एउटा लिखुरे केटा अल नेपाल ठग्स फेमिर्ली ‘एएनटीफ’ को स्टेज चढ्छ, माइक हातमा लिन्छ, Swag सहित र्याप ब्याटल खेल्न थाल्छ।
पहिलो चरणमा र्यापर सिरूपातेलाई फ्री स्टाइलमा नै उसले भनिदिन्छ ‘गलत काम गरेर आमाबुबा रूवाको...’ अनि अर्को चरणमा अर्को प्रतिश्पर्धी र्यापर सिक्सनेमलाई ठूलो झट्का हानिदिन्छ-
म हुँदा हुँदै जित्न लम्किरा’छ लम्कि
यसलाई जन्माउन वाउआमाको गल्ती भाछ गल्ती
वाउआमाले यसलाई राम्रो संस्कार किन देन
हजुरबाट पनि गल्ती भाछ अन्टि
सुधार्नु हुन्छ होला गल्ती कहाँ छ भन्दि........।।
यो चोटिलो प्रहार थियो। यो प्रहारमा सायद उसको मनको पीडा, कुण्ठा, गुनासो, आवेग सबै थियो। लाग्थ्यो यो उसले सिक्सनेमको लागि होइन आफ्नै लागि लेखिरहेको थियो। ऊ यत्तिक्कैमा रोकिएन घरी ऊ ‘कति सुन्छस् कमल वाउआमाको किचकिच’ भनेर उफ्रन्थ्यो त घरी ‘गलत काम गरेर आमाबुबा रूवाको’ भनेर भावुक हुन्थ्यो। हुँदाहुँदै उसले एउटा पंक्तिमा भनिदियो- ‘छोरा चाँहि र्याप हान्छ रे, विदेशमा वाउले भाडा।’
अनि एउटा चरणमा त प्रतिश्पर्धी र्यापर माईलालाई निस्फिक्र भनिदिन्छ, ‘मिलेन लेबल तेरो वाउ बोला ए, खाए त गाँजा आफ्नो वाउको खाएँ।’
त्यसपछि जेठ महिनाको रापिलो घाम जसरी उसको उदय हुन्छ। उसैले भनेको जस्तै ‘कलाको म धनी म, खतरा हो पनि अत्ति’, मानिसहरुले उसको कलाको प्रसंशा गर्न थाल्छन्।
नेपालमा एउटा खतरा र्यापरको उदयका रूपमा उसलाई लिन थालिन्छ। उसको हरेक शब्द र पंक्तिले ऊ स्वयमको, उसकै प्रतिश्पर्धी, निर्णायकदेखि आम मानिसको भाषा, व्यथा र्यापबाट बोलेको भनेर उसलाई सबैले स्नेह पनि गर्न थाल्छन्।
त्यसपछि उसको नाम, उसको चोटिला र्यापको पंक्तिहरू यत्रतत्र गुन्जिन थाल्छ। एकाएक सुदीप भण्डारी अर्थात् जी–बबको चर्चा हिउँको थुप्रोसरी चुलिन थाल्छ। देश विदेशमा कार्यक्रम गर्न उसलाई भ्याइनभ्याइ हुन्छ। फिल्मदेखि म्युजिक भिडियोको निर्देशकले उसलाई साइन गर्न तछाडमछाड गर्छन्।
उसलाई एक झलक देख्न र छुन मात्रै मान्छेहरू भीड छिचोल्दै आउन थाल्छन्। छोटो समयमा जी–बबले आफ्नो लाखौं फ्यान बनाउन सफल हुन्छ र उसको क्रेज तिव्र गतिमा मल्टिप्लाई भइरहेको थियो। यी सबै देखेर २१ वर्षीय जी–बब दंग, हर्षित, मस्त अनि लठ्ठ हुन्छ।
जी–बबको कहानी यतिकैमा सकिँदैन। जी–बब एकसुरे भइरहेको बेला उसको आमाबुबालाई पीर पर्न थाल्छ। छोराको प्रगतिमा गदगद पनि भइरहेको बेला उसको स्टेजमा देखिएका र नदेखिएका केही आचरण र हर्कतले पीर दिन थाल्छ। प्रकाश सपूतले भनेको जस्तै ‘तिम्रो मोयाले मोलाई पीर दियो।’
