गाँजलु ती ठूला ठूला आँखा.. तीर बनी बसे यो दिलैमा
कालोलामो परेली केश.. छाल परे कलिलो मायामा!
उस्ताद गुलाम अलिको सदाबहार गीत सँगसँगै हायसको रफ्तार झापाबाट पश्चिमतर्फ बढिरहेको थियो। काम विशेषले राजधानीतिर हान्निएको म चालक छेवैको सिटमा बसेको थिएँ।
बेलाबेलामा मेरो ध्यान चालकको मोबाइलतर्फ जान्थ्यो। गाडी चलाउँदै फोन गर्नाले दुर्घटना निम्त्याउन सक्छ भनेर मिडियाले जति फुके पनि खासै कसैले टेरेको पाइँदैन, अझ हायसका चालकले त झन टेर्ने कुरा नै भएन।
सुरुमा वास्ता नदिए पनि पछि याद गरेँ, फोन गर्नु त कहाँ हो कहाँ यी चालक त स्टेरिङ घुमाउँदै च्याट गर्दै पो रहेछन् त, त्यो पनि लभ थिम भएको ब्याकग्राउण्डमा!
म्यासेज लेख्दै गाडी ८०/९० को गतिमा हुइँकाउन पनि मान्छेले सक्ने रहेछन् भनेर अचम्म लाग्यो। एकछिन मात्र भए पनि लौ ठिकै छ भन्नु, च्याट गरेको गर्यै पो छन् त! यसो मोबाइलतिर आँखा डुलाएँ। अलिअलि टेक्स्ट् म्यासेज, केही भ्वाइस म्यासेज अनि थम्स-अपबाहेक खासै केही देखिनँ। चालक लगातार टेक्स्ट र भ्वाइस म्यासेज पठाइरहेका थिए तर उताबाट भने खासै केही गतिलो रेस्पोन्स आउँदैन थियो।
बेलाबेला छोटो टेक्स्ट् अनि थम्स-अप मात्र। भर्खरै लभ परेर रिलेशनशीपमा बसेका जोडी अनि भर्खरै बिहे गरेका जोडी घण्टौँसम्म च्याटमा झुम्मिन्छन् भनेर देखेको सुनेको थिएँ, भलै आफूले भोग्न बाँकी नै छ।
'गर्लफ्रेन्डसँग बोल्नु भएको हो दाइ?,' मैले मौनता तोडेँ।
'कहाँ गर्लफ्रेन्ड हुनु यार, बुढी हो,' उनले भने।
'भर्खरै बिहे भएजस्तो छ,' मैले हाँस्दै भनेँ।
'होइन राजा, बिहे भएको ८ वर्ष भयो,' उनले सटिक रूपमा भने।
लौ अचम्म! बिहे भएको नै ८ वर्ष भइसकेछ र पनि पत्नीसँग च्याटमा झुम्मेका झुम्मै छन् त! अनौठो लाग्यो। सायद एकदमै रोमान्टिक जोडी हुन् कि? मैले कल्पेँ। जतिसुकै रोमान्टिक भए पनि गाडी चलाउँदा त च्याट नगर्नुपर्ने हो नि, दर्जनौँ यात्रुको ज्यानको सवाल छ। यो त सरासर हेलचेक्य्राइँ हो नि?' मनमा कुरा खेलाइरहेँ तर च्याट नगर्नुस भन्न चाहिँ सकिनँ।
एकछिन चुपचाप बसेँ। उनैले बोल्न सुरु गरे, 'च्याट गर्दै गाडी चलाएको देखेको छैनौ?'
'नाइँ, छैन,' मैले जवाफ दिएँ।
'मामला नै यस्तै छ त के गर्नु!,' उनले यति भनेपछि मलाई मामला जान्न इच्छुक भयो अनि भन्न मिल्छ कि भन्ने भावले उनीतिर हेरेँ।
'विस्तारै भनौँला नि, समय छ,' उनले हाँस्दै भने।
कर्ली कपाल, मिलेको मुखाकृति, झ्याप्प दारी अनि मझौलौ कद! झट्ट हेर्दा फिल्ममा खेलिहाल्छन् कि जस्तै प्रतित हुने उनको शारीरिक बनावट। मलाई अरु जान्न मन भयो। उमेर २५ हो भनेर सोधेँ। उनको ३३ भन्ने जवाफले अवाक भएँ, काटीकुटी २५ कै देखिन्थे उनी।
'भाउजू कता हुनुहुन्छ?' भनेर सोध्नेबित्तिकै उनले भनिहाले, 'बाहिर विदेशतिर।'
त्यसपछि भने उनी आफ्नो विगत सुनाउन थाले।
'मेरो लभ म्यारिज हो, ऊ १० पढ्दा पढ्दै भगाएर ल्याएको। बाइकहरूमा एक हुल केटा चाहिँ जन्ती। त्यो बेला केटीको कमि थिएन राजा मलाई। एकैदिनमा पट्याइदिन्थेँ। २/४ दिन गर्लफ्रेन्ड अनि फेरि भूतपूर्व! केटीहरू वरिपरि झुम्मिन्थे त्यो बेला त। ऊसँग चाहिँ खै के भो बिहे गर्न मन लाग्यो।'
'अनि तिम्रो चाहिँ गर्लफ्रेन्ड छैन?,' उनले हाँस्दै बीचमै सोधे।
मैले पनि हाँस्दै हिन्दीमा भनेँ, 'आपके जैसा अपना नसिब कहाँ!'
