२०७१ साल वैशाख अन्तिम तिरको कुरा हो। अमेरिकाले वार्षिक रुपमा खोल्दै आएको डिभी चिट्ठा २०१५ को नतिजा सार्वजनिक गरेको थियो। डिभी त प्रत्येक वर्ष भर्दै आएकै हो। चित्त बुझाउनको लागि नतिजा हेर्यो छोड्यो, पर्ने भए पो।
डिभीको नतिजा आएको भन्ने थाहा थियो तर त्यति जाँगर लगाएर, उत्साहित भएर हेरेको थिइनँ। फुर्सदमा हेरौँला नि भन्ने मनमा लागेकै थियो। चिट्ठा भए पनि भरेपछि केही आस त हुने नै रहेछ, तर धेरै पटक पनि नपरेपछि त्यो आशाको मूल्य पनि कम हुँदै गइरहेको थियो।
२०१५ मा त्यस्तो भएन। नतिजा खुलेको केही दिन भइसकेको थियो। थापाथली अफिसमा सम्झिएको बेलामा अनलाइनबाट नतिजा जाँच गरेँ। मेरो नामको पछाडि तपाईंलाई बधाई छ, तपाईंलाई अरु प्रक्रियाको लागि छनौट गरिएको छ भनेर सूचना पो राखेको रहेछ।
ओहो! मलाई त डिभी परेछ। विदेशको नाममा भारतसम्म नपुगेको मलाई त डिभी पो परेछ। खुसीको सीमा नै रहेन। हामीजस्तो आर्थिक अवस्था र पढाइ पनि ठिकै भएको व्यक्तिलाई अमेरिका जाने भनेको सपना नै थियो। तत्काल श्रीमतीजीलाई फोन गरेँ। साथीभाइहरूलाई पनि सुनाएँ। बधाईको ओइरो लाग्यो।
एक कान दुई कान मैदान हुँदै छरछिमेकमा हल्ला चलि नै हाल्यो। गाउँमा हामी मध्यम वर्गीय परिवारको सदस्य भएकोले होला अब फलानाको छोरो पनि अमेरिका जाने भयो रे भनेर गाउँभरि हल्ला चल्यो। पैसा खर्च गरेर जाने शक्ति र क्षमता थिएन। त्यसैले हाम्रो लागि अमेरिका जाने भनेको आकाशको फल नै थियो तर जाने भैयो रे, डिभी परेर।
गाउँभरि हल्ला चल्यो। कतिले बधाई दिए, कतिले कसरी जान्छ त्यो भन्दै पत्याउँदै पत्याएनन्। यो विषयले यति धेरै चर्चा भएको देख्दा हल्ला नगरेको भए हुने रैछ भन्ने लागिरह्यो।
दसैँतिहारसँगै डिभी चिट्ठाको फाराम खुलेको थियो। दसैँ-तिहार मनाएर फर्किएपछि डिभी भरौँला भन्दाभन्दै समय बितिसकेको थियो। डिभी भर्ने अन्तिम दिन झल्यास्स सम्झिएँ, आज त अन्तिम दिन पो हो त।
अघिल्ला वर्षहरूमा एक्लै डिभी भर्ने गरेको थिएँ, यो वर्ष त श्रीमतीलाई पनि समावेश गर्नु थियो। यो वर्ष मात्रै बिहे भएको थियो, प्रेम विवाह। झिसमिसेमै श्रीमतीजीलाई उठाएर अफिसको क्यामेराले फोटो खिचेर आफैले कार्यालयमा आएर डिभी भरेँ। कन्सल्टेन्सीमा भरे मात्रै डिभी पर्छ भन्ने धेरै हल्ला हुन्थ्यो त्यो बेलामा तर कन्सल्टेन्सी पुग्न न समय बचेको थियो न जाँगर नै।
सुरुसुरुमा खुब रहरले उतै गएर भरिन्थ्यो तर पछि जति भर्दा पनि नपरेपछि त्यो रहरै थिएन। आफैले अन्तिम दिन भरेको थिएँ। आफैले भरेको डिभी पनि पर्दो रहेछ, म दंग भएँ। मभन्दा धेरै दंग त श्रीमती भएकी थिइन्। पत्रकारको जागिर, समयमा तलब नआउने, कमाइको दोस्रो श्रोत केही थिएन। हाम्रो जीवनमा सबैभन्दा धेरै अत्यास श्रीमतीजीलाई नै लागेको थियो।
डिभी त पर्यो अब के गर्ने? बागबजारमा चिनेकै एउटा कन्सल्टेन्सीमा गइयो। डिभीको केस नम्बर भन्ने हुँदो रहेछ। त्यहाँको दाइले हेरेपछि भन्नुभयो, 'तपाईंहरूको नम्बर सबैभन्दा अन्तिमतिर रहेछ। दोस्रो चिठी आउने सम्भावना २० प्रतिशत पनि छैन। यतिको केस नम्बर हुनेको दोस्रो प्रक्रियाको लागि पत्र आएको उदाहरण कमै छ।'
ला, ओठमुख सबै सुक्यो। डिभी परेर पनि अमेरिका जान नपाइने भयो। हामी त कस्तो अभागी पो रहेछौँ। सबैतिर हल्ला भैसकेको थियो, अफिसमा पनि भनिसकिएको थियो, बर्बादै भयो। अब दोस्रो प्रक्रिया अगाडि बढेन र अमेरिका जान पाइएन भने त बेइज्जतै हुने भयो।
हामी बुढाबुढीकै अनुहार सुक्यो। कालो निलो अनुहार लगाएर त्यही दाइको सल्लाहअनुसार दोस्रो प्रक्रियाको लागि फारम चाहिँ भरियो र चुपचाप दैनिक काममा लागियो। बाटोमा चिनेको र भेटेकोले सबैले अमेरिका कहिले जाने भनेर सोधिरहन्थे। आफूलाई भने आस मरिसकेको थियो। अब उनीहरूलाई के भन्नु?