हो, सन्तानको मायाले आमाबुबालाई पीर दियो। यही पीरले आमाबुबाको मन बेचैनी हुन थाल्यो। एकातिर छोराले नाम, दाम कमाउन थालेको देखिरहेको छ भने अर्कोतिर छोरालाई स्टेजमा त्यो हालतमा प्रस्तुती गरेको देख्दा तनाव भइरहेको छ। छोराको नाम, दाम एकातिर स्वास्थ्य अर्कोतिर हुँदा बुबाआमाको मन स्थिर रहेन।
त्यही माथि भर्खरै पञ्जावको चर्चित र्यापर सिद्दु मुसेवालालाई गोली हानेर मारेको सुनेको छ। केही वर्ष अगाडि नेपालका चर्चित र्यापरले आत्महत्या गरेको सुनेको छ। अरू पनि नेपाली र्याप गायकहरु ड्रग्सको ओभरडोजले घरमै, ट्वाईलेटमा वा सडकको पेटीमा मरिरहेको सुनेको छ।
यी मात्रै नभइ अरूले पैसा पनि सकिने मान्छे पनि सकिने होला है भनेर सुनाइदिएको छ। यो अवस्थामा के गरौं, कसो गरौं भइरहेको आमाबुबाले एकदिन मिडियामा आएर पहिले छोराको स्वास्थ्य र त्यसपछि उसको आम्दानीको हिसावकिताव छर्लङ्ग हुनुपर्छ भनेर आफ्नो कुरा राख्न थाल्नुहुन्छ।
एकसुरमा बगिरहेको खोला (जी–बब) लाई लाग्यो- मेरो अगाडि ठूलो बाँध राखिदिन लाग्यो। अब स्वतन्त्र भएर बग्न नपाउने हो कि भन्ने डर र कतिपय आफ्नो भडास फाल्न उसले अन्तर्वार्ता दिन थाल्यो। अनि सुरू भयो ब्याटल–आमाबुबा र छोरा बीच।
यो ब्याटल सुनेपछि, दुवै पक्षको कुरा बुझेपछि, जी–बबले माथि उल्लेखित आफ्नो र्यापमा घरीघरी बुबाआमाको कुराहरू, शब्दहरु प्रयोग गरेको देख्दा ‘हिपपमा डिप लभ’ परेको जिकिर गर्दा, आफूलाई वेस्ट अनि सबैलाई जित्छु भनिरहँदा एउटा कुरा आँकलन गर्न सकिन्छ कि, उनीहरूबीचमा एउटा ठूलो खाडल छ।
यो खाडल भर्खरै उत्पन्न भएको होइन, धेरै समय अघि देखिको हो। खाडलसँग उनीहरुको सम्बन्ध सुइटर बुनेको जस्तो सर्लक्क पनि छैन बरू कपालको लट्टा जस्तो गुजुल्टेर बसेको छ। त्यसैले यो व्याटलमा कसैको पनि जित र कसैको पनि हार हुँदैन। जति गल्ति जी–बबको छ त्यति कमजोरी उसको बुबाआमाको पनि छ। केही बुँदाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु।
१) जी–बकको बाल मनोविज्ञानः जी–बबको भनाइ अनुसार ऊ कहिले पनि बुबासँग बसेन। ऊ एक कक्षा हुँदादेखि नै बुबा विदेश जानुभएको। त्यसो त उसले आमासँग पनि त धेरै समय बिताउन पाएन। एघार बजे आमा अफिस जाने अनि साँझ गेटको आवाज आएपछि वा घरमा हल्ला भएपछि आमा आइछन् भन्ने थाहा हुने भयो।
यदि उसको कुरा सत्य हो भने ऊ सानैदेखि नै स्वतन्त्र रूपले बाँचिरहेको रहेछ। बुबा विदेश जानु र आमाले जागिर खानुको बाध्यततालाई एकछिन पन्छ्याएर हेर्ने हो भने जी–बबलाई सानैदेखि नै स्वतन्त्रसँग बाँच्न, एक्लै समय बिताउन, एक्लै निर्णय लिने परिवेश सृजना गरेको देखिन्छ र उसको वाल मनोविज्ञान पनि यसरी नै बन्दै गयो। त्यसैले पनि संयुक्त परिवारमा वच्चा हुर्कन कति फाइदा हुन्छ र बुबाआमाले सन्तानलाई आफ्नो निगरानीमा राखेन भने कस्तो परिणाम आउँछ भन्ने एउटा उदाहरण हो।
