राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्सको लागि जागिर खुलेको रहेछ।
मसँग स्कुल लेबलमा सँगै पढेकी साथी हिरा बुढा नर्सिङमा ब्याचलर सकेर अहिले बेरोजगार नै बसिरहेकी छ।
उसले बिएन नेपालगन्जमै पढी। उसका पुराना साथीहरू अहिले को कता छन् उसलाई नै थाहा छैन तर ऊ र म भने सधैं जस्तो भेट भई नै रहन्छौं।
उसको सानो काम पर्दा पनि मलाई साथी लिएर जाने उसले बानी नै बसालिसकेकी थिई।
कहिले राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासनमा दुई तीन घण्टा कुराउनेदेखि सपिङ गर्न समेत मलाई नै बोलाउने गर्थी।
मलाई पनि ऊसँग समय बिताउँदा रमाइलो नै लाग्छ।
उसको सानैदेखिको जिस्किने बानी, रमाइलो गर्ने बानी। ऊ जहिले मुड फ्रेस मै हुन्छे।
मनमा जे भए पनि हाँस्न चाहिँ कहिले नछाड्ने हँसिलो मुहार। सबैसँग खुलेर बोल्ने बानी। हाम्रो मित्रता साँच्चिकै भन्ने हो भने अजिव खालको नै छ। स्कुलमा हुँदा कहिले मिलेनौं। धेरै बोलेनौं पनि। तर अहिले कस्तो आत्मिय लाग्छ। उसले मलाई बिहानै फोन गरेर ‘आज तिमी फ्री छौ कि छैनौ ? छैनौ भने पनि मेरो लागि एकछिन समय मिलाउन है। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर खुलेको रहेछ मलाई एक्लै फर्म भर्न जान कस्तो बोर लागिरहेको छ। तिमी मेरो साथी गइदिऊ न प्लिज!’
यति भने पछि मैले नाइँ भन्न पनि सकिनँ। म फ्री नै थिएँ। उसले खाना खाएर तिमी तयार हौ म लक्ष्मी बैंकमा फर्मको पैसा जम्मा गरेर भौचर लिएर आउँछु, फोटो पनि निकाल्नु छ भनेर फोन राखी।
एकछिनमा ऊ मेरोमा आई र हामी दुबै जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक भवनमा गयौं।
उसले फर्म मागेर भर्दै थिई। म साइडमा बसेर उसको डकुमेन्टहरू मिलाइदिँदै थिएँ।
एकैछिनमा गेटबाट एक सुन्दर केटीको प्रवेश भयो। हातमा केही कागजपत्र पनि समाएकी थिई।
उसले पनि फर्म मागेर हाम्रो छेउमा बेसेर भर्न थाली।
ब्ल्याक पाइन्ट खुकुलो ह्वाइट सर्ट त्यसमा सबै बटन खुल्ला छाडेर एउटा बिचको मात्र लगाएकी सुरिलो परेको चिटिक्क जिउडाल गालाको छेउमा कालो कोटी ठूलो निधार उज्यालो अनुहार आहा कति राम्री।
नर्सहरू प्राय: सबै सुन्दर हुन्छन् कि नर्सलाई हेर्ने मेरो नजर राम्रो हो!
हुन त उनीहरूले बिरामीलाई गरेको सेवा देखेर मेरो मनमा सकारात्मक भावना जागेर पनि राम्रो देखिएको हुन सक्छ।
मैले उसलाई टोलाएर हेरेको हेरै भएछु एकछिन।
ऊ लजाएर नर्भस अलमल्ल परेजस्तै गरी कसरी भर्ने हो? के के चाहिन्छ ? फोटो एउटा मात्र भए पनि हुन्छ कि कति वटा चाहिने? अनि यस्तै रेकर्ड फाइल नै गराएर बुझाउने हो? उसको यो लगातार प्रश्नको मसँग कुनै जवाफ थिएन फेरि प्रश्न पनि मेरो लागि थिएन।
साइडबाट हिराले जवाफ दिई। ‘फोटो दुइटा मात्र हो चाहिने अनि रेकर्ड फाइल बनाएरै बुझाउनु पर्छ। एउटा निवेदन पनि लेख्नु पर्छ लेखेको छौ कि नाइँ?’
उसले ब्यागबाट फोन निकालेर कल गर्न थाली।
‘दिदी हजुर आउँदा एउटा रेकर्ड फाइल पनि सँगै लिएर आउनुस् ल मैले बिर्सेछु।’ यति मात्र भनी।
हिराको फर्मको मोबाइलबाट फोटो लिई र निवेदन सार्न सुरू गरी।
तर ऊ बोल्न भने रोकिन।
‘तपाईंले पिसिएल कहाँबाट गरेको ? अनि तपाईंको घर यहीँ हो?’ हिराले जवाफ दिई।
‘हो मेरो घर यही नै हो मैले यहीँको दीप ज्योति नर्सिङ कलेजबाट पिसि एल गरेको बिएन चाहिँ नेपालगन्जबाट अनि तिम्रो’ हिराले प्रतिप्रश्न गरी।
म उनीहरूको कुरा ध्यान दिएर सुनिरहेको थिएँ।
उसले जवाफमा ‘मेरो घर तुलसीपुर पिसिएल सुर्खेतबाट अहिले जागिर पर्वतमा गरिरहेको छु। अब आफ्नै ठाउँमा गरौं कि भनेर आएको खै नाम निस्किन्छ कि नाइँ!’
