उनले यथास्थिति चिर्दै प्रश्न गरे। शान्त तलाउमा ढुंगो खसेर चुर्लुम्म डुब्दा जस्तो हुन्छ त्यस्तै झल्को आयो।
'हजुर! राजा राम्रो कि दल?'
उनको प्रश्नले मलाई गम्भीर बनायो।
म त्यस दिन दिउँसो दुई वटा विवाह उत्सवमा समावेश हुनु पर्ने थियो। यसैले बिहान सात बजे नै म लगनखेलको एबिसी व्यापारिक परिसरमा पुगेको थिएँ। धरानमा आइएससी पढ्दाका मेरा मित्र टुकाराम ढकालले सञ्चालन गरेको त्यो परिसर हालै खुलेको हो। त्यहाँ एक उद्यमी युवाले चलाएका छन्– कपाल काट्ने सैलुन।
म बिहान पुग्दा उनको सैलुन लगायत अधिकांश सटरहरू बन्द थिए। मैले सैलुनको बोर्डमा लेखिएको मोबाइल नम्बरमा सम्पर्क गरेँ। सञ्चालक भाइले १०–१५ मिनटमा आइपुग्छु भने। उनलाई पर्खिने समयमा मैले चियापान गरेँ।
कपाल कटाउँदै गर्दा अलमलिने केही गतिविधि भए रमाइलो हुन्छ। मोबाइलमा स्वचालित वाइफाइ चलेको सूचना पाइसकेको थिएँ। मैले योहो टिभीमा केही हप्ताअघि जीवराम भण्डारीले लिएको मेरो अन्तर्वार्ता युट्युबको रंगमञ्चमा ल्याएँ। म त्यो सुन्न थालेँ। मेरो तिलचामले कपालको बगैंचामा कैंची चल्न थाल्यो।
हात्तीलाई 'डोरीको भ्रम' ले बँधुवा बनाए जस्तै युवा नेतालाई पनि दलका राजनीतिज्ञले दासत्वको भ्रम सिर्जना गरेका छन्। मैले स्नातकोत्तर र विद्यावारिधि गरेको शैक्षिक संस्था एसियन इन्स्टिच्युटबाट प्राप्त गर्नुभएका प्राध्यापक डाक्टर राममनोहर श्रेष्ठसँग हालै भेट भएको थियो। उहाँले नेताको तीन किसिमको वर्गीकरण गर्नुभयो। उहाँको व्याख्या मलाई घत परेको थियो। यो वर्गीकरणमा राजनेता, नेता र राजनीतिज्ञ पर्छन्।
वर्तमान कालखण्डमा नेपालमा नेता र राजनेता विरलै छन् तर राजनीतिज्ञ फालाफाल। यो कुरा थप स्पष्ट पार्न अन्तर्वार्तामा मैले उँट लिएर हिँड्ने एक व्यापारीको प्रसंग जोडेको थिएँ। त्यो प्रसंग सुनेर कैंची चलाइरहेका सेवा प्रदायक मुसुक्क हाँसेको मैले चाल पाएँ।
मलाई शंका लाग्यो। यी भाइ पक्का पनि चानचुने होइनन्। उनको गहन प्रश्नले उनको राजनीतिक चेतनास्तर अब्बल भएको मैले अनुमान गरेँ। मेरो अनुमानको परीक्षा लिने सोच पलायो।
'तपाईं विदेशतिर बस्नुभएको छ?'
