नेपालका सिनेमा घरहरूमा यतिबेला जनयुद्धमा बेपत्ता पारिएका छोराको खोजीमा निस्केका बाबुआमाको ब्यथा भरिएको ‘पानीफोटो’ चलिरहेको छ। यसको समीक्षात्मक हिसाबले राम्रै चर्चा पनि भइरहेको छ। सबै नजिकबाट हेरिरहेको छु।
के गर्ने परदेश भएकाले तत्काल सिनेमा हेर्न सम्भव छैन। विभिन्न व्यक्तिले गज्जब सिनेमा बनेको प्रतिक्रिया र समीक्षा लेखेका छन्। यो सिनेमासँगै कलाकार खगेन्द्र लामिछाने निर्देशनमा पनि अब्बल बनेको बताइएको छ। व्यवसायिक पाटोमा ‘पानीफोटो’ सफल होला या नहोला त्यो आफ्नै ठाउँमा छ। तर, युद्धले दिएका पीडा यसरी पर्दामा जीवन्त ल्याउनु र भोलिको पुस्तालाई दस्तावेजको रूपमा पस्कनु ऐतिहासिक हो।
बेपत्ता पारिएका परिवारको कथामाथिको सिनेमा चर्चासँगै मेरो मनमा बसेका एक पात्र र परिवारको कुरा खेल्यो र यो लेख्दै छु। उनी देशको मुहार फेर्न हिँडेका योद्धा थिए। चरम गरिबी र उत्पीडनको पहाड फुटाउन कलम बोकेर निस्केका यात्री थिए। तर, मध्यान्तर नहुँदै कतै अलप पारिए।
माओवादीले गरेको १० वर्षे जनयुद्धमा झण्डै १३०० सयजना बेपत्ता पारिएको छ। जसमध्ये धेरै राज्य पक्षले बेपत्ता पारेको छ। आज आउला, भोलि आउला भन्दै दिन गनेर कुरेर बसेको पनि २० वर्ष नाघ्यो। तर, अझै अत्तोपत्तो छैन।
बाबुआमा र परिवारमा के बित्यो होला ? पीडा र दुःखको महा पहाड छ। तर, राज्य र विद्रोही पक्ष जिम्मेवार नभएपछि कसको के लाग्दो रहेछ र ? अब भने मैले माथि लेखे अनुसार बेपत्ता पारिएका ती पात्र र परिवारबारे है त ?
सुरेश विक, नाताले मेरो मामा पर्ने (हजुरआमाको भतिज) उहाँ सानै उमेरमा धेरै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो। बागलुङ नगरपालिका–७ ढिकीचौरका सुरेश मामा माओवादीले चलाएको जनयुद्धमा सामेल हुनुभयो, देश बदल्न भनेर। झण्डै २० वर्षको कलिलो उमेरमा बेपत्ता पारिनुभयो। सम्झनाको कुनाहरुमा भने धमिलो बनी बसिरहनुभएको छ।
अखिल (क्रान्तिकारी) बागलुङ जिल्ला अध्यक्ष हुँदाताका देशमा संकटकाल लाग्ने बित्तिक्कै सुरेश विक र उहाँको जीवनमा संकट आयो। उहाँलाई राज्यले बेपत्ता पार्यो। आमाबाबा र घर परिवार भने अझै पनि बाटो कुरेर बसिरहनुभएको छ।
गीत संगीतमा नाच्न, गाउन, बजाउनमा निपुण, जुरूक-जुरूक पार्ने भाषण गर्न माहिर, पेन्टिङ र भीत्ते लेखनमा उत्कृष्ट कला, जुझारू विद्यार्थी नेता, किशोर उमेरमा पनि कुशल संगठक अर्थात् धेरै प्रतिभामा अब्बल सुरेश मामा त्यो समयमा बागलुङ जिल्लामा मात्रै नभएर तत्कालिन धवलागिरी अञ्चलको माओवादी वृत्तभन्दा बाहिर पनि उत्तिकै चर्चित भएकाले होला अझै पनि कतिपयले सम्झिरहन्छन्।
एक गतिलो र क्षमतावान युवा एक्कासी हराएकोमा दुःखी पनि छन्। ठिक्क कदको गोरो, मिठो मुस्कान छरेर मात्रै बोल्ने, सँधै सफ़ा र स्मार्ट देखिने, नम्र र मिजासिलो स्वभावको त्यो युवा धेरैको नजरमा ताजै छन्।
गरिव दुःखी दलितहरुको घर वस्तीमा पुगेर जागरण फैलाईरहेका र देश दुनियाँ बदल्ने जुनून बोकेका सुरेश मामासँगका यादहरु सिनेमाको रिलझैं मनमा घुमिरहेका छन्।
म १०/११ वर्षको हुँदो हुँ। ती बेलाका उहाँको केही धमिला यादहरु मेरो मनमा अझै ताजै छन्। हाम्रो घर बागलुङ सिगाना लामिचौरमा २०५६ सालको वर्षायामतिर होला सुरेश मामा हामीले नचिनेका २ महिला सहित आउनुभयो।