एक महिना, दुई महिना गर्दै समय बित्दै गयो। हाम्रो निराशा बढ्दै गयो। हुँदाहुँदै वर्षै बित्यो, अरु प्रक्रिया सुरु भएन। अमेरिका जाने आस मर्यो।
२०७२ सालको वर्षातको मौसम सुरु भयो। भूकम्पको कारण देश तहसनहस भइसकेको थियो। मुख्य विनाशकारी भूकम्प गएको २/३ महिना भइसकेको थियो तर धेरै नेपालीको बस्नेखाने टुंगो थिएन। हामी आफैको पनि भूकम्पको कारण घर भत्किएको थियो। देशैभर आएको वित्यासको कारण घरभन्दा धेरै मन भत्किएको थियो।
भूकम्प र त्यसपछिको पराकम्पन अनि बाढी पहिरोको कारण देश अहिलेको युक्रेनजस्तै तहसनहस भइसकेको थियो। भूकम्पको कारण देशको अर्थतन्त्र र जनताको सकस बढिरहेकै थियो। भूकम्प लगत्तैको वर्षातको कारण धेरै नेपालीले खुला आकाशमा दिन बिताइरहेका थिए।
आफैलाई अत्यास लागेको थियो। पत्रकारिता र रोटरी इन्टरनेशनलमार्फत देशैभरका गतिविधिहरूको दैनिक जानकारी आइरहेकै हुन्थ्यो। कतै बाढीपहिरो त कतै भूकम्पका पराकम्पनहरूले जिन्दगीलाई लयमा फर्काउनै सकेको थिएन। ओहो, कस्तो विजोग! पश्चिममा बाढी, पूर्वमा पहिरो।
यदि भगवान हुन्छन् भने दया गरेर नेपालीलाई अब दुःख नदेऊ भन्दै धेरै ठाउँमा भाकल र पूजा हुन्थ्यो, तर ढुंगा बनिसकेका भगवानले के सुन्थे र? भूकम्पको कारण सबैभन्दा धेरै मध्य नेपाल पिल्सिएको थियो, त्यसपछिको बाढी पहिरोको कारण सिन्धुपाल्चोक नराम्रोसँग प्रभावित भयो। धादिङमा जन्मघर, काठमाडौँ कर्मघर। भूकम्पले सबैभन्दा धेरै असर र अनुभव हामीलाई दिएको थियो। हामी कार्यालयमा बसेर दिनदिनै दुःखद् समाचार बनाउँदै र पढ्दै गइरहेका थियौँ।
२०७२ को भूकम्पको कारण भन्दै अमेरिकाले अमेरिकामै गैरकानुनी रुपमा रहेका नेपालीलाई दिने अस्थायी बसोबासको सुविधा (टिपिएस)लाई थप गर्ने निर्णय गरेछ। यता रोकिसकेको डिभीको प्रक्रियालाई पनि निरन्तरता दिने निर्णय भएछ। भूकम्पकै कारण हाम्रो मरिसकेको आस फेरि पलायो।
एक हिसाबमा फेरि डिभी परेको जस्तै अनुभव भयो। अमेरिका जान पाउने भयौँ, फेरि आस पलायो। नभन्दै दोस्रो पत्र पनि आयो, बाँकी प्रक्रिया अगाडि बढाइयो। दूतावासले मागेको कागजपत्र र सबै सामाग्री र पैसा अनलाइनबाट बुझाइयो। अब भने हामी अमेरिका जान पाउने भयौँ। मनमा निकै आनन्द आयो।
देशको अवस्था खराब भएपछि हामी अरु आम नेपालीजस्तै बेचैन भएका थियौँ। एक हिसाबले हामीले भने यो दुःखबाट मुक्ति पाउने भयौँ भन्ने लागिरह्यो। थाहा पाउनेहरूले पनि तपाईंहरू त भाग्यमानी हुनुहुँदो रहेछ भनेर बधाई दिइरहनु भयो। फेरि बधाई पाइयो। एउटै डिभीको लागि दुई पटक बधाई थापियो। दोस्रो पटक भाग्यमानी भएको अनुभव भयो।
२०७२ असारमा महाराजगंजमा रहेको अमेरिकी दूतावासमा अन्तरवार्ताको लागि समय निर्धारण भयो। हातभरि कागजपत्रको फाइल बोकेर हामी बुढाबुढी दूतावासतिर लाग्यौँ। हामीभन्दा अगाडि अरु केही डिभी परेको जोडीहरू थिए। उहाँहरूलाई के सोधियो भनेर खोजीनीति गरिरह्यौँ।
केहीले के सोधेको केहीले के भनिरहनु भयो। कतिले अंग्रेजीमा सोधेको भन्नुभयो। ओहो! हो त, अमेरिकामा त अंग्रेजी पो हुन्छ त। यो विषयमा त ख्यालै पो गरिएको थिएन। ओठमुख सबै सुक्यो। अंग्रेजीमा अहिलेसम्म कुनै दोहोरो बात नगरेको हामीले अंग्रेजीमा अन्तरवार्ता दिनु थियो।
मन त्यसै फुलेको थियो। त्यहाँमाथि के-के सोध्ने हो? डरले एउटै मान्छे दुई वटा देख्ने भयौँ। मभन्दा धेरै श्रीमती डराइन्। हामी अगाडि धेरै विद्यार्थीहरूको पनि अन्तर्वार्ता लिइएको थियो तर विद्यार्थीहरूलाई भिसा दिनेभन्दा फर्काउने धेरै गरिएको थियो। कसैको कागज नपुगेको वा अन्य कुनै कारण देखाएर।
