आन्तरिक पर्यटकले भारतीय पर्यटन बजारमा ठूलो हिस्सा राखेको छ। कुल जनसंख्याको दोब्बर बढी आन्तरिक भ्रमण हुने भारतमा सन् २०१९ मा २३२ करोड १९ लाखले आन्तरिक भ्रमण गरे।
कोभिड महामारीकै बिच सन् २०२० मा पनि ६१ करोड २ लाखले आन्तरिक भ्रमण गरेको तथ्याङ्क छ।
भारतीय पर्यटकको उक्त आन्तरिक भ्रमण संख्याले हाम्रो सीमासँग सडक मार्गबाट जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, उत्तराखण्ड आदि प्रदेश अत्यन्त महत्वपूर्ण पर्यटन स्रोत बजारको रूपमा बुझ्न सकिन्छ।
उत्तर प्रदेशमा मात्र सन् २०१९ मा ५३ करोड ५८ लाखले आन्तरिक भ्रमण गरेको तथ्याङ्क छ। यो संख्या कोरोना संक्रमणकालमा ८ करोड ६१ लाखमा झरेको छ। त्यसैगरी पश्चिम बंगालमा २ करोड ८८ लाख छन्।
त्यस्तै भारतबाट विदेश घुम्न जानेको संख्या सन् २०१९ मा २ करोड ७० लाख छ। त्यहाँ प्रत्येक मेट्रो सहरमा १.५० करोड देखि ३ करोडको जनसंख्या छ। सन् २०२२ मा दिल्लीको जनसंख्या ३ करोड २० लाख नाघिसक्यो।
दिल्लीसँगै जोडिएका उत्तर प्रदेश, हरियाणा, पञ्जाबका विभिन्न स्थानबाट पनि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू देशभित्रका नयाँ दिल्ली, आगरा, राजस्थान, गोवा, बनारस, मनाली, नैनीताल, मसूरी, मधुराई र काश्मीर आदि गन्तव्यमा अधिक संख्यामा घुम्न जाने गरेका छन्।
विदेश भ्रमणको हकमा पनि दिल्ली र वरपरका राज्यबाट नै ठूलो संख्यामा भारतीय घुम्न जान्छन्। भारतको विशाल पर्यटकीय बजारलाई आकर्षित गर्न विश्वका पर्यटन व्यवसायी भारत केन्द्रीत छन्।
मध्यपूर्वका युएई, कतार, थाईल्याण्ड, सिंगापुर, हङकङ, मलेसिया, श्रीलंका, मालदिभ्ससँगै युरोपियन देश तथा अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका पर्यटन व्यवसायी, पर्यटन बोर्ड वा राष्ट्रिय पर्यटन संस्थाले त्यतिकै सक्रिय भई भारतका प्रमुख शहरमा आफ्ना पर्यटन प्रवर्द्धन गतिविधि गर्दै आईरहेका छन्।
निजी क्षेत्रको अगुवाईमा भारतको नयाँ दिल्ली, मुम्बई, बैंलोर, कोलकात्ता, अहमदावाद, सुरत आदि स्थानमा आयोजना हुँदै आएको ओटिएम मुम्बई, टिटीएफ, साथी दिल्ली जस्ता पर्यटन मेलामार्फत आफ्नो पर्यटन बजार विस्तार गर्न भारतभरिका पर्यटन व्यवसायी र केही विदेशी राष्ट्रका व्यवसायी सक्रिय रुपमा भाग लिँदै आएका छन्।
हालै मे १८-२० सम्म भारतको ग्रेटर नोयडा, नोलेज पार्कमा आयोजित SATTE (South Asia's Travel and Tourism Exchange) मा विदेशका ५० भन्दा बढी र भारतका २८ प्रदेशका करिब १२०० पर्यटन व्यवसायीले भाग लिएका थिए।
उक्त मेलामा करिब ३ लाख ५० हजार आगुन्तुकले भ्रमण गरेका थिए।
