'हेलो!'
'गूड मर्निङ सर, म नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयको कर्मचारी बोल्दै छु। हजुरसँग केही दिनअगाडि वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमको लागि अफिसबाट कुरा भएको थियो।'
'हजुर सर, भन्नुस्।'
'सर त्यही कार्यक्रमको लागि हिजो साँझ जुम्ला आइपुगेको म, भोलि कार्यक्रम हुने भएकोले आज हजुरको कुन समय मिल्छ? यसो भेटौँ अनि भोलिको कार्यक्रमको केही तयारी गरौँ भनेर सर।'
'ए भैहाल्छ नि, म त अघि बिहान ६ बजे नै स्कुल आइसकेको छु। हजुर आफ्नो समय मिलाएर आउन सक्नुहुन्छ।'
'हार्दिक धन्यवाद सर, एकछिनमा मिलाएर स्कुलतिरै भेटौँ।'
उहाँ सँगको पहिलो संवाद मेरो।
कर्णाली प्रदेशमा वित्तिय पहुँच विस्तार गर्नका लागि विद्यार्थीलाई सचेतना होस् भन्ने ध्येयले आयोजना गर्न लागिएको हाम्रो कार्यक्रम कर्णाली प्रदेशको कुनै एउटा विद्यालयमा गर्ने भनेर खोज्दै जाँदा आँखामा परेको विद्यालय थियो जुम्लास्थित श्री चन्दननाथ नमुना माध्यमिक विद्यालय।
यस कार्यक्रमको लागि नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालयका श्रोतव्यक्ति डा. भागवत आचार्य सर तथा सुर्खेत कार्यालयका कार्यालय प्रमुख विनय सिग्देल सरहरू भोलिपल्ट आउनु हुने भए तापनि पूर्वतयारीको लागि म एकदिनअघि नै जुम्ला पुगिसकेको थिएँ।
म बसेको होटलदेखि केही मिनेटको पैदलयात्रामा चन्दननाथ नमुना मावि पुग्न सकिन्थ्यो। करिब बिहानको ८ बजेको हुँदो हो, स्कुलको गेटमा पुगियो। प्राङ्गणमा पुगेर विद्यालयको दृश्यावलोकन गर्दा मनमा बनाएको सरकारी विद्यालयको भवनको चित्र आफै भत्कन थाले। कुनै प्राइभेट स्कुलको भन्दा कम नलाग्ने विद्यालयको संरचना देख्दा पहिलो छाप सोचेभन्दा धेरै राम्रो रह्यो। जुम्लाजस्तो भौगोलिक कठिनता भएको ठाउँमा सरकारी विद्यालयको यति मिलेको संरचना देख्दा बडो अचम्म लाग्यो।
गेटदेखि विद्यालयको प्राङ्गणसम्म पुग्दा दायाँबायाँका नर्सरी, करेसा आदिले मन लोभ्याइहाले। केही अगाडि बढेपछि चार/पाँच जना व्यक्तित्वहरू चियागफमा रहनुभएको देखेपछि म त्यतैतिर लागेँ। केही अधबैंसे र केही अलि बढी उमेर ढल्केका बीचको जमातमा गएर सोध्नुभन्दा अघि मेरो दिमागमा बनेको प्रधानाध्यापकको आवरण यहाँ भएकाहरूमध्ये अधबैंसेबीच नभएर उमेर ढल्केका बीचबाट कोही हुनुपर्छ भन्ने लख काट्दै चियागफ भएको ठाउँ पुगेर सबैजनालाई नमस्कार गर्दै आफ्नो परिचय दिएँ।