२) हिपपमा डिप लभ: जी–बबले एउटा पंक्तिमा आफू हिपको डि लभमा भएको जाहेर गरेको छ। यो मात्रै नभएर उसको र्याप ब्याटल, फ्री स्टाइल, त्यो इनर्जी, शब्दको खेल, शब्दको प्रहार, जीउको हाउभाउ, आँखाको चालदेखि अनेक हेर्ने हो भने साँच्चैनै ऊ हिपपको डिप लभमा नै छ। उसको र्यापप्रति लगाव, प्यासनले नै प्रस्टै देखाउँछ कि ऊ र्यापमा आफ्नो करियर बनाउन कति तल्लीन छ। यो लक्षण उसमा हिजो आज मात्रै आएको होइन। उसले पक्कै पनि सानैदेखि धेरै हिपप गीतहरू, राष्ट्रिय, अन्तराष्ट्रिय र्यापरहरूलाई फलो गरिरहेको हुनुपर्छ।
र्याप गीतहरू घोकेको हुनुपर्छ। र्यापरहरूको हाउभाउ, लवाइखवाइ, अनेक स्टाइलबाट प्रभावित भएको हुनुपर्छ। त्यो किशोरावस्थामा उसले अरूजस्तै आफू देखिन, अरूजस्तै आफू पनि चर्चित हुन महत्वकांक्षा पाल्दै गयो। पूर्वीय संस्कारको बिचमा ऊ पुरै पश्चेमेली जीवनशैली अंगाल्न थाल्यो। जसको फलस्वरुप ऊ आफूलाई अहिले वयस्क भइसकेको ठान्छ।
अठार वर्ष कटेको छु। मेरो नागरिकता छ। मैले पढ्न, लेख्न जानेको छु। मेरो जीवन, मेरो अधिकार भन्न थालेको छ। उसलाई अब धेरै बन्धन मन पर्दैन। रोकटोक, गाली धम्की दिएर अब ऊ फर्किदैन। फर्किए पनि अब ऊ त्यो सानो बालक छोरा हुँदैन। उसमा आएको परिवर्तन, उसले सोचेका कुरा, उसको उमेर, उसको स्वतन्त्रता अलिकति भए पनि आमाबुबाले बुझिदिएर उसको कति गल्तीमा मायाले सम्झाउने तर दवाव नदिने हो भने सायद केही वर्षपछि ऊ झन् परिपक्क हुन सक्छ र परिवारको महत्व पनि बुझ्नसक्छ।
३) एएनटीफ नै मेरो परिवार हो अबदेखिः यसमा दुईटा कुरा छ। जी–बबले यसो भन्नु कि त आवेगमा आएर हो, कि त उसले साँच्चै नै एएनटीफबाट प्रेम, सद्भाव, स्नेह, इज्जत, मान–प्रतिष्ठा, चर्चा, पैसा र कदर पाएको छ जुन ऊ यसको लागि कयौं वर्षदेखि भौतारिरहेको थियो। उसले त्यहाँ अन्य नयाँ साथी पनि पाएको छ। जसले उसको मन, भावना बुझिदिएको छ। सायद घरमा भन्दा उसले त्यहाँ आफूलाई बढी सेफ र कम्फटेबल महसुस गरेको हुनुपर्छ। कहिलेकाही मानिसलाई आफू हुर्केको परिवेशभन्दा पनि अर्को परिवेश मन पर्न सक्छ र त्यसमा फेरि आफू हुर्किन चाहन्छ।
अहिलेको परिवेशमा जी–बब एएनटीफकै छत्रछायाँमा रमाएको र हुर्कन चाहेको देखिएको छ। उसको यो इच्छा हो, चाहना हो भने उसको यो कुरालाई कदर गरिदिनुपर्छ। र यो पनि छैन कि, उसलाई त्यो परिवेश सधैँ मन परिरहन्छ। अर्को ठूलो सम्भावना भनेको ऊ एकदिन आफैं बुझेर घरमा नै शान्ति र आनन्द रहेछ भनेर फर्किन पनि सक्छ। त्यो अवस्थामा पनि आमाबुबाले उसको विगत नकोट्याइकन स्वीकार्नुपर्छ ।