नेपालको तर्फबाट नेपाल पर्यटन बोर्डको अगुवाईमा २० जना पर्यटन व्यवसायी र नेपाल वायुसेवा निगमले भाग लिएको थियो।
यस्ता मेलामा नेपालसहित छिमेकी राष्ट्रले सधैं सहभागी भएर आफ्नो गन्तव्यको प्रचारप्रसार गर्ने गरेको पाईन्छ।
भारतको स्रोत बजारलाई लक्षित गर्दै युरोपियन देशसँगै अन्य देशहरू थाईल्याण्ड, सिंगापुर, मलेसिया, श्रीलंका र दुबईले पनि भारतका विभिन्न प्रदेश र स्थानमा आफ्ना सम्पर्क कार्यालय खोलेर दह्रो उपस्थिति जनाउँदै आएका छन्।
ती सम्पर्क कार्यालयले भारतस्थित टुर अपरेटर, होटल व्यवसायी आदिलाई निरन्तर सम्पर्क गरि आफ्नो देशका गन्तव्यमा भारतीय पर्यटकलाई आर्कषक प्याकेजमा पठाउने व्यवस्था मिलाउनुको साथै आफ्नो देशका एयरलाईन्स, होटल, टुर अपरेटर, ट्राभल ऐजेन्ट आदिको सहकार्यमा भ्रमणको सम्पूर्ण व्यवस्था मिलाउने काम गरिहेका छन्।
ती सम्पर्क कार्यालयले भारतीका प्रमुख सञ्चारमाध्यबाट आफ्ना नयाँ नयाँ गन्तव्य र अफरबारे प्रचारप्रसार गरी भारतीय पर्यटकलाई लोभ्याउने प्याकेज प्रस्तुत गरिरहेका छन्।
सोही कारण मध्य पूर्वका दुवई, दोहा एवम् दक्षिण पूर्व एसियाका थाईल्याण्ड, मलेसिया, सिगांपुर आदि गन्तव्यले राम्रै भारतीय पर्यटक भित्र्याइरहेका छन्।
भारतको स्रोत बजारमा निजी कम्पनीसँगको साझेदारीमा नेपाल पर्यटन बोर्डले पनि आफ्नो स्थापना कालदेखि नै राम्रो उपस्थिति देखाईरहेको छ।
भारतका प्रमुख पर्यटन मेलामा नेपालको सहभागिताको लामो इतिहास छ। कोभिड १९ को पछिल्लो दुई वर्षमा पनि भारतमा आयोजना भएका सबै मेलामा नेपालले भाग लिएकै छ।
आफ्नो उपस्थिति राम्रोसँग होस् भनी नयाँ दिल्ली, मुम्बई, कोलकात्ता, चेन्नई, बेङ्गलोरमा स्थानीय पर्यटन व्यवसायीलाई मानार्थ जनसम्पर्क प्रतिनिधि बनाएर बोर्डले सन् २०१४ सम्म प्रचारप्रसार गर्दै आईरहेको थियो।
पछि आएर कार्यक्रम अनुसार स्थानीय पर्यटन कन्सल्टेन्ट/जनसम्पर्क कम्पनी मार्फत कार्यक्रमहरुको संयोजन गर्ने जिम्मेवारी दिई प्रवर्द्धनात्मक कार्यक्रम आयोजना हुँदै आएका छन्।
नेपालले मेलाको सहभागिताबाहेक सेल्स मिशन, रोड–शोका कार्यक्रमद्धारा भारतका प्रमुख शहरमा निजी क्षेत्रको सहभागितामा विभिन्न प्रकारका कार्यक्रम गर्दै आईरहेको छ। साथै समय–समयमा भारतका विभिन्न शहरमा विशेष प्रवर्द्धधनात्मक अभियानहरू (‘गर्मीसे बेहाल, चलो नेपाल’ ‘चलो पोखरा’, ‘नेपाल: गेटवे टू कैलाश’, ‘नेपाल समर अभियान’, ‘क्यासिनो प्याकेज’, ‘पशुपतिनाथ तथा मुक्तिनाथ प्याकेज’) सञ्चालन गरिरहेको छ।
पछिल्लो २३ वर्षे यात्रामा बोर्डले भारतीय बजारमा अनेकौं प्रचारप्रसारका कार्यक्रमका साथै त्यहाँबाट पत्रकार, मिडिया प्रतिनिधि, टुर अपरेटर, ट्राभल ऐजेन्ट सहभागी गराई अनेकौं परिचयात्मक भ्रमणका कार्यक्रम आयोजना गर्दै आएको छ।
