जिन्दगीमा बाँच्न भन्दा मर्न गाह्रो। बाँच्नको लागि त त्यतिकै बाँचिन्छ, मर्नको लागि दिनदिनै बाँच्नुपर्छ।
प्रत्येक पल मर्नको लागि बाँच्नु जति मुश्किल अरू केही छैन। उनी एकछिन टोलाउँछिन्। उनी अर्थात् सपना। सपनालाई मैले नै बोलाएको थिएँ। कफी सपमा। एक साथीमार्फत् उनको बारेमा सुनेपछि थप बुझ्नको लागि बोलाएको। कफी सपको बाहिर बसेर कुरा सुरू गरियो। सुरूआतमै विरत्त लाग्ने कुराले मुड बिगार्ला भन्ने लागेर उनलाई बीचैमा रोकेँ।
धत्तेरीका के भनेको सपना तिमीले? मानिस बनेर हामीले एकपटक मात्रै देख्ने हो यो संसार। त्यही एउटा मौकाको पनि भरपुर उपयोग नगरी त्यतिकै अलाप हुने कुरा किन गर्छौ?' मेरो प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिन्छिन् 'म बनेर बाँच्नुस् अनि तपाईंलाई थाहा हुन्छ बाँच्न कति गाह्रो छ।'
बोली नसकिँदै मार्बोलो लाइट चुरोटको एक सर्को तानिन्।
चुरोटसँगै पछिल्ला केही वाक्य पनि मुखबाट सिधै फोक्सोमा पुग्यो।
छि कति तानेको होला चुरोट, ओठ पूरै कालो भइसक्यो। फोक्सो त मकै भुट्ने हाँडीजस्तो भइसक्यो होला। लाग्यो मान्छे मर्नलाई साँच्चै दिन आउनुपर्ने रहेछ। दिन नआई कोही मर्ने भए सपनाको उहिल्यै मृत्यु भइसक्थ्यो।
नाम त अर्कै थियो तर मैले नै उनलाई सपना नाम राखिदिएको। उनको सपनाको माया लागेर। सपनाको कथा लेख्न भनेर धेरै कोसिस गरेँ तर उनले मुखबाट ओकलेको चुरोटको धुँवाजस्तै रूमल्लिएको उनको कथा म सुरू गरूँ कहाँबाट? धेरै दिन लेख्ने आँटै आएन।
झन्डै एक हप्ता अगाडि नेपालमा एक युवतीले आफ्नो बलात्कारको घटना सार्वजनिक गरिन्। घटनाले सामाजिक सञ्जाल पूरै तातियो। यता सपनाको भने रगत तातियो। एकएक गर्दै विगत उनको आँखै अगाडि आएर ठिंग उभियो। बढेमानको पहाड बनेर। सपनालाई दुख्न थाल्यो। पोल्न थाल्यो। पुरिएको घाउमा नङले कोट्याए जसरी। चिथोरेको जसरी। कसैले नून खुर्सानी दलेको जसरी।
'ओहो मेरो खाटो बसेको घाउँमा नून चुक नै दलिदिइन् ती युवतीले,' चुरोट तानिनसक्दै फेरि सपना बोल्छिन्,'गर्नेले त स्खलित भएपछि बिर्सन्छ तर यस्तो घटना हामी नारीले जिन्दगीभर बिर्सन सक्दैनौं।बल्ल बल्ल पाउने जिन्दगी मरेतुल्य बनाइदिन्छन् यी नरपिचासहरूले। छि कस्ता कस्ता अपराधीहरू हुन्छन्। मिल्ने भए म अहिल्यै गएर उसलाई गोली ठोकीदिन्थेँ।' उनी आफ्नै सुरमा बरबराउँछिन् ।