भिसा पाउनेहरू भने खुसी हुँदै निस्किइरहेका थिए। हाम्रो पालो आयो। सीसाको झ्याल भित्रको मान्छे त कहाँ हो कहाँ। सानो देखिएको थियो। प्रष्ट चिन्न पनि नसकिने। आवाज भने प्रष्ट सुनिने। अचम्म लाग्यो। दूतावासमा त अंग्रेजीमा अन्तरवार्ता लिन्छन् भन्थे तर हामीलाई त नेपाली मै सोधियो।
नेपालीमा कुरा सुन्ने वित्तिकै आधा डर त्यसै भागिगयो। सोधेको कुरा सबै खुरुरु भनियो। सामान्य जीवनको बाहेक खासै केही सोधिएन। कागजपत्र भने निकै धेरै बेर लगाएर हेरियो। अमेरिकामा कहाँ जाने अनि को हुनुहुन्छ भनेर सोधियो। हामीले वासिङटन डिसीको बाल्टिमोर अनि दिदीहरू हुनुहुन्छ भनिदियौँ।
अन्तरवार्ता लिने महिला मुसुक्क हाँसिन् अनि उताबाट हामीलाई आफ्नो मान्छेले पठाएको पत्र हेरिन्। अन्तिममा हामीलाई एउटा कागजको टुक्रो दिइन्। पछि पो थाहा भयो, बाल्टिमोर त वासिङटन डिसी होइन मेरिल्याण्डमा पर्ने रहेछ। कागज दिएर ती महिलाले पासपोर्ट नेपाल इन्भेष्टमेन्ट बैँकबाट लिनु भनिन्।
कागजमा 'बधाई छ तपाईंको भिसा स्वीकृत गरिएको छ' भन्ने लेखिएको थियो। हामी पास भएछौँ। अमेरिकाको भिसा लागेछ। करिब एक वर्ष चार महिनादेखिको सन्त्रासको अन्त्य भयो। अब हामी अमेरिका जाने भयौँ।
२०७२ भदौं २१ गते साँझ १०:१५ बजे अमेरिका जाने तय भयो। भूकम्पको कारण निकै सास्ती खेपिएको थियो। भूकम्पको आलो घाउ निको नहुँदै देशमा संविधानको विषयलाई लिएर बन्द र संकट सुरु भएको थियो। पछि त भारतले नाकाबन्दी पनि लगाइदियो। देशको अवस्था ओरालो लागेको सिंहलाई मृगले पनि खेद्छ भनेकोजस्तै भएको थियो।
माइतमा रहेकी श्रीमती बन्दको कारण उतै थुनिइन्। हामीलाई अमेरिका जाने तयारी गर्नु थियो। श्रीमती धरानमा, म काठमाडौँ। अमेरिका जाने दिन नजिकिँदा पनि श्रीमतीलाई काठमाडौँ ल्याउने उपाय देखिएन। अब के गर्ने? सबैतिरबाट संकट सुरु भयो। सडकमार्गमा भएको सास्तीको कारण विमानको टिकट पाउन पनि मुस्किल थियो।
मधेशी दलहरूले आन्दोलन गरेका थिए। बाटो बन्द थियो तर काठमाडौं खुल्ला थियो। खुल्ला भएर के गर्नु दानापानी आउने बाटो नै बन्द भएपछि। खाना पकाउने ग्यास र इन्धनको संकट थियो। खाने सामाग्री पनि सकिँदै गयो। बल्ल बुद्ध एयरको टिकट पाइयो, त्यो पनि पहुँच लगाएर। अब भने श्रीमान-श्रीमती एकै स्थानमा भयौँ। अमेरिका जान पाउने भन्दा बढी खुसी श्रीमती साथमा भएपछि लाग्यो।
भदौ २१ गते अनेकौँ सन्त्रासबीच हामीले देश छोड्ने बेला भयो। देश छोड्ने बेलामा त देशको माया पो लाग्दो रहेछ। पहिला विरक्त लागेको देशको त अचम्मसँग माया पो लाग्यो। आफ्ना आफन्तजस्तै नचाहँदा नचाहँदै पनि देश छोड्नुपर्ने भन्ने विषयले सतायो। सायद हामीलाई जस्तै सबै नेपालीलाई देश छोड्दा यस्तै हुन्छ होला।
अब भोलिदेखि कहाँबाट देख्नु यो काठमाडौँ अनि यो सहर? अब कसलाई गर्नु गुनासो? सहर थियो, सहरमा हामी थियौँ र पो यो भएन त्यो भएन भनेर गुनासो गर्न पाइएको थियो। सहरमा हामी नै नभएपछि कसलाई गर्नु गुनासो? हिजोसम्म बिरानो लागेको काठमाडौँको आज माया पो लाग्यो।
जे भए पनि १२ वर्ष यही काठमाडौँले आश्रय दिएको थियो। कुना-कुना आफ्नो लाग्थ्यो। जति-जति जहाज चढ्ने बेला हुन्छ त्यति-त्यति देश आफ्नो लाग्दै गयो। आफ्नै आमाको काख छोडेर पराई घर जान लागेकी चेलीजस्तै।
एक पटक विमानस्थलबाट आँखाले भ्याएसम्म सबैतिर हेरेँ। रातमा पनि उज्यालो आकाश सबै आफ्नै जस्तो लाग्यो। गला नै अवरुद्ध भयो। अब म एक श्रीमतीलाई लिएर बिरानो देश जाँदैछु, अर्को अनिश्चित भविष्यको सुरुआत गर्न भन्ने लागिरह्यो।
