एक बिहानै मोबाइलमा घण्टी बज्यो। यसो हेरें श्रीमानको फोन रहेछ। नेपालको ५ बजेको थियो म निद्रामै थिएँ तै पनि फोन उठाएँ।
‘आज त विशेष दिन तिमीलाई थाहै होला…’ भन्दै उहाँले आधा कुरा गर्नुभो।
उहाँले आधा पूरा नगर्दै मेरो दिमागले आज त बुवाको जन्मदिन पो भनेर सम्झायो।
उहाँको फोनलाई त्यही अन्त्य गर्दै परदेशमा रहनुभएको ससुरा बुवालाई घरदेशमा रहेकी बुहारीको तर्फबाट टाढैबाट फोनमार्फत् भए पनि शुभकामना रूपी पुष्पगुच्छाहरू समर्पण गर्न तम्तयार भएँ। यथार्थलाई शब्दमा अटाउन खोजें।
भौगोलिक बनावटको दूरीमा टाढै भएता पनि, नजिक रहेको मनको दूरीबाट केही भावनामा तैरिरहेका तरङ्गित छालहरूमा बहदै केही शब्दहरू कोर्न सुरू गरें।
मेरो आदरणीय कर्मदाता ससुरा बुबा हजुर यो पुरातनवादी समाजको विचारलाई चिर्दै एउटा बुहारी पनि छोरी बन्न सक्छ है भन्ने सोचका साथ पितृसत्तात्मक समाजलाई ठाडो चुनौती दिँदै सदियौंदेखि बनेको सामाजिक, लैंगिक विभेद र असमानताको पर्खाललाई भत्काउँदै मेरो विवाहपश्चात हजुरको कर्मले दिएको बुहारीलाई छोरीलाई जस्तै व्यवहार गरी एक आदर्श पिताको रूपमा परिचित हुनुभयो।
मेरो हरेक वचनलाई आत्मसात गर्दै मेरा हरेक चाहनालाई पूरा गर्दै मेरो खुसीलाई परिवारकै खुसी सम्झेर प्रगतिको पथको उच्च शिरमा पुर्याइ मलाई सफलताको पगरी गुथिदिनुभो।
मलाई विवाहपश्चात् डबल मास्टर्स डिग्री र एउटा वकिल बन्ने सपनाको बाटो तय गर्न निकै गाह्रो थियो। जहाँ श्रीमानको मात्र सपोर्टमा त्यो बाटो अलि गाह्रो थियो। त्यहाँ साघुरा गल्लीहरू र धेरै घुम्तीहरू थिए जसलाई हजुरले चिर्दै एउटा सहज बाटो निर्माण गरी सहजकर्ताको ठूलो भूमिका निर्वाह गर्नुभयो।
हजुरजस्तो यति धेरै सकारात्मक सोचको धनि कलियुगको साक्षत भगवानस्वरूप देवरूपी मानवलाई म कसरी शुभकामनाका पुष्पगुच्छाहरू अर्पण गरूँ बुवा।
जहाँ हजुरको लागि अर्पण गरेका मेरा शब्दहरू विनारग्गी फूलजस्तै फिका फिका हुनेछन्। जहाँ मैले कोरेका शब्दहरू अपर्याप्त हुनेछन्।
तै पनि हजुरलाई सम्झेर २/४ शब्दहरू समपर्ण गरी यो दिन सार्थक बनाउन गइरहेकी छु।
हाम्रो घर परिवारको मजबुत खम्बा बुवा हजुर, मैले बुझेअनुसार हजुरले पहिलो पल्ट धर्तीमा पाउले स्पर्श गरेदेखि निरन्तर लम्किरहेका छन् हजुरका पाइलाहरू। कहिले लेखेर नसकिने कलमको मसीजस्तै कहिले बगेर नथाक्ने नदीजस्तै,आफ्नै रफ्तारमा घुमिरहेका चन्द्र सूर्यजस्तै। हजुरको जिन्दगी यसैगरी चलिरहेको रहेछ केबल परिवारको प्रगति र परिवर्तनको लागि। न झरी, न बादल, न घाम न पानी, न भोक न तिर्खा, न रात न दिन, न हुरी न बतास केहीको प्रवाह नगरी सानैमा घरदेशको माया मुटुभरि साँचेर गह्रौं गरिबीको भारी शिरमा बोकी परदेश छिरेको पनि आज ३ दशक भएछ बुवा।
यो तीन दशकसम्म परदेशमा हजुरले चुहाएको पसिना सञ्चित गरेको भए पनि आज त्यो वेंशीमा हजुर सानै छँदा छोडेको गैरीखेत सिँचाइ गर्न प्रशस्त पुग्थ्यो होला बुवा। भयो बुवा अब हजुर घरदेश फर्कनुहोस्। हजुर सानै छँदा छोडेको गैरीखेतमा झुलेका सुनजस्तै फलेका धानका बालाले पनि सुसेल्दै हजुरलोई बोलाइरहेका छन्।
ती वन पाखा गर्दा भारी बिसाउने भन्ज्याङ चौतारीले पनि हजुरकै समिप खोजिरहेका छन्। त्यो बुढो घरको काठको थाममा गुड बनाएर बसेका गौथलीका बचेराहरूले पनि एक मुठी हजुरकै हातबाट खाने चारोको आशमा बाटो कुरिरहेका छन्।
यो देशको माटोले पनि हजुरकै पाउको स्पर्श खोजिरहेको छ। त्यसैले फर्कनुहोस् बुवा अब हजुरको ठाउँमा हामी पुगेर हजुरलाई महलमा विराजमान गराएर संघर्ष हामी गर्नेछौं बुवा।
अब त साहुको ६ बीस ऋण पनि सकियो, बस्नलाई सानो झुप्रो पनि बनिसक्यो, २ छाक खान र २/४ दाना अन्न फाल्नलाई २ टुक्रा जमिन पनि जोडिसक्यौं अब त हजुर फर्कनुस् बुबा, फर्कनुस्....!