मैले स्कुलको प्रधानाध्यापक टंकबहादुर महत सरलाई भेट्न खोजेको बताएँ। त्यस जमातमा हुनुभएका सबैभन्दा उमेरमा कान्छो, देख्दामै फुर्तिलो लाग्ने एकजना उठ्नुभयो। सायद उहाँले प्रधानाध्यापक सरलाई खबर गरिदिनलाई होला भन्ने लाग्यो। उहाँ परिचितझैं अनुहार बनाएर नमस्कार गर्दै 'अघि कुरा भएको मसँगै हो' भन्दै मतर्फ आउनुभयो।
म अक्क न बक्क भएँ, हत्तपत्त नमस्कार फर्काएँ। हुन त म आफै पनि सरकारी विद्यालय पढेर आएको र उतिबेला मेरै विद्यालयका, साथै अन्य केही सरकारी विद्यालयका प्रधानाध्यापकहरू पनि उहाँजस्तै फुर्तिलो हुनुभएको देखे पनि सरकारी विद्यालयको प्रधानाध्यापक तथा शिक्षक भन्ने बित्तिकै दिमागमा आउने आवरणभन्दा फरक लाग्यो उहाँ। स्कुलको भौतिक संरचनाले तानिसकेको मन फेरि एकपटक उहाँको व्यक्तित्व तथा उहाँले गर्नुभएको पहिलो भेटको सत्कारले तान्यो।
केही समयको भलाकुसारीपछि सँगै चिया पिएर उहाँले बिहानी सत्रको पढाइ भैरहेको केही कक्षाहरू अवलोकन गराउनुभयो। केही कुराहरू वर्णन गर्दै स्कुलको परिसर घुमाइसक्दा स्कुल अनि विशेष उहाँप्रति सम्मान बढ्दै गएको थियो। स्कुल परिसर परिक्रमा गराउँदासम्म स्कुलको इतिहास मोटामोटी बताइसक्नु भएको थियो। मलाई यस स्कुल अनि उहाँको बारेमा जान्न अझै उत्सुकता जाग्यो। भोलिपल्टको कार्यक्रमको लागि हल तथा स्कुलको चमेना गृहमा खाजाको व्यवस्था गरी स्कुलबाट निस्केँ म।
भोलिपल्ट हाम्रो अफिसियल कार्यक्रम लक्षित वर्गलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रममा उहाँको पनि सक्रिय सहभागी रह्यो। नमुना स्कुलका विद्यार्थीहरू पनि नमुना नै रहेछन् भन्ने कुरा उक्त कार्यक्रममा भएको विद्यार्थीहरूको सक्रिय सहभागीताबाट देखिन्थ्यो। करिब दुई हजारभन्दा बढी विद्यार्थी भएका उक्त स्कुलका पढाइ बाहेकका अन्य अतिरिक्त क्रियाकलापमा समेत जिल्ला, प्रदेशस्तरीय विभिन्न प्रतियोगिताहरूमा भाग लिने र धेरै उपाधीहरू जितेका रहेछन्।
स्कुल समयभन्दा अगाडिपछाडिको समयमा पनि विद्यार्थीहरू अतिरिक्त क्रियाकलापका गतिविधिहरूमा सहभागी हुने तथा सिक्ने गरेको एक शिक्षकले बताउनुभयो। विद्यार्थीलाई पढाइ साथसाथै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिनुपर्छ भन्ने भावनामा बढावा दिनुहुने टंक सरको बानी, व्यवहार तथा चरित्र अझै बुझ्न केही विद्यार्थी, शिक्षक साथै व्यवस्थापन समितिका अध्यक्षसँगको भलाकुसारीले मद्दत पुग्यो। उक्त कार्यक्रम सकेर पुनः वित्तिय चेतनामूलक कार्यक्रमहरू निकट भविष्यमा पनि गर्ने वाचासहीत यसपटकको कार्यक्रम सम्पन्न गरेर हामी कार्यस्थलतर्फ फर्क्यौं।
जुम्ला कार्यक्रमकै क्रममा यस विद्यालयका प्रधानाध्यापक आदरणीय टंकबहादुर महत सरको बारेमा बटुलेका व्यक्तिगत पृष्ठभूमि तथा अनुभवका बारेमा केही कुराहरू पस्कन चाहेँ।