हेर्दाहेर्दै विमानस्थलबाट भित्र गइयो। अब त हामीलाई पुर्याउन आउनु हुने आफन्तजन पनि आँखाबाट हराइसक्नु भएको थियो। एक-एक गर्दै नेपाल र नेपाली छुट्दै गइरहनु भएको थियो। विमानस्थलमा रुखो बोल्ने सुरक्षागार्ड र कर्मचारीहरू पनि प्यारो लाग्यो। भोलि त म यिनीहरूलाई देख्दिनँ भन्ने भावना पैदा भयो।
रिस फिटिक्कै उठेन। अचम्म लाग्यो। मभित्र पनि यस्तो कमलो भावना रहेछ भनेर। नेपाल छोड्ने प्रत्येक नेपालीमा त्यो भावना हुन्छ र दाबीको साथ भन्न सक्छु, देशको माया देशमा हुनेभन्दा विदेशमा हुने नेपालीलाई बढी लाग्छ। त्यो मेरो आफ्नै अनुभव हो।
विमान चढियो। हेर्दाहेर्दै विमानले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको धर्ती छोड्यो। विमानले विमानस्थलको धर्ती छोड्यो, हामीले नेपालको। विमान त भोलि फर्किएर सोही स्थानमा आइपुग्थ्यो तर हाम्रो कुनै टुंगो थिएन। विमानले नेपालबाट उडान भर्दै गर्दा हामी दुवै जना रोयौँ। श्रीमती आफन्त सम्झिएर, म आफन्त र देश सम्झिएर। आफूलाई आपत पर्दा ओत दिने काठमाडौँ सहर सम्झिएर।
यसरी सन् २०१५ को सेक्टेम्बर ८ गते बिहान ८ बजेतिर हामी चढेको विमानले अमेरिका प्रवेश गरेको संकेत गर्यो। झ्यालबाट बाहिर हेरेँ। भर्खर उज्यालो भएर घाम लागेको थियो। विमानबाट बाहिर हेरेको त जंगल र खेतीपाती गरेको बारीहरू मात्रै देखियो। घरहरू त फिटिक्कै छैन।
सबै खेती गरेको मिलेको बारीका पाटाहरू र जंगल मात्रै देखिन्छ। हामीले नेपालमा हुँदा सुनेका थियौँ, अमेरिकाले बाहिरबाट मानिस ल्याएर नयाँ वस्ती बसाउँछ रे। जंगलमा लगेर राख्छ अरे। नेपालमा रहेका नेपाली भाषी भुटानीहरूलाई पनि त्यसैगरी लगेको अरे।
मनमा लाग्यो ओहो! हो कि क्या हो। हामीलाई त जंगलमा पो राख्न ल्याएका रहेछन् क्यारे। जंगलमा बसेर खेतीपाती पो गर्नुपर्ने भयो। मन फेरि अमिलो भयो। फोटोमा देखिएको अमेरिका र विमानबाट देखिएको अमेरिका त विल्कुलै फरक छ। फोटोमा ठूला-ठूला महलहरू, भवनहरू देखिन्थ्यो। यहाँबाट त जंगल र बारी मात्रै देखिन्छ।
लौ के हुन लागेको हो? श्रीमती पनि निरास थिइन। होइन, अब के गर्नुपर्ने हो? नेपालको एउटा दुःखबाट हिँडेको हामी त अर्को दुःखमा पो आइयो जस्तो छ। खेती गर्नै परे कसरी गर्ने तनाब भयो। विमान अवतरण गर्न २० मिनेट बाँकी हुँदासम्म पनि ठूलो सहर र भवनहरू देखएन। लाग्यो पक्का जंगलमै वस्ती बसाउन बोलाएका हुन् हामीलाई।
विमान अवतरण गर्ने बेलामा केही नजिकबाट भने केही ठूला भवन र सहर देखियो। मनमा लाग्यो सहर पनि रहेछ।
विहान करिब ९ बजेतिर हामी अमेरिकाको राजधानी वासिङटन डिसी नजिकै रहेको डलास अन्तर्राष्टिय विमानस्थलमा ओर्लियौँ। दुई वटा सुटकेस र एक पोको सपना बोकेर। विमानबाट झरेर सबै आ-आफ्नो बाटो लाग्दै थिए। धेरैजसो लाइनमै नबसी मेसिनमा पासपोर्ट देखाएर झोला बोकेर निस्किए। ओहो! यहाँ त चेकजाँचै नहुने रहेछ।
दुई फरक-फरक लाइन देखेर हामी अलमलियौँ। माथि हेर्यौं, त्यहाँ अमेरिकन नागरिक र पाहुनाको लागि छुट्टै लाइनको व्यवस्था थियो। हामी त नागरिक होइनौँ, पाहुनाको लाइनमा बस्यौँ। लाइन लामो थियो, हाम्रो पालो आयो। पासपोर्ट र टिकट अनि अरु हातमा भएको सबै फाईल एकै पटक काउन्टरमा रहेका कर्मचारीलाई दियौँ।
उनले पनि चाहिएको डकुमेन्ट हेर्दै निकाल्दै गर्न थाले। निकै समय लाग्यो। औँठाछाप पनि लिइयो। पासपोर्टमा ड्याप्प छाप लगाइदिए। ढुक्क भइयो। हामी अमेरिका प्रवेश गर्यौं। अब जे हुन्छ यही हुन्छ। एक सन्तानले अविभावकलाई पछ्याएजस्तै हामी पनि हामीभन्दा अगाडि रहेका व्यक्तिहरू पछ्याउँदै बाहिर आयौँ।