विगतका केही समयमा केही समस्या खहरेको भेलझैं उर्लेर आए होलान् तर हजुर समुन्द्र जस्तै मौन रहेर सामना गर्नुभयो। त्यो मौनता जो कोही मान्छेहरूमा विरलै पाइन्छ।
हजुरको सबभन्दा ठूलो महानता नै मौन हो बुवा! मौनतामा मग्न रहने हजुर एक विशाल महासागर स्वरूप सिंगो किताब हो। जहाँ पाना-पानामा हजुरका संघर्षका कथाहरू छन्। जुन कथाका पाना पानामा हजुरका त्याग, तपस्या र आफ्ना स्वतन्त्र इच्छालाई तिलाञ्जली दिएका संघर्षका बेला अप्ठ्यारो बाटो तय गरेका हरेक कहानी छन्,ती हामी पढेर बुझ्न सकौं।
दिन, महिना अनि वर्ष बित्दै जाँदा विस्तारै हजुरको उमेर पनि वृद्धावस्थातिर ढल्किँदै छ। मनमा अनेक तरहका कुन्ठाहरू जेलिरहन्छन् होला माकुराको जालो जस्तै। घरी बुढेसकाल लाग्यो कसले पाल्ला भन्ने, घरी कुन छोरा बुहारीसँग बस्दा कति सम्पत्ति लिएर जानुपर्ने हो, घरी मैले बैंकमा टन्न बैंक ब्यालेन्स नराखे पाल्दैनन् कि भन्ने। घरी आखिर अन्तिम चोटि वृद्धाश्रमको बाटो लाग्ने हो कि भन्ने!
तर यी हरेक कुरा सोच्नुभो भने केबल त्यो भ्रममात्र हुनेछ बुवा यथार्थ र हजुरको सोचाइमा केवल क्षितिज र पातलजस्तै फरक हुनेछ बुवा।
हजुरको आमा मेरो हजुरआमालाई म एक नातिनी बुहारीले त्यति सानोमै त्यो ठूलो जिम्मेवार बहन गरेर एउटा बगैंचामा मगमगाएको फूलजस्तो गराएर राखेको विगत त बुवा हजुरलाई अवगत नै छ।
त्यसैले मेरो एउटै पुकार बुवा हजुर यी सब भ्रमबाट माथि उठेर एक बुहारीको बाचामा रमाउनुहोला।
म अहिले धेरै परिपक्क भैसकें बुवा। हजुरआमाको रेखदेख गरेको समयभन्दा बढी गर्ने ममा अहिले सामार्थ्य र साहस जुटेको छ वृद्धाहरूलाई गर्ने व्यवहारमा। त्यसैले, हजुरलाई मैले पहिलेदेखि भन्दै आएको वृद्धावस्थाको सहारा म बन्नेछु जहाँ मसँग हजुर बस्दा हजुरको न त त्यहाँ एक टुक्राको जग्गाको आश रहनेछ, न त टनाटन सुनचाँदी हिरामोतीको आश रहनेछ, न त त्यहाँ बैंक ब्यालेन्स र जिउनीको आश रहनेछ। मात्र त्यहाँ हजुरको स्वस्थ शरीर दीर्घायु र घरमा उज्यालो बनाउन हजुरको उपस्थित मन्दिरमा रहेको भगवानको जस्तो रहनेछ।
त्यसैले बुवा मेरो हजुरबाट पाउने आशाको एउटै पुकार हजुरको त्यो वृद्धा अवस्था। जुन अवस्थामा जिउन कसैको सहारा आवश्यक हुन्छ, त्यही वृद्धावस्थाको सहारा म बन्न सकूँ र हजुरको चहाना पूरा गर्न सकूँ। जहाँ हजुरलाई भगवान मानेर घरलाई मन्दिर मानेर प्रत्येक दिन हजुरलाई पुज्न पाऊँ।
बुवा हजुर,अहिले हामी सबैको सहारा र भरोसाको शितल दिने छहारीको चौतारी हुनुहुन्छ। जहाँ हामी दु:ख सुखको भारी बिसाई धेरै भलाकुसारी गर्ने गर्छौं। पछि त्यो चौतारी हामी भएर हजुरलाई छहारी दिन सकौं, जहाँ हजुरका वेदनाहरूको भारी बिसाई गन्थन-मन्थन गर्न हामी छोरा-बुहारी बन्न सकौं।
सु-स्वास्थ्य एवम् दीर्घायुको कामना बुवा हजुरलाई क्षितिज पारिबाट जन्मदिनको एक भूगोल सप्रेम शुभकामना!