यसबाट वार्षिक २ देखि ३ लाख भारतीय पर्यटकहरू हवाई मार्गबाट र ३ देखि ४ लाख पर्यटक सडक मार्गबाट नेपाल आउने गरेका छन्।
तुलनात्मक विश्लेषण गर्दा अत्यन्तै ठूलो सम्भावना बोकेको भारतीय बजारमा हामीभन्दा पछि प्रवेश गरेका भुटान, मालदिभ्स, श्रीलंका, दुवईले भारतीय बजारबाट ठूलो संख्यामा पर्यटक भित्र्याइसकेका छन्। तर पर्याप्त पर्यटकीय गन्तब्य भए पनि नेपाले उल्लेख्य मात्रामा भारतीय पर्यटक भित्र्याउन सकेको छैन।
नेपाली पर्यटन उद्योगले भारतीय बजारमा अब आफ्नो हिस्सा बढाउन आवश्यक भइसकेको छ। यसका लागि शहरको जनसंख्या र स्थानीयको विदेश जाने प्रवृत्ति वा चलनको आधारमा चार भागमा बाँडेर आफ्ना कार्यक्रम बनाउनुपर्ने हुन्छ।
जस अनुसार उत्तरमा दिल्ली, चण्डीगढ, लुधियाना, अमृतिसर, लखनउ, कानपुर, वनारस, पूर्वमा सिलगुडी, कोलकात्ता, राँची, पटना, पश्चिममा मुम्बई, पुणे, सुरत, अहमदाबाद, जयपुर, दक्षिणमा बैंग्लौर, चेन्नई, हैदरावाद, कोची, कोयमबटुर, तस्सुर आदि स्थानमा नेपाली पर्यटन उद्योगले बोर्डको सहकार्यमा सशक्त रुपमा प्रचार प्रसारको कार्यक्रम चलाउनुपर्ने हुन्छ। साथै, भारतको नयाँ दिल्लीमा बोर्डको सम्पर्क कार्यालय खोलेर थप कार्यक्रम विस्तार गर्न ढिला भइसकेको छ।
विगतको घटनाक्रम हेर्ने हो भने सन् २००८ सेप्टेम्बरताका नेपाल पर्यटन बोर्डको कार्यकारी समितिले नयाँ दिल्लीमा सम्पर्क कार्यालय खोल्न गरेको निर्णयलाई कार्यान्वयन गर्दै त्यसबेला भारतीय बजार हेर्नेगरि वरिष्ठ प्रबन्धकको पदमा कार्यरत यस पंक्तिकारलाई बोर्डको तत्कालिन कार्यकारी प्रमुख र बोर्ड अध्यक्ष एवम पर्यटन सचिवज्यूले कार्यादेशसहित नयाँदिल्ली पठाएको स्मरणीय छ।
त्यतिबेला आवश्यक सबै कानुनी प्रक्रिया पुरा गरे पनि , रिर्जभ बैंक अफ इण्डियाले अनुमतिको पत्र नदिँदा अहिलेसम्म थाँती रहेको छ।
भारतमा विदेशी कुनै पनि कार्यालय खोल्नुपर्दा रिजर्भ बैंक अफ इण्डियाको अनुमति लिनुपर्ने प्रावधान हुन्छ।
तत्कालीन समयमा भारत सरकारले नयाँ दिल्लीमा खुल्ने बोर्डको सम्पर्क कार्यालयलाई आर्थिक कारोबार गर्ने कार्यालयको रूपमा लिएको देखिन्छ।
जबकि, हाम्रो निवेदनमा स्पष्ट लेखिएको थियो- हाम्रो सम्पर्क कार्यालयको प्रयोजन व्यापारीसँग समन्वय गर्ने, भारतीय टुर अपरेटर, होटल व्यवसायीलगायतसँग राम्रो सम्बन्ध बनाई भारतीय बजारमा आफ्नो उपस्थिति देखाउनु मात्र हो। व्यापार वा आर्थिक लाभ लिने कुनै कारोबार नगर्ने भनी प्रस्ट उल्लेख गरिएको थियो।
