आज साउनको १२ गते। दिदी, तिमी यो संसारबाट हराएको तीन वर्ष भएछ। यो तीन वर्षको अवधिमा मैले तिमीलाई हेर्न सकेकी छैन। मोबाइलको ग्यालरीभरि तिम्रा तस्बिर सुरक्षित छन् तर कहिल्यै हेर्न सकिनँ। फेसबुकमा तिम्रो पछिल्लो तस्बिर अभ्यन्तरको आवरण र कभरमा बाआमाको फोटो छ, त्यो पनि सुरक्षित छ तर हेर्न सकेकी छैन।
म्यासेजमा तिमीसँग भएका अनेकौँ कुराहरू छन्, त्यो त झन् सम्झँदा मात्र पनि कहाली लाग्छ। तिम्रो कविताको पाण्डुलिपि मसितै छ, तर त्यो पल्टाउन सकेको छैन। तिम्रो मोबाइल पनि मसँग छ, त्यो पनि त हेर्न सकेको छैनँ। छन त तिम्रा हरेक यादहरू मसँगै छन् तर चुपचाप छन्। मौन छन्, स्तब्ध छन्।
दिदी, तिमी बितेको तीन वर्षपछि तिम्रो बारेमा केही लेख्न बसेकी छु। तिमीसँगै जोडिएका अनेकौँ यादहरू आज पनि तँछाडमछाड गरेर मस्तिष्कमा आइरहेका छन्। तिमीसँग जीवनको दश वर्ष बिताउन पाएँ, त्यसैले आफैले आफूलाई निकै भाग्यमानी पनि मान्छु। तिमीजस्तो सहनशील नारीको छत्रछायामा आफूलाई उभ्याउँदा कैयौँ कुराहरू मैले सिकेकी छु।
तिमीबाट जानेकी छु कसलाई कस्तो व्यवहार गर्ने भन्ने कुरा। उर्जाशील समयमा पनि तिमीले आफ्ना लागि समय नदिएर केयौँ कामहरू अपूरै छोडेर गएकी छौँ। छोडेका कैयौँ अपूरा सपनामा म लगातार काम गरिरहेकै छु। एकदिन सब पूरा गर्ने पनि छु र तिमीलाई देखाउने पनि छु।
तिमी हाँस्दा यो संसार हाँस्थ्यो। तिमी रुँदा तिमीसँगै कयौँ सपनाहरू रुन्थे तर पनि हामी दिदीबहिनी डराउने पक्षका चाहिँ थिएनौँ। तिमीले भनेका, बिताएका अनेकौँ घाउका खतहरू अझै आला छन्। तिमीले आँसु झारेका रातहरू पनि मसँग जिउँदै छन्। तिमीले खुट्टा कमाउँदाका पलहरू पनि मसँग ताजा छन्।
तिमी काँपेको, तिमी सुस्ताएको अनि तिमी बलियो बनेर उभिएको फेरि कतै दूरतामा हराएको सबैसबै यादहरू यहीँ मनमा गुम्सिएका छन्। मन त रहेछ मान्छेलाई यादमा भुलाएर राखिरहने। म पनि भुलिरहेछु तिम्रो त्यही गाढा यादमा।
भन्न त भन्छन् नि समय गति हो चलिरहन्छ र चलिरहनु नि पर्छ तर तिमी गएपछिका दिनहरू मेरा लागि कति समय रोकिए। अझै भनौँ त, मैले आफैले रोकिदिएँ समयलाई। त्यसैले त अचेल पनि चुपचाप छु, शान्त छु। जीवनमा कोही आउँदा पनि उत्पात खुसी लागिहाल्दैन अनि जीवनमा कोही जाँदा पनि उत्पातै दुःख पनि लाग्दै लाग्दैन। कोही आउँदा न हर्षले अँगालो मार्ने रहर हुन्छ, कोही जाँदा न आँसुले आँखाहरू सजल भएको पाउँछु। बस्, जिन्दगीको रफ्तार एकदमै धिमा गतिमा चलिरहेको छ र म त्यसैमा आफैलाई पाइरहन, ढिलाइरहन मन पराउँछु।
