एकदिन फेसबुक चलाउँदै गर्दा फेसबुकमा एक जना म्यामको संघर्षको तस्बिर र शब्दहरू देखेँ। सरसर्ती पढ्दा बरबरी आँसु झर्यो। विगत सम्झिएँ, काखमा खेल्दै गरेकी छोरीलाई एकैछिन सुम्सुमाएँ।
मेरो पनि समस्या उही थियो। भर्खर भर्खर एमएड सकिनै लागेको थियो साथीहरूले भने- फर्म खुल्यो एमए पोलिटिकल साइन्स भरौं न।
मलाई अवगत थियो मेरो बुवा र ठूलोबुवाले पनि पहिले टियुबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको त्यसैले मलाई पनि त्यो विषयमा फेरि मास्टर गर्ने कौतुहल जाग्यो। डबल मास्टर्स गर्ने निर्णय गरें। अनि फर्म भरें। एक्जाम आयो सेन्टर पर्यो भक्तपुर, पेटमा ५ महिनाको बच्चा थियो।
एकातिर डाक्टरको 'वार्निङ वेल' धुकधुक भित्रभित्रै बजिराख्थ्यो अर्थात् गाडीमा धेरै हिँडडुल नगर्नु भन्ने आग्रह थियो।
अर्कोतिर मनमा दोधार, डर र सुन्दर भविष्य निर्माणको लागि कोरेको खाका थियो।
तयारी पनि केही थिएन बुक कुन कुनामा छ त्यो पनि थाहा थिएन।
बसाइ घर धापासी थियो अर्को दिन जाने जमर्को गरें सार्वजनिक बस चढें। किताब हातमा लिएर सरसरी हेर्न थालेँ पुग्नै २ घण्टाभन्दा बढी समय लाग्यो फर्कन उत्तिकै एक्जाम थियो ४ घण्टा लगातार। भोक तिर्खा अलग्गै। खाजाको नाममा एउटा डेरीमिल्क र एक बोतल मिनरल वाटर। त्यो ४ घण्टा अवधिमा जब बच्चा चलेको आभास हुन्थ्यो तुरून्तै चकलेट र पानी खान्थें।
एक्जाम सकेर घर आएर खाना पकाउनु मेरो दैनिकी थियो। पकाएर खाना खाँदा राति भैसकेको रहेछ केही ख्याल नगरी त्यो रात त्यतिकै सुतें। बिहान उठ्दा खुट्टा सुन्निएर डरलाग्दो भएछन्।
एकछिन मनमा हडबड हुन थाल्यो सोचें- कतै म भित्रको छुट्टै संसारमा भर्खर पलाउन लागेको मुना फैलाउन नपाई मासिँदै पो छ कि!
दिदीलाई भनें- दिदीले गाली पो गर्न थाल्नुभयो। फेरि ममुनिको मेरो भाइ थियो। उमेरमा भाइ भएता पनि सल्लाह सुझावमा मेरो दाइजस्तै थियो। भर्खर एमबिबिएस सकेर डाक्टर बनिसकेको थियो। त्यसैले उसलाई सोध्दा केही राहत मिल्छ कि यो बर्खायाममा उर्लिरहेको भेलजस्तै मेरो मनलाई भनेर सोधें। उसले नआत्तिन आग्रह गर्यो। त्यसपछि मभित्र आशाको दीप बलिरह्यो। बाँकी ४ विषय थियो मनले मानेन। यो वर्षको सबै परीक्षा सक्नुपर्छ भन्ने अठोट गरें। सबै विषय दिएँ।
तर भित्रभित्रै निकै डर थियो। ठूलो चुनौती थियो भोक तिर्खा नभनी हिँडेको यात्रामा साथमा गर्भमा खेलिरहेको बच्चा थियो। आमा भोको हुँदा बच्चा पनि भोको हुन्छ भन्ने कतै सुनेकी थिएँ। त्यो समय म र मेरो बच्चा साँच्चिकै चुनौती सामना गर्दै एउटा शैक्षिक मैदानको दूरसम्मको दौडको दौरानमा अनवरतरूपमा खटिरहेका थियौं।
मेरो हर प्रयासमा मभित्रको बच्चाले साथ दिएको आभास हुन्थ्यो। अन्तत: मेहनतको फल पाएँ। बच्चा पनि सकुशल जन्मियो। केही समयपछि माइती गएँ। मध्यरातमा मोबाइलमा साथीको म्यासेज आयो। म पास भए तपाईंको के भयो नि भन्दै।