सम्पर्क कार्यालय खोल्न हाम्रो देशभित्र परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासले खासै चासो राखेन।
दूतावासमा भारतमा मेला सम्बन्धी हेर्नेबाहेक संस्कृति सम्बन्धी हेर्ने, अर्थ व्यापार, सुरक्षा हेर्ने डेस्कमा सम्बन्धित मन्त्रालयबाट खटिने पदाधिकारी छँदै थिए। बोर्डको कार्यकारी समितिले पनि यसको औचित्यप्रति उदासिन भई सम्पर्क कार्यालयलाई केबल कर्मचारीलाई विदेशमा बसी सुविधा लिने माध्यमको रूपमा मात्र देख्नु आजको दिनमा घातक सिद्ध भइसकेको छ।
पर्यटन क्षेत्रलाई दिर्घकालीन सहयोग एवम स्पष्ट दिशानिर्देश गरी आफ्नो नम्बर एक स्रोत बजारमा स्थायी रूपमा उपस्थिति जनाउने पहलकदमी ठप्प छ।
कोभिड १९ सँगै थाई एयरलाइन्स धरासायी भए पनि थाइल्याण्ड पर्यटन प्राधिकरण (टिएटी) ले भारतका प्रमुख शहरहरू चेन्नई, मुम्बई र नयाँ दिल्लीमा स्थापित आफ्ना प्रवर्द्धन तथा सम्पर्क कार्यालय बन्द गरेनन्।
त्यस्तै चरम आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकाले पनि भारतमा खोलेको सम्पर्क कार्यालय बन्द गरेको छैन।
सिंगापुर, थाईल्याण्ड, दुबई, मलेसिया लगायतका पर्यटन विभाग र व्यवसायीले भारतमा अयोजना हुने प्रमुख पर्यटन मेलामा अनिवार्य सहभागिता जनाएर आफ्ना गन्तव्यको प्रचारप्रचार गरिरहेका छन्।
त्यस्तै भारतीय पर्यटन मन्त्रालयले पनि विश्वका विभिन्न १३ देशमा १४ वटा सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तिब्रता दिएको छ।
स्रोत बजारको पर्यटकको अवस्था, खर्च गर्ने प्रवृत्ति, टुर–अपरेटरको प्राथमिकता आदि कुरामा निरन्तर अपडेट हुन, उनीहरूले दिएका सुझावलाई कार्यान्वयन गराउन, प्रचारप्रसार गर्न लगायतका विभिन्न कार्यमा प्रत्यक्ष संलग्न हुन भारतमा बोर्डको सम्पर्क कार्यालय खोल्नु अहिलेको पहिलो र महत्वपूर्ण आवश्यकता हो।
बजारमा बसेपछि मात्रै बजारको रापताप जानिन्छ भन्ने पुरानो उक्ति अनुसार दुई ठूला छिमेकी मुलुक भारत र चीनमा सम्पर्क कार्यालय खोल्न ढिला भइसकेको छ।
बजारको माग कता गईरहेको छ, कहिले र कुनबेला के गर्नुपर्छ, कसरी हवाई जहाज कम्पनी, टुरअपरेटरलाई समातेर बजार तान्न सकिन्छ, कसलाई परिचयात्मक भ्रमणमा नेपाल घुमाएर प्रवर्द्धन गर्न सकिन्छ लगायतका क्रियाकलापका लागि पनि सम्पर्क कार्यालय स्थापना जरूरी छ।
प्रतिस्पर्धाको यस व्यापारमा भनिन्छ नि ‘जे देखिन्छ त्यहीँ बिक्छ।’ हो, हाम्रा लागि प्रतिस्पर्धी अन्य देशले त्यहीँ नीति लिएर सफल भएका छन्।
भारत नेपालका लागि अत्यन्तै महत्वपूर्ण पर्यटकीय बजार हो। विगत कयौं वर्षदेखि कुल पर्यटक आगमनको ३० प्रतिशत हिस्सा ओगट्दै आएको भारतीय बजार हाल आएर २० प्रतिशतमा खुम्चिएको छ।