‘मायाले पाउने वस्तुलाई कसरी जबरजस्ती गर्न सक्छन्? के जबरजस्ती गर्दा प्रेममा जस्तो आनन्द हुन्छ तिनीहरूलाई? यस्तो आत्मसम्मान गिरेको एक नारीले जिन्दगीमा अरूसँग कसरी प्रेम गर्न सक्छिन्? उनीहरूको एक गल्तीको सजाय हामी नारीले जिन्दगीभर भोग्नुपर्ने यो कस्तो विवशता? यस्तो एउटै घटनाले हामी नारीको जिन्दगीको बाटो नै बदलिन्छ। हामीले केही मिठो बोले त्यसैलाई प्रेम ठान्ने र आफूलाई मन लागेको गर्ने पुरूषहरू छन् यहाँ। यस्तो भावनात्मक ब्ल्याकमेलिङ गर्नेहरूलाई कस्ले दिन्छ सजाय? गल्ती जस्को भए पनि सजाय हामी नारीहरूले भोग्नुपर्छ। जिन्दगीभर तड्पेर। रोएर। बर्बराएर। यो कस्तो नियति?’ उनी बोल्दै गइन्।
साथमा चुरोटको सर्को पनि थपिँदै गयो।
उनको कुरामा कारूणिक सत्य थियो तर त्यही मुखबाट भित्र पसेको चुरोटको धुँवाले वातावरण नै धमिल्याइरहेको थियो। लाग्यो मैले कुरा सुनिदिँदा धेरै चुरोट पिउन थालिन्, अरू गाह्रो भयो जस्तो लाग्यो। अब कुराको अन्त्य गरिदिनु परो। तर कसरी? पीडाहरू अरू कसैलाई बताउँदा आधा ठिक हुन्छ भन्छन्। म सपनालाई ठिक नपारी कुराको अन्त्य गरौं कसरी?
२०१८ सालमा महाराजगञ्जमा रहेको अमेरिकी दूतावासले सपनाको पासपोर्टमा मुसुक्क मुस्कुराएको फोटोसहितको एउटा भिसा ढ्याप्प टाँसिदियो।
साँच्चैको भिसा हो ? उनलाई विश्वासै लागेन।
घर पुग्ने बेलासम्म घरीघरी पासपोर्ट निकाल्दै त्यही पेजलाई हेरिरहिन्। भिसामा एफ वान लेखेको थियो। उनलाई के मतलब ? अमेरिका जानु थियो। भिसामा जेसुकै लेखोस्। जुनसुकै होस्। उनको सपना सुरू भयो। विद्यार्थीको रूपमा अमेरिका आउन पाउने भइन्। विद्यार्थी त एउटा बहाना थियो। सपनालाई त अमेरिका आउनुथियो। सपनाको महल ठड्याउन।
काठमाडौंकै रैथाने केटी। उमेरले २२ कटेकी। टोलमा उनको उमेरका सबैको बच्चाबच्ची भइसकेका थिए। उनलाई भने पढ्ने भूतले बिहे गर्ने वा प्रेम गर्नेतिर ध्यानै थिएन।
स्नातक सकिएपछि यताको तयारी गरेकी थिइन। ट्राइ मात्रै गरौं न भनेको उनलाई अमेरिकाले भिसा पो दियो।
अमेरिका जाने भनेपछि टोलछिमेकमा खुसीको लड्डु बाँडिन्। नेवारी परम्परा अनुसार सगुन पनि खाइयो। घर परिवारमा खुसीको सिमै रहेन।
उनको नेवारी परिवारले जिन्दगीमा परदेश त परको कुरा स्वदेशकै नाममा पूर्वमा भक्तपुर र पश्चिममा थानकोट कटेको थिएन।
छोरीले त सात समुद्र कट्ने भई, अमेरिका जस्तो देशमा त्यो पनि बडेमानको प्लेन चढेर। सपनाको आमाबाबुको खुसीको सिमै रहेन।
‘अनि अमेरिका आउने आँट कहाँबाट आयो त सपना तिमीलाई?’ मलाई दाइ भन्थिन्, मैले बहिनी भनेर सोधें।
