साउन, भगवान शिवको प्रिय महिना। साउनमा चोखोनितो भएर देवालयमा महादेव दर्शन गरि व्रत बस्ने चलन छ। काठमाडौं उपत्यकामा थुप्रै महादेव मन्दिर छन्। ती मध्ये साउनमा महादेव दर्शन गर्दै हाइकिङ गर्न उपयुक्त ११ ‘महादेव पदमार्ग’को यहाँ चर्चा गरिएको छ।
कागेश्वरी
कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन्। यहाँ शिवलिंगसँगै कागको पूजा गरिन्छ।
कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ। किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो।
एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्। त्यो कागलाई गोठालाले पच्छाएछन्। पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो। त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालियो।
त्यस्तै, श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु यही ठाउँमा पतन भएको थियो। सतिदेवीको अंग पतन भएकाले कागेश्वर नभनी ‘कागेश्वरी’ भन्न थालियो।
कागेश्वरीधाममा राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालादेखि हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्दै आएको छ।
कागेश्वरीमा कागको सुनौलो मूर्ति बनाइएको छ भने सहिद पार्कमा कागको विशाल कालो प्रतिमा र नेपालको राष्ट्रिय झण्डा पनि राखिएको छ।
कागेश्वरी क्षेत्रमा सुविधायुक्त होटल तथा रिसोर्ट खुलेका छन्।
कसरी पुग्ने ?
ललितपुरको सातदोबाटोबाट सुन्दरीजल १५ किलोमिटर गाडीमा। सुन्दरीजलको मेलम्ची गेटबाट पदयात्रा सुरु। त्यहाँबाट शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज, शहिदपार्क, कागेश्वरी हुँदै आलापोटसम्म पदयात्रा। मेलम्ची गेट–सहिद पार्क ९ कि.मि., शहिद पार्क–कागेश्वरी धाम ३ कि. मि., कागेश्वरीधाम–आलापोट ३ कि. मि. । जम्मा पदयात्रा दूरीः १५ किलोमिटर। समय ५ घण्टा। गागलफेदिबाट कागेश्वरी मन्दिर नजिकैसम्म गाडी जान्छ। गाडीबाट ओर्लेर १० मिनेट हिँडेमा मन्दिर।
अनन्तलिंगेश्वर
सूर्यविनायक नगरपालिका–४, भक्तपुरको जंगलमा छ अनन्तलिंगेश्वर महादेव मन्दिर। मन्दिरभित्र प्राचीन शिवलिंग छन्। मन्दिर हातामा गणेश, बासुकी, उमा महेश्वर, जलहरी, गणेश, अन्नपूर्णा, लक्ष्मी, वनदुर्गा, सरस्वती पादुका, बसाहा र गरुडका मूर्ति छन्।
अनन्तलिंगेश्वर दर्शनले सुख/शान्ति मिल्ने, रोगव्याधिबाट मुक्ति र मनोकामना पुरा हुने जनविश्वास छ।
हालै मन्दिर प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको छ। १२ वैशाख वि.सं. २०७२ को भुइँचालोले गुम्बज शैलीको मन्दिर जिर्ण बनाएपछि नयाँ बनाइएको।
इतिहासविद्काअनुसार भक्तपुरको दधिकोट क्षेत्र लिच्छिविकालमा समृद्ध थियो। तिनताका अनन्तलिंगेश्वर क्षेत्रलाई ‘हंशगृह’ भनिन्थ्यो। त्यसका रक्षक लोकपाल स्वामी अर्थात् अनन्तलिंगेश्वर थिए।
मन्दिर निकै प्राचीन मानिन्छ। मन्दिर कहिले बन्यो भन्ने यकिन तथ्य छैन। इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठको पुस्तक ‘अनन्तलिंगेश्वर’काअनुसार सातौं शताब्दीमा भक्तपुरका राजा नरेन्द्रदेवले यसको जीर्णोदार गराएका थिए। लामो समय खडेरी परेमा चित्रपुर, दधिकोटका बासिन्दा ‘हरहर महादेव !’ भन्दै अनन्तलिंगेश्वरमा बाजागाजाका साथ पुगेर पानी माग्ने चलन छ। त्यसको केही समयमै पानी पर्ने जनविश्वास छ।
अनन्तलिंगेश्वर क्षेत्र हाइकिङ प्याराडाइज हो। मन्दिरबाट उकालो चढेर लाँकुरी भञ्ज्याङ हुँदै रानीकोट वा लामाटार पुग्न सकिन्छ। आकाश खुलेका बेला कैलाशबाट काठमाडौं खाल्डोका साथै हिमालयको दर्शन गर्न सकिन्छ।
अनन्तलिंगेश्वरको शिर कैलाशडाँडामा होमस्टे र होटल सुविधा छ।
कसरी पुग्ने ?