'पट्याउन तिमी पनि एकजना, बिन्दास!' उनले भनेँ।
'केटी कुनै लुगा हो र सजिलै पट्याउन?' प्याच्च बोलेँ।
मैले यति भन्ने बितिक्कै उनको आग्नेय दृष्टि मतर्फ तेर्सियो।
'अनि बिहे भयो त? ' पुरानै कुरा कोट्याउन खोजेँ मैले।
'अँ मन्दिरमा भयो यार अनि म विदेश गएँ। त्योबेला अरबमा मेरो एकदमै राम्रो कमाइ हुन्थ्यो, लाखसम्म बचाउथेँ। हाम्रो एउटा छोरी पनि छे, ७ वर्षकी भई। मैयालाई भगाएर ल्याए पनि एसएलसी पास गराएँ। अझै पढोस् भनेर प्लस-टु पढाएँ। पछि ल्याब असिस्टेन्ट भई ऊ अनि विदेश जान्छु भन्न थाली। अनि विदेश पठाइदिएँ, साइप्रस!'
पातली त्यो मधुर ओठ.. स्वाद पनि पस्यो यो दिलैमा!
मिलेका ती दाँतका पंक्ति.. मोती बने कलिलो मायामा!!
प्लेलिस्टका सबै गीत बजिसकेर फेरि उस्ताद अलिकै गीत बजिरहेको थियो तर उनको कुरा सकिएन। उनी भन्दै गए।
'भाइराजा हेर न, मैले त्यो बेला त्यति दु:ख गरेँ, उसलाई पढाएँ, उसलाई आफ्नै खुट्टामा टेक्ने बनाएँ। संसार देखोस्, बुझोस्, चिनोस् आफ्नो करियर अघि बढाओस् लाग्थ्यो तर उसले मेरो परिश्रम र उसलाई दिएको महत्व बुझिन। विदेश गएदेखि त झन् टाढिन खोजी। न सम्पर्क गर्ने, आफै खोज्छे न छोरीको बारे उसलाई केही वास्ता छ। जहिल्यै पनि आफू मात्र म्यासेज फोन गर्यो, उताबाट कहिल्यै आउँदैन।
यो च्याट हेर त, यति धेरै लेखेको छु, भ्वाइस म्यासेज पनि धेरै पठाएको छु तर उताबाट आउने गतिलो जवाफ छैन। उल्टै मानसिक तनाव दिने खाले कुरा आउँछ कहिलेकाहीँ। छोडेर जान्छु भन्ने धम्की आउँछ। यस्तो सिलसिला चलेको महिनौँ भइसक्यो। दिनभरि अनि च्याटमा फकाउने मात्र काम छ मेरो! जति गर्दा पनि अत्याउन छोड्दिन, के गर्नु र!
आखिरमा उसको बुढा नै हुँ म, उसले राम्ररी बोल्दिँदा अनि रिप्लाई दिँदा उसको के जान्छ? उरन्ठेउला केटा त हैन नि म, जुनसुकै केटीलाई आई लभ यु भन्दै हिँड्ने खाले अहिले त! उसको श्रीमान हुँ नि! यदि उसले एक वचन मिठो बोल्दा अनि राम्ररी रिप्लाई दिँदा म खुसी हुन्छु भने उसले चाहिँ त्यति गर्न सक्दिन र? उल्टै धम्की दिएर मानसिक तनाव दिन्छे जहिल्यै।'
हायसका चालक फेरिए, उनी मेरै अर्कोपट्टि बस्न आए र अर्को एकजना मान्छे गाडी चलाउन लागे।
'कति माया लाग्छ यार उसको! सब ट्याटु खोपेको छु जीउभरि उसकै नामको,' उनले आफ्ना पाखुरामा भएका ट्याटु देखाए अनि एक-एक गरी मोबाइलमा भएका उनी र उनकी श्रीमतीका तस्वीर देखाउन थाले। मलाई अनुमान गर्न गाह्रो भएन आफ्नी श्रीमतीलाई एकदमै माया गर्ने रहेछन् उनी। सायद उनले पनि केही गल्ती गरे होलान र न यस्तो भएको भन्ने पनि सोचेँ र भनेँ।
'त्यसो होइन, केही नराम्रो गरेको छुइँन! मेरो माया धेरै भएको हो उसलाई, अर्थोक केही होइन,' उनले झोक्किँदै भने।
