उमेरले पचपन्न पुगेर छपन्न लागिसकिन् तर मलाई उनी उत्तिकै सुन्दर र जवान लाग्छ। उनको अनुहार सधैं उज्यालो हुन्छ।
मेरी आमा रोएको मैले आजसम्म देखेको छैन। मलाई आजसम्म उनले ठूलो स्वरले गाली गरेको र पिटेको समेत यादै छैन। मैले आजसम्म आमाको अभाव र कमी महसुस गर्न परेको छैन।
आजभोलि मलाई आमाको साह्रै माया लाग्छ। माया त पहिले पनि लाग्थ्यो तर आजभोलि उनको लागि केही गर्न सकूँ भन्ने छ। उनकै लागि मरिदिन सक्छु भन्ने भाव जागेको छ।
मलाई अहिले जुन कुरा महसुस भएको छ त्यो कुरा सानो छँदा भएको थिएन। हुन त त्यति ख्याल गरेको पनि थिइनँ। घरमा सधैं दाइ-दिदी हुन्थे। त्यसैले सधैं आमा खोजिनँ। ठूलो हुँदै गएपछि घरमा आमा र म एक्लै भयौं।
बुवा वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्थ्यो। दाइ-दिदी पढ्नका लागि भनेर सहर गएका थिए।
मेरो दिनहरू घर र स्कुल गरेर बित्थ्यो। आमा मेलापात र खेतबारीमा। हाम्रो भेट खाना खाने र सुत्ने समयमा मात्र हुन्थ्यो। अरू समय त कमै भेट हुन्थ्यो।
आज म शारीरिक रूपमा ठूलो भएको छु। तर मलाई बालापनमा फर्किन मन छ। अहिले आएर आमाले गरेको माया बुझेँ।
आमासँग बिताएका पल सम्झी म धरैपटक रोएको छु, आँसुका धाराहरू बगाएको छु।
मैले माया देखाउन कहिले पनि जानिनँ। तर आमालाई माया देखाउनै नपर्ने। उनी आफैंले बुझ्ने रहिछिन्।
कति प्यारो छ है आमा भन्ने शब्द नै। मलाई पनि मेरी आमा निकै प्यारो लाग्छ। हुन त संसारमा सबैलाई आफ्नो आमा प्यारो नै लाग्छ, आमा शब्द नै यस्तै छ।
अबोध बालक रूँदा पनि आमालाई सम्झी-सम्झी रून्छ। आमा शब्द मानवदेखि जनावर सबैलाई उत्तिकै प्रिय लाग्छ।
जन्मिएपछि बोली फुट्नासाथ सर्वप्रथम उच्चारण गर्ने शब्द नै आमा हो। अकस्मात् कुनै आपत्ति आओस् त मुखबाट फुत्त निस्कने शब्द भनेको आमा नै हो।
संसारमा सबैभन्दा सहज र अनमोल शब्द नै आमा हो।
संसारको कुनै पनि परिभाषाको आवश्यकता नपर्ने शब्द आमा हो। किनकि यो शब्द होइन, भावना हो।
आमा आफैंमा सिंगो प्रेम, बलिदान र सेवाको प्रतीक हो। आमा भगवानको अर्को रूप पनि हो।
मैले घरमा बुवाले बाहेक अरू कसैले पनि आमाको नाम उच्चारण गरेको सुनेको छैन। उनको नाम नैना हो। मलाई उनी जस्तै उनको नाम पनि प्यारो र सुन्दर लाग्छ।
समय र परिस्थितिले गर्दा चाहेको समय भेट्न न पाउँदिनँ न त उनको काखमा खेल्न र रमाउन नै।
मन लागेको बेला तिम्रो गालाहरू चुम्नु पाउँदिनँ। तिम्रो स्पर्शहरू पाउन दिनहुँ तड्पिरहन्छु आमा!
म सधैं सानै भएको भए तिम्रो न्यानो काखबाट कहिले टाढा जानु पर्दैन थियो होला है!
म केही समय अघि आमालाई सन्चो नभएर घर गएको थिएँ। उनी खाटमा सुतिरहेकी थिइन्।
नजिकै गएर उनलाई सुम्सुम्याउँदै आमा के भयो, कहाँ दुख्छ, कहिलेदेखि बिरामी हुनुभएको नि? भनि सोधेँ।
मेरो उत्तर नदिई उल्टै मेरो हालखबर सोध्नुभयो।
बिरामी भएर सुतिरहेको समयमा पनि आमाले बालबच्चाकै बारेमा थाहा पाउन खोज्ने कस्तो अचम्मको यो सृष्टि।
आमाः के छ बाबु तिम्रो खबर, निकाआरामै छौ?
