अहिले छोरीहरू मन दह्रो पारेर बोल्न सक्ने भएका छन्। आफूमाथि हिंसा भयो भनेर आत्महत्या गर्ने, डिप्रेसनमा जाने होइन अपराधीलाई कानूनको कठघारामा ल्याउनुपर्छ भनेर छोरीका आवाज बुलन्द हुन थालेका छन्।
आठ वर्ष पुरानो घटना उजागर भएपछि एकपछि अर्को त्यस्तै प्रकृतिका घटनाहरू उठाउनै नसक्नेगरी छताछुल्ल भएर पोखिन थालेका छन्।
ओहो त्यो मान्छे पनि यस्तो? मान्छेहरू संशय ठानिरहेका छन्। यति हदसम्म होला भन्ने त लागेकै थिएन, हैट.... मान्छेको स्वरूप, आनीबानी र उसको असली कर्तुत सम्झेर जिब्रो टोक्ने जमात पनि ठूलै छ। भनिन्छ नि नमरी स्वर्ग कहाँ देखिन्छ र!
यस्ता एकपछि अर्का घटनाहरू बाहिर आइरहँदा मलाई पनि पुरानो घटनाको याद आयो।
दश वर्ष अगाडिको घटनाकी पीडित दिदीसँग कुरा भयो।
दिदी भन्दै हुनुहुन्थ्यो- हेर त बैनी, अहिलेजस्तो मिडियाको पहुँच त्यो बेलामा भइदिएको भए त्यो मेरो हाकिम भनाउँदो यतिबेलासम्म त जेलमा हुन्थ्यो होला है? कति अत्याचार गर्यो हामीमाथि? दिदी विगतमा हराउनुभयो।
दिदीको भोगाइ:
त्यस्तै दश वर्ष अघि हुनुपर्छ, राजधानीको एउटा प्राइभेट अफिसको हाकिमले महिला कर्मचारीमाथि पटक पटक दुर्व्यवहार गर्दा पनि घटना गुपचुपमै सेलाइरहने क्रम थियो।
पुराना स्टाफहरूसँग कुरा गर्दा महिलामाथि कुदृष्टि लगाउने ती हाकिम साबको पुरानै आदत हो, मतलब गर्नुहुन्न भन्थे।
चिया पकाउने, अफिस सफा गर्नेदेखि रिसेप्सनसम्म आफ्नै नातागोताका महिलाहरू राख्ने। उनीहरूसँग निकै राम्रो व्यवहार गर्ने, निकै अभिभावकत्व देखाउने। उनीहरूलाई भान पथ्र्यो कि यो हाकिम नभएर हाम्रै परिवारको सदस्य हो जसरी।
त्यो अफिसमा दश एघार जना महिला कर्मचारी कार्यरत थिए, सबै महिला कर्मचारीसँग ती हाकिम साब निकै नजिक हुन खोज्ने, शरीरमा छुने, अलि यता बस भन्दै आफ्नै छेउमा बसाउन खोज्ने, अफिसको काममा भन्दा पनि अन्य कुरामा बढी ध्यान दिने।
बिना प्रसंग महिला कर्मचारीका घरायसी कुरामा चासो दिँदा रहेछन्। मैले चिनेकी दिदी त्यहीँ काम गर्नुहुन्थ्यो, त्यहाँ आइतबारदेखि बिहीबारसम्म फिल्डमा खटिनुपर्ने, शुक्रबार एक हप्ताको रिपोर्ट हाकिमलाई बुझाउनुपथ्र्यो रूटिन थियो।
