजावत गर्दा ब्याग बसले बोक्ने गर्दथ्यो। ब्यागले किताबको वजन उठाउनु पर्दैनथ्यो। तर जब छोरीलाई घर नजिकैको स्कुलमा भर्ना गरियो, छोरीले ब्याग आफै बोक्नुपर्ने भयो। यसपछि स्कुल ब्यागको चर्चा नभएको सायद कुनै दिन छैन होला।
कक्षा ४ मा पढ्ने छोरीको आठ वटाभन्दा बढी त किताबहरू मात्र छन्। त्यसमाथि प्रत्येक किताबका लागि छुट्टाछुट्टै कापीहरू राख्दा स्कुल ब्यागमा सिन्की गुन्द्रुक खादेजस्तै गरी राख्नु पर्ने हुन्छ। यसले गर्दा स्कुलबाट घर आउँदा कहिले ब्यागको चेन बिग्रिएको हुन्छ, कहिले ब्याग नै च्यातिएको हुन्छ, कहिले ब्याग बोक्ने फित्ता नै चुँडिएको हुन्छ।
अचम्मको कुरा त के भने, छोरीको ब्याग बनाइदिन पर्यो भनेर ब्याग मर्मत पसलमा गएको ब्याग बनाउनेहरूको भिड देखेर म जिल्ल परेँ। सबैजसो स्कुले ब्यागहरू हातमा लिएर पालो कुर्दै रहेछन्। म पनि त्यही भिडमा उभिएँ। बल्लबल्ल पसले दाइलाई ब्याग सुम्पिन सफल भएँ। मेरो ब्याग लिएर पसले दाइले हतार हतार म तिर फर्कँदै भने, 'यो लिन अब चार दिनपछि मात्र आउनुहोस्।'
म एकछिन त अचम्ममा परेँ तर किन भनेर सोधिनँ। किनकि त्यहाँको भिड र पसले दाइको व्यस्तताले सहजै अनुमान लगाउन सकिन्थ्यो कि मेरो छोरीको जस्तै समस्या अरु धेरै घरका छोराछोरीले पनि भोगेका रहेछन्। यसपछि म निराश हुँदै घर फर्किएँ।
हरेक दिन जब स्कुल जाने बेला हुन्थ्यो छोरीलाई पढाइको भन्दा बढी ब्यागको चिन्ता हुन्थ्यो। सधैंभरि ब्यागको विषयलाई लिएर उनी मसँग रिसाउने गर्थिन् अनि घुर्की लगाउँदै भन्थिन्, 'अस्ट्रेलियाबाट ब्याग आएपछि त हजुरलाई छुन पनि दिन्न।'
म उनको कुरा सुनेर मुस्कुराई मात्र रहन्थेँ। नभन्दै छोरीको प्रतीक्षाको घडी पनि समाप्त भयो। अस्ट्रेलियाबाट फुपाजु पनि घरमा टुप्लुक्क आइपुग्नु भयो। सन्चो-विसन्चो केही नसोधी फुपाजुले बोकेको टुरिस्ट ब्यागलाई देखाउँदै छोरीले सोधिन्, 'यही हो मेरो स्कुल ब्याग?'
यो सुनेर घरका सदस्यहरू गलल हाँस्न थाले। छोरी केही नर्भस भइन्। यो देखेपछि फुपाजुले मायालु स्वरमा भन्नुभयो, 'हैन, नानुलाई त अर्को राम्रो ब्याग ल्याइदिएको छु नि।'
उहाँले झोलाबाट गुलाबी रंगको कंगारुको चित्र भएको ब्याग झिकेर दिनुभयो। छोरी खुसी हुँदै सानो स्वरमा भनिन्, 'यो ब्यागमा मेरो सबै किताबहरू राख्न मिल्छ त?'
उनको जिज्ञासा मेटाउन फुपाजुले भन्नुभयो, 'चिन्ता नगर नानु, यो त अस्ट्रेलियामा ६-७ कक्षामा पढ्ने दादा दिदीहरूले लिएर हिँड्ने ब्याग हो। तिमी त ४ कक्षामा पढ्ने होइन र?'