४) स्वाथ्य र पैसाः जी–बबको आमा भन्नुहुन्छ– हामीलाई छोराको स्वाथ्य पनि चाहियो र उसको पैसा पनि। नेपाली समाजमा, नेपाली परिवेशमा आमाले यसो भन्नु जायज हो।
अठार वर्षपछि आफैं गरेर नखा, घर नछोड, बुढेसकालको साहारा होस् तँ भनेर सोच्ने हाम्रो समाजको बुबाआमाले यति सोच्नु कही गलत छैन। छोरा छोरीलाई दुःख गरेर हुर्काएको, उसको हरेक इच्छाहरु पुरा गरिदिएको खण्डमा भोलिको दिनमा छोराले नाम, दाम दुवै कमाहोस् र केही अंश हामीलाई पनि दियोस् भनेर सोच्नु स्वभाविक हो। तर यसो भनिरहँदा छोराछोरीले यो कुरा बुझ्नै सकेनन् भने उनीहरुलाई दवाव दिएर बुझाउन खोज्दा कहिलेकाही अप्रिय परिणाम उत्पन्न हुनसक्छ।
सायद अहिले जी–बब र आमाबुबाबीचको तिक्तता पनि यसकै परिणाम हो। जी–बबले आरोप लगाइरहेको छ पहिला यही र्याप गाउँन खोज्दा न’गा भन्यो अहिले त्यहीबाट आएको पैसा चाहियो। जी–बबले यहाँ आमाबुबाको सेन्टिमेन्टस् र उहाँहरुको चिन्ता बुझेको छैन। बुबाआमाले पैसाको कुरा गरेको मात्रै उसले बुझ्यो तर स्वाथ्यको बारेमा बोलेको सुनेन।
यसरी उसले नसुनिरहँदा बुबाआमाले पनि सायद अबदेखि ऊ सँग कुरा गर्दा होस् वा उसले साइन गरेको कम्पनीसँग संवाद गर्दा बढी उसको स्वास्थ्य, करियर र उसलाई लिरिक्स लेख्न कसरी राम्रो वातावरणमा राख्न सकिन्छ भनेर छलफल गर्दा यसले सकारात्मक निष्कर्ष र परिणाम ल्याउनसक्छ।
किनभने जी–बब अहिले जुन स्टेजमा छ उसले सोच्ने भनेको जस्टिन बिबर, हनि सिंहदेखि तमाम गायक र र्यापरहरुले पैसा म्यानेज गर्न बरू म्यानेजर राख्छ बाउँ आमा त राख्दैन नि भन्ने हो। यदि उसको सुरूदेखि नै बुबाआमासँग राम्रो केमेस्ट्री मिलेको भए छुट्टै कुरा तर उसको सम्बन्धमा सानैदेखि खाटा पर्दै आएको देखिन्छ।
गन्ध आउने मात्रै लागूपदार्थ होइनः जी–बबको आमाले एक ठाउँमा भन्नुभएको छ छोरा मसँगै सुत्थ्यो तर कहिल्यै गनाउँदैनथ्यो। यो पदार्थ खाएको नगनाउने रहेछ अनि यादै भएन भन्नुभयो।
हो, जी–बबको आमा यहाँनेर चुक्नुभएको छ। उहाँ मात्रै होइन यसरी अरू धेरै अभिभावकहरू पनि यसरी चुक्नुभएको छ। मुखबाट चुरोट र रक्सीको गन्ध आए मात्रै सन्तान कुलतमा लागेको भनेर आफ्नो धारणा बनाउने अभिभावकहरू अझै पनि हुनुहुन्छ।
चल्दो समाजमा, डिजिटल युगमा, अहिलेको परिवेशमा, परिवर्तित समाजमा सन्तानको हाउभाउ, उसको लगाइखुवाइ, उसको मनोविज्ञान, उसमा आएको स्वभावको परिवर्तन, अस्वभाविक चालढाल, शरीरको मोटाइ, दुब्लाई देखि तमाम कुराहरु सुष्म गतिमा हरेक अभिभावकले निगरानी गर्नुपर्ने देखिन्छ। अनि किशोरावस्थाको सन्तान कुलतमा फस्नै सक्दैन भनेर सन्तानको प्रेममा आशक्क्ति भएर अन्धो विश्वास पनि गर्नुहुन्न। त्यसैले पनि चोरदेखि गहना बचाए जसरी सन्तानलाई पनि कुलतबाट बचाउन हरप्रयास हरेक अभिभावले गर्नुपर्दछ कुलतमा फस्नुभन्दा अगाडि नै।
