यो लेख लेख्न पनि त्यति सजिलो नहोला। किनकि लेख्नु पनि देखाउनकै लागि भन्ने आधार प्रशस्त छन्। पाठकहरूले पढुन्, मन पराइदिउन् भन्ने लोभ मलाई पनि छ। हरेकलाई हुन्छ। खैर, जे भए पनि लेख्नु त पर्यो नै। धर्म निभाउनु त पर्यो नि। यो पढाइलेखाइ पनि देखासिकी नै हो तर आरिस होइन। यो लेख आरिसवाला देखासिकीको बारेमा हो।
सानामा आमाले भनेको सम्झन्छु- बाहिर बाहिर टाई फिटिङ, भित्र भित्र जुम्राको मिटिङ। यो भाषागत हिसाबले त्यति मिलेको वाक्य होइन। तर रुपमा नभई सारमा जाने हो भने जीवन सहजताको एक श्लोकी गीता नै रहेछ। देखिने र देखाइने एउटै भयो भने सजिलो छैन त जीवन? देखिने र देखाइने बीचको दूरी जति कम भयो जीवन त्यति सहज बन्छ भन्ने मेरो विश्वास अहिले आएर अझ मजबुत भएको छ।
'एउटो स्याउको चित्र भाको फोन पाए हुन्थ्यो' मेरा ७४ वर्षका ठूलाबाले भने अरे। बेलायत बस्ने दाइले नेपाल आउँदा केही चाहिन्छ कि बा भनेर सोध्दा। हुन त बुढो मान्छेले आइफोन बोक्न हुँदैन भन्ने त होइन तर मेरा ठूलाबाजस्ता चिन्ह हेरेर आएको फोन उठाउने र फोटो हेरेर मात्र कल गर्न सक्ने मान्छेलाई आइफोन आवश्यक हो कि होइन? प्रश्न यो हो।
'अनि आइफोन नै किन चाहियो त बा?' भनेर सोधेको रे दाजुले।
'पल्लारे साइँला छोरोले कतार गएर बाउआमैलाई स्याउ भा फोन पठाइसक्यो। तँ बेलायत गएर के गरिस् खै? अझ किन भनेर सोध्छ!' बा रन्किए अरे।
'अनि एउटा आइफोन बालाई लग्दिएँ भाइ, आफूलाई त यही नेपालबाटै ल्याएको फोनले सबै चलेकै छ' भन्नुभयो दाइले। मलाई खुसी लाग्यो। दाजुले सजिलो बाटो रोजेछन्।
हिजोसम्म स्याउ खाएर डकार्दै छिमेकीसँग गफिने ठूलाबालाई आज छिमेकीको घरपट्टि स्याउको चित्र फर्काएर गफ गर्न मन लाग्न थाल्यो। यो संरचनाको दोषी को? यो चक्रव्युहको रचनाकार को? यो खाडलमा खस्छ को? सायद समयले उत्तर दिदैं जानेछ। आफैलाई प्रश्न नसोधिकन देखासिकीमा दौडिरहने?
म पनि परिवारवादमा अल्झे कि के हो?
अब ठूलाबालाई यही छोडौं। अब विद्वानहरूको देखासिकीपट्टि लागौं। यो त झन् महासागर छ।
हामीजस्तो भुइँमान्छेको चाहना के हुन्छ भने विद्वानले त आफ्नो खोज अनुसन्धानको कुरो गरोस्, लेख रचना शेयर गरोस्, जर्नल आर्टिकलको बारेमा टिप्पणी गरोस्, समाजका समस्या र समाधानका उपायहरूको बारेमा लेखोस्। नगन्यले त्यसो पनि गरेका छन्, उहाँहरूप्रति भित्रैदेखि श्रद्धा जागेर आँउछ।
तर ९५% ले सामाजिक संजालमा आफ्नो प्रसंशा गरेको, विभिन्न गोष्ठी सेमिनारमा भाग लिएको, पदक पाएको, खादामाला लाएको फोटा र ब्रोसर मात्र हाल्छन्। अनि यिनले पदक र सम्मान चाहिँ के गरी पाउने रहेछन? एउटा गम्भीर विषय हो यो पनि। विद्वानहरूको देखासिकी प्राज्ञिक विषयमा भैदिए कति सम्मान जागेर आँउथ्यो होला न कि कसले कसलाई बढी गाली गर्यो! म कल्पना गर्दै खुसी हुन्छु।
देखासिकी आफूलाई मनपरेको राजनीतिक पार्टी वा नेताको भक्तिगानमा भन्दा स्वच्छ आलोचनामा भैदिए कति सुन्दर हुन्थ्यो होला! देखासिकी मैले के पाएँभन्दा पनि मैले के दिएँ भन्नेमा भैदिए समाज कति लाभान्वित हुन्थ्यो होला!
