‘पीडा महिलाका मात्रै हुँदैनन्, कहिलेकाहीँ पुरूषका पनि पीडा लेख्ने गर न बैनी’ केही दिनअघि एक जना दाइले म्यासेज गर्नुभयो।
‘तपाईंजस्तो पुरूषका पनि पीडा हुन्छन् र दाइ?’ ठट्टाकै शैलीमा जवाफ फर्काएँ।
‘सबै कुरा यहाँ लेखेर साध्य हुँदैन, तिम्रो फुर्सद भएको बेलामा मलाई भेट, सबै कुरा बेलिविस्तार गर्छुु’ दाइको अर्को म्यासेज आयो।
‘हुन्छ दाइ’ भन्दै संवाद टुंगाएँ।
शुक्रबार तीन बजे कार्यालय समय सकिएपछि दाइलाई फोन गरेँ।
‘म अफिसबाट आउँदै छु, तिमी जहाँ छौ त्यही नजिकैको कफी सपमा भेटौं’ भन्नुभयो।
एकैछिन पर्खिएँ, दाइ आउनुभयो।
नमस्कार दाइ भनें टाढैबाट, नमस्कार, नमस्कार भन्दै दाइ म उभिएको ठाउँ नजिकै आउनुभयो।
‘ओहो महिलाको बारेमा त खुब लेख्छौ तिमी? महिलाका सवाल लेख्ने काम गर तर महिलावादी बन्ने काम चाहिँ नगर है बैनी।’
दाइ निकै संशयका साथ बोल्नुभयो।
‘किन र दाइ? महिलावादी हुनु र नहुनुमा के फरक छ र? म महिला हुँ, महिलाका भोगाइ लेख्छु, जे भोग्छु, जे देख्छु त्यही लेख्ने हो।’
‘हो यतिसम्म ठिक छ कतैबाट परिचालित भएर अन्टसन्ट नलेख मात्रै भनेको हुँ’, दाइको कुरामा सहमति जनाएँ।
कुरा गर्दैगर्दै नजिकैको कफी सपमा दाइ र म गयौं।
एकैछिन घरतिरका कुरा भए, आफन्तका कुरा भए त्यसपछि सुरू भए दाइका भोगाइका श्रृंखला।
‘तिमीलाई फोनबाट के सबै कुरा भन्नु भनेर मात्रै भेट्न बोलाएको हुँ बैनी। देखिने सबै सत्य नहुने रहेछन्, भोगिने सबै असत्य पनि नहुने रहेछन।
तिमीलाई मेरो लोक सेवामा नाम निस्केको त्यो बेलाको कुरा पक्कै थाहा छ। मसँगै एउटै स्कुलमा पढ्ने अर्को साथीको पनि त्यही बेलामा नाम निस्केको थियो।
एउटै स्कुलबाट दुई जना सुब्बा भए भनेर कत्रो हाइहाइ थियो।
बिहे भएको थिएन, महिनामा आउने तलबले कोठा भाडा तिर्न, बस्न खान, पढ्न पुगेकै थियो। दसैंमा घर जाँदा दुई चार हजार बुवाआमाको हातमा थमाइदिन पनि पुगेकै थियो।
जिन्दगी राम्रैसँग चलेको थियो। म ब्याचलर पढ्दै थिएँ, मेरो साथी पनि अर्कै क्याम्पसमा पढ्दै थियो। हामी दुवै जनाले सँगै ब्याचलर पास गर्यौं, अब दुबै जना अधिकृतको दाबेदार भयौं।
हामीलाई उक्साउनेहरूको कमी थिएन। ल केटा हो तिमीहरूले एकैचोटि अधिकृतमा नाम निकालेर हाम्रो इज्जत राख्नुपर्छ है! हौसला दिनेहरू पनि उतिकै थिए।
लगभग ६ महिनाजति भूमिगतजस्तै भएर पढ्यौं। दैव संयोग भनौं कि हाम्रो भाग्य बलियो, मेहनतले एकै पटकमा काम गर्यो।
हामी दुवै जनाको नाम निस्कियो लिखित र अन्तर्वार्तामा। दुवै जनाले स्टाफ कलेजको ६ महिनाको कोर्षसँगै सकायौं।
६ महिनापछि हाम्रो अलग-अलग कार्यालयमा पदस्थापन भयो। आक्कलझुक्कल भेटघाट हुन्थ्यो, फोनमा नियमित सम्पर्क भइरहन्थ्यो। साथीको एक वर्षपछि नै हाइफाइ बेग्लै देखिन थालिसकेको छनक पाएको थिएँ। दसैंमा प्राय: सँगसँगै जसो घर पुगिन्थ्यो। म पहिल्यै टिकट बुकिङ गरेर सार्वजनिक बसमा धुलैमैलै भएर घर पुग्थें। साथी चिरिच्याट परेर अफिसको गाडीमै घरसम्म पुग्थ्यो।
