त्यस दिन झमक्क साँझ परिसकेको थियो। घरधन्दा सकेर आमा चुलोमा भात बसाउँदै हुनुहुन्थ्यो। बुवा थलामा वस्तुभाउसँग। दिनभरिका दौडधुप साँझ पर्दै गएपछि चकमन्न हुँदै थियो। लगभग तीन दशकअघिको त्यो स्मृति आज एउटा धमिलो सम्झना मात्र बाँकी छ।
२०५२ सालको त्यो साँझ मोबाइल, इन्टरनेटले ओभरटेक गर्नुअघिको एउटा युग थियो। सहरमा सिनेमा हलबाहेक गाउँमा सादा टिभी फाट्टफुट्ट हुन्थे। मनोरञ्जनका साधन रेडियो नेपाल र फिल्मी क्यासेटबाहेक धरान र इटहरीका सिनेमा हल। अनि स्कुलबाट घर फर्किएपछि गाउँमा प्लास्टिकको पोको बनाएर खेलिने फुटबल।
नयाँ नेपाली चलचित्र रिलिजकै दिन धरानको गणेश टाकिज वा त्यहीँको शिव सिनेमामा लाग्थे। इटहरीको कृष्ण टाकिजमा भने हिन्दी चलचित्र धेरै लाग्थ्यो।
धरान र ईटहरीको बीचमा तरहराबाट बस चढे आधा घन्टामै फिल्म हल पुगिन्थ्यो। त्यति बेला इटहरीमा मिथुन चक्रवर्तीका फिल्म हेर्न गोजीमा ३ रूपैयाँ भए पुग्ने। तरहराबाट इटहरी आउने जाने भाडा जम्मा ५० पैसा। दुई रूपैयाँमा सेकेन्ड क्लासको टिकट, जसलाई हामी गान्धी भन्थ्यौं। अनि ५० पैसामा बरफ।
गोजी रित्तो हुँदा एक जना जिग्री साथी थियो, उसले दसैंमा तिर्ने शर्तमा फिल्म हेराउँथ्यो, हाफ-टाइममा बरफसहितको प्याकेज।
बिहान १० बजे घरबाट भात खाएर स्कुल हिँडेको मान्छे स्कुल नगएर कति बेला इटहरी जाने बस चढ्ने हो, पत्तै हुन्थेन। त्यो बेला नयाँ फिल्म लाग्नेबित्तिकै रिक्सामा पोस्टर राखेर माइकिङ गर्दै फिल्मको प्रचार हुन्थ्यो। फाइट भएको फिल्मको जमाना थियो। हामी मिथुन, सन्नी देवल, सुनिल शेट्टी, अक्षय कुमारका फिल्म नछुटाई हेर्थ्यौं। नेपाली फिल्म फाट्टफुट्ट मात्र लाग्थे, अलिअलि हेरिन्थ्यो। तर राजेश हमालको फिल्म चाहिँ छाडिएन।
बिहान छोरो स्कुल जान लाग्यो भनेर आमाले हतारहतार भात पकाउनुहुन्थ्यो। भात खाएर चिटिक्क भयो, तरहरा पुगेपछि त्यो जिग्री साथीले इटहरी, धरानमा चलेको फिल्मको हल्ला चलाइदिन्थ्यो। अनि किताब किराना पसलतिर राखेर सिमेमा हल छड्के हानिन्थ्यो। हप्तामा दुई दिन स्कुल 'बंक'।
सन् ९० का दशकका हिन्दी फिल्म विशेषगरी कुनै पनि छुटेनन्। गोजीमा पैसै नहुँदा स्कुलमा ३ रूपैयाँ मागेको बहाना बनाएर पनि बुवालाई ठगेर पैसाको जोहो गरियो।
मनोरञ्जनका साधन फिल्म हल पुग्न के मात्र गरिएन।
पढाइ ठीकठाकै थियो। कक्षा ८ मा तरहराको जनसहयोगमा भर्ना भएको थिएँ। त्यो बेलाको सामुदायिक स्कुलको पढाइ आजकलका निजीभन्दा उम्दा। कक्षामा पसेपछि ध्यान दिएरै पढियो, गृहकार्य हुँदैन थियो। स्कुलमा नपढेकै भए पनि घरमा राती ११ बजेसम्म टुकी बालेर रेडियो नेपाल सुन्दै खुब पढिन्थ्यो। बिहान ४ बजे उठेर नपढेको दिन हुन्न थियो। तर फिल्मको चाहिँ अम्मली।