उनीहरूले जे गर्छन त्यहीँ त्यहीँ गर्दै। गेट बाहिर मुटु कमाउने चिसो थियो। हामीलाई लिन आउनुपर्ने दिदीहरूलाई देखिएन। डर लाग्यो अब के गर्ने, फोन पनि छैन लिन आउनुपर्ने मान्छे पनि। अँध्यारो मुख लगाउँदै अलमलियौँ। हाम्रो डर र अलमललाई देखेर होला एक गोरा 'यू निड हेल्प' भन्दै आयो।
हामीले पनि कल गर्न फोन देऊ भन्यौँ। उसले गोजीबाट निकालेर फोन दियो। दिदीलाई फोन गरियो, उताबाट हामी आउँदैछौँ भन्नुभयो, ढुक्क भइयो। गोरा पनि फोन लिएर आफ्नो बाटो लाग्यो, हामीले धन्यवाद भन्यौँ। अब डर हरायो। दिदीहरू आइपुग्नु भयो। जंगलमा हराएको बचेराले माउ भेटेको जस्तै खुसी भइयो।
ओहो! कति राम्रा बाटोहरू। गाडीहरू पनि के साह्रो बत्तिएका। डरै लाग्नेगरी। बिहान विमानबाट नदेखिएको ठूला भवनहरू त अहिले पो देखियो। फोटो खिच्नेले पनि जमिनबाटै पो खिचेका हुन् त, हामीले जमिनबाट खोज्ने कुराहरू पो विमानबाट खोजेका रहेछौँ। मनमनै लाज लाग्यो।
आउँदा बाटोमा गाई पालेको, घोडा पालेको पनि देखियो। अमेरिकामा पनि गाई पाल्दा रहेछन्, अचम्म लाग्यो। सफा सडक, सडकभरि गाडीहरू भए पनि धुवाँधुलो फिटिक्कै थिएन। नेपालमा जस्तो हर्न बजाएर कानै खाने वातावरण पनि थिएन। सबै आफ्नै सुरमा हुत्तिएका, शान्तसँग।
सडकमा ट्राफिक प्रहरीहरू पनि देखिएन। नेपालमा जस्तो सिठी फुक्दै ट्राफिक बसेको नदेखिए पनि गाडीहरू व्यवस्थित रुपमा हिँडिरहेका थिए। कतै पनि बाटो मिच्ने र पालो मिच्ने गरेको देखिएन। चोकमा रातो र हरियो बत्ती बलेको थियो। रातोतर्फ रोकिएका, हरियो तर्फका गइरहेका।
सडकमा सुरक्षाकर्मीको नाममुखै देखिँदैन तर पनि कस्तो व्यस्थित भएको! हिजो मात्रै छोडेको काठमाडौँ सहरको याद आयो। त्यहाँ त ठेलाठेल हुन्थ्यो। हर्नले कानै छेड्लाजस्तो हुन्थ्यो। यहाँ त सबै शान्त सबै सुन्दर। सबै सहर एक बगैँचाजस्तो लाग्ने।
सडकको छेउछाउसम्मको घाँस काटेका, मुख्य सहरमा ठूला-ठूला भवनहरू भए पनि पर-परका घरहरू भने साना-साना थिए, सलाईका बट्टाजस्ता। साह्रै रमाइलो लाग्यो। आहा! स्वर्ग पनि यस्तै हुन्छ होला। हामीले त जिउँदै स्वर्ग देख्यौँ। भाग्यमानी रहेछौँ। रमाइला ठाउँहरू घुम्न र हेर्न साह्रै रमाइलो।
सहर पनि कति सफा, टेक्दा पनि माटो लाग्ला जस्तो। जताततै झिलिमिली। विकास पनि कसरी गरेका? अचम्म लाग्यो। यस्तो पनि विकास हुँदोरहेछ। सहरमा यतिको व्यवस्थापन नेपालमा त कल्पनाभन्दा बाहिरको कुरा जस्तो लाग्छ। बत्ती पानी ढलको व्यवस्थापन गर्नै नेपालमा मुस्किल थियो, यहाँ त २४ सै घण्टा झिलिमिली।
अमेरिका आएको एक दिन, दुई दिन गर्दै समय बित्दै गयो। घुम्दा त रमाइलो तर अब हामीलाई खोज्नु थियो नोकरी र आफ्नै अर्पाटमेन्ट। हाम्रो जीवन सुरु गर्न पैसा कमाउन आवश्यक थियो। उता नेपालबाट पनि यता आउँदा लागेको ऋणको किस्ता तिर्न ताकेता आउन थाल्यो। काम नगरी सुखै थिएन। तर काम पो के गर्नु?
नेपालमा पत्रकारिता गरेको। पछाडि जे-जे भने गरे पनि अगाडि सबैले मान गर्थे। एउटा छुट्टै सान थियो। कामको नाममा १० वर्षदेखि गरेको पत्रकारिता नै आफ्नो पहिचान थियो। अब त्यो पहिचानको यहाँ के काम? एकदिन, दुई दिन गर्दै काम खोजियो। भनेजस्तो काम कतै पाए पो। अनि लाग्यो नेपालमै अरु काम पनि गर्न र सिक्न पाएको भए यहाँ सजिलो हुने रहेछ।
एउटा मात्रै काम र सीपले त जीन्दगी डोर्याउन मुस्किल पो पर्ने रहेछ। एकदिन दुई दिन गर्दै काम खोजियो, भनेजस्तो काम नै पाइएन। सबै मुस्किल लाग्ने। मनै नलाग्ने। कतै स्टोरमा, कतै ग्यास स्टेशन (पेट्रोल पम्प)मा। ग्यासमा त रातिको काम रे, त्यो पनि पूरै रात कटाउनु पर्ने। लौ बर्बाद! अब कसरी पो पर्ने होला?