'छु सर! मलेसियामा आठ वर्ष।'
मेरो अनुमान सत्य सावित भयो। अब उनको प्रश्नको उत्तर दिन मलाई केही खुराक मिलेको थियो। हुन त 'राजा कि दल?' भन्ने प्रश्नको उत्तर दिनुपर्ने बाध्यकारी परिस्थितिको सामना यस अघि पनि मैले गरेको हुँ।
सन् २००६ मा म जापानको हायामा भन्ने स्थानमा एक अर्धसरकारी निकायमा काम गर्थेँ। त्यस बेला नेपालमा राजनीतिक उथलपुथल भइरहेको थियो। राजासहितको व्यवस्था कि राजारहितको भन्ने विषयमा जनमत संग्रह हुने हल्ला पनि थियो।
जापान सरकारको वातावरण मन्त्रालयसँग जोडिएको मेरो कार्यालयमा अधिकांश जापानी कर्मचारी थिए। हामी केही विदेशी पनि थियौं। सबै कर्मचारी लागि दिउँसोको भोजन कार्यालयकै चमेना गृहमा पाक्थ्यो। ज्युनार गर्ने काम पनि लगभग एउटै समयमा हुन्थ्यो।
सहभोजनकै क्रममा एक दिन एक जापानी मित्रले मलाई नेपालको खबर के छ भनेर सोधे। मैले राजा राख्ने कि नराख्ने भन्नेमा जनमत संग्रह हुने सम्भावना भएको जानकारी दिएँ।
प्रायः मौन रहने एक अर्का जापानीले मौकाको फाइदा उठाएर मलाई सोधे– यो नितान्त निजी प्रश्न हो, तपाईंलाई अन्यथा लाग्दैन भने मात्र जवाफ दिनु होला। यदि जनमत संग्रह भयो भने तपाईं राजा राख्ने पक्षमा मत दिनु हुन्छ कि विपक्षमा?
मलाई ती जापानीको प्रश्नले संकटमा पारेको थियो। यथार्थमा मैले आफ्नो राजनीतिक अभिमतको कित्ताकाट गरेको थिइनँ। आजसम्म पनि म कुनै राजनीतिक दल वा विचारको भक्त भएको छैन। पेसाधर्मी वा अध्येता साक्षीभावको हिमायती हुनु पर्छ भन्ने मेरो मान्यता छ।
मैले निमेषभरमा नै सोचेँ– अब यी जापानी मित्रले पहिलोको उत्तर पाएपछि त्यसको पूरक प्रश्न सोध्नेछन्। त्यो प्रश्न पहिलोको कारणको रूपमा उभिनेछ। पहिलोको उत्तर सहज हुनेछ र दोस्रोको कठिन।
यसर्थ मैले दोस्रोको जवाफ पहिले सोचे। अनि पूरा आत्मविश्वासका साथ भनेँ– म राजासहितको प्रजातान्त्रिक व्यवस्थाको पक्षमा मत गर्नेछु।
टेबुलको वरिपरि बसेका सबैको ध्यान मेरो र ती जापानी मित्रको संवादले खिच्यो। नभन्दै उनले मेरो अनुमान बमोजिम पूरक प्रश्न राखे।
'के म त्यसको कारण जान्न सक्छु?'
'हामीले दुई सय वर्षभन्दा बढी लगाएर नेपाल एउटा राजतन्त्रात्मक हिमाली राष्ट्र हो भन्ने पहिचान बनाएका छौं। तपाईंको जापान लगायत संसारमा धेरै राष्ट्रहरूको यो पहिचान छ। नागरिकको आफ्नै पौरखले त्यही मापनको अर्को पहिचान निर्माण गर्न सदियौं लाग्न सक्छ। म चाहन्छु हाम्रा पुर्खाले आर्जेको हाम्रो विश्वव्यापी पहिचान कायाम रहोस्।
'नारो होदो।'
उनले जापानिज भाषामा भनेको शब्दावली 'नारो होदो' अर्थात 'तपाईंको उत्तरले म मन्त्रमुग्ध भएँ' भन्ने आशयले मैले बहसको रंगमञ्च उत्कर्षमा पुर्याएर पर्दा लगाएँ भन्ने भान मलाई परेको थियो।
प्रश्नोत्तरको विश्वव्यापी मान्यता र शास्त्रीय परम्परा छ। पाण्डव ज्येष्ठपुत्र युधिष्ठिरले यक्षले सोधेका प्रश्नको दिएका उत्तर होउन् या लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविता होओस्, कालजयी छन्। गुरुशिष्य परम्परामा पनि प्रश्नोत्तरले महत्वपूर्ण कित्ता ओगटेको छ। कतिपय परिस्थितिमा गुरुसँग पनि सबै प्रश्नको सपाट र स्पष्ट उत्तर हुँदैन। बुद्ध दर्शनमा यस्ता विषयको बाक्लो चर्चा छ।
मानौं भगवान बुद्धलाई कुनै शिष्यले यस्तो प्रश्न सोधे रे– यो ब्रह्माण्ड सीमित छ कि असीमित?
