विश्वविद्यालयमा अध्ययन गर्दै गरेकी उमेरले २० वर्ष पार गरिसकेकी ममा अझै के बन्ने हो त भन्ने कुनै उद्देश्य छैन। म मात्र हैन, यो देशमा मेरो उमेर समूहका मेरै परिवेशका धेरै युवाहरूमा कुनै लक्ष्य र उद्देश्य छैन। किन? यो प्रश्न आज अरुलाई हैन यो देशलाई गर्दैछु। तपाईंलाई थाहा छ?
असारमा रोपेको धान मंसिरमा थन्काइने गरिन्छ। कति महिनाभन्दा पाँच महिना। पाँच महिनामा गरेको मेहनत, परिश्रम र लगानीबाट त हामीले केही पाउछौँ भने हामी युवाहरूको शिक्षामा कति मेहनत, परिश्रम र लगानी भयो होला! के यसको प्रतिफल पाउन हामीले विदेश नै जानु पर्ने हो?
आमाले तिलहरी बेचेर पढाएपछि मैले जिन्दगीमा केही गर्न बाको खेत बेच्नुपर्छ भने भो नेपाल सरकार, मजस्ता युवाहरूलाई यस्तो शिक्षाको आवश्यकता छैन। किन छपाइएको हो पेसा व्यावसाय, सामाजिक शिक्षा यस्ता किताबहरू? जहाँ विद्यार्थीहरूलाई केही गर्ने उमेरसम्म पनि बाँझिएका खेतबारीमा काम गरेर भविष्य बनाउन सकिन्छ भन्ने कुराको थाहा हुँदैन भने आफ्नो सामाजिक संस्कार र संस्कृति नसिकेर विदेशी संस्कृतिमा रमाउन सक्ने भएका हामीलाई किन चाहियो त यस्तो शिक्षा?
शिक्षाले विश्वविद्यालयमा व्यवस्थापन संकायमा अध्ययन गर्दै गरिकी मलाई कसैले सोध्यो- 'नानी, यो व्यवस्थापन भनेको के हो?' मैले यहीँ प्रश्नको उत्तर दिन पनि एकछिन अलमल्ल पर्नुपर्छ। व्यवस्थापन के हो त? हामी यो प्रश्नको उत्तर यो देशलाई मिल्न सक्ने अझै दिन सक्दैनौँ भने यो कस्तो शिक्षा हो?
जहाँ वर्षौं लगाएर पढिन्छ, परीक्षा दिइन्छ तर यसको मूल्यांकन वर्षौं दिनसम्म पनि आउँदैन। यसको उदाहरणका रुपमा नेपालको त्रिभुवन विश्वविद्यालयलाई लिन सकिन्छ।
जापानमा ९, १० कक्षामा पढ्दै गरेका विद्यार्थीहरूले आफ्नो जीवन पढाइसँगै पाल्न सक्ने हुन्छन् भने हामी चाहिँ कहिले हुने हो? राष्ट्रिय शिक्षा नीति २०७६ को लक्ष्य सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमूलक बनाइ देशको आवश्यकता अनुरुपको मानव संसाधनको विकास गर्ने भनिएर लक्ष्य लिए पनि यो पूरा हुने दिन हामीले कहिलेसम्म कुर्नु पर्ने हो?
खै कहिले आउँछ नेपालमा प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमूलक शिक्षा? जब कुनै एउटा सक्षम युवा विद्यालयमा केही गर्नुपर्छ भनेर विद्यालय पुगेको हुन्छ, त्यहाँको वातावरणले गर्दा उसले साथीहरूलाई 'अब पढेर के पो हुन्छ? मान्छे चिन्ने हो, भनसुन गर्ने हो, घुस खुवाउने हो, पास नपढे पनि मज्जाले भैन्छ केटा हो' भन्दै गरेको म सुन्छु। अब यस्तै बन्दै जाने हो भने कस्तो होला नेपालको शैक्षिक प्रणाली? बेलैमा सचेत हुनु पर्ने अवस्था आएको छ।
किन यस्तो हुँदै जाँदैछन् त देशका कर्णधारहरू, अध्ययन गर्ने शैक्षिक संस्थाहरू? अहिलेका शैक्षिक संस्थाहरू दलका कार्यकर्ता उत्पादन गर्ने फ्याक्ट्री बन्न थालिसकेका छन्। जब एउटा शिक्षक पढाउन भनेर कक्षाकोठामा प्रवेश गर्दा विद्यार्थीको भविष्यको भन्दा पार्टीको भविष्यको चिन्ता हुन्छ भने अब देश कस्तो बन्छ होला? यो देशले कस्ता जनशक्ति उत्पादन गर्ला? विद्यालय एउटा यस्तो मन्दिर हो जहाँ भगवान गुरु र दार्शनिक विद्यार्थीहरू हुने गर्छन्।
मैले यसो भन्दै गर्दा यहाँ राजनीति नै गर्न छोड्नु पर्ने हो त भनेर नसोच्नुहोस्। गर्नुहोस्, कसैलाई प्रभाव नपर्ने गरी गर्नुहोस्। हामी पनि शिक्षामा राजनीति होइन, शिक्षाको राजनीति गरौँ न एक पटक कस्तो हुने रहेछ! म यति एकिन गरेर भन्छु जुन देशमा शिक्षा र स्वास्थ्यमा राजनीति हुन्छ नि त्यो देशमा कहिल्यै प्रगति हुन सक्दैन।
यहाँ राम्रो होइन, हाम्रोको मूल्यांकन गरिन्छ भने शिक्षाको के नै अर्थ हुन्छ? बिबिएस पढ्दै गरेकी मलाई कुनै सरकारी जागिर खान मर्न लाग्यो भने यहाँ मैले पढे, गरेको किताब छोडेर अर्को किताबको अध्ययन गर्नुपर्ने हुन्छ। यदि यसो हो भने यो किताब चाहिँ किन पढ्नु पर्ने हो?
यदि हामी युवाहरूको मूल्य र पसिना किन्न सक्ने किताब बन्न सक्दैन भने एउटा राहदानी सम्बन्धी किताब विद्यालयदेखि नै बनाइदिनू है नेपाल सरकार! कमसेकम अरुको देशमा गएर बिजोक हुने स्थिति आउने छैन।
शिक्षा यस्तो होस् जहाँ विद्यालयमा शिक्षकलाई पढाउन जाउँ-जाउँ र विद्यार्थीलाई पढ्न जाउँ-जाउँ होस्। शिक्षा यस्तो होस् जहाँ हातमा शिक्षाको मूल्यांकन नपाउँदै मेरो भविष्यको योजना पूरा गर्न सक्ने क्षमता ममा होस्। शिक्षा यस्तो होस् जहाँ घरमा नसिकाएको संस्कार र संस्कृति विद्यालयमा सिक्न पाइयोस्। शिक्षा यस्तो होस् प्रविधियुक्त, रोजारयुक्त र उत्पादनयुक्त होस।