हतार गरी गरी रोल.नं चेक गरें। म त पास पो भएछु। त्यसपछि पनि मेरा हरेक अरू परीक्षाहरू धेरै थिए बच्चा सानो थियो, जतिबेला पनि आफ्नै आँखा वरिपरि राख्नुपर्ने दिनभरि। तर जब राति हुन्थ्यो बच्चा सुत्थ्यो राति म पनि बच्चासँगै निदाउँथें र बिहान बच्चा उठ्नुभन्दा अगावै २/३ बजे अलार्म लगाएर उठेर पढ्थें।
बिहानीपख बच्चा उठेर ती कलिला हातका औंलाहरूले मेरो मुहार मुसार्दा सारा अनिँदो रातका ती कठिन पलहरू पलभरमै पलायन हुन्थेँ।
यसरी जिन्दगीमा जिन्दगीले लिने परीक्षाभन्दा भिन्न परीक्षामा पनि म एक भर्खर आमा बनेकी एक अन्जान आमा त्यो कडा संघर्षले सधैं सफल नतिजा पाउने गर्थें।
साँच्चिकै एक नारीलाई कत्ति संघर्ष गर्नुपर्छ। विशेषगरी बिहेपछि पढाइको मामिलामा।
कतिपय छोरीहरू बिहे भएको भोलिपल्टदेखि नै सक्किगएँ भनेर लेखपढ अनि अरू व्यक्तित्व विकासका सबै काम छोड्ने हतोत्साही प्रवृत्तिका हुन्छन तर ममा त्यो लागू भएन।
सामाजिक संस्कार र सृष्टिको चक्रलाई कसैले चलाउन र बन्द गराउन खोजेर नहुने नियति रहेछ त्यसैले मेरो अहिलेको चलनभन्दा अलि सानोमै बिहे भयो आफ्नो भाग्यमा लेखेको लेखा अनुसार, बिहे गर्दा भर्खर प्लस टु सकेर स्नातकमा भर्ना भएकी थिएँ।
घरमा बूढी ८४ गरेकी हजुरआमालाई काठमाडौंमा लिएर उहाँको केयर गर्दै पढ्छु भन्ने अठोट लिएँ।
मेरो पढाइ र उहाँको केयर मेरै हातमा थियो कति राम्रो बनाउने भन्नेमा।
बिहान साँझ घरको काम र हजुरमाको रेखदेखमा समय व्यतित गर्थेँ। दिउँसो हजुरमाको लागि थर्मसमा चिया र केही खाजा राखिदिएर किर्तिपुर त्रिभुवन विश्वविद्यालय जान्थें। बिहेपछि नै २ वटा मास्टर्स सकाएँ र अर्को कानुनतिर एलएलबी गरें।
अझै पनि यात्राकै क्रममा छु, शैक्षिक जगतमा देखेका धेरै सपनाहरू छन्, गन्तव्य पुग्न अझै बाँकी छ। हेरौं कति निरन्तरता दिन सकिन्छ। त्यो बताउने त भविष्य छँदैछ।
भन्छन नि हरेक सफलताको पछाडि अवश्य कसैको हात हुन्छ। हो, मेरो जन्मघरको बुवा मम्मी शिक्षित हुनुहुन्थ्यो म त्यहीँ वातावरणमा हुर्किएँ। उहाँले मेरो भविष्यको लागि जग बसालिदिनुभो। त्यसपछिको त्यो पूरा गर्ने काम कर्मघरको रह्यो, म एक विवाहित छोरी, कसैकी बुहारी, कसैकी श्रीमती र एक बच्चाकी आमा बनिसकेकी थिएँ अगाडि बढ्ने यात्रा कठिन थियो सोच्दा। तर पनि त्यो कठिन यात्रामा निरन्तर साथ दिने श्रीमान पाएँ। त्यसैले सफलताको सम्पूर्ण श्रेय मेरो आदरणीय ससुरा बुवा र श्रीमानलाई दिन चाहन्छु।
मेरो सफलताको अथाह प्रयासमा उहाँहरूकै सपोर्ट र उत्साहपूर्वक माया थियो। त्यसैले शैक्षिक यात्रा निरन्तर रह्यो।
त्यसैले हजुरहरूलाई पनि आग्रह बिहे र बच्चालाई आफ्नो भविष्य विकासको बाधकको रूपमा नलिनुहोस्। यसलाई चुनौतीको रूपमा लिएर सामना गर्दै जानुहोस्। बिहे गर्दैमा आफ्नो सम्पूर्ण इच्छा/चाहनामा 'फुलस्टप' नलगाउनुहोस्। जिन्दगी घोडा हो आफ्नै रफ्तारमा दौडिरहन्छ। तर घोडालाई लगाम लगाउन सिक्नुहोस्, अवश्य लक्ष्य प्राप्त गर्नुहुनेछ।