मलाई र श्रीमतीलाई सँगसँगै काम खोज्न थालियो। श्रीमतीलाई एउटा कफी-शपमा काम मिल्यो। बिहानै जानुपर्ने। अलिअलि राहत त भयो तर म पो के गर्ने? न कुनै सीप छ न त जस्तो पायो त्यस्तै काम गर्ने क्षमता नै। धर्म संकटमा परियो। लाग्यो यहाँ त सीप र क्षमता नभए त हातमुख जोड्नै गाह्रो पो हुने रहेछ।
काम जाने राम्रो पैसा पनि आउने, नजाने साधारण रुपमा न्यूनतम ज्यालादारीमा काम गर्नुपर्ने। खिन्न लाग्यो। नेपालमा केही नभए पनि पत्रकारिता गरेको दम्भ थियो। यहाँ त अब बिल्कुलै शून्यबाट सुरु गर्नुपर्ने भयो। यतिका समय गरेको काम र अनुभवको केही काम लाग्ने देखिएन।
आफूसँग टन्न पैसा र अंग्रेजीको राम्रो ज्ञान भएको भए यहाँ पनि पत्रकारिता क्षेत्रमै लाग्न सकिन्थ्यो होला तर यो सम्भावना तत्कालको लागि देखिएन। तत्काल त पैसा चाहिएको थियो, यहाँ सेटल हुनको लागि। काम खोज्दा २४ सै घण्टा खुल्ने स्टोरहरूमा रातिको काम त सजिलै पाइने रहेछ तर श्रीमतीले दिउँसो काम गर्ने अनि श्रीमानले रातिमा, यो हिसाबले त श्रीमान श्रीमतीको भेट हुने सम्भावना कम देखियो। जे गर्दा पनि काम गरेर खान सक्ने अवस्था देखिएन। दिक्क लाग्यो।
अमेरिका आएको करिब ३ महिनापछि बल्लबल्ल एउटा स्टोरमा काममा लागियो। मन नलागी नलागी काम सुरु गर्नुपर्ने अवस्था थियो। काम १२ घण्टा गर्नुपर्ने, बीचमा ३० मिनेट जतिको खाजा खाने समय बाहेक बाँकी समय उभिएरै काम गर्नुपर्ने। स्टोर व्यस्त नभए पनि बस्न नपाइने। उभिइरहनु पर्ने।
जीवनमा कहिल्यै नभोगेको पीडा भयो। बेकारमा अमेरिका आइएछ जस्तो लाग्यो। नेपालमा केही नभए पनि समाज थियो, साथीभाइ थिए। यहाँ त एक दिनको १२ घण्टा अरुलाई बेच्नुपर्ने भयो, बाँकी रहेको १२ घण्टामा सुत्ने र आफ्नो लागि समय छुट्याउनु पर्ने भयो।
हप्ताको ६ दिन काम, एक दिन आराम गर्दैमा बित्ने थियो। यो पूर्ण रुपमा एक किसिमको जेल जीवन नै थियो। त्यसरी गरेको कामबाट मुस्किलले दिनको ११० डलर आउँथ्यो, नेपालको लागि धेरै देखिए पनि यति पैसाले यहाँ खाने बस्ने गर्न पनि पुग्दैनथ्यो। श्रीमतीको कमाई थप गर्दा पनि खासै पुग्दैनथ्यो।
नेपालको ऋण, यहाँको अर्पाटमेन्टको भाडा अनि बत्ती पानीको पैसा तिर्दा गोजीमा एक रुपैयाँ रहँदैन थियो। श्रीमतीजीको कामको नजिकै अर्पाटमेन्ट भेटिएको थियो। त्यही पनि निकै समय लगाएर। उनलाई काममा जानको लागि सवारीको आवश्यता थिएन, मलाई भने करिब २५ मिनेट हिँडेर जानुपर्ने थियो काममा। नेपालमा २५ मिनेट हिँड्नु सामान्य भए पनि यहाँको चिसोमा यो पूरै असामान्य थियो।
विस्तारै जाडो बढिरहेको थियो। पछि त हिउँ नै पर्न थाल्यो। हिउँमा जति लुगा लगाए पनि नाक र मुख त देखाउनै पर्ने। घरबाट काममा पुग्ने बेलासम्म त नाक नै फ्यात्त बाटोमा कतै खसिसकेको जस्तो हुन्थ्यो। चिसो माइनस ४० सम्म पुग्दा दुई मिनेट बाहिर उभिन सक्ने अवस्था हुँदैन, मलाई त करिब आधा घण्टा हिँडेर जानु थियो।
यो अवस्था कैदीलाई तानासाहले दिने कठोर सजायजस्तै थियो। मनमनै सोच्थे, कहाँ गयो नेपालको सान अनि मान? नेपालमा एउटा लयमा लागेको जिन्दगीलाई यो अवस्थामा ल्याउने विकल्प म आफैले रोजेको थिएँ र अहिले आफैलाई पछुतो भइरहेको थियो।
खासमा यस्तो काम र यस्तो परिश्रम गर्ने हो भने त नेपालमै प्रशस्तै केही गर्न सकिन्थ्यो। हामीले नेपालमा यस्तो काम गर्ने सोच्दा पनि लाजले शीर निहुँर्याउने गर्थ्यौँ। यहाँ त काम नगरे मुखमा माड लाग्दैन अनि जस्तो काम पाए पनि गर्नै पर्ने। काममा सुरु-सुरुमा त सिकाउनेहरू भए, खासै गाह्रो भएन। आफूलाई केही काम गर्न नआउने, दिनभरि छेउमा उभिएर अरुले गरेको काम हेर्यो, फर्कियो।