‘हामी त्यहाँको एक राम्रै कलेजमा पढेका थियौं। म्यानेजमेन्ट। त्यसमा पश्चिम सुर्खेततिरकी मेरी एउटी असाध्यै मिल्ने साथी थिई सविना। साथी पनि के भन्नु त्यो वि...लाई।’ केटी मान्छेको मुखबाट यस्तो फोहोरी शब्दहरू सुन्दा कस्तो असहज हुने। अब समयले लखेटेको सपनालाई यस्ता कुरा नबोल भनेर म लगाम कसरी लगाउन सक्छु र? त्यै पनि म त उनको पीडा सुन्न बसेको। शब्दसँग के सरोकार। उनी बोल्दै गइन्। स्वतन्त्र भएर। मैले सुनिरहेँ।
‘सविना २०१६ मै अमेरिका आएकी। फेसबुकको म्यासेन्जरमा बेला बेलामा कुरा भइरहन्थ्यो। तँ पनि ट्राइ गर भनि। हो त नि अब किन नजाने अमेरिका? सविना त गई भनेर मैले पनि एप्लाई गरेँ।’ सपना बोल्दै गइन्।
‘पैसाको समस्या थिएन। अमेरिकाले भिसा दियो। म अमेरिका आएँ। टेक्सासको एक विश्वविद्यालयमा आउनुपर्ने थियो। सविना पनि त्यही थिई। त्यही भएर उसैकोमा बस्न थालेँ। सानो अपार्टमेन्ट थियो। हामी ५ देखि ६ जना बस्थेम्। सबै भद्रगोल थियो। न खाने ठेगान, न सुत्ने ठेगान। नेपालबाट ल्याएको केही हजार डलर पनि उसैले राखेकी थिई। यता हराउला, चोरी होला भन्दै। दिनेबेलामा देखेको त्यो पैसा मैले पछि कहिल्यै देखिनँ। पछि कोठा भाडा भन्दै त्यसैबाट कटाउने भनि। मलाई भने यहाँ कलेजमा तिर्ने पैसा थिएन। नेपालबाट मगाउने आँट पनि आएन। अमेरिका गएकी छोरीले नेपालबाट पैसा माग्न थाल्दा उता पनि पीर होला भन्ने लाग्यो। नेपालमा त अमेरिकामा पुग्नुमात्रै पर्छ। पैसा त्यतिकै बर्सिन्छ भन्ने गरिन्छ। म भने ग्यास स्टेसनमा काम गर्न थालेँ। रातिको।
एक दिन दुई दिन गरेर समय बित्दै गयो। उनीहरू सबै पश्चिमतिरको भएर होला म काठमाडौंकी केटीसँग भाषा र बोली पनि नमिल्ने। कुरा पनि नमिल्ने। तीन महिनापछि त उनीहरूले आफ्नो रूप देखाउन थाले। कोहीले केटासँग सल्किएकी छ भनेर कुरा काट्ने, कोहीले के भन्ने। कोठामा कोही पनि मसँग नबोल्ने हुन थाल्यो। पढ्ने माहोल नै छैन। कामको विषयमा त तपाईंलाई भन्नै पर्दैन। बेलुका ४ बजे गएर राति १ बजे अपार्टमेन्टमा आउँथें तर त्यहाँ शान्ति नै थिएन। होहल्ला कोलाहल मेरो त दिमागै जालाजस्तो भयो।’ सपना विस्तारै खुल्दै गइरहेकी थिइन्।
म भने बेला बेलामा अनि, त्यसपछि भन्दै उनको कुरा सुन्दै गइरहेँ।
‘वास्तविक संसारमा शान्ति नमिलेपछि भर्चुअल दुनियाँमा हराउन थालेँ। फेसबुकमा साथीहरूसँग कुरा हुन्थ्यो। त्यही बीचमा यहाँ कोलाराडोमा बस्ने एक व्यक्तिसँग चिनजान भयो।