ती दिदीले त्यही बेलामा निकै आग्रह गर्नुभएको थियो, ‘बहिनी तिमी त यसो बोल्न सक्छौ, मेरो हाकिम कस्तो खत्तम छ, उसको कोठामा मलाई एक्लै जानै मन लाग्दैन। अघिल्लो हप्ता त मलाई तिम्रो लिपिस्टिक बाहिरसम्म लतपत्तिएछ यता आऊ म पुछिदिन्छुसम्म भन्यो। तिमी मलाई साथ दिन्छौ नि?’ दिदीले ममाथि पो भरोसा राख्नुभयो।
म पनि प्राइभेटमै जागिर गर्थें, आफ्नो स्वभाव दिदीलाई सुनाएँ।
‘म त दिदी जे काम हो त्यो काम गर्ने हो, हाकिमको कोठामा एक मिनेट पनि बस्दिनँ। ३ वर्ष भयो काम गरेको अहिलेसम्म व्यवहार त होइन बचनमा पनि केही छनक पाएकी छैन।’
मेरो कुरामा दिदी एकैछिन रोकिनुभयो, ‘तिमी हकी स्वभावकी छौ, ठाडै बोल्न सक्छौ त्यही भएर आँट गर्न सक्दैनन् तर म त रातोपिरो हुन्छु बोल्नै आँट आउन्न .....। मलाइ यहाँ जागिर खानै मन छैन, रिसेप्सनदेखि झाडू लगाउनेसम्म आफ्ना मान्छे राख्छ।
उनीहरूलाई कस्तो उपदेश दिन्छ, संस्कार र इज्जतका खुब कुरा सिकाउँछ तर आफ्नो व्यहोरा एकदमै खत्तम छ।’ दिदीको कुराले भाउन्न बनायो।
‘हाकिमले त्यस्तो व्यवहार गर्दा तपाईंहरू किन केही भन्नुहुन्न दिदी? तपाईंहरू चुप लागेपछि उसले ठाउँ पाइहाल्छ नि!’ मेरो कुरामा दिदी फेरि मौन हुनुभयो।
‘म एक जना बोलेर के गर्नु? अरू कोही बोल्दैनन् ..... । कहिले ढाडमा सुम्सुमाउने, कपाल समाउने, मुखमा हेरिरहने, जे विषयमा रिपोर्टिङ गर्न जान्छौं त्योभन्दा बेग्लै वातावरण बनिदिन्छ के गर्ने?
दुई तीन जना साथीहरूसँग कुरा पनि गरेँ, उनीहरू यसको बानी यस्तै हो, मतलब नगर्ने, हप्तामा एकदिन त ऊसँग नजिक भइन्छ, बरू सबै जना ग्रुपमै जाने एक्लाएक्लै उसको कोठामा नजाने कुरासम्म गर्यौं तर हाकिमले पालैपालो भित्र आउनुस् भन्छ। उसको कुरा सधैंभरि त्यस्तै।
घरमा भनौं, छोरी मान्छे आफ्नो इज्जतमा बस्नुपर्छ, महिलाले भाउ नदिएसम्म कोही केटा मान्छेले छड्के नजरले हेर्नेसम्म पनि आँट गर्दैनन् भन्छन्। म गलत छैन भन्ने थाहा छ तर के गरौं? यस्तो व्यवहार सहूँ भने म यस्ती खालकी केटी होइन, आफ्नो पाखुरीको बलमा बाँच्न सक्छु । अन्यत्र कोसिस गर्दैछु कतै नाम निस्कियो भने यसलाई दह्रो सबक सिकाएरै जान्छु भन्ने विश्वास छ’ दिदीले आफ्नो आत्मविश्वास सुनाउनुभएको थियो।
