अग्रज पुस्ताका बुढाहरूले हामीलाई सिकाउँदै भन्थे- 'फाटेको टोपी लगाऊ तर चम्किलो रवाफदार जुत्ता लगाऊ।'
त्यो उतिखेर सुनिने नीति कथन थियो। त्यो कथनलाई व्याख्या गरेर भन्थे मित्रले, आँखा जुधाएर शीर तिर हेर्छ। त्यसैले फाटेको टोपीले मित्रतामा कमी हुँदैन, बरू आत्मीयता बढ्छ। तर, दुस्मनको नजर निहुरिएको हुन्छ र पाउँतिर हेर्छ।
त्यसैले दुस्मनको नजर पुग्ने ठाउँमा रवाफदार जुत्ता लगाऊ। अझ सम्भव भएसम्म जुत्ता यति चम्काऊ कि दुस्मनले आफ्नो बिम्ब त्यसैमा देखोस्। दुस्मनको तेज गिराउने कला थियो उनीहरूको त्यो कथन। धेरै दशक बितिसक्यो त्यो कथन नसुनेको। सायद नयाँ पुस्ताका धेरैले त्यो नीति कथन नसुनेका पनि हुन सक्छन्।
तर, उ बेला जुत्ता धेरै कम मान्छेका खुट्टामा हुन्थे। हैकम जमाउन सक्ने हुनेखानेका खुट्टामा मात्र जुत्ता हुन्थे। सर्वसाधारणका खुट्टा नाङ्गा हुन्थे। ती नाङ्गा खुट्टा यति बलिया भएका हुन्थे कि काँडे झाडी फाँडेर बारी बिराउँदा पनि काँडाले छेक्न सक्थेन।
एक/दुई काँडा भने सियो वा बेलका काँडाले नै घोचेर निकालिन्थ्यो र खुट्टो हल्का हुन्थ्यो। शिवजीलाई चढाइने तीन पाते बेलपत्र उत्पादन गर्ने बेलका रूखका काँडा खुट्टामा बिजेका काँडा निकाल्न खुब काम लाग्छ। नजिकमा बेलको काँडा नभेटिँदा अमिलाको काँडाले पनि उस्तै काम गर्छ।
उतिबेला पीन, सीयो त्यत्ति छ्याप्छ्याप्ती भेट्न सजिलो नभएकाले अमिलोको काँडा बडो सहयोगी हुन्थ्यो। अहिले विचार गर्छु, खुट्टामा घोच्दा स्टेरिलाइज गर्न नपर्ने अमिलाको काँडो स्वस्थ्यकर नै मान्न पर्ला।
हिजोआज नाति नर्सरी स्कुल जाने बेलामा रोजेर जुत्ता लगाउँछ। अनि मेरो उमेर उसको जति छँदाको 'पादुका' सम्झन्छु। अनि सम्झनाका तरेली गुञ्जन्छन्- माइजुले रातो माटोले लिपेको पिढीँमा चकटी बिछाउँदै त्यसैमा बसेर घाम ताप्तै छन्दमा पढेको रामायणको 'पादुका दान' पर्व। पादुका अर्थात् खराउ।
हाम्रा पुर्खाले खुट्टाका पैताला जोगाउन 'खराउ' लगाउँथे। खराउ भनेको नबुझ्ने नयाँ पुस्ताको लागि काठको चप्पल भनेर चिनाउँदा बुझ्छन् जस्तो लाग्छ। संस्कृत शब्दका प्रचलनको रवाफ भएको समय हुँदा खुट्टा जोगाउन लगाइने वस्तुलाई पादुका भनिने गरिन्थ्यो।
हिउँदमा खेतीको काम अलि होलो भएका बेला घन्चराने प्रभु थारूले घारी (गोठ) मा मेरा लागि एक जोर खराउ कुद्दा यो दुनियाँको अनुभव बटुलेको एक दशक जति बितेको थियो होला। मेरो उमेर ठ्याक्कै कति थियो त्यसबेला भन्ने हेक्का छैन।
