जूलोजी कक्षाका विद्यार्थीहरू जुन ५ मा टौदह भ्रमण जाने भन्ने सूचना पाएर हामी दंग परेका थियौं। त्यो दिन वातावरण दिवस थियो।
पहिलोपटक वर्डिङ अर्थात् चरा हेर्ने भ्रमणमा गएको दिन। त्यो दिनसम्म म चरा देखेर खुसी हुन जानेकै थिइनँ, जस्तो अहिले हुन्छु। मलाई माकुरा र सर्प मनपर्ने भएकाले सायद तिनीहरू कतै देखिन्छन् कि भनेर त्यो दिन हेर्दै गरेको हुँदो हुँ।
म यो लेखमा आफ्नो रूचिका जनावरबारे भन्न आएको होइन। तर तिनै जनावरको विशेषता देखाउँदै तपाईंहरूलाई वातावरणबारे आफूले जानेको भन्न चाहन्छु।
अहिले म वातावरणीय तनावले (स्ट्रेस) भँगेराका चल्लाको वृद्धि र विकासमा पर्ने असरबारे अध्ययन गरिरहेको छु। वातावरणले जीवजन्तुहरूमा पारेको प्रभाव हेर्न म सधैं उत्सुक हुन्छु। मलाई आफूले जानेका कुरा तपाईंहरूलाई सुनाउने मन थियो। त्यसैले वातावरण दिवसको दिन रोजेको हुँ।
वातावरणमा हुने न्यानो अर्थात् तापक्रमको हाम्रो जिन्दगीमा कति ठूलो प्रभाव हुन्छ भन्ने त सबैलाई थाहा छ। आज म तपाईंहरूलाई तापक्रमले जनावरलाई के के बनाउने रहेछ, के असर गर्ने रहेछ भनेर केही उदाहरण सुनाउन गइरहेको छु।
पारिस्थितिक सिद्धान्तले भन्छ, जीव-जनावर र वातावरण एकअर्कासँग सधैंभरि अन्तर्क्रिया गरिरहेका हुन्छन्।
वातावरणले जीव-जनावरमा पार्ने प्रभाव र त्यसको प्रतिक्रिया नै उनीहरूबीच हुने अन्तक्रिया हो।
सन् २००९ तिरको कुरा हो।
म गोसाइकुन्डको यात्रामा निस्केको थिएँ। त्यति बेला पहाडतिर त माकुरा र तिनको जालो देख्न पाइन्छ भन्ने सम्झेर मख्ख परेको थिएँ। हिँड्दा हिँड्दै पनि मलाई माकुरा र सर्प कतै देखिन्छ कि भनेर यताउता हेर्न मन लाग्थ्यो। अझै पनि लाग्छ। माकुरा त झन् बढी ‘फ्यासिनेटिङ’ लाग्ने, जहाँ जति खेर देखे पनि रमाएर हेर्छु।
त्यो गोसाइकुन्डको यात्रामा मैले धेरै माकुरा देखेँ। बाटोभरि भेटिएका माकुरा र तिनको जालो हेर्दै माथि पुग्दासम्म एउटा रोचक कुरा मैले याद गरेँ।
धुन्चेबाट जति माथि लाग्दै गएँ, माकुराको जालो र माकुरा ठूलो हुँदै गएको जस्तो लाग्यो। म अचम्म परेँ। जब यात्रा सकेर म काठमाडौं फर्केँ, किन माथि पहाडमा माकुराको जालो ठूलो भेटेँ त भन्दै इन्टरनेटमा खोजेँ।
मैले पारिस्थितिक सिद्धान्तका बारेमा केही सामग्री भेटेँ। खुब चाख मानिकन ती सामग्री पढेको थिएँ। त्यो पारिस्थितिक सिद्धान्तलाई विज्ञानको भाषामा ‘बर्गमन्स रूल’ भनिने रहेछ। १९ औं शताब्दीका जर्मन जीव वैज्ञानिक कार्ल बर्गमनले प्रस्ताव गरेको सिद्धान्त भएकाले यसको नामाकरण त्यसरी गरिएको रहेछ।
उक्त सिद्धान्तले भन्छ- चिसो वा उचाइमा तातो रगत भएका जनावरहरू (वार्म ब्लडेड) मध्ये ठूला आकार-प्रकारका जनावरहरू पाइन्छन् भने तल्लो भेगमा सानो आकार-प्रकारका जनावर पाइन्छन्।
किन त्यस्तो भयो होला भन्नेबारे लेख्नु अघि तातो रगत र चिसो रगत भनेको के हो भन्नेबारे बुझौं।