यसैबीचमा एक जना नयाँ महिला कर्मचारी त्यो अफिसमा थपिइन्।
नयाँ कर्मचारीलाई त्यो अफिसको माहोल दिदीले एकएक गरेर सुनाउनुभयो। नयाँ कर्मचारीसँग दिदीको विचार ठ्याक्कै मिल्यो, अर्को हप्ता रिपोर्टिङमा जाँदा कस्तो व्यवहार गर्दोरहेछ विचार गर्छु, तपाईंले भनेजस्तै गरेछ भने त्यसको बदला म लिन्छु साथीले दिदीलाई ढाडस दिइन्।
अब भने दिदीको आत्मविश्वास केही बढ्यो।
दिदी पुरानो स्टाफ भएकाले उहाँसँगै नयाँ स्टाफलाई फिल्डमा जान भनियो।
दुवै जना बिहीबारसम्म सँगै फिल्डमा काम गरे, शुक्रबार रिपोर्टिङको शिलशिलामा अफिसमा आएँ। सबैभन्दा पहिले नयाँ स्टाफ हाकिमको कोठामा छिरिन्।
अन्तर्वार्तामा भेट भएको थियो, त्यो बेलामा चार जना थिए , विषयवस्तुमा मात्रै कुराकानी भयो , काम ओके भयो।
एक्लै भेटेको ती साथीको पहिलो दिन थियो।
‘कस्तो लागेको छ नयाँ काम?’ सुरूमा हाकिमले प्रश्न गरे।
‘एक हप्तामा के थाहा हुन्छ र सर?’ सिक्दैछु, राम्रै लागिरा‘छ। साथीले जवाफ फर्काइन रे।
‘किन उभिएकी त्यता, यहाँ बस न’ , अर्को प्रश्न गरेछन्।
‘मलाई उभिँदै ठिक लाग्छ, मेरो फिल्ड रिपोर्ट हेर्नुस सर अरू साथीहरू बाहिर लाइनमा छन्। उनीहरूलाई पालो दिनुपर्छ’ हतारहतारमा जवाफ फर्काइछन्।
फेरि एकटकले उनको मुखमा हेरेको हेर्यै गरेछन्।
‘भर्खर आएको एक हप्ता भएको छ, यस्तो स्मार्ट तिमी? वाह्..... गुड......’ सामुन्नेको कुर्सी तानेर फेरि बस्न आग्रह गरेछन्।
यस पटक भने ती साथी कुर्सीमा बसिछन् र धन्यवाद भनिन रे हाकिमलाई।
‘अस्ति अन्तर्वार्तामा तिमीले घर कहाँ पो भनेकी थियौ रे साँच्चि?’ बिना प्रसंग घरको कुरा निस्कियो।
‘बुटवल हो सर’ , जवाफ दिइछन्।
‘यहाँ कहाँ बस्छौं?’
‘को को बस्छौ?’
‘खाना त मिठो बनाउछौ होला है?’
मान्छे हेर्दै मिठो पकाउने जस्ती छौ, फेरि पश्चिमतिरका केटीहरू त खाना पकाउनमा माहिर हुन्छन्, यस्तो राम्रो हातले कति मिठो पकाउँछ भनिरहनुपर्छ र?’ एकोहोरो बेतुकका कुरा मात्रै गरिरहे हाकिमले।
उनलाई रिसको पारो भित्रैदेखि ज्वालामुखी जसरी विस्फोट होलाजस्तो भइरहेको थियो तै पनि अर्को हप्तासम्मको लागि कुर्नुपर्छ भनेरै मौन बसिछन्।
‘मेरो रिपोर्ट केही सुधार गर्नुपर्ने छ कि के छ सर?’