अरनिको राजमार्गको नयाँ थिमिस्थित शंखधर चोकबाट करिब ६ कि.मि.मा अनन्तलिंगेश्वर मन्दिर। थिमिबाट अनन्तलिंगेश्वरको फेदीसम्म सार्वजनिक यातायात चल्छन्। सूर्यविनायकबाट साँढे चार कि.मि.मा अनन्तलिंगेश्वर। हाइकिङ रुट–विरुवा वसपार्कबाट विन्ध्यवासिनी मन्दिर, पात्लेटार गाउँ, कैलाशडाँडा, अनन्तलिंगेश्वर मन्दिर हुँदै गुण्डुको पाथीभरा मन्दिरसम्म। पदयात्रा दूरीः करिब ७ कि.मि., समय डेढ घन्टा।
कैलाशनाथ
भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको साँध साँगामा कैलाशनाथ महादेव बनाइएको छ। यहाँ शिवको १४३ फिट अग्लो मूर्ति छ। यसलाई विश्वकै अग्लो शिव मूर्तिका रुपमा प्रचार गरिएको छ।
मुख्य मूर्तिका वरपर विभिन्न देवदेवीका मूर्ति बनाइएका छन्। यहाँ हिन्दूका चारै धामका प्रतीक छन्। कैलाशनाथको देव्रेपट्टि कुमार, पार्वती र गणेशका मूर्ति छन् भने दाहिनेपट्टि महादेवको बहान साँढे छ।
उद्योपति कमल जैनको लगानीमा मूर्ति बनाइएको हो। वि.सं. २०६१ सालमा मूर्ति निर्माण सुरु गरिएकामा वि.सं. २०६७ असार ७ गते यसको उद्घाटन गरियो। कैलाशनाथको मूर्ति तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ।
कैलाशपुरी क्षेत्र ७५ रोपनीमा फैलिएको छ। कैलाशनाथको मुख्य मूर्ति भएको क्षेत्र भने १२ आनामा छ।
अग्लो थुम्कोमा रहेको मन्दिर क्षेत्रबाट भक्तपुर र काठमाडौंका बस्तीका साथै उत्तरमा हिमालको दर्शन गर्न सकिन्छ।
मन्दिर अगाडि खाजापसल र फलफूल बेच्ने पसल खुलेका छन्। मन्दिर क्षेत्रमा प्राकृतिक उपचार केन्द्र, चिल्ड्रेन पार्क र रेष्टुराँ सुविधा पनि छ।
मन्दिर मुन्तिर डोलमा फर्न पार्क छ। मन्दिर नजिकै हालै झोलुङे पुल बनाइएको छ। सडक माथि वल्लो डाँडा र पल्लो डाँडालाई जोडेको पुल २४४ मिटर लामो छ। अचेल यस क्षेत्रमा टिकटक बनाउनेहरूको भिड लाग्छ।
साँगा क्षेत्रमा खाजा घर, होटल, रिसोर्ट र लज सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौं–साँगा २० कि.मि. गाडीमा। काठमाडौंबाट बनेपा, धुलिखेल वा पनौती जाने बसमा गएर साँगामा झर्ने। साँगाबाट १.५ किलोमिटर दूरीमा कैलाशनाथ महादेव। कैलाशनाथबाट फनपार्क छेउको राजमार्गमा निस्कने। पदयात्रा दूरी ३ किलोमिटर, समय १ घन्टा। अथवा त्यहाँबाट खालचोक तामाङ बस्ती हुँदै आशापुरेश्वर, डोलेश्वरसम्म पदयात्रा गर्न पनि सकिन्छ। यस पदमार्गमा एकै पटक तीन महादेव दर्शन गर्न सकिन्छ।
आशापुरेश्वर
सूर्यविनायक नगरपालिका–८, भक्तपुरमा बसेका छन् आशापुरेश्वर महादेव। मनले चिताएको पुरा गराइदिने महादेव। काभ्रेपलाञ्चोक र भक्तपुरको सिमामा त्रिवेणी खोला किनारमा बसेका महादेव।