उहाँको जन्म विसं २०२६ साल पुस १५ मा जुम्लाको महतगाउँमा भएको हो। विद्यालय स्तरको शिक्षा उहाँले विसं २०४३ सालमा चन्दननाथ स्कुलबाट नै गर्नुभएको हो भने एमएड त्रिभुवन विश्वविद्यालयबाट गर्नुभएको हो। २०४३ सालमा एसएलसी सकेर विसं २०४४ सालमा प्राथमिक तहको अस्थायी शिक्षकको रुपमा नवप्रभात प्रावि तलिचौर जुम्लामा कार्यरत हुनुभयो। विसं २०४५ सालमा खुलेको शिक्षक सेवा आयोगबाट प्राथमिक तहको स्थायी नियुक्त हुनुभए लगत्तै उक्त नवप्रभात प्राविमा प्रधानाध्यापकको जिम्मेवारी पाउनुभयो।
यता जागिर सँगसँगै आइएडमा भर्ना हुनुभयो। विसं २०४७ सालमा आइएड सकेपछि विसं २०४८ देखि २०५० सम्म तत्कालीन उच्च प्राविमा बढुवा गरिएसँगै हिमशिखर मावि तातोपानीमा सरुवा हुनुभयो। यता पढाइलाइ निरन्तरताको लागि त्रिभुवन विश्वविद्यालयमा बिएड भर्ना हुनुभयो। संयोग भन्नुपर्छ, उहाँ आइएड जुम्ला शिक्षा क्याम्पसमा प्रथम ब्याच र बिएड त्रिभुवन विश्वविद्यालयमा अन्तिम ब्याच हुनुहन्छ। विसं २०५० सालमा शिक्षाशास्त्रमा स्नातक तहको अध्ययन सकेर विसं २०५७ सालसम्ममा प्रावि स्थायी पत्रलाई लियन राखेर माथिल्लो तहमा बढुवा हुने त्यतिबेलाको प्रचलनअनुसार अस्थायी मावि बढुवा हुनुभएर विभिन्न विद्यालयमा अध्यापन गर्नुभयो।
विसं २०५७ साल कात्तिकदेखि श्रोतव्यक्तिको रुपमा तत्कालीन जिल्ला शिक्षा कार्यालय जुम्लामा आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाअन्तर्गत पहिलो नम्बरमा सिफारिस हुनुभयो र विसं २०६० सालसम्म जुम्ला जिल्लाको विभिन्न श्रोतकेन्द्रमा काम गर्नुभयो। विसं २०६० सालको कात्तिकमा विसं २०५२ सालमा लिइएको शिक्षा सेवा आयोगको नतिजा भएको थियो जसबाट मावि तहको स्थायी नियुक्ति भई मानसरोवर उच्च मावि सिमिकोट हुम्लामा सिफारिस हुनुभयो।
उक्त विद्यालयमा एक वर्ष काम गरिसकेपछि प्रधानाध्यापकको जिम्मेवारी पाउनुभयो। विसं २०६३ सालको अन्तिमसम्म बसिसकेपछि गैरसरकारी संस्थाको अनुभव लिनलाई तीन वर्षे बेतलबी असाधारण बिदा लिएर किडार्क नामको प्रोजेक्टमा मुगु जिल्लाको जिल्ला संयोजक भएर विसं २०६६ सालको अन्तिमसम्म काम गरिसकेपछि संयोगवश उहाँलाई पढाउनु भएका शिक्षकको निवृत्तिभरण हुनुभएको भएर आफै अध्ययन गरेको चन्दननाथ माध्यमिक विद्यालयमा हुम्लाको दरबन्दी सरुवा भयो।
