केही दिनअघि एक जना साथीले मोबाइलमा म्यासेज गरिन्, ‘मेरो बहिनीको जिन्दगी त बर्बाद भो साथी! जति प्रयास गर्दा पनि सम्बन्ध जोगाउन नसकिने भयौं, तिमी त लेख्ने मान्छे यसो यस्ता विषयमा पनि कलम चलाऊ न, कम्तीमा आम मान्छेहरूलाई थाहा होस् कि यस्ता पात्रहरू पनि यही समाजमा हुन्छन् र? भन्ने कुरा।’
साथीको म्यासेज पढ्नासाथ झल्यास भएँ।
हतार-हतारमा साथीलाई फोन गरेँ।
साथी निकै उदास थिइन्। उनकी बहिनीको बिहेमा म पनि गएकी थिएँ।
‘के भयो र बहिनीलाई’, आत्तिँदै प्रश्न गरेँ?
मेरो कुरा सकिन नपाउँदै उनले कहानीको पोयो फुकाउन थालिन्।
‘बहिनीको बिहे धुमधामसँग भएको थियो त्यो कुरा त तिमीलाइ पनि थाहा छ। ज्वाइँ र बहिनीको पढाइको स्तर पनि समान छ, हाम्रो पारिवारिक हैसियत पनि समान छ। बहिनीले मास्टर्स सकाई। उसको रहर शिक्षक सेवा आयोगको तयारी गरेर मावि शिक्षकमा नाम निकाल्छु भन्ने, घर परिवारका सदस्यहरू पनि बहिनीको विचारमा सहमत तर ज्वाइँले फिटिक्कै साथ नदिने।’
ज्वाइँ पनि स्थायी शिक्षक नै हुन्। मास्टर्स सकाएकी श्रीमतीलाई गाउँमै बाउआमासँग बस भन्ने, निरन्तर एउटै कुरामा टर्चर दिइरहने बानीले बहिनी झन्डै ६ महिनासम्म डिप्रेसनमा गई।
सम्बन्ध सकाउन ठूलो इश्यू नचाहिने रहेछ, एउटै कुरा पटक-पटक भन्यो भने त्यही विष हुने रहेछ।
मास्टर्स पास गरेकी श्रीमती, केही गर्न चाहन्छु भन्दाभन्दै उसको इच्छा मार्न खोजेपछि सबैभन्दा ठूलो विष त्यही हुने रहेछ।
बहिनीको व्यवहारमा एकाएक बदलाव आउन थाल्यो, ऊ सधैं एकोहोरो बन्ने, टोलाउने, कसैसँग खुलेर कुरा नगर्ने, आफन्तसँग बोल्दा पनि झर्को मान्ने, खान मन नगर्ने, मर्न बाहेक अरू कुरा नसोच्ने भई।
उसको व्यवहार देखेर सद्धे आमा बिरामी हुनुभयो। बुवालाई पनि निकै तनाव भयो। सबैतिर सल्लाह गरेर मनोचिकित्सकको परामर्शमा लग्यौं, अहिले धेरै सुधार भएको छ, यति हुँदा पनि ज्वाइँले एक वचन के छ, कसो छ भनेर सोधेनन्।
बुवाले छोरीको यस्तो हालत कसरी भयो ज्वाइँ साव भन्दा उल्टै बुवालाई, ‘तपाईंकी छोरीलाई बसीबसी खान देकै छु, त्यो भन्दा बढी के चाहियो रे’ ... भनेछन्।
भर्खर दुई वर्ष भो बिहे गरेको। आफ्नै भान्जा दाइले खोजेको केटो राम्रै होला भन्ने भयो सबैलाई।
बहिनी पनि शिक्षक बन्ने रहरमा, ज्वाइँ त्यही पेशाका निकै उत्साहित थियौँ सबै जना।
कसैको पनि अनुहार, परिवार र जागिर हेरेर उसको भित्री कुरा बुझ्न सकिने रहेनछ। ज्वाइँको टर्चरले झन्डै बहिनी मृत्युको मुखमा परी। उसका साथीहरू सबैले सरकारी जागिरमा नाम निकाले। कोही निजामतीमा, कोही शिक्षकतिर। तर मेरी बहिनी अँध्यारो कोठामा बन्द भई।
बहिनी पनि पढाइमा तेज थिई। उसको सानैदेखिको इच्छा सरकारी जागिर खाने नै थियो। अहिले ऊ जसरी पनि मावि शिक्षकमा नाम निकाल्छु भन्ने अठोटमा थिई। तर स्थायी शिक्षक ज्वाइँले नै उसको रहर मारिदिए।
अहिलेका शिक्षित युवापुस्ता किन यति क्रुर हुन्छन् बुझ्न सकेनौं हामीले।
दाइले, बुवाले, लमी भनिएका भान्जा दाइले धरी कति सम्झाउने प्रयास गर्नुभयो, ज्वाइँ एकोहोरो हुन्छन् आफ्नो अडानमा।
कसैको कुरा नसुन्ने, उल्टै किन जागिर खानुपर्यो मात्रै भनिरहने। बहिनीसँग राम्रो बोली बचन समेत नगर्ने।