जी–बब र रियावः रियावलाई जी–बब चाहिएको छ तर जी–बबलाई रियाव मात्रै होइन प्रेम, सद्भाव, स्नेह र स्वतन्त्रता पनि चाहिएको छ।
जी–बबलाई सुनिरहँदा यो कुरा सजिलै अनुमान लगाउन सकिन्छ। ऊ न त घरमा, न त रियाबमा, न त एएनटीफको स्टुडियोमा नै बन्धक भएर बस्न चाहन्छ। उसलाई थाहा छ घर चाहिन्छ, उसलाई थाहा छ बुबाआमा चाहिन्छ अनि जान्छ पनि तर निस्सासिएर फर्कन्छ।
उसलाई थाहा छ रियाव चाहिन्छ अनि ऊ रियाव पनि जान्छ तर फेरि ऊ उकुसमुकुस भएर फर्कन्छ। उसलाई यतिखेर सुनकै पिंजडामा राख्यो भने पनि बन्धी बनाएर राखेको महसुस गर्छ। ऊ आफू खुल्ला किताब हुन चाहन्छ। ऊ चाहन्छ उसलाई सबैले पढिदियोस्। ऊ स्वतन्त्र भएर खुल्ला रूपमा विचरण गर्न चाहन्छ। उसलाई कसैको रोकटोक मन परिरहेको छैन। उसलाई पटक्कै बन्धन मन पर्दैन। उसलाई कसैको दवावमा बस्न मन लाग्दैन। एउटा सामान्य व्यक्तिलाई त बन्धक घाँडो हुन्छ तर जी–बब जसरी ‘कलाको धनी म’ भन्दै हिँडेको मान्छेलाई यो बन्धक लाग्नु स्वभाविक हो।
मैले यो लेख मेरो व्यक्तिगत बुझाइ र अनुभवबाट लेखेकी हुँ। विगत लामो समयदेखि कुलतमा लागेको धेरै नेपाली विद्यार्थीको समिपमा रहेर मैले काम गरेको भएर पनि होला। उनीहरूलाई म एक हदसम्म बुझ्छु। उनीहरूसँग संवादबाट धेरै कुराको निचोड निकाल्न सक्छु। तर विडम्बना धेरैको गुनासो भने आफ्नै आमाबुबा भएको पाएको छु।
आमाबुबाको छोराछोरीप्रति हुने तीव्र महत्वकांक्षा, धेरै आशा, दवाव, छोराले पैसा कमाउनै पर्छ। हिसाव देखाउनै पर्छ र हामीलाई बुढेसकालमा हेर्नैपर्छ भन्ने त्यो तीव्र इच्छाले सन्तानसँग आफैंले दूरी बनाएको उदाहरणहरु प्रशस्तै छन्। यो विषयमा सेतोपाटीमा मैले थुप्रै लेख पनि लेख्दै आएको छु। धेरै कुराहरु लेखबाट भन्दै पनि आएको छु। त्यसैले भन्दैछु जी–बब मात्रै दोषी छैन आज यो हालतमा पुग्न। सायद कही कतै बुबाआमाको पनि लापरवाही देखिन्छ।
र, यो सबै कुरा भनिरहँदा यदि र्यापरको वर्ल्डमा आफूलाई जिवित राखिरहने हो भने ऊ धेरै ठाउँमा सम्हालिन जरूरी छ। उसले धेरै ठाउँमा विवेक पुर्याउन जरूरी छ। उसले धेरै कुराहरु सिक्नु छ। उसले धेरै नकारात्मक कुराहरु छोड्नुछ। सही र गलतबीचको त्यो मसिनो धागोलाई चिन्नु छ। आफ्नो कला र गलालाई अझ निखार्नुछ।
भोलिको दिनमा अझ माथि पुग्नुछ। देशको नाम राख्नु छ। नेपाली हिपप कल्चरलाई विश्वसामू चिनाउनु छ। तर त्यो भन्दा पनि ठूलो उसले बुबाआमाको इज्जत गर्नुछ।