यस्तो अवस्थामा बुद्धको उत्तर के हुन्थ्यो होला?
सन् २०१६ मा प्रकाशित इकोनोमिस्ट पत्रिकाको एक विशेष अंकमा एक स्तम्भकारले यो विषयको चर्चा गरेका छन्। उनले लेखेका छन्– यस्तो प्रश्नमा बुद्धको जवाफ हुन्थ्यो– मौनता। अर्थात गुरु मौन बस्थे।
स्तम्भकारले यसको दुइटा सम्भाव्य कारण हुन सक्छन् भनेका छन्। पहिलो, गुरुले 'शिष्यको चेतनास्तरले यो प्रश्नको उत्तर बुझ्न सक्दैन, यसकारण उसलाई अन्यौलको भुमरीमा पार्नुको अर्थ हुँदैन' भन्ने ठान्थे।
दोस्रो, उत्तर विवादित हुन्छ, यसले शिष्यलाई भ्रममा पार्नेछ। ब्रह्माण्ड सीमित कि असीमित? दिन पहिला आयो कि रात? ईश्वर छन् कि छैनन्? आदि प्रश्नहरू तर्कको घेराबन्दीले बाँधिएका छन्।
मैले मेरो कपालमा कैंची चलाइरहेका सेवाप्रदायकको कठिन प्रश्नको उत्तर नदिनुको औचित्य देखिनँ। लालबुझक्कड भएर सामान्य उत्तर दिएर उम्कने सुविधा पनि थिएन। मेरा अर्का एक अनन्य मित्र कोमल धमलाले लालबुझक्कडका बारेमा केही दिनअघि सन्त कविर दासका यी हरफ सुनाएका थिए–
लालबुझक्कड बुझे यी और नबुझे कोही
पैरमे चक्की बाँधकर हिरण चले होई!!
एउटा गाउँमा राती हात्ती आएछ। बिहान उठ्दा गाउँलेले ठूला ठूला पाइला देखेछन्। कुन जनावरका पाइला हुन् भन्ने यकिन भएनछ। एक जना लालबुझक्कडले भनेछन्– राती हरिण आएछ, त्यसले खुट्टामा जाँतो बाँधेर आएको हुनाले यस्ता पाइला देखिएका हुन्।
नेपालमा लालबुझक्कडहरूको मेला छ । त्यो राजनीतिक होओस् या प्राविधक विषय, उनीहरूकै एक छत्र छ। माहुतेले हात्ती बाँधेझैं राजनीतिज्ञले 'आश्वासनको भ्रम' ले युवा नेताहरूलाई बाँधेका छन्। उम्मेदवारहरू दाम राखेर मतदाताका खुट्टा ढोग्छन्। मतदाताहरू शुभकामना दिन उम्मेदवारको खुट्टा ढोग्छन्।
हिजो टाउकाको मोल राखेर दुश्मनको कित्तामा राखेका घोर उत्तरपन्थीसँग दक्षिणपन्थीहरू गठबन्धन गर्छन्। उम्मेदवारहरू प्रश्नकर्ता महिलामाथि अपशब्द प्रयोग गरी सार्वजनिक सभामा नै हुर्मत लिन्छन्। एउटै दलका बाउ नेताको दुश्मनी साँचेर छोरानाति पनि हिंसात्मक गतिविधिमा ओर्लन्छन्।
यसैले मैले प्रश्नकर्तालाई फेरि सोधेँ– तपाईंले काम गरेको मुलुक मलेसियामा द्रुत गतिमा विकास भइरहेको छ। त्यहाँको जनसंख्या नेपालको जति नै छ। यी दुई मुलुकमा प्राकृतिक साधनस्रोत र सांस्कृतिक विविधता पनि उस्तै छन् तर नेपालमा विकास खासै भएको छैन। तपाईंको विचारमा यसको कारण के होला?