अत्यन्तै ठूलो सम्भावना बोकेको भारतीय बजारमा नेपाली पर्यटन उद्योगले गुमाएको आफ्नो पुरानो बजार हिस्सा कायम राख्न, नयाँ सम्भावनाको खोजी गरी, नयाँ प्रविधिबाट प्रचारप्रसार गर्न, विद्युतीय मिडियाबाट घरघरमा देखिने टिभी सिरियल तथा विभिन्न शोहरूबाट नेपालका गन्तव्यबारे प्रचार गर्नुपर्ने हुन्छ।
धा
धार्मिक तथा आध्यात्मिक पर्यटनको लागि युपी, राजस्थान तथा दक्षिणका प्रदेश सरकारसँग कैलाश मानसोवर यात्रा जस्तै थप पशुपतिनाथ, मुक्तिनाथ, वराहक्षेत्र, जनकपुरधाम जस्ता धार्मिकस्थलमा पनि आफ्ना नागरिकलाई पठाउन केही आर्थिक सहयोगको व्यवस्था मिलाई दिन अपिल गर्नेुपर्ने हुन्छ।
सिनेमा पर्यटन गतिविधिको लालि बलिउड र भोजपुरी सिनेमालाई नेपालका लोकेशनबारे प्रस्ताव गरौं। युवा लक्षित साहसिक पर्यटनको लागि स्कुल, कलेजलाई शैक्षिक भ्रमण, एभरेष्टको आधार शिविर, मनाङ, मुस्ताङ, रारा, खप्तडसम्मको पदयात्रा आदि जस्ता अनेकौं प्याकेज प्रस्तुत गरी नेपाली पर्यटन उद्योगले बोर्ड र नेपाल वायुसेवा निगमको सहकार्यमा सशक्त मार्केटिङ एवम प्रवर्द्धन गर्नेुपर्छ।
भारत र नेपाल बीचको पर्यटन व्यापारलाई अझ व्यवस्थित तथा प्रभावकारी बनाउन प्रत्येक पर्यटकलाई सेवा दिएवापत होटल, ट्रेकिङ, ट्राभल ऐजेन्टले लिनुर्ने भुक्तानी रकमलाई विद्युतीय ट्रान्सफर, अनलाईन भुक्तानी, भिसा कार्ड, ट्राभल डेविट कार्ड/ क्रेडिट कार्डमार्फत हुन नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्छ।
त्यस्तै भारतीयले ५०० सम्मको मुद्रा बिना रोकटोक नेपाल ल्याउन पाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याउने र स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई बोर्डरमा र देशका कुनै पनि स्थानमा बिना कारण अनावश्यक दुःख नदिने व्यवस्था मिलाउनुपर्छ।
बोर्डर तथा राजमार्गमा खटिएका सुरक्षाकर्मी, कर्मचारीलाई पर्यटकप्रति अझ राम्रो व्यवहार गरिदिन निर्देशिका सहितको अभिमुखिकरण कार्यक्रम अपरिहार्य छ।
यसको अलावा भारत जस्तो आर्थिक वृद्धिदर अत्यन्तै राम्रो भएको मुलुकबाट नेपालले धेरै ठूलो संख्यामा पर्यटक भित्र्याउन सक्ने सम्भावना छ।
यसै पृष्ठभूमिमा नेपालका पर्यटन व्यवसायीले भारतमा प्रवर्द्धनात्मक कार्यक्रम अझ सशक्त रूपमा बढाउनुपर्ने आवश्यकता मनन गर्दै यथाशिघ्र सम्बन्धित निकायले नयाँ दिल्लीमा बोर्डको सम्पर्क कार्यालयको स्थापना गर्नुपर्छ।
स्थलमार्गबाट आउने पर्यटक आवागमनलाई सहजीकरण गर्न प्रमुख प्रवेश नाकामा अध्यागमनको कार्यलयसँगै बोर्डको पर्यटक सूचना कार्यालय खोलेर आफ्नो भौतिक उपस्थिति जनाउनु जरूरी छ।