मन्दिर अगाडि बसाहा र घन्ट छन्। आशापुरेश्वर नजिकै १०८ शिवलिंग र जलधारा पनि बनाइएको छ। जलधारा नजिकै बौद्ध चैत्य पनि छ।
धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण आशापुरेश्वर महादेवस्थानमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्छ। उक्त दिन आशापुरेश्वरको पूजाअर्चना गर्नाले आफ्नो इच्छा पूर्ण हुने धार्मिक विश्वासले भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंलगायतका जिल्लाबाट दर्शनार्थी आउँछन्।
मन्दिर क्षेत्रमा खाजाघर, फूलप्रसादी बेच्ने पसल र होटल सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौं–साँगा २० कि.मि.। साँगा–आशापुरश्वर ५ कि.मि.। साँगासम्म गाडीमा गएर साँगा भञ्ज्याङबाट पदयात्रा। पदयात्रा दूरी ५ कि.मि., समय डेढ घन्टा। आशापुरीबाट ९ कि. मि. दूरीमा सिपाडोलको डोलेश्वर महादेवसम्म पदयात्रा गर्न सकिन्छ।
तारकेश्वर
शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको जंगलमा बसेका छन् तारकेश्वर महादेव (१,७१८ मिटर)। काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा पर्ने महादेव शक्ति पिठ हुन्। श्रीस्वस्थानी व्रतकथाअनुसार सतिदेवीलाई बोकेर हिँड्दा उनको दाहिने तिघ्रा पतन भएको मानिन्छ।
डाँडाको शिरमा बसेका छन् तारकेश्वर। हाल तारकेश्वरलाई व्यवस्थित गरिएको छ। यहाँ शिवरात्री, जनैपूर्णिमा, स्वस्थानी व्रतकथाको समय, बाला चर्तुदशी र सोमबार मेला लाग्छ।
तारकेश्वर क्षेत्रमा बूढा महादेव पनि छन्। किंवदन्तीअनुसार उहिलेउहिले गाउँमा कुनै भोजभतेर वा शुभकार्य हुँदा बूढा महादेवले गाउँलेलाई भाँडावर्तन दिन्थे। एक पटक एक जनाले पन्यू चोरेर लगेपछि फिर्ता दिएनछ। त्यही दिनदेखि महादेव रिसाएर भाँडा दिन छाडेछन्।
बूढा महादेव भन्दा माथि बसेका छन् तारकेश्वर। तिनको दर्शन गर्न फलामे भ¥याङ चढ्नु पर्छ। तारकेश्वर नजिकै स्यानो गुफा छ जहाँ गणेश, महादेव, त्रिशुल र घण्ट छन्।
जितपुरफेदि र काभ्रेस्थलीको शिरमा पर्ने तारकेश्वरलाई गाउँलेहरूले इष्ट देवका रुपमा पूजा आराधना गर्दछन्। खडेरी पर्यो भने वरपरका गाउँलेहरू बाजागाजाकासाथ तारकेश्वर पुगेर पानी माग्छन्। यसरी पानी मागे लगत्तै वर्षा हुने जनविश्वास छ।
तारकेश्वर क्षेत्र ध्यान र योगसाधना गर्नेहरूका लागि पूण्यभूमि हो। नजिकै कविर आश्रम पनि छ। मन र इन्द्रियलाई वशमा राख्न सक्ने, बोली र व्यवहारमा एकरुपता ल्याउन सक्ने मान्छे नै कविर हो।
तारकेश्वरको शिरमा धौलेश्वर महादेव छन्। त्यस्तै तारकेश्वरको वेस क्याम्प पाँचमाने भञ्ज्याङमा माने बनाइएका छन्।
पाँचमाने भन्दा मुन्तिर श्याम बाबाले भुवनेश्वरी मन्दिर बनाएका छन्।
डाँडामा होटल तथा लज छैनन्। पाँचमानेमा सामान्य खाजा घर छन्।
कसरी पुग्ने?
