सभाकक्षमा नेपालका व्यावसायिक र प्राज्ञिक क्षेत्रका नेतृत्व तहमा रहेका पच्चीस जना जतिको उपस्थिति थियो। त्यो सभाको विधान विभिन्न सत्रमा विविध विषयमा पालैपालो बोल्ने किसिमको थियो। बोल्ने पालो आकर्षक पहिरनमा सजिएका, केही गहना लगाएका र लोभलाग्दो व्यक्तित्वका एक वक्ताको थियो। खचाखच भरिएको चारकुने दर्शकदीर्घाको अग्रभागमा उभिएर उनले लगभग पाँच मिनट बोले।
ती व्यक्तिले आफ्नो मन्तव्यमार्फत श्रोतालाई मन्त्रमुग्ध मात्र पारे। आरम्भदेखि अन्त्यसम्म रोचक विम्बहरू प्रयोग गरेर हाँसोको बाढी पनि ल्याए। उनको एक अभिव्यक्तिप्रति मेरो विशेष ध्यानाकर्षण भयो।
'मैले भारतको बैंगलुरूमा इन्डस्ट्रियल इञ्जिनियरिङ र व्यवस्थापन विषयको अध्ययन गरेँ। मैले पाएका दुई वटा उपाधि थिए, पिएचडी आइएएस र आइइएम।'
हामी सहभागी धेरैका कान त्यो नौलो डिग्रीको नाम सुनेर चनाखा भए।
उनले स्पष्ट पारे, 'डिग्रीको पूरा अर्थ हुन्छ पास्ड विथ हाई डिफिकल्टी इन अल सब्जेक्ट्स।'
मैले पहिलो पटक सुनेको त्यो डिग्रीको तात्तातो नेपाली अनुवाद गरेँ– सबै विषयमा मुश्किलले उत्तीर्ण।
इञ्जिनियरिङ विषयको स्नातक तहमा प्रायः चार वर्ष पढाइ हुन्छ। उनले त्यही पूरा गरेका रहेछन्। मैले पनि भारतकै राँची सहरको 'बिरला प्राद्यौगिक संस्थान' बाट 'सिभिल इञ्जिनियरिङ' विषयमा स्नातक तहकै उपाधि प्राप्त गरेको थिएँ।
ती वक्ता उमेरले मभन्दा लगभग दश वर्ष कान्छा रहेछन्। यसैले उनको अभिव्यक्तिले मेरो मानसपटलमा गहिरो छाप छाड्यो। माथि चर्चा गरिएका व्यक्ति हुन् नेपालका नामी उद्यमी सौरभ ज्योति। सभा थियो सगरमाथा टोस्टमास्टर्सको नियमित सिकाइ बैठक।
उनी प्रत्युत्पन्न मन्तव्य सत्रका दोस्रो वक्ता थिए। म पहिलो थिएँ। म पनि के कम, मैले आफूलाई उत्तरविद्यावारिधि गरेको 'फुइँ डाक्टर' हुँ भनेको थिएँ।
हामी दुवैको 'डिग्री' विद्यावारिधिको भए पनि आकाश–पाताल फरक थियो। एउटा हाँस्य भाव उमार्ने ध्येयले क्षणिक रमाइलोका लागि कुँदिएको शब्दावली, अर्को विद्या साधनाका बाइस वर्ष चानचुन खर्चेको प्रतिफल।
शैक्षिक पृष्ठभूमिको हिसाबले हामी दुवै इञ्जिनियर थियौं तर कर्मले म अध्येता, उनी उद्यमी। सरस्वती र लक्ष्मीका बरद पुत्रहरूको चामत्कारिक संयोग थियो त्यो सभा। उनी मेरो देब्रतिरको आडैको आसनमा थिए।
नौलो पिएचडी उपाधिको प्रसंग सुनेको भोलिपल्ट मैले गुगल देवीलाई सौरभ ज्योति को हुन् भनेर प्रश्न गरेँ।
देवीको उत्तरले मलाई नेपालको एक प्रतिष्ठित व्यावसायिक घरानाको बिरासत चाहार्ने कौतुहल जगाइदियो।