उसबेला मेरा लागि जुत्ता थिएन। तर, चप्पल लगाउँथेँ। श्रमिकका लागि चप्पल जुत्ता आशा गर्ने वस्तु नै थिएनन्। केही वर्षपछि चप्पलहरू अलि उलब्ध हुन थाले। त्यसपछि सम्धियान जान हिँडेका मझ्लाने थारू काकाले लठ्ठीको एकापट्टि सिरक र अर्को पट्टी चप्पल घुसारेर काँधमा बोक्दै साँझको पहेँली घाम हुँदा हिँड्दै गरेको देख्थेँ। अनि सोच्थेँ, जङ्गल छिचोलेर सम्धियान गाउँ छिर्ने बेलामा उनले काँधको लठ्ठीको टुप्पाको चप्पल झिकेर खुट्टामा पड्काउँदै जाने होलान।
असारमा पहिलो झरीपछि जङ्गलमा फुड्की टिप्न जाने चलन थियो। फुड्की च्याउ जातिकै हो भन्छन्। अझै पनि बोक्टापुरमा त्यो चलन छ पनि होला। गाउँले मझली भउजीले भर्लाको टाटामा पटुवाका फित्ता हालेर बनाएको अर्गानीक चप्पल बोकेर फुड्की खोज्न जान्थिन्।
पुरूषहरू खेतबारीका बाहिरी धन्दामा व्यस्त हुने र महिलाहरू घर भित्रका धन्धामा मस्त हुने हुनाले नारीका खुट्टा काका र भैयाका पैतालाका तुलनामा धेरै नरम हुने। खसीको कलेजोजस्तै स्वाद दिने फुड्कीको भित्रको भाग मिठो हुन्छ। हेँकुलोजस्तै चबाइने कुरकुरे स्वाद दिने त्यसको बाहिरी भाग सम्झँदा अहिले मुखभरि पानी भरिसक्यो।
सुकाएर राखेपछि महिनौँसम्म खान मिल्ने फुड्की जीवनमा खाएका सबैभन्दा मिठा खानकी मध्येको एउटा परिकार हो। भुटुवा होस् वा झोल, त्यो स्वादको तारिफ गरिसाध्य नै छैन। तर, त्यो खान नपाएको तीन दशकभन्दा बढी समय भैसक्यो। त्यो फुड्की टिप्दा जङ्गलका काँडाबाट ती भउजीले खुट्टा जोगाउन अर्गानिक चप्पल बनाउँथिन् होला। मेरो अनुमान मिलेकै जस्तो लाग्छ।
मेरो अनुभूतिको दोस्रो दशकमा फित्ता खिइँदै गएको चप्पलको कथा पनि जोडियो। चुँडिएको फित्तालाई ढेबरीको ज्वाँलामा झोँसेर जोडेपछि चप्पलको आयु थप्ने चरण रमाइलै थियो। खास गरेर बर्खाको समयमा स्कुलबाट फर्कँदा चिप्लो माटोमा टाँसिएको चप्पलमा उचालिने खुट्टाको जोड पर्दा खिइएको भाग चुँडिन्थ्यो।
भिजेको भुइँका छिटा छर्केर चप्पलले पाइन्टको पछाडिको भागमा चित्र बनाउँथ्यो। तर, एब्स्ट्याक्ट पेन्ट बन्थ्यो। कसैले त्यो चित्रलाई फोहोरका छिटा भन्थे। कसैले दयनीय हालतको उपमा दिन्थे। कसैले गमबुटको अभावको बिम्बका रूपमा चर्चा गरिदिन्थे। कहिलेकाहीँ निलो त्यो चप्पलको पछाडिको भागले फालेको हिलोले टुप्पी छुन पनि पुग्थ्यो।