काठमाडौंको बालाजु वाइपासबाट पासाङ ल्हामु राजमार्गको तीनपिप्लेसम्म ९ कि.मि. गाडीमा। पदयात्रा तीनपिप्लेबाट सुरु गर्ने। तीनपिप्ले–भुवनेश्वरी–तारकेश्वर ५ कि.मि. उकालो। तारकेश्वरबाट ५.५ कि.मि.मा गुर्जे भञ्ज्याङ। पदयात्रा दूरी १०.५ कि.मि. समय ५ घन्टा।
गोसाइँथान
रसुवाको गोसाइँथानबारे धेरैलाई थाहा छ। काभ्रेपलाञ्चोक जिल्लामा पनि गोसाइँथान (१,८१५ मिटर) छ। धुलिखेलबजार माथि थुम्कोमा कुण्ड छ, कुण्डमा महादेवको मूर्ति।
हिन्दू मान्यताअनुसार भगवान महादेवले कालकुट विष सेवन गरेपछि हिन्द महासागरबाट रसुवाको गोसाइँकुण्ड जाँदा बनेपामाथि डाँडामा पाइला टेकेका थिए। त्यही डाँडामा जनैपूर्णिमाका दिन मेला लाग्छ। तीर्थालुहरू कुण्डमा नुहाउँछन्। भजन किर्तन गर्छन। शिवरात्री, साउने सोमबार र तिजमा पनि यहाँ मेला लाग्छ।
डाँडामा महादेव, पार्वती, कृष्ण, हनुमान आदिका मूर्ति छन्। गोसाइँथानको प्रचारमा बाबा रमेश गिरीको योगदान उल्लेख्य छ। वि.सं. २०५२ चैतमा ब्रम्हलिन भएका बाबाको समाधिस्थल त्यहाँ छ।
गोसाइँथान नैमिषारण्य क्षेत्र विकास समितिले यसलाई ‘नैमिषारण्य क्षेत्र’का रुपमा विकास गर्दैछ। दुई आँखा बीचको भागलाई ‘निमि’ भनिन्छ। ‘अरण्य’ भनेको जंगल हो। यि दुई शब्दबाट नैमिषारण्य बनेको हो। भारतको नैमिषारण्य क्षेत्रमा ८८ हजार ऋषिमुनिलाई एकैपटक भागवत पुराण सुनाइएको थियो।
कथाअनुसार कलियुग लाग्ने बेला द्वापर युगको अन्त्यमा ऋषिमुनि कलिको प्रभाव नपर्ने ठाउँ खोजी गर्दै ब्रम्हाकहाँ पुगेछन्। ब्रम्हाले निमिबाट चक्र उत्पन्न गरेछन्। र, भनेछन्, ‘यो चक्र जहाँ पुगेर खस्छ, त्यहीँ बस्नु।’
ऋषिमुनि कता खस्छ भनेर पछि लागे। चक्र भारत, सीतापुर जिल्लाको गोमती नदी छेउको जंगलमा खसेछ। त्यही ठाउँको नाउँ नैमिषारण्य रह्यो।
नैमिषारण्य क्षेत्रमा शुतजी ऋषिले ऋषिमुनिलाई भागवत सुनाएका थिए। काभ्रेको गोसाईंथानलाई पनि त्यस्तै पवित्र धाम बनाउने सपना शिवानन्द बाबाको थियो। उनले समिति बनाएर वि.सं. २०७० माघदेखि काम सुरु गरे। डाँडामा दिव्यश्वर महादेव, काली, हेडम्ब र गणेशका मूर्ति स्थापना गरिएको छ।
काठमाडौं भ्याली कल्चरल ट्रेलमा पर्दछ गोसाइँथान। थान नजिकै भ्यू टावर पनि छ। टावरबाट काभ्रेका गाउँबेसी र नगरकोट क्षेत्र देखिन्छ। धुलिखेलबाट पदयात्रा सुरु गरेर गोसाइँथान हुँदै चण्डेश्वरी भएर बनेपा बजार झर्नु बेस हुन्छ।