गाउँमा सरकारी गाडी लिएर घरसम्मै पुग्दा उसको हैसियत निकैमाथि र मेरो हैसियत निम्नस्तरको जस्तो तुलना भएको भेउ पाउँथें। मुख खोलेर छिमेकीले केही भन्न नसके पनि घुमाउरो पाराले दसैंको टीका लगाउँदा आशीर्वाद दिन्थे, ल छोरा अर्को वर्ष घर आउँदा तैंले पनि गाडी लेर आएस्। त्यो साथीको नाम लिँदै आशीर्वाद दिन्थे, ऊ फलानोले जस्तै नाम कमाएस.....।
अघिल्लो वर्ष अफिसको गाडी लिएर घर गएको साथी अर्को वर्ष आफ्नै गाडी लिएर घर गयो। म पोहोर जसरी घर गएको थिएँ, उसैगरी घर गएँ। मेरो लागि केबल साल फेरिएको थियो हालत फेरिएको थिएन।
एक वर्षअघि बिहे गरेको थिएँ, आफूसँगै श्रीमतीको जिम्मेवारी पनि थियो म जिम्मेवार लोग्ने, घरको जेठो छोरो, चार भान्जा-भान्जीको जेठो मामा, दुई जना दिदीको जागिरे जेठो भाइ थिएँ।
सानो भाइ कलेज पढ्दै थियो, उसले जागिर खान बाँकी नै थियो, उसको पनि जिम्मेवारी थियो।
सबैतिरको केन्द्रिकृत जिम्मेवारी मेरै काँधमा थियो। सरकारले दसैंमा दिने थप एक महिनाको तलबले म सबैको चित्त बुझाउने कोसिसमा थिए तर मेरो साथी आफ्नै गाडीमा घर पुगेको थियो।
गाउँमा हुनेखानेको चर्चा अलि बेग्लै हुन्छ। सबै जनाको चासो त्यही साथीमा थियो, उसको कमाइ, उसको छोटो समयको प्रगतिमा थियो।
वाह यसले जस्तो गर्नु नि! सबै जना छिमेकी त्यही साथीको जयजयकार गर्नमै तल्लीन थिए।
ऊ कमाऊ अड्डामा पर्यो, कमायो होला तर उसको र मेरो पदीय मर्यादा समान हो।
उसले जतिकै दिमाग खियाएर मैले पनि नाम निकालेको हो।
मान्छे पैसाको पछि किन यतिविधि लागिपर्छन्? मनमनै गम खान्थें तर यो कुरा मनबाट बाहिर ओकल्ने हिम्मत गरिनँ। किनकि म इमानदार बन्न खोज्थेँ, समाज धनवान बन्न खोज्थ्यो।
साथीले पैसा कमायो उसकै यत्रतत्र सर्वत्र चर्चा छ, म इमान कमाउन खोजेँ म छायामा छु। मनलाई भित्रभित्रै दबाउन खोज्थे।
सुरू/सुरूमा मेरा बुवाले टीका लगाउँदा दायाँबायाँ नगर्नू, इमानले काम गर्नू, पैसाको मुख कालो हुन्छ केटा पैसाको पछि नलाग्नू भन्नुहुन्थ्यो, विस्तारै साथीको हैसियतले बुवालाई पनि ऐंठन पर्न थालेछ क्यारे।
दसैंमा टीका लगाउँदा त बुवा रोएर पो आशीर्वाद दिनुभयो, ल छोरा जेठोबाठो तैं होस्, घरको मूली म पछिको तैं होस्। म बुढो भइसकेँ, के गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने जिम्मा तेरो हो। दिदी, भान्जा-भान्जी, आमा, भाइ सबैको जिम्मा तेरै हो। कसलाई कसरी खुसी पार्ने हो तेरो जिम्मा छ। हेर त तँ सँगै जागिर खाएको तेरो साथीको फूर्ति! उसका बाउआमाको खुट्टा भुइँमा छैनन्।
पर्सि काठमाडौंमा जग्गा पास गर्ने हो रे। जग्गा जोडिसकेछ, गाडी किन्यो, गाउँमा उसको सानो फूर्ति छैन। तँ पनि अलि बाठो हुन सिक, सधैंभरि यस्तो ‘हुतिहारा’ पाराले व्यवहार कसरी चल्छ?