फिल्मका किस्सा थाहा पाउन तरहराका स्टेसनरी, धरान वा विराटनगरसम्म पुगेर त्यो बेलाका म्यागजिन मायापुरी, स्टारडस्ट जस्ता उम्दा खुराक चाटिचुटी पढिन्थ्यो। रेडियोमा विविध भारती लगाएर नयाँ फिल्म आउने खबर राखिन्थ्यो। घरका भित्तामा सुनिल शेट्टीले बन्दुक बोकेका ७ रूपैयाँ पर्ने तस्बिर मनग्गे टाँसिन्थे। कसैले ४० रूपैयाँ पर्ने गिती क्यासेट किनेको रहेछ भने उसैको घरमा गएर धित मरून्जेल ती गीत 'रिवाइन्ड; गरीगरी सुनिन्थ्यो।
बुवाआमाका संघर्ष एकातिर थियो, जसको हामीलाई पत्तो थिएन। पढेर भोलि यस्तो होऊँला भन्ने कुनै सपना थिएन। दसैंमा नयाँ लुगा हाल्दा स्कुलकै ड्रेसले पनि मगमग बासना आउँथ्यो। त्यो बेला इन्टरनेट र प्रविधिले हामीलाई बाँधेको थिएन, हामी गाउँमै रमाएका थियौं।
आज अनेक ग्याजेटमा जति बेला पनि फिल्म हेर्न पाइन्छ। तर त्यो बेला इटहरी, धरानमा हेरिएका फिल्मको कहानी साथीभाइलाई साँझ अबेरसम्म 'टुङ्टुङ् ढिस्' गर्दै 'फुल भोल्युम' मा सुनाउँदा क्या आनन्द आउँथ्यो। हिरोका स्टारडमले हामीलाई यस्तो तान्थ्यो कि 'खलनायक' र 'साजन' को सञ्जय दत्तजस्तो वा उनको लामो कपालको हामी असाध्यै फ्यान थियौं। हुन त राजेश हमालले 'भाउजू' चलचित्रमा लगाएको दुई रङको भित्री गन्जी वा 'चट्याङ' मा हमालले लगाएको टल्कने मालाको फेसनै चलेको थियो।
फिल्मी हिरोझैं हुने हामीलाई रहर लाग्थ्यो। उनीहरूका लुगा, शैली हामीलाई प्यारो लाग्ने। फिल्मले समाजलाई यसरी बाँधेको थियो कि, सन् ९० का दशकको हिन्दी गीतका मेलोडी अनि कलाकारको स्टारडमको हामी प्रशंसक नै थियौं।
फिल्मी दुनियाँको त्यो माहौलले हामी फिल्मसँगै बाँचेका थियौं। फिल्म हेर्न नपाए खल्लो हुने। तर फिल्म हेर्न धरान, इटहरी धाउनुपर्ने त्यो बाध्यता अनि गोजीमा पैसा नहुने, कम्ता दुःख थिएन। बुवाआमालाई छक्याउँदै, ढाँट्दै कुनै पनि फिल्म छुटाइएन। तर फिल्मको किरो हुँदै गएपछि फिल्मको अम्मलले पढाइमा भने सुकेनास लाग्न थालिसकेको रहेछ।
त्यो साँझ जति बेला बुवा बस्तुभाउको धन्दा सकेर भान्साकोठामा छिर्नुभयो, म त्यतै पिर्कामा बसिरहेको थिएँ। बुवाले एक्कासि 'तँ आज कहाँ गईस्?' भन्दै जिन्दगीको पहिलो र अन्तिम झापड तोरीको फूल देख्ने गरी दिनुभयो।
त्यो चड्कनले मलाई उतिसारो दुखेन। तर १४ वर्ष हुन्जेलसम्म नखाएको कुटाइ अनायास खानुपर्दा मलाई गहिरो चोट लाग्यो, म डाँको छाडेर रोएँ। केटाकेटी बुद्धि न हो मैले 'म अब मर्छु' भनेछु।