हजुरबाले कुखुरा काट्नुभयो। पाहुना भनेर राम्रै खानपिन भयो। खाना खाएपछि सुरेश मामा सहित ती पाहुनाले आफ्नो थाल र कचौरा धुन आफै हिँडेपछि हजुरआमा, ममी र काकीहरु छक्क मात्रै पर्नुभएन खोस्न जानुभयो। तर, उहाँहरुले दिनु भएन आफैं धुनुभयो।
त्यसपछि समानता, महिला पुरुष, जातभातबारे धेरै कुरा गर्नुभयो। ती धेरै कुरा मलाई याद भएनन्। घरमा सबैले चाख मानेर सुनेकोचाहिँ मलाई अझै याद छ। केही बेरपछि अलि तल रहेको छामा (हजुर आमाको बहिनी) को घरमा मेरो कान्छो अंकल शिव, अर्जुन दाइसहित सुरेश मामा र उहाँका साथीहरु जानुभयो।
भोलिपल्ट बिहान कोदो रोप्न सुरेश मामाका महिला साथीहरु, ममी र माइली काकीसँग गए। हामी खाना खाएर पढ्न विद्यालय गयौं। दिउँसोतिर हाम्रो विद्यालयमा सुरेश मामाहरु आउनुभयो। सरहरुसँग के के कुरा गरेको देखियो छुट्टि भएको बेलामा। पछि हामी विद्यार्थीलाई जम्मा गरेर मामाले कडा भाषण गर्नुभयो।
उहाँ त मैले चिनेको सामान्य मामा हैन रहेछ। उहाँले त ठूलो नेताले झै निःशुल्क शिक्षा, समानता, जनयुद्ध, माओवादी पार्टी, नयाँ राज्य सत्ता बारे जुरुक जुरुक पार्ने कुरा भन्नुभयो।
४/५ कक्षामा पढ्ने हाम्रो बाल मस्तिष्कमा भयंकर विषय घुसाइदिनुभयो। त्यसपछि मामाहरु विद्यालयबाट छुट्नुभयो। हामी बाँकी कक्षा लिएर घर आउँदा मामा हुनुहुन्थेन। हजुरआमाले गए भन्नुभयो।
गाउँमा महिला र युवाहरुको पनि भेला गरेर त्यसैगरी भाषण गरेको हल्ला चल्यो। भोलिपल्टबाट त गाउँमा माओवादीले जाँड रक्सी खान नदिने। जुवातास खेले जन कारबाही गर्ने रे भन्ने हल्ला चल्यो। हाम्रो गाउँ सबैतिर सुरेश मामाको चर्चा थियो। त्यति सानो केटाले कति मिठो भाषण गरेको होला नि ! भनेर सबले भनेको सुन्दा मलाई पनि गर्व लाग्थ्यो।
फेरि २/३ हप्तापछि होला सुरेश मामा एक जना महिला कमरेडसहित आउनुभयो। उहाँको नाम कमरेड वर्षा थापा रहेछ। घर अलि तल चनौटे रहेछ। मेरो हजुरबा र हजुरआमाले पहिलाको जस्तै खानपान र सम्मान गर्दा उहाँहरुले मान्नुभएन। जे छ त्यही खान्छौं। हामी पाहुना हैन भनेर भन्नुभयो। त्यसो भन्दा हाम्रो घरमा सबै दंग र खुसी भएका थियौं।
पाहुनाले गाउँमा गजबै गर्ने भए भन्ने लागिहालेको थियो। खाना खाएपछि पहिला जस्तै छामाको घरमा शिव अंकलसहित जाने क्रममा म पनि जान्छु भनेर सुरेश मामालाई भनेँ। सानो छौं निद्रा लाग्ला भन्नुभयो। शिव अंकलले हुन्न भन्नुभयो। तर, म जाने भनेर जिद्दी गरेँ। अनि सँगै गएँ।
अर्जुन दाइ आउनुभयो। तलका अरु पनि धेरै आए। छामाको घरमा २०/२२ जनाको बैठक रहेछ। त्यति धेरैजना। म त छक्क परेँ। त्यो दोस्रो बैठक रहेछ। सुरेश मामाले त्यति बेला पनि दमदार भाषण गर्नुभयो। गाउँमा जातीय विभेद, महिला हिंसा, जाँड रक्सी र जुवातास विरुद्ध अभियान थाल्ने, भित्ते लेखन गर्ने लगायत निर्णय भएजस्तो लाग्छ।
फेरि तेस्रोपटक पनि सुरेश मामा आउनुभयो। भोलिपल्ट हाम्रो विद्यालयमा वृक्षारोपण गर्ने र भित्ते लेख्न गर्ने उहाँहरुको कार्यक्रम थियो। केही अभिभावकले भने विरोध गरे। सुरेश मामाले कडा प्रतिवाद गर्नुभयो। आफ्नै हातले विद्यालयको भित्तामा शिक्षा सम्बन्धी नाराहरु लेख्नुभयो सँगै जनयुद्ध जिन्दावाद भनेर पनि लेख्नुभएको थियो।