‘म जाऊँ अब?’ उनी कुर्सीबाट उठिछन्।
हाकिमले हात समाएरै बसाउन खोजेछन्।
यो पटक भने उनी हाकिमको हात झड्कारेर फुत्किइछन्।
अनुहार रातोपिरो भएको थियो, बाहिर दिदी कुरिरहनु भएको थियो, ‘के भन्यो हँ? केही त नराम्रो भएन नि? दिदीले सोध्नुभयो।
साथी मौन बसिन्।
‘तपाईंभित्र गएर आउनुस्, अर्को हप्ता यसलाई म को हो देखाइदिन्छु’डराइ डराइ दिदी भित्र कोठामा छिर्नुभयो।
यसो मुखमा हेरे हाकिमले।
‘नयाँ स्टाफले काम कत्तिको सिकेको छ? सिकाउने जिम्मा तिम्रो है’ सरसर्ती एक हप्ताको रिपोर्ट हेरे।
अरू बेलाजस्तो दशथरी कुरा सोधेनन्।
रिपोर्टमा साइन गरिदिए।
‘अर्कोलाई भित्र पठाऊ’ यतिमात्रै भने।
हल्का मन लिएर दिदी बाहिर आउनुभयो।
बाहिर निस्केपछि रिसेप्सनमा बस्ने महिला कर्मचारीसँग कुराकानी भयो।
त्यो हाकिम रिसेप्सनिष्टको ठूलो बुवा पर्ने रहेछ। निकै कडा रे। चिया पकाउनै आफ्नै भतिजी बुहारी पर्ने अनि सरसफाइ गर्ने आफ्नै घरमा काम गर्ने आफन्त नै हो रे। सबै जनाले ती हाकिमको निकै इज्जत गर्दा रहेछन्।
‘ठूलो बुवा त घरमा बहिनीहरूलाई कस्तो कडा गर्नुहुन्छ, बाहिर जान दिनुहुन्न, पहिले पढाइ सकाउने अनि मात्रै जागिर खाने, जहाँ पायो त्यहीँ जागिर खानु हुँदैन, मान्छे कस्ता थरीथरीका हुन्छन्, छोरी मान्छे आफ्नो इज्जतमा बस्नुपर्छ। सधैं यही भन्नुहुन्छ। मलाई त यहाँ अफिसमा कोही नयाँ पुरूष स्टाफ आएर र केही कुरा धेरैधेरै सोधे भने हप्काउनुहुन्छ, धेरै बेर केटासँग मस्केर बोल्ने काम नगर भन्दै गाली गर्नुहुन्छ। साँझ पनि ठूलो बुवा घर जान ढिलो हुन्छ, मलाई अफिस टाइमपछि एक मिनेट पनि अफिस बस्ने होइन घर गइहाल भन्नुहुन्छ।’
कस्तो अचम्म, कस्तो फरक घर र अफिसमा? कति आकाश पातलको फरक व्यवहारमा? आफ्ना छोरी र अर्काका छोरीको बीचमा गरिने व्यवहार कति फरक? मनमनै धेरै कुरा खेले दिदीले गुम्सिएका कुराको पोको फुकाउँदै जानुभयो।
अर्को हप्ता त्यसैगरी रिपोर्टिङको बेला भयो।
अघिल्लो हप्ताजस्तै सुरूमै तिनै नयाँ स्टाफको पालो आयो, सुरूमै हाकिमको कोठामा छिरिन्। उनलाई हातमा समाएर अनेक कुरा सोध्न थाले हाकिमले।
अग्ला हिलवाला चप्पल लगाएकी थिइन्, गालामा डाम बस्नेगरी दुई चप्पल हाकिमलाई हिर्काइछन्।
‘आइन्दा तेरो जागिर पनि खानु पनि छैन, तेरो अनुहार हेर्नु पनि छैन। तेरो यो कर्तुत बाहिर सबैलाई सुनाइदिन्छु’ ती साथी रिसले आगो भएर कोठा बाहिर निस्किइछन्।
बाहिर दिदीलगायत अन्य कर्मचारीहरू पालो कुरेर बसेका थिए।
सबैलाई ती साथीले ठूलै स्वरमा सुनाइन्।
‘यस्ता जागिर जति पनि पाइन्छ तर इज्जत बेचेर यस्तो जागिर खाइँदैन। दश एघार जना महिला कर्मचारी हुँदा पनि तपाईंहरू एक हुन नसक्ने छि:, सबै जना एक भएर चड्कन लाएको भए आज यसको यत्रो हिम्मत हुन्थेन’ साथी एकोहोरो कराइछन्।