रिसको झोँकमा बुवाले अर्काे चड्कन थप्ने शैलीमा 'तँ मरेकै ठीक छ बरू' भन्दै 'छोरो पढ्दै होला भनेर म कत्ति दुःख गर्छु। तर पढ्न गएको छोरो चाहिँ धरान-इटहरीमा हलमा?' भनेर बुवा निकै बेर जंगिनुभयो।
एकछिन रूँदै थिएँ, गल्ती मेरै थियो। आमाले 'नरो, भात खा' भन्नुभयो। सुँक्कसुँक्क गर्दै भात खाएर नबोलीकन सुत्न गएँ।
त्यो रात कति बेला निदाएँ कुन्नि थाहा भएन।
घरमा बुवाको झापड भेटेको कुरा जिग्री साथीलाई भनिनँ पनि। त्यस दिनपछि खै किन हो मन साह्रै खिन्न भयो। पढाइ त भताभुंग बनाइसकेको रहेछु। कक्षा ९ मा ९० जना विद्यार्थीमध्ये मैले ३ विषय हानेछु। उत्तीर्ण संख्या कम भएकाले स्कुलले ३ विषय लाग्नेलाई पनि १० कक्षा चढायो।
छोरो यता तीन विषय लागेर पास भएको छ, उता बुवा भने खुसीले दंग हुनुहुँदो रहेछ।
छिमेकमा बुवाले गफ लाउँदै गरेको सुनेँ, 'एक पटक हेरेपछि यसलाई पुग्छ, १० मा पुगिरछ, राम्रो पढ्छ।'
बुवाको मुखारविन्दुबाट यति सुनेपछि मन झनै खिन्न भयो। वास्तवमा मैले बुवालाई रूवाएको रहेछु भन्ने ज्ञान आयो। मेरो प्रगतिमा रमाउने बुवालाई म कति ठग्दो रहेछु भनेर बुझेँ। स्कुल जाने समयमा घरबाट हिँडेर १२ देखि ३ बजेको फिल्मी शो हेर्न धरान, इटहरी धाउने मेरो कर्म देखेर दुखी भएँ। अनि बेलुका घर आइपुग्दा छोरो भोकाएर आउँछ भनेर आमाले बनाएको खाजा खाएर ढाँटेको जुनी सम्झेर नराम्रोसँग आफैंलाई धिक्कारेँ।
बुवाबाट आशीर्वादका रूपमा पाएको त्यो एक झापडले आखिरीमा मेरो जिन्दगी बदलिदियो। फिल्मको किरो कालान्तरमा त्यो अम्मलबाट मुक्त भयो। थाहा थिएन ९० का दशकका मेरा ती हिन्दी फिल्मका हिरोले मलाई 'शंकर, क्या तुम हमारा फिल्म नहीँ देखोगे?' भन्न पो भ्याए कि!
खैर फिल्मका मेरा ती शक्तिमानलाई मैले बुवाको झापड खाएको त भन्न भ्याइँन तर फिल्म र वास्तविकताको भेद भने त्यही झापडले खुलस्त पारिदियो, सप्रसंग व्याख्यासहित।
अनि मैले १० कक्षाको पहिलो दिनको प्रतीक्षा गरेँ। २०५२ साल माघ महिनाको २ गते थियो स्कुलको पहिलो दिन। दुईवटा कापीमा पुराना पत्रिकाको गाता हालेर बिहान १० बज्नुअघि नै स्कुल पुगेँ। अरू दुई जना साथीहरू पनि आएका रहेछन्। तर विद्यार्थी संख्या नपुगेकाले त्यो दिन पढाइ भएन।
पहिलो दिन स्कुल जान पाएकोमा खुसी थिएँ। फिल्म नै हेर्दिनँ भनेर अठोट त गरिनँ, तर १० कक्षामा एक दिन पनि स्कुलमा गयल भइनँ। ९ कक्षामा लागेका तीन विषयलाई दिनरात मेहनत गरेँ। बिहान ४ बजे उठ्थेँ, राती लगभग १२ नै बज्थ्यो सुत्दा।
उसै त घरमा काम नलगाउने, त्यसमाथि एसएलसी दिने छोरो भनेपछि घरमा सिन्को भाँच्नु पर्दैन थियो। त्यो वर्ष एसएलसीको सेन्टर आफ्नै स्कुल तरहरामा पर्यो। ३० जना हाराहारी पास हुने एसएलसीमा त्यस वर्ष हामी १२७ जना पास भयौं।