सौरभ ज्योति 'ज्योति समूह' का निर्देशक रहेछन्। यो समूहका फलामे छड, तार, अक्सिजन आदि उत्पादन गर्ने कम्पनी सञ्चालनमा रहेछन्। बुटवल पावर कम्पनी, सगरमाथा इन्सुरेन्स र ग्रान्डी अस्पतालमा समेत लगानी गरेका रहेछ। यो समूहले गत साल बीस अर्ब रूपैयाँ चानचुनको कारोबार गरेको रहेछ।
इञ्जिनियरिङ विधा पढेर सौरभकै हाराहारीमा व्यवसाय सञ्चालन गर्ने अरू पनि केही प्रतिष्ठित नाम नभएका होइनन्। शेष घले पाँचतारे होटल बनाउँदैछन्। डा. उपेन्द्र महतोले मेडिसिटी अस्पताल बनाए। जीवा लामिछाने बिजुली निकाल्ने काममा लागेका छन्। विष्णु न्यौपानेले सिमेन्ट उद्योग खोलेका छन्।
विकसित मुलुकमा अधिकांशलाई रोजगारी दिने निजी क्षेत्र हुन्छ। मलेसिया र कतारले लाखौं नेपालीलाई उत्पादन र सेवामूलक उद्योगमा रोजगारी दिएका छन्। ज्योति समूहले तीन हजार जनालाई रोजगारी दिएको रहेछ।
सौरभ र उनकै हाराहारीमा व्यवसाय गर्ने समकक्षी इञ्जिनियर दस जना त होलान् नेपालमा। तिनले घटीमा पनि बीस–तीस हजारलाई रोजगारी दिएका होलान्। राज्य र राजनीतिज्ञले उद्यमशीलताको यो महत्व बुझ्ने हो भने सय जनाले तीन लाख र हजार जनाले तीस लाखलाई रोजगारी दिन सक्छन्। यो चानचुने संख्या होइन।
यो तहको रोजगारी सिर्जना गर्ने हो भने हामी नयाँ नेपालको बिहानीमा रमाइरहेका हुने छौं भन्ने दुईमत नहोला। नेपालमा अहिले इञ्जिनियरको संख्या पचास हजार भन्दा माथि छ। यो संख्याको एक–दुई प्रतिशतलाई उद्यमी बनाउनु राज्यका लागि चुड्कीको खेल हो।
मलाई मन्त्रमुग्ध बनाएको सौरभको करिस्मा अर्थात चामत्कारिक विशेषता उनले सिर्जना गरेको कारोबार या रोजगारी होइन। त्यो त विष्णु र जीवाले पनि गरेकै छन्। अरूले केहीले पनि गरेका छन्।
सौरभको करिस्मासँग जोडिएको विषय हो 'सिबिआर १००० आरआर' को कोरला पास आरोहण।
कोरला पास चीनसँग जोडिएको उपल्लो मुस्ताङको नाका हो। यो समुद्र सतहबाट चार हजार ६६० मिटर उचाइमा छ। अर्थात हिमरेखाभन्दा ३४० मिटरमात्र तलको भूगोल हो कोरला पास।
यस्तो उचाइको ठाउँ लगभग बाह्रै मास हिउँले छोपिएको हुन्छ। 'सिबिआर १००० आरआर' भनेको होन्डा बाइक कम्पनीको पछिल्लो उत्पादन हो। यसमा एक लिटर क्षमताको इन्जिन जडान भएको हुन्छ र बुलेट ट्रेन बराबरकै गतिमा दौड्न सक्छ।
सौरभले केही दिनअघि यो चामत्कारिक बाहनबाट कोरोला पास पुगेको विवरण समेटिएको एक भिडियो ब्लग सार्वजनिक गरे। इन्स्टाग्राममा उनका ५० हजारभन्दा बढी अनुयायी रहेछन्।
उक्त भिडियो हेर्दा उनका हजारौं अनुयायीलाई यो अत्याधुनिक सुपरबाइक चढेर उपल्लो मुस्ताङ पुगेको आभास भयो होला। मलाई पनि त्यस्तै अनुभूति नहुने कुरो भएन।
