भगवानहरूको टापुका रूपमा परिचित बाली सर्वाधिक मुस्लीम जनसंख्या भएको इन्डोनेसियाको सुन्दर हिन्दु टापु हो।
नामैले पनि हिन्दुत्व झल्काउने बाली लाखौं मन्दिरको जीवन्त उपत्यका पनि हो। यहाँ रामायण र माहाभारत मात्र होइनन्, हामीले बिर्सिसकेका सुवर्णखा अनि पुतना र गरूडाको याद दिलाउने मूर्तिकला पनि छन्।
बाली घुम्न यस पटक बागीको साहारा लिइयो। जेठाले गाडीको भाडा केही मंहगो भनेपछि नयाँ गाडीधनीका रूपमा बागी हाम्रो छनोटमा परेको हो।
सात दिनको बसाइमा चार दिन बागीको सहारा र इसारामा हामीले बाली घुम्यौं। हामीलाई देखेर हो कि सबैको रोजाइ र खोजाइ भएर हो दुई दिने घुमाइ मन्दिर र देवी देवतामै सिमित भयो।
नेपालको राजधानी काठमाडौं जस्तै बालीको टापुमा हजारौं देवि देवताका मन्दिर मात्र रहेछन्। हाम्रै जस्ता ढुंगेधारामा कलकल पानी आइरहेका थिए। दर्शनार्थीको घुइँचो देख्दा हाम्रो हिन्दुत्वको घमन्ड चुरचुर भएको भान समेत हुँदोरहेछ।
यसैबीच बालीको प्रशिद्ध नाच हेर्ने कुरा आयो। केही शुल्क तिरेर हुर्नुपर्ने उक्त नाच हेर्न समुन्द्री किनारमा रहेको भब्य मन्दिर पुग्यौं।
१ हजार बढी दर्शक बिच एकोहोरो आवाजमा एक हुल मानिसहरू आफ्नै धुनमा कराउँदै आए। एकोहोरो आवाजमा नाटकीय शैलीमा गीत बजिरहेको थियो।
हामीले हेर्दाहेर्दै सिता माता र राम र अनि भरत जस्ता पात्रहरू सुनिए र देखिए। रावणको आगमन र सिताको अपहरण अनि सुग्रिव र बालीको कथा पछि बल्ल चाल पाइयो। यो त रामायण मञ्चन भइरहेको रहेछ।
अनि मनमनै भन्न मन लाग्यो हैट, ‘हामीले हाम्रो धर्म कर्मलाई कति बचाएका छौ त। बालीमा आएर त रामायण हेरियो अनि बुझियो। पछिल्लो समय हाम्रो देशमा त भजन कीर्तन पनि हराउन थालिसके।’
विष्णु भगवानलाई विशेष महत्वका साथ मान्ने बालिनिजहरू बिहानीपख सेता अक्षता र दुना टपरीमा पूजा आजामा ब्यस्त देखिन्छन्। समुन्द्री किनार होस् या घर बजार केराका पातबाट बनाइएको दुना र त्यसमाथि सेता अक्षता फूलहरू जताततै शुभ लाभका लागि चढाइएका हुन्थे। देवतामा ब्रम्हा, विष्णु, महेश्वर सबैलाई माने पनि विष्णु विशेष रहेछन्।
१७ हजार पाँच सय टापुको देशका रूपमा चिनिने इन्डोनेसिया विश्वकै सबैभन्दा बढी मुसलमान जनसंख्या भएको मुलुक पनि हो।
साढे सत्ताइस करोड जनसंख्या भएको यो विशाल टापुभित्र ६ हजार टापुमा मानव वस्ती छ। लमतन्न भएर एसिया प्यासेफिक क्षेत्रमा मलेसियादेखि पपुवान्युगीनीसम्म फैलिएको यो देशभित्र एउटा अत्यन्तै सुन्दर हिन्दु संस्कृति पनि समेटिएको छ।
जंगल र जिवन्त ज्वालामुखीको देशका रूपमा चिनिने इन्डोनेसियामा २ प्रतिशत भन्दा कम हिन्दु जनसंख्या छ। तर महत्वपुर्ण कुरा भनेको यहाँको हरेक बस्तुमा हिन्दु संस्कृतिको जिवन्त छाप देख्न सकिन्छ। हिन्दु देवी देवता र भाषामा समेत हिन्दुत्वको आभाष पाउन सकिन्छ। यो अत्यन्तै फरक र रोचक सत्यता हो।
मुस्लीम संस्कृति भित्र हिन्दुत्वको आभाष आफैंमा पनि फरक र अलग विषय हुनसक्छ।
इन्डोनेसियाको चिरपरिचित पर्यटकीय टापु हो बाली।