बाहिरी वातावरणको प्रभावबिना नै एकनाशले एउटै तापक्रम भइरहने जनावरलाई वार्म ब्लडेड अर्थात् तातो रगत भएका जनावर भनिन्छ। हामी मानिसहरू तातो रगतवालाहरू हौं। हामीमा ३७ डिग्री सेल्सियस तापक्रम भइरहन्छ चाहे हामी हिमालमा जाऔं, चाहे तराईमा। त्यसै गरी चराहरूमा ४०-४४ डिग्री सेल्सियस तापक्रम हुन्छ।
चिसो रगत हुनेहरू अर्थात् कोल्ड ब्लडेड जनावरहरूको रगत भने बाहिरी वातावरण अनुसार उतारचढाव भइरहन्छ। चिसोमा चिसो तातोमा तातो।
बर्गमनले प्रस्ताव गरेयता धेरै जनावरहरूमा यो सिद्धान्त लागू हुन्छ कि हुन्न भनेर परीक्षण गरिएको छ। वार्म ब्लडेड मात्र नभएर कोल्ड ब्लडेडमा पनि गरिएको छ। अनुभवजन्य परीक्षण र अनुसन्धानहरूले यो सिद्धान्त ९५ प्रतिशत चराहरूमा लागू हुन्छ भन्ने देखाएको छ।
मैले पछि स्नातकोत्तरको थेसिस गर्दा गरेको अध्ययनमा पनि मनाङ क्षेत्रमा पाइने चराहरूको आकार ठूलो पाएको थिएँ। संसारभरि धेरै ठाउँमा गरिएको अनुसन्धानले यस्तै देखाएको छ। त्यो हुनुको कारण जनावरको शरीरको सतह क्षेत्र र आयतनको अनुपात हो भनिन्छ। सतह क्षेत्र धेरै भयो भने ताप भने चाँडै गुम्ने भयो। सतह क्षेत्र सानो राख्न सक्दा चिसो ठाउँमा ताप ढिलो गुम्छ। र गर्मी ठाउँमा भने सतह क्षेत्र ठूलो राख्न सके ताप सजिलै छोड्न सकिन्छ।
माकुरा भने चिसो रगत भएको जीव हो। त्यसैले जतिमाथि गयो ठूलो आकारको यो हुन्न रहेछ। मैले याद गरे पनि वैज्ञानिक रूपमा यो प्रमाणित होइन।
सुरूमै मैले भनेजस्तो तापक्रमको प्रभाव हामी जीवजन्तुमा महत्वपूर्ण हुन्छ। तापक्रम मिलेकै भएर पृथ्वीमा जीवजन्तु तथा विरूवा सम्भव भएको हो। र सबैलाई थाहै छ तापक्रमको मुख्य स्रोत त सूर्य नै हो। सूर्य नभएको भए हाम्रो पृथ्वी नै कहाँ हुन्थ्यो र?
जस्तै मैले काम गर्ने भँगेराहरू वसन्त ऋतुको सुरूवातभन्दा अघिदेखि नै अर्थात मार्च/अप्रिलतिर प्रजनन् गर्न थाल्छन्।
पहिलो एक- दुई महिनामा जन्मिएका धेरै जसो चल्लाहरू उड्न नसक्दै मरेर जान्छन्। त्यतिखेर उनीहरूको जीवनलाई धेरै कुराले असर गर्न सक्छ। तर महत्वपूर्ण भूमिका भने तापमानको हुन्छ। त्यति बेलासम्म जाडोमा निष्क्रिय रहेका वा शीतनिद्रामा (हाइबर्नेसन) रहेका किराफट्यांग्रा बाहिर निस्किसकेका हुँदैनन्। भँगेराका चल्लाहरू कीराफट्यांग्रा खाएर मात्र बाँच्न सक्छन्। तिनको अभाव भए चल्लालाई चाहिने आहारा पर्याप्त हुँदैन।
त्यसमाथि, जन्मिँदा आँखा खुला नहुने चराहरू जस्तै भँगेराले जन्मेको ६ वा ७ दिनसम्म आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्न सक्दैनन्। त्यति बेला तिनीहरू कोल्ड ब्लडेड हुन्छन्। र बाहिरी तापमान जति छ, उनीहरूको शरीरमा पनि त्यति नै तापक्रम हुन्छ। वसन्त ऋतुअघि चिसो नै हुने हुँदा धेरै बाँच्न सक्दैनन्।