धुलिखेल र बनेपामा होटल, रिसोर्ट र रेष्टुराँको सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौं–धुलिखेल ३० किलोमिटर गाडीमा। धुलिखेलबाट पदयात्रा। धुलिखेल–गोसाइँथान २ कि. मि. । गोसाइँथानबाट चण्डेश्वरी ३ कि.मि. र चण्डेश्वरीबाट बनेपा बजार १ किलोमिटर। पदयात्रा दूरी ६ किलोमिटर, समय डेढ घन्टा। गोसाइँथानसम्मै गाडी जान्छ।
लड्केश्वर
काभ्रे जिल्लाको बल्थली गाउँमा गुफाभित्र छन् लड्केश्वर महादेव। खोला किनारको गुफामा जलहरिसहितका शिवलिंग छन्। छतबाट निरन्तर जलवर्षा भइरहन्छ।
मन्दिर नजिकै धर्मद्धार गुफा पनि छ। यहाँ विशेषतः ठूलो एकादशीमा मेला लाग्छ। अहिले यहाँ १०८ फिटको त्रिशुल बनेको छ।
पौराणिक कथाअनुसार उहिल्यै समुद्र मन्थन गर्दा विष निस्कियो। त्यसबाट जगतलाई बचाउन महादेवले विष पिए। बिषले उनलाई डाहा भयो। शितल ठाउँको खोजीमा महादेव यहाँको खोला किनारमा आएर बसे।
लड्केश्वर (१,१०० मिटर) आध्यात्मिक धाम त हुँदै हो, समग्र बल्थली नै पर्यटकीय गन्तव्य हो। बल्थली (१,७०० मिटर)मा चारैतिर हरियाली देखिन्छ। डाँडाबाट हेर्दा डोलबाट सर्लक्क माथि उठेका खेतका हरिया गरा देखिन्छन्। बस्ती नजिकै जंगल छ। हरपल चराको चिरबिर सुनिन्छ।
गाउँमा तामाङ, नेवार, बाहुन, क्षेत्री र सन्यासीलगायत मिलेर बसेका छन्। कृषि कर्म, सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्य अवलोकन गर्न पाइन्छ। आकाश उघ्रेका बेला उत्तरदेखि पूर्वसम्म गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, रोल्वालिङदेखि सगरमाथासम्म देखिन्छ।
गाउँलेहरु पशुपालन र कृषिमा निर्भर छन्। गाउँमा आलु, सुन्तला र दुध उत्पादन हुन्छ।
डाँडैडाँडाको बीचमा अबस्थित बल्थलीलाई केन्द्र मानेर धेरैतिर हाइकिङ गर्न सकिन्छ। यहाँबाट तीन घन्टामा नमोः बुद्ध र पनौती पुगिन्छ भने चार घन्टामा कामीडाँडा।
बल्थली गाउँमा केही रिसोर्ट खुलेका छन् भने होमस्टे सुविधा पनि छ।
कसरी पुग्ने ?
काठमाडौं–बल्थली ४० कि.मि., बसमा। काठमाडौंबाट बनेपा, पनौती हुँदै खोपासीसम्म बस चल्छन्। खोपासीबाट, सल्मेटार, न्यौपाने गाउँ हुँदै लड्केश्वर महादेव (१,१०० मिटर) र त्यहाँबाट कोलभन्ज्याङ, बल्थली ईको हिल रिसोर्ट, लड्कु खोलाको तिरैतिर हुँदै सल्मेटार, खोपासी पुलसम्म पदयात्रा। दूरी १२ किलोमिटर, समय ६ घण्टा। जिप र मोटरबाइक गाउँमै पुग्छन्।
भालेश्वर
काठमाडौं उपत्यकाको दक्षिणी भेकमा उभिएको छ चन्द्रागिरि भञ्ज्याङ (२,२५० मिटर)। भञ्ज्याङको शिरमा बसेका छन् भालेश्वर(२,५०० मिटर)।