नामलेनै हिन्दुत्व झल्काउने ४२ लाख जनसंख्या भएको यो टापु मन्दिरहरूकै शहरको रूपमा चिनिन्छ। हरेक घर अगाडि तुलसीका मठझैं देवि देवताका आशन र टोलै पिच्छे मन्दिर अनि त्यहाँ बिहान बेलुकै हुने पूजाआजा।
देख्दा सुन्दर लाग्ने मात्र हैन, त्यहाँका मान्छेको आतिथ्यशैली पनि नेपाली हिन्दु संस्कारझै विनम्र रहेछ।
विष्णु, ब्रम्हा र शिव अनि हिन्दु देविदेवताका अनेकन रूप यहाँका गल्ली गल्लीमा देख्न पाइन्छ। रामायण होस् या माहाभारत हाम्रा भन्दा केही फरक र अलगधारका पहिचानयुक्त मूर्तीहरू बालीका विशेषता हुन्।
यहाँ प्रत्येक वर्ष भारतबाट मात्र लाखौं पर्यटक धार्मिक महत्वका लागि आउने गर्छन्। विष्णु भगवानको महिमा होस् या रावण र राम, सबैका गाथा र कथा बालीमा जताततै सुन्न पाइन्छ।
नाममा केही फरक र अलग हुने भएकोले ठम्माउन मुश्किल भए पनि रामायणा र रामा अनि सिता माता भन्न थालेपछि विस्तारै उनीहरूको अर्थ बुझ्न सकिन्छ।
यहाँको पर्यटकीय आकर्षणमा एक दर्जन मन्दिर र भिमकाय मूर्तीनै रहेछन्। नाम र स्थानको परिचयमा संस्कृत भाषाको बलियो प्रयोगले पनि बालीको हिन्दुत्वको नालीबेली सहजै पहिचान गर्न सकिन्छ।
बालीका सुन्दर समुन्द्री किनार र मन्दिरको मिनारले पनि यहाँको आकर्षण थपेको छ। नेपालीका लागि इन्डोनेसिया भ्रमणका लागि पनि निकै सहज मुलुकका रूपमा गनिन्छ। नेपालीलाई निःशुल्क अनअराइभल भिसा दिने केही मुलुकमध्ये इन्डोनेसिया पनि एक हो।
यहाँको मलिलो माटो र दुई बाली धान उब्जने कलिला फाँटहरू पश्चिमा पर्यटकका आकर्षण बनेका छन्। संसारकै उब्जनी हुने मलिला फाँटमा लहलह झुल्ने धान लगायतका अन्न बालीले यहाँको प्राकृतिक महत्व झल्काएको छ।
हामीले पर्यटन प्रर्वधनमा हाम्रा कयैन राम्रा साधनलाई पहिचान गर्न नसकेको बालीको पर्यटनले आँखा खोलिदिनसक्ने देखिन्छ। हाम्रै जस्ता खोला नाला, पहाड र खोँचहरू अनि धान खेत र मन्दिरहरु बालीका पर्यटकीय आकर्षण हुन्।
नाइपी भनेर मनाइने नयाँ वर्ष बालीको विशेष महत्वपूर्ण पर्व हो। यो दिन त्यहाँ ब्रत बसेर पूजा आरधाना गरेर धुमधामका साथ देविदेवताको पूजा गरिने चलन छ।
मन्दिरमा दर्शनार्थ जाँदा भक्तिभाव दर्शाउने गजबको परम्परा रहेछ। करिब ८२ प्रतिशत हिन्दु धर्मालम्बी रहेको बालीमा मन्दिर पस्दा हाफ कट्टु लाएर जान पाइँदो रहेनछ। त्यहाँ उनीहरूले घुँडा छोप्ने खालको लुंगीको व्यवस्था गरिदिँदा रहेछन्। भित्र पस्नेलाई पूजारीले अक्षताको सेतो टीका निधारको बीचमा लगाइदिँदा रहेछन्।
बदलिएको हिन्दु संस्कृति भए पनि अहिले तिनै रामायण र महाभारतका कथा र पात्रहरूका कलात्मक चित्र, मूर्ति बेचेर, तिनै हिन्दुका कथाहरू भएका सुन्दर नाट्यकला देखाएर मन्त्रमुग्ध बनाउँदै पर्यटक भित्र्याउँछ बाली।
यो लोभलाग्दो शान्त जीवनचर्या हेर्न पनि पर्यटक ओइरिँदारहेछन्। पर्यटन व्यवसाय मात्र होइन, अतिथि देवो भवःको मन्त्रझैं। त्यही मन्त्रमा मुग्ध हुन्छ, जो कोही पर्यटक।
इन्डोनेसियाको नाम कमैले सुनेका छन् तर, बाली टापु संसारभर यसै कारण प्रसिद्ध छ। कारण एउटै छ, बालीमा हरेक तरहले हिन्दु संस्कृति छ।