लगभग एक वर्षमा शैक्षिक तालिम केन्द्र, जुन यसै विद्यालयकै हाताभित्र रहेको थियो, जसको स्थापना नेपाल सरकारको विभिन्न शिक्षकहरूलाई तालिम दिनलाई भएको थियो, उक्त तालिम केन्द्रमा प्रशिक्षकको रुपमा तत्कालीन जिल्ला शिक्षा कार्यालयद्वारा खटाइयो। विसं २०६७ सालको अन्तिम तिरबाट विसं २०७२ साल कात्तिकसम्म प्रशिक्षकको रुपमा काम गरिसकेपछि विसं २०७२ सालको कात्तिकपछि चन्दननाथ माविको तत्कालीन प्रधानाध्यापकको सेवाअवधि ६० वर्ष पुगेर निवृत्त हुनुभएपछि व्यवस्थापन समितिको रोजाइमा उहाँ पर्नुभयो।
त्यसपछि प्रधानाध्यापकको रुपमा नियुक्त हुनुभएर आफ्नै विद्यालय फर्किनुभयो र हालसम्म उहाँ एक कुशल प्रधानाध्यापक साथै व्यवस्थापकको रुपमा परिचय बनाउँदै आउनुभएको छ। जुम्लाको पुरानो सामुदायिक विद्यालय, जसलाई नमुना साथै जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्ने उहाँको लक्ष्यअनुरुप जहाँ भौतिक संरचनाको संभावना छ, दरबन्दी पर्याप्त छ, जसलाई थोरै मात्रै व्यवस्थापन गरेमा लक्ष्य प्राप्ती हुनसक्छ भन्ने लागेर खटिनुभयो।
व्यवस्थापन समितिको उहाँप्रतिको काम गर्न सक्छ भन्ने विश्वास, तथा काम गर्नलाई हातेमालोले गर्दा नेपाल सरकारले पहिलो पटक नमुना विद्यालयको प्रस्तावना माग गरेबमोजिम पेश गर्दा पहिलो पटकमै नमुना विद्यालयको रुपमा छनोट भयो। हाल नमुना विद्यालयको संघीय अनुदानबाट भौतिक रुपमा संरचना विस्तार, विद्यार्थी संख्यामा वृद्धि, शिक्षक दरबन्दी बढ्ने, तथा विद्यालयलाई व्यवस्थित बनाउनका लागि केही नयाँ प्रयोगहरू गर्दै आएको हुँदा समयसापेक्ष विद्यालयको यात्रा अगाडि बढिरहेको प्रत्येक्ष देख्न सकिन्छ।
अहिले यस विद्यालयमा अंग्रेजी माध्यममा कक्षा ६ देखि १० सम्म संचालनमा रहेको छ। प्राविधिक धारहरू कृषि, वनविज्ञान आदि सिटिइभिटीसँगको सम्बन्धनमा चलाइएको छ। कक्षा ११/१२ मा कानुन, विज्ञान, शिक्षा आदि संकायहरू पठनपाठन भइरहेको छ। जिल्लाकै सबैभन्दा बढी विद्यार्थी संख्या लगभग दुई हजार बढी, साथै शिक्षक दरबन्दी बढी भएको नमुना विद्यालय हाल शैक्षिक धरोहरको प्रमुख आकर्षणको केन्द्र बनेको छ।
अचम्मको कुरा त के भेटियो भने, अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि वरपरका निजी तथा बोर्डिङ विद्यालयका अधिकांश विद्यार्थी चन्दननाथ नमुना माविमा पढ्न थालेको र उक्त बोर्डिङ स्कुलहरू विद्यार्थी संख्या कम भएको उदाहरणहरू प्रस्ट देख्न सकिन्थ्यो। सरकारी विद्यालय प्रतिको यस्तो किसिमको मोह नेपालमा कमै मात्रामा सुन्न पाइन्छ।