केही शिक्षक र अभिभावकले ती सबै नाराहरु मेटेको हल्ला हामीले थाहा पाइयो। केही दिनपछि मध्य रातमा माओवादीको ठूलो टोली आएर त्यो नाराहरु मेट्नेहरुलाई गाउँको विचमा लगेर उठबस सहित माफी मगाएछन्। भोलिपल्ट हल्ला फैलियो। माओवादीको हल्ला खल्ला गाउँमा बढ्दै थियो।
सुरेश भनेपछि सबै सजग हुन्थे। सुरेश मामा आएर बस्ने पनि हाम्रो घर। हाम्रो नातेदार। बैठक गर्ने पनि छामाको घर। गाउँमा अलि बढी चिनिएका माओवादी अर्जुन दाइ, मेरो अंकल शिव र पछि केही समय माओवादीमा हिँड्ने आशा फुपू हुनुभयो।
मैले पहिलोपटक माओवादी भनेर सुनेको र देखेको सुरेश मामा हो। म अलि जिज्ञासु भएकाले मामासँग नजिक पनि भएँ। पछि मामा आएर हाम्रो विद्यालयमा अखिल (क्रान्तिकारी) प्राक गठन गर्नुभयो र म सचिव भएँ। मामाको आवाजजावत बाक्लो थियो। अरु माओवादीहरु पनि आउँथे। पछि थाहा भयो—हाम्रो सिगाना ठोकनफाँटका टंक खड्का (जनयुद्धकै क्रममा २०६१ सालमा हाम्रो विद्यालयमा शाही सेनाले हत्या गरेका) दाजु, कृष्ण खड्का सर, रामेन्द्र खड्का सर, चनौटेका कृष्ण थापा सर, एलिना दिदीहरु सक्रिय रुपमा माओवादीमा लागिसक्नुभएको रहेछ त्यति नै बेला। तर, मैले भने सुरेश मामालाई मात्रै चिन्थेँ।
सुरेश मामासँगको अन्तिम भेट २०५८ सालतिर भएको होला। त्यतिबेला बाबा, ममी र भाइ नरेशसहित भारत जाँदै थियौं।
बागलुङदेखि सुनौलीसम्मको नाइट बसमा सुरेश मामासहित उहाँका साथीहरु पनि यात्रा गर्दै थिए। बसमा मामासँग बाबाको धेरै कुरा भयो। राति म निदाएछु। बिहान सुनौलीमा मामा हुनुहुन्थेन। बाबाले बुटवलमा झरेको बताउनुभयो।
त्यसपछि केही समय पछि देशमा संकटकाल लाग्यो। हाम्रो गाउँमा पहिला जस्तो भएन। सरकारी सुरक्षाकर्मीको आवात जावत र डर बढ्यो। हाम्रो गाउँमा कहिले काँही माओवादी आउँथे। तर, सुरेश मामा कहिल्यै आउनु भएन। उहाँबारे साथीहरुलाई सोध्दा पनि दाङ सरुवा भएको बताउँथे।
मेरा आँखाहरु भने त्यो जुझारु योद्धा सुरेश मामा कहिले आउलान् भनेर कुरिरहे। तर, २० वर्ष पुरै विते उहाँ फर्कनु भएको छैन। बेला बेलामा म उहाँलाई सम्झिरहन्छु।
म त अझै यसरी सम्झिरहन्छु भने उहाँको बाबा आमालाई कस्तो हुँदो हो ? त्यो हामी कल्पना मात्रै गर्न सक्छौं। सुरेश मामालाई खोज्न परिवार कहाँ पुगेन। कसलाई गुहारेन। भनेर साध्य छैन। संकटकालीन दिनहरुमा पनि उहाँको आमा धेरै ठाउँ धाउनुभयो। रूदाँरूँदा आँसु सुके कि ! दर्जनौं जोडी चप्पल छिने। तर, फेला पार्न सक्नुभएन।
जनयुद्ध सकियो शान्ति आयो। अब त छोरा आउला भनेर आशा गरे तर, फर्केनन्। युद्धमा सुरेशसँगै गएका कति साथी घर फर्के। कति सहर पसे। महल बनाए। कोही सांसद बने। मन्त्री भए। तर, सुरेश फर्केनन्।
युद्धकै लागि सब चिज त्याग्ने सुरेशको खोजी गर्न उनको पार्टी माओवादीले पनि चासो देखाएन। बरु त्यहीँ पार्टी पनि ५/७ टुक्रा पर्यो। तर, बेपत्ता सुरेशहरुको खोजी गरेन। परिवार रूदै धाउनुसम्म धाए। मात्रै दुःख सिवाय केही पाएका छैनन् आजको दिनसम्म।
‘चम्धारा रूँदै’ छोरा खोज्न हिँडेकी आमालाई न सास न लास देखाउने आँट छैन लाचार राज्यको। कहिलेसम्म यसरी तड्पाउने होला निर्दोष परिवारहरुलाई राज्यसत्ताले ?