नपढेर बाउको कुटाइ खाइएला भन्दा पनि बुवाको मन दुखाएकोमा मलाई साह्रै पीडा भएको थियो। थाहा छैन मलाई त्यो उत्कण्ठा कहाँबाट आयो। तर त्यस दिन बुवाको हातबाट खाएको जम्मा एक झापडले मेरो जिन्दगी बदलिदियो।
आज हलमा जुनै फिल्म लागे पनि त्यो उत्साहले हेरिँदैन। हालसालै इटहरी जाँदा कृष्ण टाकिज भत्किएको देखेँ। खण्डहर मात्र रहेछ। अहिले हलको जमाना छैन। न मिथुन नै आजकल फिल्म खेल्छन्। हाम्रा ती शक्तिमान हिरोहरू सबै बुढा भए। सायद हामी पनि त जिम्मेवारीले बुढा भइसक्यौं।
आज म २०५२ सालमा बाँचिरहेको छैन। स्मृतिमा अनेक किस्सा भरिएका छन्। तर जिन्दगी नै बदलिदिने गरी बुवाको हातबाट खान पाएको त्यो जम्मा एक झापड कहिल्यै बिर्सिन सकिनँ। उत्कण्ठा आउँदा बौरिन सकिएन भने कहिल्यै केही नाप्न नसकिने रहेछ! सारमा कुरो यत्ति हो, मेरो जीवनको उत्कण्ठा बुवाको झापडमा पो रहेछ। बुवाको मायामा बरालिएको मलाई बुवाकै झापडले ठेगान लगाइदिन पुग्यो।
बुवाका अनेक अर्तीका बाबजुद त्यो झापडले मलाई आशीर्वाद दिएको छ। किनभने आज कुशे औंसीका दिन बुवाको मुख हेर्नबाट म वञ्चित छु। २०७६ सालमा बित्नुभएको बुवाको तेश्रो वार्षिकी, तीन वटा श्राद्ध गरिसकेँ। बुवा छँदा मैले बुवालाई त्यो झापडबारे केही भन्न सकिनँ। अनेक उट्पट्याङ गरेँ हुँला, बुवालाई दुःख पनि दिएँ हुँला। तर बुवाको मन दुखाएको रहेछु भनेर मैले त्यो साँझ एक झापड खाएपछि चेत पाएँ।
'जन्म दिने आमाबुवाको गुण तिर्न कहिल्यै सकिँदैन' भनेर मेरा अर्का फिल्मी हिरो शाहरुख खानले विद्यार्थीको कुनै सभामा भनेको सम्झन्छु। खान आफ्ना बुवाआमालाई धन्यवाद भन्न प्रेरित गर्दै विद्यार्थीलाई भन्छन्, 'मैले त चाहेर पनि मेरो आमाबुवालाई धन्यवाद भन्न पाउँदिनँ।'
आज कुशे औंसीमा बुवाको मुख हेर्ने दिन मेरो पनि खानकै जस्तो अवस्था छ।
बुवा नभए पनि कर्मशील त्यो बुवाबाट जन्मन पाएकोमा म आफूलाई सधैं भाग्यमानी ठान्छु। बुवा नसम्झिएको क्षण छैन। पहिला दुःखले सम्झन्थेँ, अहिले खुसीले सिम्झन मन लाग्छ।
अनेक गीतहरूमध्ये सन्तोष आनन्दको शब्दमा लता र मुकेशले स्वर फिल्मका लागि गाएको गीत 'एक प्यारका नग्मा है' सुन्दै गर्दा 'कुछ खोकर पाना है, कुछ पाकर खोना है, जीवनका मतलब तो आना और जाना है' बोलको अन्तरा सुनेपछि मन शान्त हुन्छ।
ठीक हो, जीवन त आउने जाने रहेछ। कोही पनि यो संसारमा सदाबहार छैन। एक दिन त जानु छँदैछ, तर सम्झना भने सधैं दुरुस्त रहने रहेछ।
सबै बुवाहरूलाई नमन गर्दै कुशे औंसीको शुभकामना!
(शंकर दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटर- @Dahal_Shankar