छोरीले टाउको हल्लाएर हो भन्ने संकेत दिइन्। यसपछि छोरीको धोको पूरा भयो। अब उनी भोलि स्कुल जाने समयको पर्खाइमा थिइन्।
आज छोरी धेरै उत्साहित थिइन्। नयाँ ब्याग लिएर स्कुल जाने दिन थियो। छोरी बिहानैदेखि ब्यागमा किताबकापीहरू राखेर तयार भैसकेकी थिइन्। बिहान ९ नबज्दै हाँस्दै फुरुक्क पर्दै छोरी स्कुलतिर लागिन्। छोरीको खुसी देखेर घरका सबै सदस्यहरू पनि प्रफुल्लित थिए। तर यो खुसीको क्षण धेरै दिन भने टिक्न सकेन। बिहान हाँस्दै फक्रेको फूलजस्तै बनेर स्कुल गएकी छोरी बेलुकी घरमा आउँदा ओइलाएको फूल बनेर फर्केकी रहिछिन्। एउटा हातमा किताबकापी र अर्को हातमा च्यातिएको स्कुल ब्याग बोकेर छोरी घर आइन्।
पछि बुझ्दै जाँदा थाहा भयो छोरीले पढ्ने किताबकापीहरू अस्ट्रेलियाको स्कुले ब्यागले धान्न सकेनछ। बेलुकीपख छोरीले मलाई सोधिन्, 'अस्ट्रेलियाको स्कुलहरूमा किताब लग्नु पर्दैन र? के त्यहाँ पढाइ नै हुँदैन र?'
मैले प्रश्न गरेँ, 'किन, के भो?'
उनले भन्दै गइन, 'उता कक्षा ६-७ मा पढ्ने दादादिदीहरूले लैजाने स्कुले ब्यागले हाम्रो स्कुलको ४ कक्षाको पनि किताबकापीहरू धान्न सकेन त।'
छोरीको जवाफ सुनेर म अलमलिएँ। साँच्चै अस्ट्रेलिया, अमेरिका तिर पढाइ नै हुँदैन र? के त्यहाँका विद्यार्थीहरूले किताबकापीहरू नै पढ्दैनन्। नपढेको भए कसरी ति देशहरू विकसित भए?
यस्तै प्रश्नहरू मनमा उब्जिए पनि छोरीलाई जिस्किँदै भनेँ, 'अस्ट्रेलियाको कंगारुभन्दा नेपालको टाइगर बलियो हुन्छ नि। त्यही भएर धान्न नसकेको होला नि!'
मेरो मजाकले छोरीलाई हँसाउन भने सकेन। स्कुल ब्याग च्यातिएकोमा उनी निकै दुखी थिइन्।
अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि बालबालिकाले आफ्नो वजनको १० प्रतिशतभन्दा कम तौलको स्कुल ब्याग बोक्नु पर्ने मान्यता रहेछ। हाम्रा बालबालिकाहरूले भने आफ्नो वजनको झन्डै पचास प्रतिशत बराबरको स्कुल ब्याग बोकेर स्कुल हिँडिरहेको देखिन्छ। कुनै पनि ब्याग बोकेका स्कुले बालबालिका सिधा उभिएर हिँड्न समेत सकेका हुँदैनन्। उनीहरू ब्यागको वजनले शरीर नै पछाडि धकेलिएर हिँडिरहेका दखिन्छन्।
किताबको बोझ र शरीरले धान्न नसकेको अवस्थामा त्यसभित्र रहेको ज्ञानको भण्डार त्यो सानो दिमागले कसरी धानिरहेको होला? यसप्रति सोच्नु पर्ने बेला आएको छ। कतै हाम्रीले हाम्रा बालबालिकाहरूलाई उनीहरूको क्षमताभन्दा बढी बोझ थुपारिरहेका त छैनौं। यही बोझले गर्दा उनीहरूको मानसिक एवम् शारीरिक उर्जा शक्तिमा गम्भीर असर परेको हुन सक्छ।
उमेर नपुग्दै उनीहरूको क्षमताभन्दा माथिका कुराहरू उनीहरूलाई घोकाइन्छ, रटाइन्छ र जबरजस्ती जान्न बाध्य बनाइन्छ। त्यस विषयको महत्व र उपयोगिताको जानकारी बिना नै विद्यार्थीहरू कागजी रुपमा उत्तीर्ण हुन्छन्। यसले गर्दा उनीहरूमा रहको सृजनशील क्षमता ह्रास हुँदै जाने गरेको देखिन्छ। शिक्षाले विद्यार्थीहरूमा रहेको सृजनशील क्षमताको उजागर गर्नुपर्नेमा किताबको भारीले त्यो क्षमतालाई दबाइरह्यो भने त्यो शिक्षा केवल औपचारिकतामा मात्र सीमित हुने कुरामा दुई मत छैन।