साहसिक पर्यटनको यो विलक्षण उदाहरण पस्केर उनले नेपाली युवा र आम सर्वसाधारणलाई एक सन्देश दिएका छन्– साहसिक पर्यटनका लागि नेपाल स्वर्गभूमि हो।
तीव्र गतिमा गाडी वा मोटरबाइक गुडाउने प्रतिस्पर्धात्मक खेलको विश्व बजार ठूलो छ। स्पेनका तारा मार्क मार्कवेजले एक पटक मोटरबाइक रेस प्रतियोगितामा भाग लिए बापत चानचुन दुई अर्ब रूपैयाँ लिँदा रहेछन्।
यसको अर्थ हो, यस्ता साहसिक पर्यटनसँग जोडिएका अन्तर्राष्ट्रिय प्रतियोगिताले अर्बौं रूपैयाँको आम्दानी हुन सक्छ। लाखौं पर्यटक यस्ता कार्यक्रम हेर्न लालायित हुन्छन्। नेपालका उकाली–ओराली भूभाग र नागबेली सडकहरूले यस्ता कार्यक्रमका लागि अझ मूल्य थप गर्न सक्ने छन्।
सौरभको मुस्ताङ यात्राको अर्को सन्देश प्रविधि विकाससँग जोडिएको छ। कस्तो टायर? कस्तो सडक? सडक दुर्घटना कसरी कम गर्ने? थोरै इन्धनले धेरै माइलेज कसरी निकाल्ने?
यस्ता प्रश्नहरूको वैज्ञानिक उत्तर प्राप्त गर्न नै अनुसन्धान गरिन्छ। होन्डा मोटर कम्पनीले आगामी दशकका लागि लगभग असी खर्ब रूपैयाँ अनुसन्धान र विकासमा खर्च गर्ने योजना अघि सारेको छ। निश्चित कूटनीतिक र व्यावसायिक पहलले अनुसन्धानको केही अंश नेपाल भित्र्याउन सकिन्छ भन्ने मेरो ठहर छ।
एक इन्डस्ट्रियल इञ्जिनियर भएको नाताले सुपरबाइक के हो भन्ने कुरा उनले बुझेका छन्। उनलाई यसको रसायनशास्त्र मात्र होइन, यसले कठिन भूधरातलमा वा समथर जमिनमा कस्तो रूप देखाउँछ भन्ने विषयको पनि खरो ज्ञान छ।
जनजिभ्रोको बोलीमा भन्नु पर्दा यो विधा परम्परागत रूपमा घोडा, हात्ती वा खेत जोत्ने गोरु दाउने जस्तै हो। शास्त्रमा बाइपंखी घोडा चढ्न सक्ने व्यक्तिको चित्रण राजकुमार वा महायोद्धाको रूपमा गरिएको छ। महाभारतको युद्धमा कृष्ण र अर्जुन या दशरथको रथ र कैकेयीको प्रसंग, वाहनको प्रकृति र त्यसमा अन्तरनिहित शक्तिको चर्चा सर्वव्यापी छ।
यससँग जोडिएको एक रोचक चिनियाँ कथा छ।
एक बादशाहले आफ्नो जन्मोत्सव मनाउन एक नौलो तरिका परिकल्पना गरेछन्। भाले कुखुराको चित्र अंकित मुद्रा प्रचलनमा ल्याउने उनको विचार रहेछ।
उनले भालेको चित्र बनाउने एक प्रतिस्पर्धा आह्वान गरे। एक से एक चित्रकारहरूले कम्मर कसे। प्रतिस्पर्धाको लागि तोकिएको समय सीमा नजिक आयो। चित्रकारहरू आफूले बनाएको चित्र दरबारमा बुझाउन थाले।
बादशाहले मनले खाएका एक लब्धप्रतिष्ठित चित्रकार थिए। तिनको तयारीका बारेमा बादशाहले चासो राखे।