'उसलाई शंका पनि गरिनँ मैले। मसँग डिभोर्स गरौँ पनि भन्दिन। न त छोडेरै जान्छे न त राम्रोसँग नै बोल्छे, मानसिक तनाव मात्र दिन्छे। गइहालेस् लाग्छ कहिलेकाहीँ त, यो हरेक दिनको चटक सोच्दा। छोरी चाहिँ मलाई नै देओस्, अरु जता जान मन लाग्छ जाओस् भन्ने नि लाग्छ।
माया पनि लाग्छ, पर गइहालोस् जस्तो पनि लाग्छ। खै! के भयो भयो मलाई। म फेरि हल्का आफुलाई सम्हाल्न नसक्ने खाले छु क्या भाइ, रिस झनक्क उठेको बेला त कम्पासले वा रडले आफ्नो जीउतिर घोचेर हानेर घाउ नै बनाउँछु अनि आफ्नो फ्रस्ट्रेसन निकाल्छु।'
यति भन्दै आफ्ना शरीरमा आफैले बनाएका घाउ र टाटाहरू देखाए। फेरि गाडी उनैले हाँक्न थाले।
'दिक्क लागिसक्यो, बस्ने भए एउटा आदर्श श्रीमान-श्रीमती भएर राम्रो सम्बन्ध बनाएर बस्दा भो, नबस्ने भए छोडेर गइहाल्दा भो। यो बेकारको किचकिचले म पहिलाजस्तो काममा ध्यान दिन सकिरहेको छैन। अब फेरि अरब जानुपर्ला! यता त केही गतिलो कमाइ भएन,' उनले मलिन स्वरमा दिक्क मान्दै भने।
सबै सुनेर म सोचमग्न भएँ। गाडी चलाउँदै च्याट गर्दै! यो झन्झट देखिरहन मन भएन अब चाहिँ, फेरि कतै गाडी लगेर हान्ने हुन् कि भन्ने भय पनि भयो। मैले आग्रह गरेँ, 'दिनुस्, तपाईंको म्यासेज म लेखिदिन्छु।'
उनी भन्दै जान्थे म लेख्दै म्यासेज पठाउँदै जान्थेँ। पहिला जसरी नै उताबाट केही गतिलो जवाफ आउँदैन थियो! गहिरिएर हेर्दा लभ थिमभित्र समाहित भएको निरसलाग्दो र एकतर्फी वार्तालाप!
उपत्यका आइपुग्यो, रातको १० बजिसकेछ। कोटेश्वरसम्म मात्र जाने हायस मेरो आग्रहमा ग्वार्कोसम्म ल्याइदिए उनले। कसैसँग आफ्ना कुरा सेयर गर्न पाएर होला, उनमा पहिलाजस्तो निराशापन कम भएको देखेँ मैले।
' फन्त लिन नआए आज हाम्रोतिर नै जाऔँ राजा, भोलि बिहानै जानू,' सामान झार्दै गर्दा उनले प्रस्ताव राखे।
'होइन, फोन गरेको छु, आउनुहुन्छ,' मुस्कुराउँदै भनेँ मैले।
'ल त दाजु धेरै-धेरै धन्यवाद, म लागेँ,' भन्दै म पर गए पनि मेरो मनमा भने तिनै दाइका कुरा खेलिरहे।
आखिर दोष कसको त, उनको या उनको श्रीमतीको अथवा अहिलेको समाजिक परिवेशको या वैदेशिक रोजगारीको?
यस्तो उदाहरण त जुनसुकै घर परिवारमा देख्न सकिएला! एकजना विदेशमा बस्नुपर्दा अर्कोले मानसिक झन्झट खेपेर बस्नुपर्ने समस्या आजकल बढेर गएको छ, न त काममा मज्जाले ध्यान लगाउन सकियो अनि न त व्यक्तित्व विकासमा। स्मार्टफोनले हरेक कुरामा शंका गर्ने वातावरण बनाइदिएको छ।
कता गयो, के खायो, कोसँग गयोजस्ता हरेक कुराको उपडेट दिइराख्नुपर्ने अवस्था बनेको छ। अनलाइन ब्ल्याकमेलिङ जताततै छ। तँ यसो गर् नत्र तेरो यस्तो गर्दिन्छु जस्ता भाष्य सामान्य बनिसकेका छन्। श्रीमान श्रीमतीबीच त्यो पहिलाको जस्तो विश्वास रहेन, मात्र स्कृनशट अनि म्यासेजको भरमा फैसला गरिहाल्ने बानीको विकास भएको छ।
हामी देश विदेशसँग एउटा कोठबाट संजालमार्फत जोडिएका त छौँ तर हामी आफैलाई थाहा छैन, हाम्रो कनेक्सन कतिको विश्वासिलो र मजबुत छ भनेर।