अलि संगत गर त्यो साथीको। केही आइडिया सिक उसबाट, उसले काम गर्ने शाखामा सरूवा हो, हामीलाई पनि छोराले किनेको गाडीमा चढ्ने रहर छ, छोराले बनाएको नयाँ घरमा बस्ने रहर छ। मर्नुभन्दा पहिले एक पटक भए पनि प्लेन चढ्ने रहर छ। लौ छोरा अब त बिहे पनि गरिसकिस् श्रीमतीको जिम्मा पनि तेरै हो बाबै आफैं बुद्धि पूरा......।
छेउँमै टुक्रुक्क बसेकी आमा बुवाको कुरा सुनेर सुक्कसुक्क रूँनुभयो मात्रै। आँसु पुछ्दै बुवालाई गाली गर्नुभयो, टीकाको दिन पनि छोरालाई के के भनेर भाषण दिने हो र? इमानदार भएस, कूलको इज्जत राखेस्, हामी कसैको बदनाम नगरेस् भन्नु त कहाँ हो कहाँ खाली पैसा कमा, गाडी किन, प्लेन चढा के के हो के के? ऊ पनि जेठो छोरा हो सोचेको होला नि।
जागिर खानेबित्तिकै उसले के पैसा टिपेर ल्याउने हो र? उसको साथीले घोडा चढ्यो भन्दैमा अब हाम्रो छोरालाई धुरीमा चढाउने? बुवाका कुरा मिलाएर बुझेस् छोरा, आयु दोणसूते...... भन्दै आमाले आशीर्वाद दिनुभयो।
मलाई बुवाआमाले भनेका कुरा सुनेकी मेरी श्रीमती अवाक भइन्। उनीसँग कुनै शब्द थिएन।
हामी दुबै जनाको समान पारिवारिक पृष्ठभूमि भएका कारण पनि हामीलाई केही समस्या थिएन। श्रीमती निकै बुझकी थिइन्। बुवाआमाले सन्तानबाट अपेक्षा राख्नु गलत होइन, कुनै पनि बाउआमा आफ्ना सन्तानको कुभलो चाहन्न, यसमा तनाव नलिनुस् भनेर सम्झाउँथिन् उल्टै। दसैं सकाएर काठमाडौं फर्कियौं। मेरी श्रीमतीले मसँग एउटा माग राखिन्, मलाई सहयोग र साथ दिनुस् म पनि लोक सेवा पढ्छु, नाम निकाल्छु। कम्तीमा एक जनाको कमाइले खान बस्न पुग्यो भने एक जनाको कमाइ जोगिन्छ। थोरै थोरै भए पनि बचत हुन्छ, बुवाआमालाई सानोतिनो खुसी त दिन सकिन्छ नि।
एक वर्षसम्म मेहनत गरेपछि श्रीमतीको खरिदारमा नाम निस्कियो। दुवै जना जागिरे भयौं, जिन्दगी राम्रैसँग चल्दै थियो। गाउँमा आफन्तको घरमा सप्ताह थियो जसरी भए पनि आउनुपर्छ भन्ने निम्तो आयो।
छिमेकी हजुर बाको चौरासी पूजा पनि थियो, जान करै लाग्यो। दुवै जना घर गयौं। पूजामा त्यो मेरो हैसियतवाला साथी कार लिएर आएको थियो।
उसको अगाडि म साँच्चिकै ‘हुतिहारा’ नै थिएँ। मेरा बुवाले नै हुतिहारा पाराले काम चल्दैन भनिसक्नु भएको थियो। पूजामा आएका परपाहुना पनि त्यही साथीको चर्चामै रमाएका थिए। हेर त यसले तैंसँग जागिर खाको होइन? के छ तेरो सुरसार? गाडी नकिने पनि कतै केही जग्गा जमिन त जोडिस् होला नि?