अलि पछिल्लो पुस्ताले बाटाको निलो चप्पलको ठाउँमा मोटो लचकदार हात्तिछाप चप्पल लगाउन थाले। त्यही चप्पलबाट पनि पहिरनको पछाडिको भाग रङ्गाउँथे। त्यत्तिखेर म ती चित्रकलाको अलिअलि तमासा हेर्ने भैसकेको थिए। खुट्टाको बुढीऔँला र छेउको औँलाको घोटाइले घिर्सिँदाघिर्सिँदा पातलिएर जुकाजस्तो बनेको लुलो भाग सबैभन्दा पहिला चुँडिन्थ्यो।
पछाडि पट्टिका एक हल जोड भने अलि पछि चुँडिन्थे। अगाडिको जुके भाग आगोले पोलेर जोड्नभन्दा पछाडिको भाग जोड्न झन्झट बढी हुन्छ। जोडेर एकछिन सेलाउन दिएपछि प्वाँलमा घुसाएर तयार पारेको चप्पल प्याट-प्याट पार्दै हिँड्न पनि मज्जै हुन्छ।
रबरका चप्पलका चलनभन्दा धेरै पहिलादेखि खराउको चलन चलेको थियो। तर खराउ खास गरी ऋषि, मुनि पण्डितहरूका लागि चित्रित गरिन्छ। श्रमजीवीहरूका जस्तो दह्रा खुट्टा एवं पैताला नहुने कोमल खुट्टाका लागि खराउ प्रयोग गरिन्थ्यो। राजा-महाराजाहरू, भाइभारदार तथा सामन्तका लागि मात्र परापूर्वकालदेखि नै जुत्ता उपलब्ध थिए।
रामायणको पादुका दानको प्रसंगले भने राजा-महाराजाहरू पनि घरभित्रको प्रयोगमा खराउ नै लगाउँथे भन्ने बुझिन्छ। राम वनबास जान हिँडेपछि भाइ राजकुमार भरतले दाजु रामलाई राजपाटमा फर्काउन गरेको बिन्ती असफल भयो। त्यसपछि रामको खराउ राजगद्दीमा राखेर भरत नै रामको प्रतिनिधि शासक बनेको प्रसंग नै रामायणको पादुका दानको प्रसंग हो।
भरतको दाजुप्रतिको माया र सम्मानको बिम्ब पस्किएर समाजमा अग्रजको सम्मानको आदर्श सिकाउन अभिव्यक्त भानुभक्तका शब्द रचना अमृतवचन मान्ने गरिन्छ। साहित्यको उत्तम पक्ष भनेर ती शब्दजाललाई बुझ्न पनि सकिन्छ। आमा कैकइको झेल्ली माया विरूद्ध भरतको ममता र सम्मान भाव नै रामायणबाट समाजले सबैभन्दा बढी सिक्नु पर्ने शिक्षा हो।
वैदिक कालदेखि नै प्रचलनमा रहेको जस्तै दुई जोर खराउ मेरा लागि प्रभु थारूले बनाइदिएका थिए। खराउ लगाएर अलि पर पुग्दा खुट्टाको बुढीऔँला र छेउको औँलाबीचको जोडिएको भाग दुख्न थाल्थ्यो। घरको वरिपरि मात्र हिँड्न सक्थेँ म।
चप्पलको विकल्प नभैदिएको भए ऋषिमुनिहरूजस्तै मैले पनि त्यो दुख्ने भागलाई ठेला पर्ने गरी बानी पार्नु पर्ने हुन्थ्यो होला। उनले बनाइदिएको एकजोर खराउ अलि सादा थियो। बुट्टेदार थिएन। अर्को एकजोर खराउ भने उनले धेरै मेहेनत गरेर बुट्टेदार बनाइदिएका थिए।
सादा खराउ बनाउन उनले काठलाई बसुलाले ताछेर रन्दा लगाएर पैतालाले टेक्ने भाग सम्मो पारेर नबिझाउने बनाइदिएका थिए। बुढीऔँला निरको भागमा पसेको डण्डीको माथि छातरी जस्तो बनाइदिएका थिए। त्यही भागमा दुई औँलाले अठ्याएर खुट्टा उचाल्दा खराउ पैतालासँगै जोडिएर माथि उचालिन्थ्यो। पाइला अघि सारेर टेक्दा खराउ भुइँमा र पैताला त्यही खराउमाथि अडिन्थ्यो।