तिमीसँगको सम्बन्धमा तिमी मेरो दिदीभन्दा पहिले साथी थियौ। त्यो साथी जसले जीवनको अनेकौँ आरोह अवरोहमा साथ दिएर सबै समयलाई साथै लाएर हिँड्छ। तिमी पनि मेरो तागत थियौँ। तिमीले के लेख्यौ, तिमीले के भन्यौ, तिमी किन रुन्थ्यौ, तिमी किन हाँस्थ्यौ, त्यसपट्टि म बिल्कुलै जान्नँ। किनकि तिमी खुसी हुनु र दुखी हुनुका हरेक कारणहरू मसँग जीवन्त छन्।
तिमी सरल थियौ, सोझी थियौ, मनभरि पीडाको बोझ बोकेर पनि हाँस्न सक्ने कला भएकी मान्छे थियौँ। तिमीलाई बुझेको मैले यत्ति हो। मेरा हरेक उत्सवहरूमा तिमी खुसी हुन्थ्यौ र मेरो आँसुमा तिमी पनि सँगसँगै रुन्थ्यौ। मान्छेको जीवनभरको साथ भनेको नै त्यही त रहेछ। कसैको खुसीमा खुसी हुन सक्नु र कसैको दुःखमा दुखी हुन सक्नु।
पहिलो पटक तिमीलाई भेट्दा मेरो पेट ठूलो थियो, त्यहाँ सासा खेलिरहेकी थिई। त्यसको केही समयपछि मैले तिमीलाई फेरि भेट्दा तिम्रो पेट ठूलो थियो। अग्रिम त्यहाँ अलमस्त थियो। हामी दुवै जना ६ महिनाको फरकमा आमा बनेका थियौँ। भलै हाम्रो हुर्काइको तरिका फरक थियो, तर हामी दुवै आमा बनेका थियौँ। मज्जा यसैमा थियो।
म त भान्छे
मलाई भान्छा मन पर्छ
डाडु समाउँछु
पन्युँ समाउँछु
भान्छामै रमाउँछु।
दिदी तिमीलाई हृदयमा छोएर लेखेको कविता थियो यो। आँचल स्थापना दिवसको पहिलो कार्यक्रम थियो। के गर्ने त भन्दा पिकनिक सहितको परिचायात्मक र कविता वाचन कार्यक्रम गर्ने भन्ने निधो भएको थियो। सबैलाई फोन गर्ने भइयो। एकजना साहित्यकारले भन्नुभयो- 'नारी जाति न हौ, भान्छाभन्दा के सम्हाल्न जानेका छौ र?' यो कुराले तिमी कति दिन निदाउन सकिनौ र यो कविताले जन्म पायो।
तिमीलाई साहित्यमा धेरैमाझ चिनाएको पनि यही कविताले नै थियो। काठमाडौँमा भएको एउटा कार्यक्रममा तिमीले यो कविता वाचन गर्दा सबैले तिम्रो खुलेर प्रशंसा गरेका थिए र आज पनि जहाँ गइन्छ, तिम्रो विषयमा कुरा निस्कन्छ र यो कविताको बारेमा निकै बेर चर्चा चल्छ। यसबाट पनि प्रष्ट हुन्छ कि तिमी आफ्नो आँसुलाई कसरी सिर्जनामा व्यक्त गर्थ्यौ भन्ने कुरा। मुना दिदी, पूर्णकला दिदी, तिमी र म खुब मिल्थ्यौँ। भेटमा हामी खुब हाँस्थ्यौँ र नयाँ काममा उत्साहित हुँदै रमाउँथ्यौ।