'भ्रष्टाचार।'
उनले दिएको सपाट एक शब्दे जवाफले मेरो प्रश्नको लामो भूमिका स्वाट्टै निलिदियो।
मैले मेरो धारणा राखेँ।
भ्रष्टाचार खराब र स्वार्थी नेता वा अगुवाले गर्छन्। यसर्थ व्यवस्था प्रधान होइन, व्यक्तिको नियत प्रधान हो। मलेसियामा पनि संवैधानिक राजतन्त्र छ अर्थात राजा छन्। कतारमा पनि वंशपरम्पराका राजा छन्।
यी दुवै मुलुकमा हाम्रा नेपाली दाजुभाइ र दिदीबहिनी श्रमिक छन्। उनीहरूका श्रमले ती मुलुकमा द्रुत आर्थिक विकास भएको छ। हाम्रो नेपालमा जस्तो खुलमखुला भ्रष्टाचार र कुशासन छैन। अर्कोतिर राजा नभएका मुलुक अमेरिका, क्यानडा र भारतले पनि विकासमा हामीलाई कैयौं दशकपछि पारेका छन्।
यति भनेपछि मेरो मनमा थप भावनाहरू चलमलाउन थाले।
नेपालकै हकमा पनि पृथ्वीनारायण शाहको कुनै दल थिएन। उनी राजा थिए। गैरराजनीतिक क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेले दलसँग आबद्धताविना अमूल्य योगदान गरेर गए। सत्यमोहन जोशी पनि दलविहीन जीवित पात्र हुन् जसले देशका लागि अतुलनीय योगदान गरेका छन्।
दलको कुरा गर्दा भारतमा अहिले एउटा राजनीतिक दल निकै लोकप्रिय छ, आम आदमी पार्टी। त्यसका नेता अरविन्द केजरीवालको एउटा भिडियो अहिले भाइरल छ।
उनले जनतालाई त्यो भिडियोमा भनेका छन्, 'तपाईंहरूलाई स्कुल चाहियो, अस्पताल चाहियो वा बिजुली चाहियो भने मलाई भन्नु होला। तपाईंहरूलाई राजनीति चाहियो भने अरू दललाई भन्नु होला। मलाई राम्रो स्कुल वा अस्पताल बनाउन आउँछ तर राजनीति आउँदैन।'
मेरा सेवा प्रदायक भाइले थप प्रश्न गरेनन्। मैले मेरो जवाफमा उनी सहमत वा असहमत के छन्, सोधेँ। मैले कोरोना कालअघि सानेपामा अवस्थित मलेसियाली राजदूतावासमा त्यहाँका राजदूतसँग भएको एक प्रसँग सम्झिएँ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट हामी केही साथी त्यहाँ पुगेका थियौं। हाम्रो छलफलको एजेन्डा थियो– मलेसियाको द्रुत आर्थिक विकासको ढाँचा कसरी नेपाल भित्र्याउने?
बैठकको आरम्भमा युवा राजदूतले भने, 'तपाईंहरूको एजेन्डा सुनेर मलाई आश्चर्य लागेको छ। मलेसियाको आर्थिक विकासको ढाँचाबारे बुझ्न यहाँ नेपालका नेता वा विकास अध्येताहरू विरलै आउँछन्।'
उनको आशय हामीले बुझ्यौं। नितान्त व्यक्तिगत कामले वा मलेसियामा कुनै समस्यामा परेको नेपाली श्रमिकको उद्धार गर्ने अभिप्रायले मात्रै त्यहाँ कोही जाँदो हो। अझ धरातलीय यथार्थको नजिक पुग्दा नेपाली श्रमिकको लाश छुटाउने उद्देश्यले त्यहाँ कोही जाँदो हो।
सम्भवतः समकालीन नेपालको सबैभन्दा ठूलो समस्या यही हो। राष्ट्रिय चिन्तन गर्ने वा मुलुकलाई एक बित्तामाथि उठाउने उद्देश्य राखेर कर्म क्षेत्रमा उभिने नेता वा जनता दुवैको अभाव अहिलेको वर्तमानको यथार्थ हो।
यसकारण प्राडा श्रेष्ठको नेता वर्गीकरण सिद्धान्तमा ओज छ। राजनेतालाई अंग्रेजीले स्टेट्सम्यान भन्छ। त्यो भनेको राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान कमाएको नेता हो जसले सत्कर्मको अतुलनीय पदचिह्न छाडेको हुन्छ।
आशा गरौं– नेपालको राजनीतिक रंगमञ्चमा उदीयमान युवा नेताले राजनीतिशास्त्रको यो मर्म आत्मसात गर्नेछन्।