सादा खराउ लगाएर हिँड्दै रहर पूरा गर्दै गर्दा उनले बुट्टेदार खराउ बनाएका थिए। उनी गाइको गोठमा मचिया बिछाएर बसेका हुन्थे। एक जना सहयोगीले सन (जुट) को रस्सीले घ्यार्रघ्यार्र तान्तै घुमाएको काठमा साहुलको धारिलो भागले काठका पातला परत छुट्याउँदै हुन्थे प्रभु थारू।
दुई तिर ठडिएका काठकै खुट्टामा किलाले दुवैतिर अठ्याएको भाग रस्सीले घुमाउँदा खराउको काठमा बुट्टा कोरिने प्रभुको कला म छेउमा टुक्रुक्क बसेर हेरिराख्थे। काठको भुस वा चपरो आखामा पर्ला भन्दै अलि पर बस्न भन्नु हुन्थ्यो हजुरआमा। प्रभुको जस्तै बसुलाले ताछ्ने। साहुलको धार अठ्याएर काठमा सुन्दर आकार निकाल्ने र रन्दा लगाएर काठ चिल्लो पार्ने कला सिक्ने खुबै रहर हुन्थ्यो।
तर उनको हातमा जुन कला थियो त्यो कला जो कोहीका हातले सिक्न सक्दैन थियो। उनका हातले कलात्मक बुट्टा भरिएका जिउरे खाटका खुट्टादेखि मचियाका खुट्टामा पनि आकर्षक बुट्टा बनाउन सक्थे। उनलाई त्यो कला सिकाउने गुरू पनि कोही त थियो होला तर मैले जान्ने अवसर जुराउनै सकिनँ।
उनीहरू घन्चौरा भन्ने गाउँबाट बसाइ सरेर त्यहाँ आएका हुनाले उनीहरूलाई घञ्चराने भन्थे सबैले। उनकै घरमा एकजना बोल्न र सुन्न नसक्ने लाटा मेरा साथी थिए। हामी उनीसँग इसारै इसाराले कुरा गर्थ्यौं। प्रभु थारूले शीर (जमिन्दार मालिक) बाट वर्षमा पाउने एकजोर वरापरि मध्येको सर्ट र धोती लगाएका हुन्थे।
विचरा बोल्न नसक्ने साथीले भने एउटा धरो मात्र लगाएको हुन्थ्यो। मेरी आमाले मेरो पुरानो भएको सर्ट जडौरी भन्दै दिनुभएको थियो। अलि बाहुला छोटा भएको च्यातिएको र बटन टुटेको सर्ट ती साथीको ज्यानमा पुस महिनाको जाडो छेक्ने सहारा हुन्थ्यो। जाडो नहुने महिनामा त उनको शरीरमा हुने बस्त्र भनेको त्यही धरो हुन्थो जसलाई उनको कम्मरको कन्धनीले धानेको हुन्थ्यो।
ती दुवै खराउ सिसौ जातबाट चिनिने काठका थिए। छिप्पिएको सिसौको रूखको भित्रको काठ निकै मजबुत हुन्छ। दुई आराकसले दुई तिरबाट तान्दै फलामको आराले चिर्दा ती मुढाबाट आगोका फिलिङ्गा उड्थे। खराउ बनाउन चाहिने दह्रा काठ त्यही सिसौको उपयुक्त हुने रहेछ।