उमेरले फरक भए पनि हाम्रो भेट गराउने एउटै थलो थियो साहित्य। तिमी ५० को दशकमा साहित्यमा आएर पनि काम, जिम्मेवारी, रहर र सपनाको उडान भर्न कतै लुकेकी थियौ तर ६० को दशकमा म आइपुग्दा तिम्रो र मेरो भेट सम्भव भयो। तिमीले त्यो अवधिका कविता लेख्ने रहरलाई पूरा गर्यौ र २०६९ सालमा किनाराका आवाजहरू कृति प्रकाशनमा ल्यायौँ।
यसरी हेर्दा तिमी साहित्यमा पक्कै लुकेकी थियौ तर हराएकी चाहिँ थिइनौ। आज पनि तिम्रो घरमा पुगेर हेर्दा पुस्तकको चाङ लागेको देख्न सकिन्छ। तिमी जति व्यस्त भए पनि तिमीलाई संघसंस्थामा बस्न खुब मन पर्थ्यो, त्यसैले पनि मकवानपुर जिल्लाकै पुरानो तथा प्रतिष्ठित साहित्यिक संस्था साहित्य संगम मकवानपुरलाई आफ्नो साहित्यिक पाठशाला मानेर हिँडिरह्यौ।
सिस्नुपानी नेपाल मकवानपुरको कोषाध्यक्ष, भीम विराग संगीत साहित्य कला प्रतिष्ठानको कोषाध्यक्ष, मातृभूमिको आजीवन सदस्य, प्रलेस मकवानपुरको साधारण सदस्य र आँचल साहित्य कला पुञ्ज मकवानपुरको परिकल्पनाकारको भूमिकामा आफूलाई सधैँ उभ्याइरह्यौ। तिमी सिक्न मन पराउने मान्छे थियौ। हरेक कुराको समय आउँछ र पर्खनुपर्छ भन्ने सोचकी मान्छे थियौ। सपना देख्नका लागि सपनाको सार्थकता बुझाउन सक्ने मान्छे थियौ। तर तिम्रो एउटै कमजोरी थियो- तिमीलाई सानो कुराले पनि हदभन्दा बढी पीडा दिन्थ्यो। आफन्त, साथीभाइले दिएको थोरै आँसु पनि तिमी महिनौंसम्म कल्पँदै झारिरहन्थ्यौ।
दिदी, तिमीले संस्थामा चित्त दुखाएर कैयौँ पटक राजिनामाका लिफाफा बोकेर आउँदा मेरो हातले च्यातेर फ्याँकेको आज पनि उत्ति नै याद आउँछ। तिमी भन्थ्यौ- 'कान्छु, म भावुक छु। थोरै पीडाले पनि मलाई चरम दुःख दिन्छ। मलाई यो आँसु झार्नबाट नरोक ल। म हिजो दिनभर घरको गेटमा ताल्चा लगाएर रोएर बसेको। मलाई पीडा भयो एकदमै पीडा त्यसैले।'
अनि किन गेटमा ताल्चा लगाएको नि भनेर सोध्दा थोरै मेरो अनुहार हेरेर भन्थ्यौ- 'भन्नेले भनून् घरमा कोही छैन।'
यसरी भनेर तिमी आँखाबाट आँसु यसरी झार्थ्यौ कि तिमीलाई छातीमा टाँसेर सम्झाउँदा सम्झाउँदै हाम्रो अगाडि टेबलबाट टुलुटुलु हेरिरहेको तातो चिया पनि बिरालोको नाकजस्तो चिसो भइसकेको हुन्थ्यो। तर तताएर खान मन नभएर हामी त्यही चिसो चियालाई सर्बतझैँ एकै घुट्कोमा निल्थ्यौँ।
कुनै बेला हामी एउटा कार्यक्रममा झोराहट पुगेका थियौँ। रात्रिबसमा जानुपर्ने भयो। बस खोजियो तर क्याबिनको टिकट थियो। अर्को बस पाउने सम्भावना पनि एकदमै कम थियो। राति ११ बजे क्याबिनको सिटमा बस्दै तिमीले भनेकी थियौ- 'ओइ कान्छु, यो ड्राइभर त गुन्डा गुन्डा जस्तो छ। हामीलाई मार्न त मार्दैन तीँ राति निदाउँदा?'