दरबारमा खबर आयो, दूरदराजसम्म ख्याति कमाएका ती नामी चित्रकार एकाएक गायब भएका थिए। दरबारले गुप्तचर खटायो। गुप्तचरले जानकारी बटुले। दरबारमा जाहेर भयो– ती चित्रकार उनको प्रिय कुखुराको भालेसँग क्रीडा गर्न जंगल गएका छन्।
चित्र बुझाउने समयसीमाको केही दिनअघि ती चित्रकार जंगलबाट फर्केको जानकारी आयो। उनले पनि निर्धारित समयभित्र आफ्नो चित्र बुझाए। चित्रहरूको मूल्यांकनका लागि पनि बादशाहले विशेष व्यवस्था गरेका थिए। प्रतिस्पर्धामा आएका चित्र पालैपालो एउटा कोठामा राखियो। एउटा जीवित भाले चित्रको अगाडि छोडिन्थ्यो। मूल्यांकनकर्ताले उसको क्रियाकलाप गोप्यरूपमा अवलोकन गर्थे।
अचम्म भयो। जंगल गएर फर्केका चित्रकारको पालोमा त्यो निर्णायक भाले परैबाट शिर ठाडो पारेर घाँटीका प्वाँख ठाडा पार्दै चित्रको नजिक आयो। मूल्यांकनकर्ताले त्यही चित्र सर्वोत्कृष्ट ठहर्याए। पुरस्कार त्यसैले पायो। मुद्रामा पनि त्यही भालेको चित्र कुँदियो।
उक्त कथामा भालेसँग चित्रकारले क्रीडा गरेजस्तै सौरभसँग पनि सुपरबाइकसँग क्रिडा गर्ने सक्ने क्षमता छ। यसको अर्थ उनले यो अजिबको दुई पांग्रे सवारीसाधनको सैद्धान्तिक, प्राविधिक र व्यावहारिक पक्ष राम्ररी बुझेका छन्।
नेपालको ढुंगामाटोले उनलाई चिनेको छ, उनले पनि चिनेका छन्। यसरी सहज निचोड निस्कन्छ– नेपालको अटोमोबाइल उद्योगका लागि सौरभ एक हीरा हुन्।
सौरभजस्ता केही दर्जन उद्यमीको दृष्टिकोणसँग राज्यले द्रुत आर्थिक विकासको लक्ष्य मिसाउने हो भने पाँचदेखि दश वर्षमा नेपालको कायापलट हुन सक्छ।
यसर्थ बुझ्नेका लागि टोस्टमास्टरको सभामा उनले प्रयोग गरेको विद्यावारिधिको विम्बले गहिरो सन्देश छोडेको छ। नबुझ्नेका लागि यो कुरा खुर्पाको बिँड हो।
सौरभ एक भाग्यमानी इञ्जिनियर हुन् जसले आफूले आर्जन गरेको ज्ञान पूर्ण क्षमताका साथ उद्यममा लगाएका छन्। उनलाई आफ्नो व्यवसायको बिरासतले साथ दिएको छ।
उनले नेपालको पूर्वदेखि पश्चिमसम्म होन्डाका शोरूम खोलेका छन्। उनी होन्डाको शोरूममात्र होइन अनुसन्धानका लागि कम्पनीले छुट्याएको असी खर्बको केही अंश नेपाल भित्र्याउने करिस्मा बोकेर फुक्काफाल हिँडेका छन्।
यसर्थ मलाई गर्वका साथ भन्न मन लागेको छ– सौरभजी! तपाईं मानार्थ विद्यावारिधि अर्थात अनोररी पिएचडीका लागि योग्य हुनुहुन्छ। मलाई यो निर्णय गर्न दिइयो भने म त्यो उपाधिको नाम 'एच पिएचडी इन एसएसई' राख्नेछु।
गुगल देवीले फेरि बताउने छिन्, एसएसईको अर्थ हुन्छ 'स्पोर्ट्स, साइन्स एन्ड इञ्जिनियरिङ' ।
आशा छ, सगरमाथा टोस्टमास्टरको अर्को अध्यायमा सौरभ ज्योतिले आफूलाई 'पिएचडी इन एसएसई' ले चिनाउने छन्।