काममा आएको एक महिना भएपछि भने अझै गाह्रो हुन थाल्यो। भारतीय मूलका म्यानेजर थियो जोसेफ। यतिका समयसम्म काम जानेको छैन भन्दै गाली गर्न थाल्यो। यसको अब काम छैन, कामबाट निकालिदिने भन्ने सम्मको चेतावनी दिन्थ्यो। ला अब यही काम पनि गर्न नपाए के गर्ने चिन्ता भयो।
काम ग्राहकलाई खानेकुरा बनाएर दिनुपर्ने थियो। उनीहरूले बोलेको फिटिक्कै नबुझ्ने। मैले बोलेको उनीहरू नबुझ्ने, उनीहरूले बोलेको आफूले। अंग्रेजीको उल्था पनि कस्तो हो कस्तो। नेपालमा सेड्युल बनेर पढेको यहाँ 'स्क्याजुअल' रे! नेपालमा पेट्रोल भनिन्थ्यो यहाँ त 'ग्यास' रे। आलुचिप्सलाई 'फ्राइज' अरे। उच्चारण पनि नमिल्ने।
कोही 'वाटर' भन्छन् कोही 'ओटर' भन्छन्। अब मैले कसरी बुझ्नु? दोहोर्याएर बोल्नु पर्यो भने कोही झर्किन्थे, कोही फर्किन्थे। सयमा एक/दुई जना मात्रै म नयाँ हो भन्दा सहज हुन्थे बाँकी भने साह्रै असहजिला। मैले पहिलो पटक थियो विदेशीसँग यसरी नजिकबाट देख्ने र चिन्ने मौका पाएको।
स्टोरमा आएका कसैको अनुहारमा पनि खुसी नदेखिने, सबै मलामी गएर फर्किएका जस्ता। उनीहरूको अवस्था र आफ्नो काम गर्दाको थकाइ र पीडाको अनुहार उस्तै थियो। लाग्यो यो देश त स्वर्ग होइन, हामी जस्तोलाई सजाय दिन बनेको नर्क पो रहेछ कि क्या हो। आफ्नो जीन्दगीको महत्वपूर्ण समय कामलाई बेचेर देखेको त्यो ठूला ठूला महलको के काम?
लाग्यो विदेशमा हप्ताको एक दुई दिन छुट्टिमा खिचेको फोटो देखेर पो हामी लोभिएका रहेछौं। वास्तविकता त हामीभन्दा धेरै टाढा पो रहेछ। मेहनत गरे नेपालमै यस्ता काम र पैसा हुन्छ। साथीभाइ हुन्छन्, आफन्त हुन्छन्। नेपालबाट धेरै भारतीयहरूले यस्तै काम गरेर पैसा कमाइरहेका छन्। हामीलाई भने लाज लाग्थ्यो। अहिले पराई देशमा आएर यस्तो काम गर्नुपर्ने। मनमनै आफैलाई हीनताबोध हुन्थ्यो तर समय बितिसकेको थियो। अब त गर कि मरको अवस्थामा पुगेको थिएँ।
स्टोरमा म्यानेजरले अब आफ्नो रुप देखाउन थालिसकेको थियो। धेरै ग्राहक मैले बोलेको नबुझेर फर्किन्थे। उनीहरू फर्किएको देखेर म्यानेजरले धेरै गाली गर्थ्यो, तथानाम। यस्तो गाली त मैले जिन्दगीमा कहिल्यै सुनेकै थिइनँ। मुखमा जे मन लाग्यो त्यही गाली गर्थ्यो। काममा पनि साह्रै पेलाउन थाल्यो। यो गर त्यो गर भन्ने।
काम ढिलो गर्यो भनेर कराउने, छिटो सके एउटा सक्ने बित्तिकै अर्को लगाउने। भुइँ पुछ्ने, बढार्ने त सामान्य भइसकेको थियो। स्टोरमा म्यानेजर र नोकरको जस्तो अवस्था भयो। धेरै पटक ट्वाइलेटमा जाँदै रुँदै गरेँ। जिन्दगीमा आफ्नै कारण कहाँ फसिएछ भन्ने लाग्यो। ट्वाइलेट जाँदा पनि एक मिनेट हुने काम सकेर बाँकी ४ मिनेट थुचुक्क बस्थेँ। यति गर्दा पनि निकै राहत मिल्थ्यो।
काम गर्न गाह्रो हुन्छ भन्ने थाहा थियो तर यस्तो नरकीय जीवन हुन्छ भन्ने थाहा थिएन। सोच्छु, अमेरिकाजस्तो देशमा त मलाई यस्तो भएको छ त्यो खाडीमा निर्माण क्षेत्रको काममा जाने नेपालीहरूको हालत के हुन्छ होला? विचराहरू। सबैको माया लाग्यो।
विस्तारै काममा सहज हुँदै थियो। म्यानेजरले साँझ सधैँ स्टोरमा रक्सी खाने गर्थ्यो। म काममा आउनु अगाडिदेखि नै यस्तै थियो रे, अरु सहकर्मीहरूले भनेका। पछि पो थाहा भयो अमेरिकामा कामको समयमा अल्कोहल सेवन गर्नु गैह्रकानुनी रहेछ। पछि स्टोर मालिकले थाहा पाएपछि चेतावनी दियो।