अहिले डाँडामा भालेश्वर मन्दिर, भ्यूटावर, चिल्डे«न पार्क, घोडचढी, जिपलाइनलगायत सुविधा छ। यहाँबाट गणेश, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकरदेखि सगरमाथासम्म देखिन्छ। आकाश खुलेका बेला काठमाडौं र चित्लाङ उपत्यका पनि छर्लङ्ग देखिन्छन् भने सूर्योदय र सूर्यास्त पनि दृष्यावलोकन गर्न सकिन्छ।
काठमाडौं र मकवानपुरको साँधमा पर्ने भालेश्वरको ऐतिहासिक महत्व छ। राजा पृथ्वीनारायण शाहले यहीँबाट उपत्यकालाई नियालेपछि काठमाडौं जित्ने योजना बनाएका थिए भनिन्छ।
हाइकिङका लागि प्रख्यात रहेको भालेश्वर पदयात्रा गर्न विशेषतः थानकोटको त्रिभुवन पार्क पछाडिको गोदामबाट हाइकिङ गरिन्छ।
अहिले गोदामबाट डाँडासम्म २.५ कि.मि. केवलकार पनि चल्छ, यसमा भने जम्मा १० मिनेट लाग्छ।
भालेश्वरमा रिसोर्ट तथा रेष्टुराँ सुविधा छ। त्यसबाहेक भालेश्वरबाट ९ कि.मि. दूरीमा रहेको चित्लाङमा होटल, रिसोर्ट तथा होमस्टे सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौंको पुरानो बसपार्कबाट कलंकी हुँदै गोदामसम्म १५ कि.मि. गाडीमा। गोदामबाट ६ कि.मि. मोटर बाटोमा चन्द्रागिरि भञ्ज्याङ, चन्द्रागिरि–भालेश्वर ३ कि.मि.ठाडो उकालो। भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म ६ कि.मि.। जम्मा पदयात्रा दूरी १३ कि.मि. समय ६ घण्टा।
डोलेश्वर
भक्तपुरको डोलेश्वरलाई अचेल ‘केदारनाथको शिर’का रुपमा पूजिन्छ। सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा प्यागोडा शैलीको मन्दिर बनाइएको छ। मन्दिरभित्र विशाल शिला छ। मन्दिर हातामा घण्ट, नन्दी, त्रिशूललगायत सम्पदा छन्।
डोलेश्वर क्षेत्रलाई नमुना पर्यटनधाम बनाउने काम भैरहेको छ। मन्दिर क्षेत्र करिब १८ रोपनीमा फैलेको छ। यहाँ शिवरात्रि, बालाचतुर्दशी, साउने सोमबार र भदौ ६ गते विशेष मेला लाग्छ। वि.सं. २०६६ भदौ ६ गते भारत, उत्तराखण्डस्थित केदारनाथ पिठका पिठाधीश जगत गुरु भीमाशंकरले डोलेश्वर महादेव नै केदारनाथको शिरोभाग भएको घोषणा गरेका थिए।
त्यसरी घोषणा गर्नुमा कारण छ। किंवदन्तीअनुसार महाभारतको युद्वपछि पाण्डवहरू स्वर्ग जान लाग्दा केदारनाथको दर्शन गर्न गए, तर भगवानले आफ्ना सन्तान नाश गरेर आएका भनी उनीहरूलाई दर्शन दिन चाहेनन्। भगवानले राँगो रूप धारण गरेर त्यहाँबाट भाग्न खोज्दा भीमले पुच्छर समाते, शिर भने उछिट्टियो। त्यो शिर नै डोलेश्वर भएको कलियुगमा खुलेको हो।
डोलेश्वरलाई नेपाल भाषामा ‘सिपारे माद्यो’ भनिन्छ। यिनलाई हिमवत्खण्डमा विमलेश्वर भनेको पाइन्छ। उहिल्यै नेपाल मण्डलका राजाले डोलेश्वरको मन्दिर छानायुक्त (प्यागोडा शैली)मा तीनतले बनाएका थिए। तर, मन्दिर कहिले बनाइयो भन्ने चाहिँ यकिन भएको छैन।
