यहाँभन्दा करिब सय मिटर तल रारा ताल छ। माथि के के छन् यात्राले नै बताउला। म अहिले मुर्मा गाउँमा छु।
आँखाको ठीकअगाडि बाख्राका २ माउ, बच्चा अटाउने खोरजत्रो छाउ गोठ छ। पछाडिको घरको भत्किएको दलिन पनि राम्रैसँग देखिएको छ।
पारिका डाँडाहरू प्राय: नाङ्गै छन्।
कतै भने हिउँको टिको अझै बाँकी छ। वारिका डाँडालाई त सियोझैं चुच्चे पात भएका हरिया रूखहरूले पूरै डाकेका छन्।
पश्चिम पाखामा गुलाबी लालीगुराँसको जंगल छ, अरू पाखा बाझै छन्।
म थचक्क भुइँमा बसेकी छु, निराशा बोकेर।
अक्सर यात्राहरूबाट मेरा मनमा प्रश्न सङ्लिने गर्छन्। कर्णालीले भने डर थुपार्यो, अकल्पनीय हतियारको डर।
हाम्रो गन्तव्य रारा ताल थियो र नितान्त हामी पुग्यौं पनि।
तर रारा पुग्नुअघि हामी कहालीलाग्दा बन्जर डाँडा छेडेर बनाएको बाटोहरूमा पुग्यौं, कोही आउँछ कि भन्ने आशाले कुरेका होटलहरूमा अनि आफैंमा हराएका घरहरूमा पुग्यौं।
ताल घुमी सकेर हामी मुर्मा टपतिर जाँदै थियौं।
सबैको हिँडाइ फरक गतिको थियो र क्रमश: हामी एक्ला-एक्लै उकालो चढ्न थाल्यौं।
म आफ्नै तालमा रमाउँदै हिँड्दै थिएँ।
पछाडि कोही दौडिँदै आइरहेको थाहा पाएँ।
फनक्क फर्किंदा, दुई स-साना बाबुहरू रहेछन्। मेरो अगाडि टक्क अडिए। भर्खर माटोमा कुस्ती खेलेर आएका जस्ता कपडा, भुत्लिएको कपाल, फुटेका राता गाला, सिँगान कटकटिएका नाक अनि एक थुङ्गा लालीगुराँस बोकेका मसिना हात।
दुबैले हात जोडेर एकै सासमा, एकै साथ भने, ‘कापी किन्ने पैसा दिनु न।’ अहो! कस्तो मीठो स्वर अनि कति पीडादायी शब्द!
मन खिन्न भो। मैले पर्स होटलमै छोडेकी थिएँ। गोजीमा १००० को नोटमात्र रहेछ। छैन पैसा भनि अगाडि बढ्नुबाहेक मसँग अरू उपाय थिएन।
‘अलि पछि मेरा अरू साथीहरू आउँदै छन्, उनीहरूले दिन्छन् है’ भनि मनभरि ग्लानी बोकेर म हिँडें।
मानवताले गिजाइरहेको थियो मलाई, तर म बाँधिएकी थिएँ आफ्नै विवशतामा, स्वार्थतामा।
केही समयपछि फेरि ४/५ जना बचेराका हुल देखापरे। आपसमा कानेखुसी गर्दै थिए। म नजिकै पुगेपछि एउटा ४ वर्ष जतिको बाबुलाई पछाडिबाट उसको दाइ जस्तो देखिने केटोले धकेल्यो। ऊ मेरो छेउमै आइपुग्यो र आफ्नो तोते स्वरमा पुन: उही वाणी दोहोर्यायो; ‘दिदी कापी किन्ने पैसा दिनु न।’
पछाडि रहेका आँखाहरूमा आशा र कौतुहलता प्रस्ट देखिन्थ्यो तर केका लागि भन्ने बुझ्न भने समय लाग्यो।
यो पालि मलाई अचम्म लाग्यो र फ्याट्ट सोधिहालें, ‘कसले पठाएको बाबु तिमीलाई?’
‘म आफैं आया हुँ।’
‘कति कक्षामा पढ्छौ नि?’
‘आमाले भन्या पढ्ने बेला भाछैन रे।’
‘अनि कापी किनेर के गर्छौ नि?’
‘बा लाई दिन्या हुँ।’
‘कापी?’
‘हैन, पैसा।’
सबै केटाकेटी त्यसपछि गुटुटु भागे।
वात्सल्य, परिवार र जन्मस्थान रोजेर कदापि पाइँदैन। जे छ जस्तो छ त्यहीबाट बल्ल हाम्रा रोजाइहरूका टुँसा पलाउँछन्।
म सानोमा साह्रै ज्ञानी थिए रे।
बाबा कहिलेकाहीँ अझै पनि भन्ने गर्नुहुन्छ।
बजारमा कुनै राम्रो खेलौना देखे पनि कहिल्यै किनिदिनु भनि जिद्दी गर्दिनथें रे।
बरू मायालाग्दो मुख बनाएर ‘बाबा त्यो कति राम्रो है’ भन्थे रे।
म जुन पारिवारिक वातावरणमा हुर्कें मेरा चाहनाहरू पनि त्यसै आकार लिँदै गए।
ठूलो भएर के बन्छेस् भनेर सोध्दा म सोझै डाक्टर बन्छु भन्थें।
यो बाल मस्तिष्कको विशेषता हो। यो अबोध हुन्छ अनि आफ्नै चन्चलतामा हराउँछ।
जुन कुराको आश देखायो त्यसैको मात्र सपना बुन्न थाल्छ।
सहरमा जन्मिन पाउनु सायद मेरो सौभाग्य थियो तर म पनि कर्णालीमै जन्मिएकी भए? अहिले पढेकी छु, उघारिएकी छु र पो शानसँग भनिदिन्छु होला कि म मेरा सन्तानलाई माग्दै हिँड्न दिन्नँ। त्यही समाज, परिभेष, भोगाइ र डाँडाहरूबीच मात्र रूमलिनु परेको भए म पनि त तिनकै आमा बन्दिहुँ। बल्ल आभास भयो। अभावको दुनियाँ त डरलाग्दो पो हुने रहेछ। अबोधपनालाई पनि मज्जाले व्यापारीकरण गरिदिने रहेछ। कापीलाई नै हतियार बनाएर यिनको हातबाट शिक्षा छिनिदिने रहेछ।
यहाँ धान, बिजुली अनि पर्यटक बनी भित्रिएको विकास र परिवर्तनसँगै नयाँ अभावको पनि ओइरो लागेको छ।
मार्सी होइन, बासमतीको अभाव, ढुङ्गे घर होइन आरसिसीको अभाव, इन्टरनेटको अभाव, ब्रान्डेड रक्सीको अभाव र समग्रमा नगदको अभाव।
यी अभाव अभाव होइनन् बरू कर्णालीको मौलिकता विद्रोही हुन भनि सोच्न सक्ने मानसिकताको पनि अभाव चर्को छ यहाँ।
जबसम्म सोचमा परिवर्तन भित्र्याउन सकिँदैन तबसम्म भविष्यका कर्णधारहरू यस्तै हतियारको व्यापारमा व्यस्त हुनेछन्। फेरि सोचेरमात्र के गर्नु।
मजस्ताको के औचित्य जो सोच्दासोच्दै आफ्नो गन्तव्य नै बिर्सिदिन्छन्। होस् अब मुर्मा टपतिरै लाग्छु, के थाहा कुनै कापी किन्ने पैसा भएको घर पो भेटिन्छ कि!