...तर मैले लोक सेवा नै रोजेँ!
मध्यम वर्गीय परिवारमा जन्मेका हरेक व्यक्तिको एउटै बाध्यता र सपना हुन्छ, पैसा कसरी कमाउने।
मध्यम वर्गीय मानिसहरूको पैसा कमाउन ठूलो लगानी गर्ने हैसियत हुँदैन। हाम्रो चाहना थोरै लगानीमा धेरै प्रतिफल प्राप्त होस् भन्ने हुन्छ।
मध्यम वर्गीय परिवारमा जन्मेको हुनाले ठूल्ठूला सपना त खासै छैनन्। गाउँमै एउटा चिटिक्कको घर, सामान्य गाडी होस्, खान-लाउन कहिल्यै दुःख नहोस्, बिरामी पर्दा उपचार सहजै गर्न सकियोस् भन्ने मात्र छ। यस्तै भविष्यमा बालबच्चालाई राम्रो शिक्षा दिन सकियोस् भन्ने हो।
बुबाआमालाई सधैं खुसी दिन सकुँ भनेर सपना बोकी हिँडेको, एक यात्री हुँ।
कक्षा १२ पढ्दासम्म कुनै जिम्मेवारी थिएन। बुबाआमाले दुःखले कमाएको पैसाले रमाएको थिएँ।
कक्षा १२ सकिएसँगै सह-पाठीहरू अष्ट्रेलिया, अमेरिका, जापान, युरोप जान थाले। उनीहरू विदेश गएपछि मलाई पनि केही गर्नुपर्छ भन्ने भयो। साथीहरू जस्तै अमेरिका, अष्ट्रेलिया जान मन नभएको त कहाँ हो र। पैसाको अभावले गर्दा जाने स्थिति थिएन। परिवारको आर्थिक स्थिति कमजोर भएका कारण त्यो सपनामा मात्रै सीमित भयो।
मसँग जीवनमा दुई विकल्प मात्र थियो। अरू जस्तै रोजगारका लागि विदेशमा जाने वा घरमै बसी लोकसेवा पढ्ने।
आर्थिक स्थिति निकै कमजोर भएका कारण मलाई सहरमा राखी पढाउने हैसियत मेरो परिवारको थिएन। बुबाआमाले दुःख गरी जेनतेन कक्षा १२ सम्म पढाउनुभयो। त्यो नै मेरा लागि ठूलो कुरा थियो। मलाई साउदी कतार जानुभन्दा लोकसेवा पढ्दा उत्तम होला कि भन्ने विचार आयो।
आफ्नै देशमा बसेर देशको सेवा गर्ने उद्देश्यले लोकसेवा पढ्ने निधो गरेँ। लोकसेवा पास गरेपछि समाजमा पनि छुट्टै मानप्रतिष्ठान हुने भएकाले लोकसेवा पढ्न विचार गरेँ।
सहरमा लोकसेवा पढ्नको लागि किताब किन्न भनी पुस्तक पसलमा गएँ। पसलमा हेर्दा किताब महाभारत, पुराण वा कुनै ग्रन्थभन्दा पनि ठुलो थियो। सुरूमा किताब देखेर नै चकित परेँ। अनि मनमनै सोच्न थालेँ के मैले यति ठुलो किताबहरू पढ्न सक्छु होला?
मेरो लोकसेवा पास गरी जागिर खाने दृढ संकल्प पहिले नै थियो। त्यही दृढ संकल्पले मेरो डरलाई जित्न सहयोग गर्छ भन्ने सोचेँ।
सहरबाट लोकसेवाको किताब किनी घर फर्किएँ।
मेरो घर सहरबाट निकै टाढा थियो। जगंलको बाटोमा किताब बोक्दै ठूलो मान्छे बन्ने सपना देखी प्याट्ट प्याट्ट चप्पल पड्काउँदै घरतिर फर्किएँ।
लोकसेवा पढ्दा-पढ्दै मेरा तीन जना मिल्ने साथी बने। नोकिया ११ सय मोडेल मोबाइल फोन जसले हरेक बिहान चार बजे अर्लाममार्फत मलाई बिउँझाउथ्यो। अर्को पुरानो रेडियो सेट जसले हरेक दिन बिहान-बेलुकी समाचार भनी समसामयिक विषयमा ज्ञान दिई सहयोग गर्दथ्यो। अर्को लोकसेवाको किताब जसले हर समय सँगै रहेर साथ दिन्थ्यो।
लोकसेवा व्यापक विषय रहेछ भन्ने कुरा पढ्दै गर्दा थाहा पाएँ। लोकसेवामा आफ्नो देशको भूगोल र इतिहास मात्र जानेर र बुझेर पुग्दैन। विश्वको भूगोल र इतिहास पनि जान्नुपर्छ। यतिले मात्र पुगे त हुन्थ्यो नि, हरेक ब्रह्माण्डका हरेक ग्रहका बारेमा पनि पढ्नुपर्ने।
मेरो सपना सरकारी जागिर खानुथियो। त्यसैले किताबका हरेक चिज घोक्न थालेँ।