वि.सं. १९९० को भुइँचालोमा क्षतिग्रस्त भएपछि गुम्बज शैलीमा बनाइएको थियो। पछि वि.सं. २०७२ को भुइँचालोले जिर्ण बनेपछि फेरि यसलाई प्यागोडा शैलीमै बनाइएको हो।
राजा भूपतिन्द्र मल्लले वि.सं. १६२९ मा डोलेश्वरको जीर्णोद्धार गरी सुनको कलश चढाएको शिलालेख पाइएको छ। मन्दिर नजिकै पाण्डवहरू स्वर्ग जाँदा बसेको ‘पाण्डव ढुङ्गा’ छ।
मन्दिर क्षेत्रमा फूलप्रसादी बेच्ने पसल, खाजा घर र होटल सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौंबाट अरनिको राजमार्ग हुँदै १५ कि.मि.मा जगाती। जगातीबाट ४ कि.मि. दक्षिणपूर्वमा डोलेश्वर। मन्दिरसम्म गाडीमा जान सकिन्छ। पदयात्रा भने अरनिको राजमार्गको सूर्यविनायक बसपार्कबाट सुरु गर्ने, त्यहाँबाट सूर्यविनायक मन्दिर हुँदै डोलेश्वर ४ कि.मि., पदयात्रा समय १ घन्टा।
गुप्तेश्वर
दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ मा पर्दछ गुप्तेश्वर गुफा। भारदेउ गाउँको शिरमा जंगल बीचमा छ गुप्तेश्वर। ढुङ्गाको राताम्मे शिला। शिला वरपर त्रिशूल। नजिकै घन्ट पनि। छेवैमा ठूलो रूखमुनि गुप्तेश्वर गुफा। गुफा भित्र महादेव।
गुफा करिब ५० मिटर लामो र १५ फिट अग्लो छ। गुफाभित्र छुट्टाछुट्टै दुई मन्दिर छन्, पार्वती र महादेवका। पहिला पार्वतीको मन्दिरमा पुगिन्छ। पार्वती मन्दिरबाट २० मिटर तल महादेव मन्दिर छ जहाँ मूर्ति र त्रिशुल छन्। पार्वती मन्दिरबाट तल झर्न धर्म ढोका छ। त्यसलाई पाप र धर्म छुट्टयाउने द्वार मानिन्छ।
गुफा भित्र अधिकांश भाग चिसो र ओसिलो छ। गुफामा प्रवेश गर्दा पथप्रदर्शकको सहयोगमा टर्चलाइट बालेर बिस्तारै पस्नु पर्छ।
किंवदन्तीअनुसार उहिल्यै भष्मासुर राक्षसबाट बच्न यस गुफामा महादेव लुकेका थिए। भएछ के भने भष्मासुरले महादेवको कठोर तपस्या गरेछ। उसको तपस्याबाट महादेव खुसी भएर भष्मासुरले जसको शिरमा हात राख्यो उही भष्म हुने बरदान दिएछन्। तर, भष्मासुरले भने महादेवकै शिरमा हात राख्ने प्रयास गरेछ। त्यसैले उसैबाट महादेव भाग्दैभाग्दै यो गुफामा आएर लुकेछन्।
गुफा बाहिर मन्दिर बनाइएको छ। गुफाको शिर फूलबारी डाँडा (२,६०० मिटर)मा कोन्ज्योसोम गाउँपालिकाले कोन्जोेसोम (शाक्यमुनि बुद्ध, गुरु पद्यसंभव र अवलोकितेश्वर)का मूर्ति बनाएको छ। मूर्ति निर्माणको काम धमाधम भैरहेको छ।
तामाङ बाहुल्य भएको भारदेव गाउँमा नेवार, बाहुन र क्षेत्री समुदायको बसोबास छ।
पौवाचौरमा होमस्टे, होटल र रिसोर्ट सुविधा छ। एक रात भारदेउमा बसेर बिहान गुप्तेश्वर दर्शन गरि चौघरे हुँदै फर्कन सकिन्छ।
कसरी पुग्ने ?