साथीको अनुरोध उसैबाट आएको थियो। विद्यार्थी नै हो भन्थ्यो। मिठा मिठा कुरा गथ्र्यो। आफ्नो सुख दु:ख सेयर गथ्र्यौ। मलाई पनि आफ्नो दु:ख सेयर गर्ने साथी चाहिएको। ऊ आफ्नै मान्छेजस्तो लाग्न थाल्यो। कुरा हुँदै गयो। कोही आफन्त भेटेको जस्तो हुन थाल्यो।
कुरै कुरामा एकदिन यतै आउ कलेज सारेर भन्यो। मलाई पनि टेक्सासको कोलाहलले डिप्रेसन नै होलाजस्तो भएको थियो। जाने निर्णय गरेँ।
बीच बीचमा लाग्यो कुरा सुनाउँदा उनी अरू हलुका हुँदै गइरहेकी थिइन्। खुल्दै पनि गइरहेकी थिइन्। एक पटक त आधा चुरोट फ्यात्त भुइँमा मिल्काएर खुट्टाले कुल्चिई। चुरोटलाई भुइँमा मिल्काएपछि खुट्टाले कुल्चिने गरिन्छ। कुल्चेको कुरा फेरि खान मन नलागोस् भनेर। अब के सपनाले फेरि चुरोट पिउँदिनन् त? थाहा छैन।
उनले चुरोट फालेको देख्दा साह्रै आनन्द आयो। बीचमा एक पटक मुस्कुराइन् पनि। ओहो! चुरोटले पहेंलो भएको दाँत मुस्कुराउँदा त कस्तो राम्रो देखिएको। मनमनै भनें ‘सपना तिमी मुस्कुराऊ, मुस्कुराउँदा तिमीलाई असाध्यै सुहाउँछ।’
‘हातमा दुइटा सुटकेस र हाते झोला बोकेर म निस्किएँ टेक्सासबाट कोलोराडोको लागि।’
उनको कथा फेरि सुरू भयो।
‘नेपालबाट आएको ४ महिनामात्रै भएको थियो। बाहिरी दुनियाँको विषयमा केही जानकारी थिएन। ट्रेन बस गर्दै टेक्सासबाट कोलोराडो जानुपर्ने थियो। आफूलाई केही थाहा थिएन। सोध्दै खोज्दै बल्ल बल्ल पुगेँ। थाकेर लखतरान भएको थिएँ। बसपार्क मै ऊ (रमेश) लिन आइपुग्यो। धेरैपछि आफ्नो मान्छे भेटेकोजस्तै लाग्यो। खुसी लाग्यो।
आधा घण्टापछि उसको अपार्टमेन्टमा पुगियो। पहिला दुई कोठाको अपार्टमेन्ट छ। सबैथोक छ भन्थ्यो। म पुग्दा त एक कोठा मात्रै। भित्र त केही पनि थिएन। एउटा बेड भुइँमा ओछ्याएकोबाहेक।
‘यही हो तिम्रो अपार्टमेन्ट?’ ऊ बोलेन।
‘तिमीले मलाई ढाँटेको?’ भन्दै केरकार गर्न थालेँ। ऊ त केही नबोलेर सरासर गएर ढोकाको चुकुल पो लगाएर आयो। के हुन लागेको हो भन्ने सोच्न नपाउँदै ऊ मलाई अंगालो हाल्न आइपुग्यो। मोबाइल हातमै थियो। पहिला त्यही खोस्यो। अनि गालामा ओठमा जहाँ मन लाग्यो त्यही किस गर्न सुरू गर्यो। मैले आफूले सकेको बल लगाएँ हटाउन खोजेँ तर उसको अगाडि मेरो केही लागेन।
‘तँलाई म माया गर्छु। त्यही भएर यहाँ बोलाएको’ भन्दै किस गर्न थाल्यो। लुगा खोल्न थाल्यो। सके खोल्ने नसके च्यात्ने....।’
उफ् मैले सुन्नै सकिनँ।
‘भो अरू कुरा नभन।’ मैले नै सपनालाई बीचैमा रोकेँ।
‘पछि के गर्यौ त?’ उनको कुरा स्किप गर्न अर्को प्रश्न गरेँ।
‘के गर्नु?’ सपना बोलिन्।