मनले हो भने पनि मुखले कसैले केही भन्न सकेका थिएनन्।
दिदीको पालो आयो, भित्र कोठामा जानुभयो, कामबाहेक अर्थोक केही सोधेनन् हाकिमले। अनुहार झुकेको थियो, सिधै साइन गर्दै र पठाए।
त्यसपछि अरू स्टाफहरू गए, कसैलाई केही भनेनन रे।
भोलिदेखि ती नयाँ स्टाफ अफिस आइनन्, तर उनलाई यो कुरा बाहिर नल्याउन भन्दै हजार बिन्ती गरेछन रे हाकिमले।
बाहिर नल्याउने होइन तपाईंको घरमा पुगेर सबै आफन्तलाई सुनाउने धोको छ, यसपछि भने हाकिम अतालिन थालेछन्।
त्यस वर्षको तिजको दरखाने कार्यक्रममा सबै महिला कर्मचारीलाई घरमा निम्ता गरेछन्।
सबैलाई यी मेरा छोरीहरू हुन् भनेर श्रीमती, छोराछोरी अन्य आफन्तसँग चिनजान गराएछन।
अलि व्यवहार सुध्रेको हो कि भन्ने भान हुन थालेको थियो।
एक वर्षपछि दिदीको सरकारी जागिरमा नाम निस्कियो, अफिस छोड्नुभयो।
अफिस छाडेको पाँच वर्षपछि दिदीका पुराना साथीहरू भेट भएछन्।
कुराकानी हुँदा त्यही हाकिमको कुरा आउँथ्यो, उसको अहिले व्यवहार कस्तो छ? कुरैकुरामा प्रसंग निस्कन्थ्यो।
एक स्वरमा भन्थे, लाएको बानी कहाँ जान्थ्यो र? तर पहिलेभन्दा धेरै सुध्रेको छ, एक जना स्टाफले चप्पलको डाम लाएदेखि धेरै ठाउँमा आएको छ.... ।
अहिले पनि त्यो हाकिम निकै शालिन भएर हिँडेको देख्छु, आफ्ना छोरीलाई यति अनुशासनमा राख्ने रे, निकै संस्कारका कुरा सिकाउने, बाहिरबाट हेर्दा उसलाई कसैले पनि त्यस्तो गतिछाडा छ भनेर कल्पना पनि गर्न सक्दैनन्।
आफ्ना छोरी लक्ष्मी, देवीका रूप हुने, उनीहरूको इज्जत हुने अरूका छोरीहरू के तपाईंजस्ता गतिछाडा पुरूषका खेलौना हुन् महोदय?
आफ्ना छोरीप्रति जस्तो चासो, सरोकार चिन्ता तपाईंलाई हुन्छ, अरूका बाउआमालाई पनि त्यस्तै चिन्ता हुन्छ यो कुरा कहिले बुझ्नुहुन्छ?
अर्काकी छोरीले गालामा चप्पलको छाप लगाउँदा पनि चेत नआउने तपाईंजस्ता गतिछाडा, मतिछाडा पुरूषका कारण सिंगो समाज धुमिल छ। अहिले कलेजको काण्ड, सुन्दरी प्रतियोगिता काण्ड यस्तै भएरै बाहिर आएका हुन्।
अहिले मिडिया बलियो छ, जतिसुकै घटना थामथुम पार्न खोजे पनि पोखिन्छ, पोखिन्छ।
यो समय भनेको छोरीहरू जागेको बेला हो, जागिर जान्छ, करियर सकिन्छ, भोलि के भन्लान्, बाहिर अरूलाई सुनाउँदा के भन्लान् भन्ने होइन, दस वर्ष अगाडिकी ती विद्रोही दिदीले त्यतिबेला चप्पल उठाउने आँट नगरेको भए त्यो अफिसमा कति महिलाहरू प्रताडित हुन्थे होला?
कम्तीमा आवाज उठाउन सक्नुपर्छ, एक-एक आवाज मिलेर मुस्लो बन्न सक्छ।
यसर्थ, गुम्सिएर नबसौं। इज्ज्त जोगाइदिने जिम्मा महिलाको मात्रै होइन, इज्जत, मान सबैको बराबरी हुन्छ।
आफूलाई दुर्व्यवहार गर्ने उपर बोल्न खोजौं, बोलौं, चर्को स्वरमा प्रतिवाद गर्न सिकौं। ताकी भोलिका दिनमा कोही महिलाहरू समाजमा गन्नेमान्नेको खोल ओडेका ढोंगीहरूको सिकार बन्न नपरोस्।