जागिरे जीवनमा प्रवेश गरिरहँदा विसं २०४४ सालमा एकजना पोखराका प्रशिक्षक आएर बक्सिङ प्रशिक्षण दिनुभएको रहेछ। खेलमा रुचि राख्नुहुने उहाँ सरले पनि एक महिनाको प्रशिक्षण लिनुभएपछि जिल्लादेखि छानिनु भएर नेपालगंज आएपछि विसं २०४४ साल फागुन महिनामा गुल्मीमा राष्ट्रिय स्तरको बक्सिङमा ४५ केजि तौल समूहमा सहभागी हुनुभएर स्वर्ण पदक हासिल गर्नुभएको रहेछ। विसं २०४५ सालमा काठमाडौंको दशरथ रंगशालामा राष्ट्रिय स्तरको बक्सिङमा ४५ केजि तौल समूहमा सहभागी हुनुभएर फेरि स्वर्ण पदक हासिल गर्नुभएपछि पढाइ, जागिर सँगसँगै खेल जीवनलाई निरन्तरता दिन असहज भएको कारण खेल जीवनलाई थप निरन्तरता नदिने सोच बनाउनु भएर शिक्षण पेशालाई नै थप निरन्तरता दिनुभएको रहेछ।
जुम्लाबाट फर्किसकेपछि थोरै व्यक्तिगत कामको सिलसिलामा केही समयपछि पुनः जुम्ला जाने अवसर मिल्यो। संयोगले नेपालगंजदेखि जुम्ला उड्ने फ्लाइटमा उहाँ हेडसरसँग भेट भयो। स्कुलभित्रको परिसरमा मात्रै भेटेको एउटा कुशल प्रधानाध्यापकको व्यक्तिगत जीवनको चासो पनि रहनु स्वभाविक हो। यसपटक थोरै अनौपचारिक यात्रा भएको हुँदा उहाँसँगको भेट पनि अनौपचारिक नै रह्यो। यसबीचमा मैले उहाँको व्यक्तिगत जीवनको अध्ययन गर्ने मौका पाएँ।
प्रधानाध्यापकको रुपमा म उहाँलाई जति चिन्छु, त्योभन्दा धेरै प्रभावकारी व्यक्तित्व साधारण जीवनमा पाएँ। सम्भवतः सधैँ हँसिलो मुद्रामा देखिनु हुने उहाँको स्वभाव पनि मिजासिलो छ। बच्चादेखि बुढासम्मलाई उहाँले गर्ने व्यवहार, सद्भाव अचम्मलाग्दो छ। सामाजिक काममा पनि त्यति नै अग्रसर भएर लाग्नुहुने उहाँको मिजासपनले उहाँप्रतिको सद्भाव अझै बढ्यो।
बिहान उठ्नु भएर नित्यकर्मपछि प्रायः बिदाको दिन पनि उहाँ विद्यालय परिसरमा भेटिनुहुन्छ। उहाँको यस क्षेत्रमा विश्वास यति दरिलो भैसकेको छ कि कुनै ध्रुवसत्य कुरालाई उहाँले बङ्ग्याइदिनु भयो भने पनि सजिलै मान्छन्। आफ्नो व्यक्तित्वले अरुलाई प्रभाव पार्न कसैले उहाँबाट सिकोस्।
शिक्षामा भलो चाहनेहरूले साधुवाद दिएता पनि शैक्षिक माफियाका रुपमा काम गर्ने गिरोहहरूका बीच आँखाको तारो बनाइरहेका छन्। राम्रो र सबैको भलो हुने काममा बाधा आइ नै हाल्छन् तैपनि सही कुराको लागि अगाडि बढिरहनु पर्छ भन्ने चिन्तनलाई आत्मसात गर्दै डटेर लाग्नु भएका आदरणीय हेडसरप्रति हार्दिक नमन। साँच्चै नै नमुना विद्यालयका प्रधानाध्यापक नमुना नै हुनुहुन्छ।
शिक्षणजस्तो गहकिलो र संवेदनशील पेसालाई पनि हल्का लिने, जागिरकै रुपमा मात्र लिनेहरूले एकपटक टंक सर भएर लाग्नुपर्छ। नेपालको शिक्षाको वृहत्तर विकासको लागि नेपालको शिक्षा क्षेत्रमा धेरै टंक सरहरूको आवश्यकता छ। जुम्लाको शिक्षा क्षेत्रमा प्रेरणाका रुपमा रहनुभएका उहाँ सिंगो नेपालकै उदाहरण हुनुहुन्छ। फेरि पनि हार्दिक नमन आदरणीय हेडसर टंकबहादुर महत।