‘उसले बलात्कार गर्यो। प्रतिकार गर्दा त्यसो भए किन आइस् भन्दै उल्टै मैलाई तथानाम गाली गर्यो। एक स्थानबाट बिच्किएर हिँडेको मलाई अर्को स्थानमा पुग्दा मेरो सर्वस्व लुटियो। म रूँन थालेँ, चिच्याउन थालेँ।
बल्लो पल्लो कोठाको मान्छेले सुन्ला भनेर उसले धम्क्याउन थाल्यो। चक्कु देखाएर ‘अरू कराइस् भने मारिदिन्छु’ भन्यो।
डरले पसिना छुट्यो।
‘कतै बताइस् भने तँ आफैं आएकी होस्, मैले तँलाई घिसारेर ल्याएको होइन। तेरै गल्ती देखाउँछ यहाँ’ भन्न थाल्यो।
के सोचेर टेक्सासबाट निस्किएकी थिएँ। आफैंलाई धिक्कार्न थालेँ। चिथोर्न थालेँ। पागलजस्तै भएछु। उसले धम्क्यायो। उल्टै ‘तैंले मलाई यस्तो गरिस् भनेर पुलिसमा खबर गर्छु’ भन्यो।
पुलिसले लैजान्छ भनेपछि डर लाग्यो। ज्वरो नै आउलाजस्तो भयो। हल्ला भएर नेपालमा बुबाममीको कानमा यो कुरा पर्यो भने म होइन उहाँहरू जिउँदै मर्नुहुन्छ जस्तो लाग्यो। मनमा अनेक कुरा खेल्न थाल्यो। बौलाहजस्तै भएछु।
खाना खाने बेलामा पनि चक्कु देखाउँथ्यो। उसलाई बाहिर कतै जानुपर्यो भने बाहिरबाटै ढोका बन्द गरिदिन्थ्यो। यसरी तीन दिन त्यो नर्कमा बसे, रोइ-कराइ गरेर। बेला बेलामा मेरै गल्ती हो भन्ने लाग्थ्यो। त्यहाँबाट कसरी फुत्कने भन्ने मात्रै सोच्थें। उसको इच्छा पूरा नहुन्जेल मलाई लुटिरह्यो। चौथो दिनमा तँलाई मेरो माया पचेन अब साथीको घरमा लैजान्छु भन्दै जबरजस्ती मेरा सामानहरू उसको कारमा राखेर मलाई लिन आयो। मैले प्रतिकार गर्दा उसैगरी मारिदिन्छु भन्थ्यो।
गाडीमा बसेपछि उसले गाडी चलाउन थाल्यो। मैले ढोका खोल भन्दै ढोकामा हान्ने चिच्याउने गर्न थालेँ। वरपरकाले देखेर प्रहरीलाई फोन गर्लान् भन्ने डरले होला उसले मलाई नजिकै रोकेर बाटैमा ओरालेर भाग्यो। मैले फोन पहिल्यै उसबाट चोरेर लुकाएको थिएँ।
ओरालेको केहीछिनमै उसलाई फोन गरेर मैले गाडी नम्बर नोट गरेको छु मेरो सामान फिर्ता नदिए पुलिस बोलाइदिन्छु भनेँ। मेरो पासपोर्टहरू पनि उसैसँग थियो। मसँग गाडीको नम्बर त थिएन तै पनि डरले ऊ आइपुग्यो र मेरा सुटकेसहरू बाटोमै फालेर भाग्यो।
‘अनि प्रहरीमा किन फोन गरेनौ त? अमेरिकामा यस्तो काम गरे प्रहरीले अपराधीलाई कडा सजाय दिन्छ भन्ने थाहा थिएन?’ उनले अरू कुरा सुरू गर्नुअघि नै रोकेर सोधेँ। ‘थाहा थियो तर उसैले भनेको थियो नि मेरै गल्ती हो भनेर। मलाई पनि लागेको थियो त्यसरी मै आफैं उसकोमा जान नहुने थियो। मलाई नै दोषी देखाएर अरू झन्झट गराउँला भनेर प्रहरीमा फोन गरिनँ। फेरि मलाई त्यो स्थान कहाँ हो, के हो केही थाहा थिएन। एक्लै रूँन थालेछु। धेरै मानिसले नोटिस गरे। पछि एक होटलवालाले आएर के भयो भनेर सोध्यो। मैले साथी लिन आएन भनेर ढाँटिदिएँ। उसले उसकै होटलमा लिएर गयो र साथी नआएसम्म यहीँ बस भन्यो। साथी भए पो आउनु? फेरि मलाई कहाँ जाने के गर्ने केही थाहा थिएन।