सरीसृपहरूमध्ये गोहीमा तापक्रमको प्रभाव रोचक हुन्छ। जसरी मानव जातिमा 'वाइ क्रोमोजोम’ ले बच्चाको लिंग निर्धारण गर्छ, गोहीहरूमा लिंग निर्धारण तापक्रमले गर्छ। गोहीले अन्डा कोरल्दा (इन्क्युबेसन हुँदा) ३० डिग्री सेल्सियस तापक्रम छ भने त्यो अन्डाबाट निस्किने बच्चा स्त्रीलिंगी हुन्छन्। यदि कोरल्ने समयमा अन्डा ३४ डिग्री वा त्योभन्दा तातो छ भने सबै पुलिंगी हुन्छन्। एउटा थर्मोसेन्सेटिव प्रोटिन, जसलाई टिआरपिभी ४ प्रोटिन भनिन्छ, को तातो र चिसो तापमानसँग अन्तरक्रियाले गर्दा गोहीको लिंग निर्धारण हुने वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्।
त्यसैले वातावरण, यसको तापक्रम हामी सबैका लागि महत्वपूर्ण छ। मानवीय क्रियाकलापले पृथ्वीको तापक्रम बढ्दैछ भनेर अचेल जलवायु परिवर्तनको मुद्दा संसारभरि नै पेचिलो बन्दै गएको छ। यो मुद्दालाई समर्थन गर्ने र विरोध गर्नेहरू पनि छन्। तर हामीले हाम्रो र जनावरहरूको पनि ख्याल गर्नु जरूरी हुन्छ भन्ने मलाई लाग्छ।
तापक्रम र जनावरको विषयलाई म जलवायु परिवर्तनसँग जोड्न चाहन्छु। मानिसमा जलवायु परिवर्तनको असर परेपछि जनावरमा नपर्ने कुरै भएन। यसको असर अझ माछाहरू, उभयचरहरू (एम्फिबियन्स) र सरीसृपहरू (रेप्टाइल्स) मा धेरै पर्छ। उनीहरूले आफ्नो शरीरको तापमान स्थिर राख्न सक्दैनन्। जलवायु परिवर्तन आफैंमा प्राकृतिक प्रक्रिया हो, तर अहिलेको अवस्थामा एन्थ्रोपोजेनिक (मानव निर्मित) कारणहरूले परिवर्तनको गति तीव्र हुँदै गएको छ। र छिटो गतिमा जलवायु परिवर्तन हुँदा उनीहरू त्यही गतिमा आफूलाई अनुकूलन गर्न सक्दैनन् र लोपोन्मुख हुन सक्ने अवस्थामा आउँछन्।
बर्गमनको सिद्धान्तअनुसार जाडो र उचाइमा पाइने तातो रगतवाला जनावरको आकारप्रकार ठूलो हुन्छ। तर पछिल्लो समय ग्लोबल वार्मिङका कारण पृथ्वीको तापक्रम बढ्दै गएको हुँद पशुपंक्षीको आकार पनि घट्दै गइरहेको अनुसन्धानले देखाएको छ। इजरायलमा यम टव तथा अन्य वैज्ञानिकहरूले गरेको अनुसन्धानले गएको ७० वर्षयता भँगेरा लगायतका अन्य अरू प्यासेराइन चराहरूको शरीर (साइज) घट्दै देखाएको छ।
चरामा मात्र नभएर कमजोर पारिस्थितिकीय प्रणालीमा पाइने जनावरहरूमा, जस्तै हिमाली गोट (खसी) मा पनि आकार घट्दै गएको पाइएको छ। कोल्ड ब्लडेड नै भए पनी माछाहरूमा पनि आकार घट्दै गएको पाइएको अरू अनुसन्धानकर्ता बताउँछन्।
हरेक दिनको दिनचर्या तापक्रममा निर्भर हुने जनावरमा देखिएको यस्तो सिफ्टले केवल एउटा मात्र सन्देश दिन्छ - जलवायु परिवर्तन हुँदैछ र जनावरहरूमा असर देखिँदै छ।
हामीलाई वातावरण दिवसको दिन टौदहमा लगेर बर्डिङ गराएको दिन शिक्षकले यसबारे के भन्नुभएको थियो मैले बिर्सिए, तर त्यसयता यो दिवस म कहिलै बिर्सिन्नँ।
सबैलाई वातावरण दिवसको शुभकामना।
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)