मैले लाचार भएर केही गरेको छैन, सरकारले दिने तलबले के गर्न पुग्छ र? जिन्दगी चलेकै छ, सहरमा जग्गा किन चाहियो? आफ्नो यत्रो आँखाले देखेर नसकिने जग्गा जमिन छँदैछ नि भन्थें।
मलाई सबैले कस्तो ‘नामर्द’ कुरा गर्छ? छोरो भएर पनि यस्तो ‘हुतिहारा’ कुरा गर्न सुहाउँछ? धेरै इमान्दार बन्न नखोज, तँजस्तालाई कसैले गन्दैन भन्थे। मनमनै हो भन्थें।
गन्न त मलाई कसले गनेको छ र? आफ्नै बाउको लागि त म केही गर्न नसकेको छोरा भइसकेको थिएँ। तर दिदीहरू निकै बुझकी थिए, हेर भाइ हामीलाई केही चाहिन्न, हामी आफैं गर्न सक्छौं, तेरा भिनाजुले केही कमी गराएका छैनन्। सक्छस् भने घर आउँदा भान्जा भान्जीलाई यसो भुलाउन केही लुगाफाटो ल्याइदे, उनीहरू केटाकेटी हुन्, हामीलाई केही चाहिन्न। तँ धेरै दु:ख गरेर पढेको भाइ होस्, तेरो इज्जतमा, इमानमा दाग लाग्न हुन्न पैसो आज छ भोलि छैन। भोलि भाइका कारण मुख लुकाएर हिँड्ने अवस्था नआओस्।
दिदीका कुरा सुन्दा छाती चौडा हुन्थ्यो, कतिका दिदीहरू भाइले यो गरेन त्यो गरेन भनेर उछितो काट्थे तर मेरा दिदीहरू भगवान जस्ता थिए, केही माग नगर्ने। बिहे नहुन्जेलसम्म गाडी भाडा लैजा भनेर दिन्थे उल्टै।
एकदिन समाचार आयो, मेरो त्यही साथीलाई अख्तियारले रंगेहात समाएछ, ठूलो परिमाणको स्रोत नखुलेको रकमसहित। गाउँभरि त्यो खबर सनसनीपूर्ण रूपमा फैलियो। हेर फलानोले नाक काट्यो, थुइक्क बाउआमाको बेइज्जत सबैले त्यही साथीलाई गाली गर्न थाले।
मैले बुवालाई फोन गरेँ, बुवाले थाहा पाइसक्नुभएको रहेछ। हेर त छोरा फलानोको कस्तो नराम्रो खबर आको? त्यो गतिलो मतिको छैन भन्ने कुरा उसको हाउबाउले देखाएकै थिए। तँ त्यसो नगर है, बरू गुन्दुकै खाउँला, कालो धनले पोल्छ बाबै...... ।
अब चाहिँ गर्व लाग्यो, म हुतिहारा भएँ, नार्मद भएँ तर इमान बेचेको थिइनँ र बेच्दिनँ पनि।
गाडी, जग्गा जमिन जोडिनँ तर इज्जत जोगाएको छु। भगवानको कृपाले त्यतातिर कहिल्यै मन नलागोस्।
अहिले साथी तारिख धाएको छ, निलम्बनमा परेको छ, हिजो उचाल्ने समाज आज उसकै विरूद्धमा छ। मेरो बढुवा भयो, सायद उसको पनि हुन्थ्यो होला केस नपरेको भए। यसो सम्झन्छु, माथि चढाउने पनि समाज हो र भुइँमा पछार्ने पनि समाजै रहेछ।
हिजो त्यही साथीको जयजयकार गर्ने समाज आज उसलाई थुइक्क गर्दैछ। उसको कोही नाम सुन्न चाहन्न। इमानदार बन्छु भन्दा 'हुतिहाराको ट्याग' भिरे पनि मलाई ग्लानी छैन, मेरो साथीको उन्मादमा केवल सहानुभूति छ। इमानदार बन्छु, नियमले चल्छु भन्दा कोही किन हुतिहारा बन्छ? यो प्रश्न अझै पनि बुझ्न सकेको छैन।