लडिया (गोरूगाडा) को बीचको डल्लो काठको भाग पाएसम्म साज भन्ने काठको बनाउँथे। त्यो नपाए सिसौको छिप्पिएका मुढाले काम चलाउँथे। तराईमा साजको रूख हुँदैन। हम्रो गाउँबाट पहाड नजिकै भएकाले हाम्रा तिरका लडियाका चक्का साजको बीचको मुडका, गोलो आकार निकालिने भाग सिसौको र दुवै भाग जोड्ने सोइला सेखुवाका काठको बनाइन्थ्यो। पहाडबाट टाढा भएका तराईका दक्षिण तिरका गाउँलेहरूले सिसौकै काठ लडियाका बीचको डल्लोमा उपयोग गर्थे।
खराउ भनेको ती बचपनका कुरा न भए, पछि इटालियन जुत्ता राम्रा र महंगा भन्ने थाहा भयो। ब्राण्ड अनुसारका जुत्ताको अहिलेको जमाना छ। उहिले पूर्णकालीन कृषक भएर गाउँमा बस्दा बीबीसी हिन्दी रेडियोमा टेनिस खेलाडीले जुत्ता लगाए बापत लाखौँ डलर पाउँछन् भन्ने सुनेको थिएँ।
फूटबल, क्रिकेट खेलाडीले एक वर्षसम्म खेल खेल्दा लगाउने जुत्ताको कन्ट्र्याक्ट गरेर लाखौँ डलर पाउँछन् भनेर सुन्दा नपत्याउँ त बीबीसी रेडियोका कुरा नपत्याइ भएन, पत्याउँ त विश्वास गर्न मुस्किल हुने।
आफूलाई भने राम्रो जुत्ता किन्न बजेट मिलाउन पर्छ, कसैलाई जुत्ता पनि सित्तैमा लगाए बापत उल्टै ठूलै रकम हात पर्ने। पर्न त केको हातमा पर्छ होला र बैँक खातामा जान्छ होला। उतैबाट अनलाइन ट्रान्सफर गर्ने र कार्ड घोट्ने गर्छन् होला। विकसित देश तिर पैसा गन्न त हराइसक्यो। पैसा गन्ने भनेको एका देशमा भनेर कथा सुनाए जस्तो हुने समय पो आयो त।
कलेज पढ्दाको कुरा हो, घरबाट पाएको महिनाभरिको खर्चबाट जोगाएर काठमाडौँको विशाल बजार गएर एक जोर खेलाडीले लगाउने जस्तो स्पोर्ट जुत्ता किनेँ। तर गोदाममा कुहिएको परेछ। एक महिना पनि चलेन। त्यो जुत्ताको तलुवा फुत्कियो। यति मन खत लाग्यो कि अहिलेसम्म त्यो पीर हराएको छैन।
विश्व बजारका जुत्ताको प्रचलन नहुँदासम्म गाउँघरमा जरायोको छालाको जुत्ता सबैभन्दा राम्रो हुन्छ भन्ने सुनेको थिएँ। हुन पनि जरायोको छाला गर्मीमा शीतल र जाडोमा न्यानो हुन्छ। जरायो जिउँदो हुँदा पनि गर्मीमा जङ्गलमा आगो सल्केका मुढा ताप्ने र जाडोमा पानीको रहमा आहाल बस्ने स्वभाव छालामा पर्ने भएरै होला।
हाम्रो घरमा पनि एउटा जरायोको छाला थियो। वैशाख, जेठको गर्मीमा त्यो बिछाएर बस्दा शीतल हुन्थ्यो। पछि एउटा जोगीले बुवासँग त्यही छाला मागे। बुवाले उनैलाई दिनुभयो। त्यो छाला ती जोगीले लिएर गए।
बडो मात्तिएका अहिलेका युवालाई छुट्टाछुट्टै पार्टी शुज, स्पोर्ट शुज, रनिङ शुज, गम बुट, गार्डेन बुट, डिङ्गो बुट जोर्दा जोर्दा हैरान। जुत्ता धेरै भएर स्टोरबाट खोजेका समयमा खोजेको जुत्ता नभेटिने पीर पो कति हो कति! आच्छा लिकिन ब्लू कलर जबमा पनि सेफ्टी बुटको जमाना। वाह रे जमाना!