ललितपुरको लगनखेल–भारदेउ २२ कि.मि. बसमा। सुनाकोठी, ठेचो, चापागाउँ, टीकाभैरव, लेले, नल्लु भञ्ज्याङ हुँदै भारदेउ पुगिन्छ। भारदेउको पौवाचौरबाट पदयात्रा गर्ने। पौवाचौर–गुप्तेश्वर २.५ कि.मि. ठाडो उकालो। गुप्तेश्वर–फूलबारी डाँडा–चौघरे जंगल–पौवाचौर ६.५ कि.मि.। जम्मा पदयात्रा दूरि ९ कि.मि., समय ५ घण्टा।
सन्तानेश्वर
ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा छन् सन्तानेश्वर (१,५५० मिटर) महादेव। प्यागोडा शैलीको मन्दिर छ। मन्दिरमा बासुकी नाग, नवदूर्गा, ६४ शिवलिंग र गुप्तेश्वरका मूर्ति छन्। साथै गणेश, सरस्वती, भगवती र बिष्णुका मूर्ति पनि।
सन्तानेश्वर शक्ति पिठ हुन्। श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा यहाँ सतिदेवीको माथिल्लो ओठ पतन भएको थियो। सन्तान नभएकाहरूले शुद्ध मनले सन्तानेश्वरको प्रार्थना गरे सन्तान प्राप्ति हुनुका साथै अन्य मनोकामना पनि पुरा हुने जनविश्वास छ।
मन्दिरमा पुग्न ३६६ ओटा सिँढी चढ्नु पर्छ। सन्तानेश्वर क्षेत्र प्राकृतिक हिसाबले पनि आकर्षक छ। डाँडाबाट महादेव दर्शनसँगै हिमाल, काठमाडौं, भक्तपुर र ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
यहाँ सोमबार, शनिबार, बालाचर्तुदशी, जनै पूर्णिमा, तिज र शिवरात्रिमा मेला लाग्छ।
सन्तानेश्वरबाट ३ कि. मि. दूरिमा धापाखेलको नागदह छ त्यस्तै ३ कि.मि.मा बज्रबाराही मन्दिर। चापागाउँमा पर्ने बज्रबाराही प्रख्यात धार्मिकस्थल हो। बज्रबाराही उपत्यकाका चार देवी मध्ये एक हुन्। राजा श्रीनिवास मल्लले नेपाल संवत ७८६ मा गजुर विनाको प्यागोडा शैलीको मन्दिर बनाएका।
बज्रबाराहीलाई राजभण्डारी, रिमाल र मुडुला कार्कीलगायतले कुल देवताका रुपमा पूज्छन्। बज्रबाराही परिसरमा नवदुर्गाका मूर्ति छन्। मन्दिर सँगैको जंगलमा वनभोज खानेको घुइँचो लाग्छ। चापागाउँ आफैंमा घुम्नलायक गन्तव्य हो जहाँ नेवार संस्कृति जिवन्त छ।
त्यसैगरी धापाखेलको नागदहलाई बासुकी नागको बासस्थान मानिन्छ। यहाँ नागपञ्चमी र ऋषि पञ्चमीका दिनमा मेला लाग्छ।
नागदहमा बस्न मिल्ने होटल तथा रेष्टुराँ खुलेका छन्।
कसरी पुग्ने ?
ललितपुरको लगनखेलबाट ९ किलोमिटर दूरिमा पर्दछ सन्तानेश्वर। मन्दिर क्षेत्रसम्मै मोटर पुग्छ। पदयात्रा गर्दा भने धापाखेल तीनकुनेसम्म गाडीमा। तीनकुनेबाट नागदह १ कि. मि., नागदह–सन्तानेश्वर ३ कि.मि., सन्तानेश्वर– बज्रबाराही २.५ कि.मि.। जम्मा पदयात्रा दूरि ६.५ कि.मि.। समय ः २ घन्टा। साइक्लिङ वा बाइकिङ गर्दा भने सातदोबाटोबाटै सुरु गर्न सकिन्छ।
मनसुन टिप्स
- मनसुनमा बाटो चिप्लो हुने हुँदा सकेसम्म नचिप्लिने गोरेटो वा मुलबाटो रोज्ने। ध्यानपूवर्क हिँड्ने।
- नचिप्लिने जुत्ता र हिँड्न सजिलो लुगा लगाउने।
- छाता वा बर्सादि र टे«किङ लौरो अनिवार्य बोक्ने।
- करिब तीन लिटर पानी र साथमा स्वास्थ्यबद्र्धक फलफुल र खाजा पनि।
- मनसुनमा जुका लाग्ने हुँदा जुकाबाट बच्न सन्चो वा नुन बोक्ने।
- खाल्डाखुल्डीमा नटेक्ने, झारपात नसमात्ने।
- जंगली जनावर र चरालाई नजिस्क्याउने।
- एक्लै नहिँड्ने, समूहमा हिँड्ने।
- फोटो खिच्दा लडिएला ध्यान दिने।
(हाइकिङविज्ञ महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक हुन्।)
रामदेवी महर्जनका अन्य लेख पढ्न यहाँ...