तिम्रो त्यही डरलाई हटाउन म रातभर ननिदाइकन विराटनगर पुगेकी थिएँ र तिमीलाई ‘मस्तले सुत’ भनेकी थिएँ। हामी यति बदमास थियौँ कि कसैको बिहे भयो भने बजार जान्थ्यौ, त्यही नयाँ कपडा किन्थ्यौँ र लगाएर बिहेमा जान्थ्यौँ। एटिएम जान्थ्यौँ र कार्डको नम्बर थाहा नपाएर मज्जाले हाँस्थ्यौ। स्कुलमा बिदा, घरमा स्कुल अनि हामी चाहिँ दिनभर वनस्खण्डीको जंगलमा बसेर कविता र निबन्ध लेख्थ्यौँ। कहिले मनकामना पुगेर कुराउनी बास्ना आउने दूधको चिया खान्थ्यौँ या स्मारक पुगेर चौरमा कुरा गरी गरी दिन बिताइदिन्थ्यौँ। सायद तिमीले भुल्यौ होला दिदी तर मेरो आँखामा आज पनि तिनै तस्बिर सिनेमाको रिलझैँ घुमिरहन्छन्।
हामी भेटेपछि कहिल्यै कुरा सकिँदैन थियो। रातभर कुरा गरेर बस्थ्यौँ। बाल्यकालदेखि जीवनका कुराहरू हाम्रो बीचमा प्रशस्तै हुन्थे, त्यसैले पनि मलाई तिमीलाई अझैं धेरै प्रेम गर्न मन लाग्थ्यो। तिमी कहिले अनुहारमा केही लगाउँदैन थियौँ, त्यसैले तिमीलाई मेकअप गर्दा कस्तो देखिन्छ होला भन्ने प्रश्न मनमा आइरहन्थ्यो। त्यसैले पनि हरेक भेटमा राति म तिमीलाई मेकअफ गरिदिन्थेँ।
तिमी उदास अनुहार लिएर आउँदा पनि म तिमीलाई मेकअफ गरिदिन्थेँ। मैले कतै पढेकी थिएँ, श्रृंगारले मान्छेको आत्मविश्वास बढाउँछ। तर तिमीलाई त्यसो हुँदैन थियो, तिमी जहिल्यै दुखिरहेको पाउँथेँ। दुनियाँको अगाडि मज्जाले हाँसे पनि तिमी मसँग किन रुन्थ्यौ, त्यसको जवाफ मैले कहिल्यै पाइनँ। बस् आउँथ्यौ र अँगालो मारेर रुन्थ्यौ।
शत्रुलाई पनि आफ्नो बनाउने तिम्रो कलासँग भने म राम्रोसँग परिचित थिएँ। तिम्रो त्यो कला मलाई खुब सिक्न मन थियो तर सकिनँ। म रिसाउँथेँ, कसैसँग रिसाएपछि मलाई आज पनि उति साह्रो बोल्न मन लाग्दैन। काम पर्दा बोलिहाले पनि मनमा कहिल्यै सम्मानको भाव जाग्दैन तर तिमी उही शत्रुलाई अँगालो हाल्यौ र भन्थ्यौ- 'कान्छु, यिनीहरू हाम्रो हलो साथी मात्रै हुन्। त्यसैले यिनीहरूसँग न कहिले दुःख पोखिन्छ, न त कहिले खुसी बाँडिन्छ। यी हाम्रा लागि अपरिचित अनुहार हुन्, त्यसैले यिनीहरूसँग एकैछिन बोलिदिनुपर्छ।'
तिमीले सिकायौ तर मैले सिकिनँ। अहँ, सिक्दै सिकिनँ।
दिदी, कहिलेकाहीँ बहुतै दुःख लाग्छ कि हामी बाँचुन्जेल घृणा गर्ने र मरेपछि गुनगान गाउने ठाउँमा जन्मेका रहेछौँ। यहाँ मायाका आ-आफ्नै परिभाषा छन्। परिभाषाअनुसार स्थान पनि फरक छ। फरक-फरक स्थानमा नै रहेर पनि हामी तिमीलाई हर दिन सम्झन्छौँ। मनमा छौँ, जीवनमा छौँ सधैँ रहिरहने छौँ।
त्यसैले पनि भनिन्छ नि, एउटाको अभाव हजारौंले पूरा गर्न सक्दैनन्। त्यही एउटा मान्छे हौ तिमी मेरो लागि। लेख्नका लागि तिम्रो र मेरो बारेमा किताब तयार गर्ने यादहरू छन् तर सम्झनामा आउने यी कुराहरूले मलाई तिमीबाट कहिल्यै टाढा जान दिदैनन्। मेरो जिन्दगीबाट तिम्रा यादहरू कहिले हराउने छैनन्। मेरो मनमा तिम्रा यादहरूले एउटा घर बनाएर बसेका छन्, जो जीवनभर बसिरहने छन्।
मिस यु मच दिदे!