यस्तै पीड़ामा बाँचिरहेकी छन् पोखराकी झण्डै ९० वर्षीय मोतीमाया पौडेल आमा। तत्कालीन शाही सेनाले बेपत्ता पारेका छोरा पूर्ण पोडेलको खोजीको लागि उनले सक्दो सबै गरिन् ती आमाले तर, छोराको न सास न लास पाएकी छन्। मात्रै पर्खाईमा बाँचिरहेकी छन्।
उस्तै ब्यथा छ, बागलुङकी जसोदा शर्माको पनि। आफ्ना श्रीमानको खोजी गरिदिन भनेर नेता, प्रहरी प्रशासन मात्रै हैन अदालत पनि गुहारिन् तर, न त श्रीमानको अवस्था न त न्याय पाएकी छन्। २० औं वर्षदेखी राज्यले बेपत्ता पारेको श्रीमानको प्रतिक्षामा छिन्।
सुरेश विक, मोतिमाया आमा र जसोदा शर्मा मात्रै हैन १३०० भन्दा बढ़ी परिवारको व्यथा र पीड़ा उस्तै छ। राज्यले भने देखेको नदेखै गरेको छ। बरु पीडामाथि झनै पीड़ा थपेको छ यसरी लम्बाएर। आफ्नो सन्तान, श्रीमान/श्रीमति वा आफन्तको बाटो कुरेर बसेका यी पीड़ितहरुको दुःख नदेख्ने आँखा बन्द गरेर बसेको राज्यले कहिलेसम्म तड्पाउने होला !
उता, सुरेश मामाको बाबा लामो समय खाडीमा हुनुहुन्थ्यो। केही वर्ष अघिदेखि घरमै हुनुहन्छ हरक्षण छोराको बाटो हेर्दै। थाहा छैन कहिलेसम्म पर्खिरहनुपर्ने हो ? र, उस्तै पीडा र बेचैनमा छन् भाइ प्रकाश मामा पनि।
साउन १५ मा सुरेश मामाको जन्मदिन रहेछ। प्रकाश मामाले राज्यद्वारा बेपत्ता दाजुबारे फेसबुकमा केही लेखेर सम्झना गरे। यही बेला सिनेमा पानी फोटोको पनि सञ्जालभरि चर्चा भयो। अनि यो ब्लग लेख्न मेरा औंलाहरु अघि बढे।
प्रकाश मामाले लेखेका छन्ः
‘बाँचे देशको व्यवस्था परिवर्तन गर्छौ, मरे देशका लागि सहिद हुन्छु’ मेरो पुजनीय दाजुको त्यो बोली सुन्दा गर्व लाग्थ्यो। यस्ता वीर नेपाली आमाको कोखबाट जन्म लिएको १ योद्धा थियो। मेरा अग्रज, राजनीति गर्ने लिडरहरुलाई मलाईभन्दा बढी जानकारी होला। हाम्रो घरपरिवारलाई कुनै लोभ लालच छैन। बस ती हजारौं सहिद, बेपत्ता योद्धाहरुको सपना साकार भएको देख्न पाइयोस् यति भए पुग्छ ! दाजु हजुर जन्मेको आजको दिन हाम्रो परिवारमा हर्ष उल्लास थियो। तर २० वर्ष भइसक्यो हजुरको सास न लास देख्न नपाएको। धेरैधेरै मिस गरिराछु दाजु सुरेश !’