यो शब्द भनिरहँदा ऊ अलि गम्भीर देखिन्थी।
मैले मनमनै सोचें घर तुलसीपुर पढाइ सुर्खेत फेरि जागिर चाहिँ पर्वत किन फनफनी घुमेकी होली!
मेरो मनको कौतुहलता धेरैबेर रहेन। हिराले सोधिहाली ‘किन नि घर यता पढाइ सुर्खेत अझ जागिर पर्वत?’
उसले सामान्य जवाफमात्र दिई ‘यतिकै मलाई नयाँ ठाउँ घुम्न मन पर्छ सो..!’
उसले केही समय अगाडि फोनमा रेकर्ड फाइल मगाएकी उसको दिदी गेटमा प्रवेश गरी।
मैले टाढैबाट चिनिहालें तर विश्वास गर्न सकिरहेको थिइनँ। ऊ त्यो मान्छे थिई जोसँग मेरो छ वर्ष अगाडिदेखि भेट नै भएको थिएन।
एउटै ठाउँमा बसेर पनि छ छ वर्षसम्म हाम्रो भेट नहुनु सायद दुवैले नचाहेर नै हुन सक्छ।
कुनै समय हामी यति नजिकिएको थियौं कि बिहेको कुरा समेत चलेको थियो। पछि खै कसरी हामी सम्पर्कविहीन भयौं। मलाई नै राम्रोसँग याद छैन। न हामी झगडा गरेका थियौं न हाम्रो एकअर्काप्रति दुस्मनी नै थियो। बरू एक किसिमको माया थियो भनौं त्यो त्यस्तो माया जुन एकअर्काले खुब विश्वास गर्ने उसले भनेका सबै कुरा मलाई राम्रो लाग्ने, मलाई पनि उसले खुब केयर गर्थी। तर एकाएक ऊ यसरी हराई, न उसले कुनै सामाजिक सन्जाल नै प्रयोग गरी न पुरानो नम्बर।
मैले उसलाई खोज्न केही हदसम्म प्रयास गरें तर लागि परिनँ।
आज एक्कासि उसलाई मेरो आँखा अगाडि देख्दा अचम्मित थिएँ।
ऊ हामी बसेको नजिकै आई। उसले हातमा समाएको रेकर्ड फाइल दिई र छेउमै बसेर सामान्य अवस्थामा मै ‘के छ तेरो हालखबर? त कहाँ आएको सन्चै छस्?’ उसको यो प्रश्नले झन् मलाई कन्फ्युज गरायो।
यति धेरै वर्ष पछिको भेट। तै पनि ऊ कुनै सरप्राइज भइन। मैले नर्भस हुँदै जवाफ फर्काएँ।
‘ठिक छु साथीसँग आएको। मैले आफूलाई रोक्नै सकिनँ सोधिहालें ‘यतिका वर्ष त कहाँ थिइस्? के गर्दैथिइस्? अनि तैले बिहे गरिस्?’
उसले मुस्कानसहित जवाफ फर्काई।
‘म हैन बरू त कहाँ हराको थिइस्? म त केही नि गर्दिनँ। खाली छु। बेरोजगार बिहे नि गरेको छैन। तैंले गरिस्? अनि त के गर्दैछस् आजभोलि ?’
‘मैले चिया घर संचालन गरिरहेको छु। खासै अरू केही नि गर्दिनँ। बिहे गर्नै मन छैन।’ मैले हल्का हाँसो मिसाएर जवाफ दिएँ।
उसले चिया घरको लोकेशन सोधी ‘मैले एफ एम रोडमा डिलाइट कर्नरको छेउमा भनें।
हिराले फर्म भरेर भित्र बुझाइसकेको थिई। उसले ‘जाम सक्यो हाम्रो काम’ भनि। म उठेर हिँड्न लाग्दा ‘म तेरो चिया घरमा आउनेछु बसेर कुरा गरौंला बाई’ भनि र हामी छुट्टियौं।
त्यतिका बेरसम्म सँगै बस्दा मैले उसको नम्बर सोध्न नै बिर्सेछु।
के त्यो चिया घरको लोकेशन सोध्दै, मलाई खोज्दै आउने छिन् कि पहिलेजस्तै अरू वर्षौंसम्म कुर्नु पर्नेछ फेरि उसलाई भेट्न। प्रतीक्षा गर्नुहोला यदि ऊसँग मेरो भेट भयो भने दोस्रो भाग अवश्य लेख्नेछु।