मालिकले म्यानेजरलाई गाली गरेको देख्दा भने साह्रै खुसी लाथ्यो। मनमनै बल्ल खाइस् भन्थेँ। काममा केही प्रगती भएको थियो। साहुले बोलाएर 'काम राम्रो भइरहेको छ, गूड जब' भन्यो। साह्रै खुसी लाग्यो। साहु खुसी भए म्यानेजरको पोल लगाउन पाइन्छ भन्ने लाग्यो।
किन-किन त्यो म्यानेजर ठिक लाग्दैन थियो। साँझ भयो कि रक्सी खाइहाल्नु पर्ने। काम हामीले गर्नुपर्ने। मेरो साथी थियो हिरा नाम गरेको, अर्को एक भारतीय विद्यार्थी। यहाँ विद्यार्थीले काम पाउन गाह्रो हुन्छ। साहुको आफ्नो मान्छे भएर मात्रै काममा राखेका थिए हिरालाई।
ऊ पनि निकै उच्च शिक्षा पढेको भएर पनि यस्तो काम गर्नु पर्दा खिन्न थियो। पैसा पनि साहुले हामीलाई भन्दा थोरै दिन्थ्यो। विद्यार्थीहरूलाई कानुनी रुपमा काम गर्न र पैसा कमाउन बन्देज छ यहाँ। विद्यार्थीलाई काममा लगाउन परे साहुहरूले पेल्नु पेल्छन्। निकै थोरै पैसामा काम लगाउँछन्। उनीहरूले कतै सिकायत पनि गर्न सक्दैनन्।
गैरकानुनी रुपमा काम गर्ने विद्यार्थीहरूलाई साहु र सहकर्मीहरूले पनि हेप्नुसम्म हेप्छन्। हिरा अमेरिकामा पढेको, म नेपालमा पढेको। उसलाई अमेरिका थाहा थियो। मेरो सबैभन्दा मिल्ने साथी हिरा। उसैले सिकायो काम गर्न र बोल्न। सबै विस्तारै सहज हुँदै गयो।
काममा लागेको करिब ६ महिनामा म्यानेजर भारत गयो, बिहे गर्न। म्यानेजर भारत गएको समयमा उसलाई निकालिदिने साहुको योजना रहेछ। अब त्यहाँ म, विद्यार्थी साथी हिरा, एक अरबी महिला र बाँकी भारतीय र पाकिस्तानी महिलाहरू मात्रै भए काम गर्ने। म्यानेजर नभएपछि साहुले नयाँ म्यानेजर खोज्नु पर्ने भयो।
नयाँ ल्याउँदा पैसा धेरै दिनुपर्ने, फेरि भएकै कामदारहरू पनि कटौती गर्नुपर्ने। साहुले स्टोर भित्रबाटै कसैलाई म्यानेजर बनाउने योजना बनाएछन्। काममा सोझो अनि अलिअलि लयमा लागेको देखेर होला साहुले मलाई नै म्यानेजरको प्रस्ताव गर्यो।
नेपालबाट आएको ६ महिनामा स्टोरको म्यानेजर कसरी हुँला र? म अनकन्याएँ। साहुले विस्तारै सिक्छस् भनेर फकायो, लाग्यो म्यानेजर भए सान पनि बढ्ने अनि काम सिकाउने साथी हिरा थियो, मैले हुन्छ भनिदिएँ। तर सहकर्मीहरूले मानेनन्। १० वर्षदेखि काम गरेका सहकर्मीहरू मलाई म्यानेजर मान्न तयार भएनन्।
उनीहरूले हुँदैन भने। म्यानेजर भए के-के न हुन्छ भन्ने मलाई लागेको थियो तर मेरो मातहतमा रहन अरु कर्मचारीले मानेन्। साहुले अघोषित म्यानेजर बनाएर काम चलाउन थाल्यो। सबै काम सम्हाल्न सक्ने भएपछि मात्रै सबैको अगाडि भनिदियो। यसरी म नेपालबाट आएको ८ महिनामा म्यानेजर भएँ।
ओहो! म्यानेजर भए त के-के न हुन्छ भन्ने हुन्थ्यो नेपालमा तर यहाँ त जसले राम्रो काम गर्यो त्यसैलाई म्यानेजर बनाउने चलन रहेछ। नेपालमा म्यानेजर भए कामै गर्नु नपर्ने, कुर्सी बसेर खान पाइने। यहाँ त म्यानेजरले नै सबै काम गर्नुपर्ने। २४ सै घण्टा स्टोरको लागि तयार हुनुपर्ने।
सुरुमा रमाइलो लागेको यो पद केही समयपछि भने बिरालोको घाँटीमा घण्टी बाँधेको जस्तो भयो। कहीँ जान नपाइने। अर्काको स्टोर सम्हालेर बस्नुपर्ने। यहाँ गोराहरू काममा खासै मन लगाउँदैनन्। एक दिन काम गरेर अर्को दिन काम छोड्नेहरू प्रशस्तै हुन्छन्। अहिले पनि यहाँको ग्यास स्टेशन, रेष्टुराँहरूमा धेरै नेपालीहरू म्यानेजर भएका छन्।
नेपाली भनेपछि भारतीय र पाकिस्तानी मूलका स्टोर सञ्चालकहरूले विशेष महत्व दिँदा रहेछन्। सोझा हुन्छ र काम पनि छोड्दैनन् भनेर। उनीहरू सकेसम्म नेपालीलाई उम्काउन खोज्दैनन्। त्यसैले म्यानेजरको तक्मा लगाइदिने रहेछन् काममा पेल्याउन। मलाई पनि त्यस्तै भयो।