आफ्नै परिवारको जन्म मिति थाहा नभएको मान्छे म सयौं वर्ष पहिले जन्मेका पृथ्वीनारायण शाहको जन्म मिति घोक्दै थिएँ।
छिमेकीको घरमुलिको नाम थाहा थिएन तर सबै देशका प्रमुखको नाम घोक्न विवश थिएँ।
कहिलेकाहीँ पढ्दै गर्दा संसारका हरेक कुरा मलाई मात्र थाहा छ, म नै संसारको विद्धान हुँ भन्ने आभाष हुन्छ।
लोकसेवाको तयारी गर्दै गर्दा विज्ञापन पनि खुल्यो। मैले फर्म भरेर परीक्षा पनि दिन गएँ। जब प्रश्न देखेँ तिरिमिरी झ्याई देखेँ।
किताब पढ्दा संसारकै विद्धान ठानेको प्रश्न देख्दा संसारकै अशिक्षित र केही नजान्ने व्यक्ति लाग्न थाल्यो।
मेरो पहिलो परीक्षा बिग्रियो।
परीक्षा दिएर बाहिर निस्किएर सडकको छेउमा टुसुक्क बसि सोच्न थालेँ, ‘लोकसेवा पढ्न सक्दिँन होला यो त साह्रै गाह्रो पो हुने रैछ।’
तर फेरि एकमनले ‘केटा किन यति धेरै कमजोर? एकपटक असफल हुँदैमा आत्तिएर हुन्छ? लोकसेवाको तयारी गर्दा पाम थोमस एल्बा एडिसनले ९९९ पटक असफल हुँदा पनि हार नमानी बिजुलीको चिम हजार पटकको प्रयासमा बनाएका होइनन्?
के यदि थोमसले पनि तैंले जसरी नै हार मानेको भए आज रातमा पनि उज्यालो देख्थिस्? हार नखा केटा, हार नखा।’
मनमा त यी सब कुरा खेलेपछि छुट्टै ऊर्जा पलायो, अनि फेरि तयारी गर्न थालेँ। तयारी गर्दै थिएँ, विश्वमा कोभिड महामारीले आतंक मच्चायो। लोकसेवाका सबै परीक्षा रोकिए।
लकडाउनमा पढ्न थप उत्तम समय मिल्नु अवसर भनी दिनरात पढ्न थालेँ।
कोभिड महामारी पनि विस्तारै शान्त हुँदै गयो। लोकसेवाको विज्ञापन पनि खुल्यो। पुनः फर्म भरेँ।
परीक्षा हुने समय नजिकिँदै थियो। ममाथि अर्को बज्रपात आयो। लोकसेवा विरूद्ध सर्वोच्चमा मुद्दा पर्यो।
कोभिडले एक वर्ष रोकिएको परीक्षा यो मुद्दाले अनिश्चितका लागि रोकिदियो।
सबैकुरा त्यागेर पढ्न बसेको मलाई ठूलो बज्रपात भएको महसुस गरेँ। यो मुद्दाले मेरो सपना लुटिदियो।
म त एक प्रतिनिधि पात्र मात्र हुँ। यो मुद्दाले मजस्ता लाखौं परीक्षार्थीको भविष्य अन्योलमा परेको छ।
सधैं मुद्दाको पेसी मात्र चडाइन्छ, फैसला आउँदैन। कहिले अदालत नै विवादमा त कहिले अरू।
दिनहरू यसरी नै बित्दै गए तर परीक्षाको ठेगान भएन।
वर्षौपिछे विज्ञापन खुल्छ। हामी फर्म भर्छौ। राजस्व पनि तिर्छौ तर परीक्षा हुँदैन।
देशमा हुने हर्कतले म पागल हुन लागिसकेँ।
लोकसेवा आयोगले कि त परीक्षा हुँदैन तिमीहरू जे सुकै गर भन्दिनुपर्यो नत्र परीक्षा गर्नुपर्यो।
सरकारले किन हामी युवाको भविष्यमाथि यति धेरै खेलवाड गरेको?
तीन वर्ष अघि भरेको खरिदारको फर्मको परीक्षा दिई नतिजा कुरेका परीक्षार्थीको हालत के भएको होला?
विदेश जाऊँ भने यता नाम निस्कने हो कि भन्ने आश जाऊँ भने बिहान बेलुकाको छाक कसरी टार्न भन्ने सकस
देशका लागि देशमै बसेर केही गर्छु भन्ने युवाको लागि यो भन्दा गम्भीर विषय अरू के हुन सक्छ?
यसरी परीक्षा रोकिदिँदा युवाहरूमा डिप्रेसनमा पुग्दै छन्, समस्या बढ्दै गएको छ।
मजस्तै देशमा नै केही गर्छु भनी भविष्य खोजी बसेका युवा पागल हुन लागिसकेका छन्।
अब हामीसँग खाडीमा गएर पसिना बगाउनुबाहेक विकल्प छैन। हामी के गरौं सरकार? प्रश्नको जवाफ छिट्टै चाहियो।