त्यो स्थान छोड्न पाएहुन्थ्यो भन्ने लाग्यो। काठमाडौंमा घर भएको म यहाँ होमलेस भएको थिएँ। अब कहाँ जाऊँ ? तत्काल त्यो स्थान छोड्नु थियो। कलेजमै हुँदा सामान्य कुराकानी भएको अप्सरा थिई टेक्सासमै। उसैलाई म्यासेज गरे। म अलपत्र परेको सुन्दा ऊ चकित भई।
टेक्सासको मान्छे कोलोराडोमा कसरी पुगिस्? के भन्छे भनेर विश्वासै गरिन। भेटेरै कुरा गरौंला, केही दिन तेरोमा बस्न दे न भनेँ। मेरो एकमात्र आस ऊ थिई।
उसले हुन्छ आइज भनि। उसको बिहे भइसकेको थियो। श्रीमान श्रीमतीसँगै बस्थे। निकै अप्ठ्यारो मान्दै कोलोराडोबाटै टेक्सास जान ट्याक्सी अर्डर गरेँ। धन्न ट्याक्सीलाई तिर्न पुग्नेसम्म पैसा अकाउन्टमा रहेछ। त्यसपछि अप्सरालाई भेटेर सबैकुरा बताएँ। उसले पनि गाली गरी। केटा मान्छे भएको स्थानमा बुझ्दै नबुझी किन गइस् एक्लै भनि। उसले पनि प्रहरी केस गर्न सुझाव दिई तर मलाई आँटै आएन।’
‘तिम्रो कहानी त फिल्मको कथाजस्तो छ। यस्तो पनि हुन्छ र अमेरिकामा! मलाई विश्वासै लागेन। सपनालाई फेरि सोधेँ।
‘किन हुँदैन?’ उनले उल्टै प्रतिप्रश्न गरिन्।
यही टेक्सासमा नेपालीले नेपाली विद्यार्थी केटी देखेपछि गिद्धले सिनो भेटेकोजस्तै गर्छन्। विद्यार्थी भनेपछि डराउँछन् भन्ने लाग्दोरहेछ यहाँ बस्ने र व्यवसाय गर्नेहरूलाई। रोजगारी दिने बहानामा पनि दुर्व्यवहार भएको सुनेको छु मैले। यहीँ अर्विग ड्यालसमा कति धेरै नेपाली केटीहरूले यस्तो दुव्यवहार भोगेको सुनेको छु। परिवारका इज्जत र अपराधीले दिने धम्कीको कारण कोही बोल्दैनन्। कोही अपराधी त केटीको गल्ती देखाउने उपाय अपनाउँछन्। प्रेमको नाटक गर्छन् अनि बलात्कार गरेर छोड्छन्। तपाईंले खोज्नुभयो भने मेरो भन्दा खराब घटना यही टेक्सासमा देख्नु हुनेछ।’
उनको कुरा सुनेर मलाई अचम्म लाग्यो। अमेरिका त कानुनको देश। यहाँ पनि यसरी एक नेपालीले अर्का नेपालीलाई दुर्व्यवहार गर्दा रहेछन्। सोच्नै नसकिने। नेपालबाट परको देशमा सुन्दर सपना देख्न आएका कति विद्यार्थीहरू यस्ता पीडामा होलान्? के उनीहरूका अभिभावकले यस्ता विषयमा सोचेका होलान्। प्रश्न उब्जियो। अब उत्तर कहाँबाट पाउनु?