एकजना विद्वान साथीले गोजीमै बोकेर हिँड्नु हुन्थ्यो खादा, माला र सम्मान पत्रको टेम्प्लेट। कहिले आफूले उसलाई, कहिले उसले आफूलाई। कहिले यता, कहिले उता। आखिर देखाउनु न हो। जेमा पनि बुढी औंलो ठड्याउने र लाइक गर्ने त हामी छँदै छौं।
'अस्ट्रेलिया बस्नेले उता तीजको फोटो हालिसके, हामी यता सारी किन्न भ्याएको छैन, लौ है पुरानै लाएर भए पनि २/४ वटा टिकटक र फोटाहरू चाहिँ यो विकेण्डमा हाल्नु पर्छ, नत्र नेपालमा दु:ख पाइछ भन्न ठान्छन,' बबिताले आज बिहानै हाम्रो पारिवारिक ह्वाट्सएप ग्रुपमा गरेको आह्वान हो। सबैले एक स्वरमा हो हो भने। यो देखासिकी हेर्दा सामान्य देखिए पनि कम्ती भयङ्कर छ त?
चाडबाड, रीतिरिवाज विदेशमा बसेर पनि मनाउनु राम्रो कुरा हो तर अस्ट्रेलियामा तीजको फोटो आयो भनेर क्यानडामा टिकटक बनाउनु, अमेरिकामा सारी लगाए भनेर बेलायतमा कुर्ता मगाउनु, बेल्जियममा पानी पर्यो भनेर नर्वेमा छाता ओढ्नु चाहिँ अलिकति सचेत मानिसलाई नरमाइलो लाग्ने रहेछ। अस्ति काकाले भनेको कुरो पनि झलझली सम्झन्छु- 'सामाजिक संजालले गर्दा नागपञ्चमी पनि यमपञ्चकजस्तो पो लाग्न थाल्यो, चाडबाड ब्युँतायो तर सिर्फ फोटोमा।'
हुन पनि जीवनमा एक अम्खोरा पानी सारेर बाआमालाई नदिनेले ६ महिना अघिदेखि सामजिक संजालमा कुशे औंसी र मातातिर्थे औंसी मनाउन थाल्छन्। तिनका बाआमाले त्यो देखे भने के सोच्दा हुन्?
फोटोमा कसको ठूलो मान्छेसँग संगत छ भनेर देखासिकी गर्ने र ठगीमा लाग्ने धेरैको समाचार आइसकेकै छ। यता विदेशमा आएकाहरू पनि त्यो होडबाजीमा अग्रपंक्तिमै भेटिन्छन्। एउटाले साम्सदसँग फोटो खिचेर हाल्यो भने अर्कोले गएर मन्त्रीसँग फोटो हाल्नै पर्ने! हे राम।
हुँदाहुँदा अहिले त कसले महँगो रक्सी खायो, कसले ब्रान्डेड लुगा लगायो, कसले कुन रेस्टुरेन्टमा खाना खायो पनि छरपष्ट देखासिकी भएको देखिन्छ। कतिले त आफ्नो व्यक्तिगत स्वार्थ त तुष पोख्नकै लागि आयव्ययको समेत देखासिकी गरेको देखिन्छ।
एकजना प्रतिष्ठित व्यक्तिले एकपल्ट कतै सामाजिक संजालमा लेखेका थिए- 'तिम्रो जति कमाइले त मेरो बुढीलाई लिपिस्टिक किन्न पनि पुग्दैन।' अनि कसैले कमेन्टमा लेख्यो- 'भाउजूको ओठ त भैँसीको भन्दा ठूलो छ कि के हो?' केही मिनेटमा त्यो मेटियो।
संसारको रीत नै यही हो कि सबै समान हुँदैनन्। सबैको समान प्रगति हुँदैन। सबैको समान सोच हुँदैन। यही सबै फरक भएर नै संसार भएको हो नत्र त एकसार हुन्थ्यो होला। मानव समाजको सुन्दर पक्ष नै यही विविधता हो जस्तो लाग्छ। अनावश्यक देखासिकीले भलो गर्दैन। ढिलोचाडो यसको प्रतिफल आइ नै हाल्छ।
जीवन त जति सरल भो त्यति सुन्दर हुने रहेछ, स्वस्थ हुने रहेछ, खुसी हुने रहेछ। नभएको फूर्ति र ढोंगले जीवन सुखी देखाउन खोज्नु एउटा मनोरोग मात्र हो। देखासिकीले केही क्षणको चिलाई त मर्ला तर दीर्घकालीन आनन्द त्यसमा छैन।
अन्तमा यो व्यंगात्मक कविताको अंश-
देखाओ
देखाओ
देखाउन मिल्ने जति सबै देखाओ
देखाउन नमिल्ने जति मिलाएर देखाओ
तर सबै देखाओ।