‘म ठिक छु आमा जबसम्म तपाईंको आशीर्वाद छ, मलाई कहिले केही हुँदैन।’
आमालाई कहाँ दुख्छ भनेर सोधेँ।
आमाले कोख देखाउँदै त्यहाँ दुख्ने बताउनुभयो।
‘यहाँ निर दुख्छ बाबु, पहिले पहिले पनि दुख्थ्यो। तर आफैं सन्चो हुन्थ्यो। योपटक त दुखेको पनि तीन /चार दिन भइसक्यो हराउँदैन।’
आमाले यति भन्नासाथ राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान अस्पताल लिएर गएँ।
सेवा पहिलेकोभन्दा धेरै राम्रो भएको छ भन्ने सुनेको थिएँ। हस्पिटल नछिरेको पनि धेरै भइसकेको थियो।
पहिले राप्ती उपक्षेत्रीय अस्पताल हुँदा डा.गोविन्द केसीले सरकारी मेडिकल कलेज स्थापना हुनुपर्छ भनेर माग राखी अनसन बस्दा उहाँको समर्थनमा र्यालीमा गएको थिएँ। पछि डा.केसी दाङ आएर अनसन बस्नुभएको थियो। त्यो समयमा पनि हामी उहाँको समर्थनमा सडकमा हप्तौंसम्म नारा जुलुस गरेका थियौं।
हस्पिटलमा आमाको नाम लेखाएर सिनियर कन्सल्टेन्ट सर्जन डा. जनार्दन पन्थीलाई देखाएँ।
उहाँले मलाई अझैसम्म बिर्सनुभएको रहेनछ। हामीले उहाँसँग सहकार्य गरी धेरै पटक स्वास्थ्य शिविर आयोजना समेत गरेका थियौं।
उहाँले आमाको एकपटक भिडिओ एक्सरे गरेर हेर्न सल्लाह दिनुभयो। आमालाई लिएर म भिडिओ एक्सरे गर्ने कक्ष बाहिर बसेर कुरिरहेको थिएँ।
आठ/ दश जान लाइनमा बसेका थिए। आमाको नाम बोलाएपछि मात्र एक्सरे कक्षभित्र जानुपर्थ्यो।
हामी बसेको साइडमा हस्पिटलको स्टाफहरूको ड्रेस चेन्जिङ रूम रहेछ। एउटा नर्सले कोठाबाट इसारा गर्दै आमालाई ‘आन्टी एकछिन यहाँ आउनुस् न’ भनेर बोलाइन्।
नर्सले आमालाई एक्कासि बोलाएको देखेर आमाले मलाई पुलुक्क हेरि सोध्नुभयो, बाबु ती नानीले किन बोलाएको? एक्सरे गर्ने ठाउँ त यता होइन र?
एकछिन मेरो आमालाई कसले चिन्छ र भन्ने सोचेँ। पछि गएर नर्सलाई नजिकै गएर सोधेँ-किन मेरो आमालाई बोलाउनु भएको?
ड्रेस चेन्ज गर्न हेल्प गर्दिनुहुन्थ्यो कि आन्टीले भन्दै उनी मुस्कुराइन्।
फर्केर आमालाई कपडा फेर्न सहयोग गरिदिनुहुन्छ कि भनेर बोलाएको रे भनेँ।
आमा जानुभयो र सहयोग गरी आउनुभयो। उसले गाउन लगाउन लाएको रहिछे, पछाडिबाट तुना बाँध्न हात नपुगेर हेल्प मागेकी रहिछ।
आमा-छोराले एकछिन उसकै कुरा गर्यौं।
बिहे गर्ने उमेर कट्न लागेको छोराको अगाडि आमाको मनमा के-के कुरा खेल्यो होला। त्यो सहजै अनुमान गर्न सकिन्थ्यो।
हेर्दा राम्री चिटिक्क परेकी नर्स। पावरवाला चस्मा लगाएकी सोझी देखिन्थी।
मेरो मानसपटलमा अझैसम्म ती नर्सको अनुहार झल्किरहेको छ।
एकछिन आमाको पालो आयो। भिडिओ एक्सरे रिपोर्ट लिएर डाक्टरलाई देखायौं। डाक्टरले १९.४५ एमएमको पित्त थैलीमा पत्थरी रहेछ। डाक्टरले अपरेसन नै गर्नुपर्छ भन्नुभयो। औषधीले काट्ने सम्भावना नभएपछि अपरेसनपूर्व गरिने सम्पूर्ण चेकजाँच गर्यौं। डाक्टरसँग डेट लिएर फर्कियौं।
आउँदो शुक्रबार आमाको अपरेसन छ।
हामीलाई हुर्काएर बढाएर यो स्थानसम्म पुर्याएर हरेक सुख दुःखमा साथ र हौसला दिनुभयो। तपाईंको अपरेसन सफल हुनेछ आमा।
तपाईंले सोचेको जस्तै पावरवाला चस्मा लगाउने सोझी सुशील जागिरे बुहारी छिट्टै भेटिनेछ।