मलाई त ज्वाइँमा पो डिप्रेसनको रोग छ कि भन्ने लाग्न थाल्यो।’
साथीको कुरा सुनिरहँदा धेरै कुराहरू दिमागमा घुमिरहे।
बिहेको दिनको दृश्य झलझली देखिन थाल्यो।
आफन्तले खुबै फुर्काएका थिए, ‘ल कान्छी तैंलेजस्तो केटो खोजेकी छेस् त्यस्तै पाइस्, तेरो कुरा भगवानले सुनेछन्। सधैं मास्टरी गर्छु भन्थिस् भगवानले मास्टर केटो नै तेरो लागि पठाइदिए। दुवै जना सर म्याडम बन्ने, स्कुल जाने। कति रमाइलो होला है कान्छी?’ यस्ता कुरा सुन्दा बहिनी फुरूंग परेकी थिई।
केटा पक्षको कोही आफन्तले भन्दै थिए, ‘हाम्रो दाइ पनि पढाइमा ट्यालेन्ट हो, है। एकै पटकमा माविमा नाम निकालेको है। कमजोर नठान्नु। दाइले हामीहरूलाई त कति सहयोग गर्नुहुन्छ, कति आइडिया दिनुहुन्छ झन् भाउजूलाई सहयोग नगर्ने त कुरै भएन। अर्को वर्ष भाउजू पनि माविको टिचर पक्का।’
एकपछि अर्को पुरानोे कुराले आफैंलाई गिज्याएको अनुभूति हुन थाल्यो।
साथीसँगको कुरा टुंगाएँ। एक पटक बहिनीसँगै भेटेर कुरा गर्न मन लाग्यो।
दिदीलाई त यति तनाव छ भने साँच्चिकै पीडामा रहेकी बहिनीको अवस्था के कस्तो होला? आफूले गर्न सक्ने त के नै छ र तै पनि मनको बह अर्कासँग पोखेपछि केही हल्का अवश्य पनि हुन्छ। यसै हेतुले बहिनीसँग कुरा गरेँ। उसले 'दिदी फोनमा होइन तपाईंको अफिस नजिकै आउँछु, तपाईंको खाजा खाने समयमा भेटौँ न' भनि। उसको कुरामा सहमति जनाएँ।
भोलिपल्ट बहिनी अफिस बाहिर आएपछि मलाई फोन गरी म तुरून्तै गएँ।
लगभग पौने घण्टा जस्तै दिदीबहिनी सँगै बसेर कुरा गर्यौं।
पहिले उज्याली बहिनी थिइन्, उसको मुहार निकै फेरिएको थियो, छुँदा पनि दाग लाग्नेजस्तो अनुहारभरि कालो पोतोले अड्डा जमाएको थियो। हाँसेर मात्रै कुरा गर्ने बहिनी हाँस्ने कुरा गर्दा पनि हाँस्न नसक्ने भएकी रहिछ। अनुहारभरि निराशासा धाँजा फाटिरहेका थिए। उसलाई देख्नासाथ एकैछिन त हो कि होइन भन्ने पनि लाग्यो। ‘खास के भएको हो बैनी ? तिम्रो दिदीको कुरा सुनेँ। निकै नरमाइलो लाग्यो’, कुराको थालनी गर्ने प्रयत्न गरेँ।
ऊ ठाडो नजर लाएर मतिर हेर्न पनि सकिन।
‘दिदी छोरीको भाग्य कस्ले देखेको हुने रैछ र? मेरो दिदीको त्यस्तो जिन्दगी मेरो हुर्नस् त? एउटै आमाका छोरीको भाग्य पनि किन फरक-फरक होला दिदी? मेरो त फुटेको भाग्य। जागिर खाएर बिहे गर्छुभन्दा सबै जना एकमुख भए, मेरो कुरा कसैले सुनेनन्। फर्स्ट डिभिजनमा मास्टर्स पास गरेँ, त्यो पढाइको के भ्यालू भयो र दिदी? आफूभन्दा ४ वर्ष जेठो श्रीमान नै मेरो इच्छामा तगारो बन्यो। नपढेका सासू-ससुराले ढाडस दिन्छन् बरू तर आफ्नै श्रीमानले सपोर्ट गर्दैन।
बिहे गर्ने बेलामा एउटा कुरा गर्यो, अहिले व्यवहार ठ्याक्कै उल्टो भयो दिदी’ आफूले ओढेको सलको फेरोले आँसु पुछ्दै बहिनीले पीडाको कहानी सुनाउँदै गई।
बिहे नहुँदै साथीसँग जुन कोठामा बसेकी थिई अहिले पनि त्यही बस्दी रहिछ।
‘श्रीमानको कहिले कता कहिले कताका जिल्लामा सरूवा भइरहन्छ, ऊ कहाँ जान्छ, कहिले जान्छ, कहिले आउँछ मलाई केही थाहा हुन्न। सधैं गाउँमा गएर बस भन्छ, यत्रो डिग्री पढेर पनि भातै पकाउन पर्छ, घाँस दाउरै गर्नपर्छ भने सत्र वर्षको मेरो लगानी माटोमा मिलेन र दिदी? यस्ता कुरा साथीभाइलाई भन्यो भने पत्याउँदैनन्। अहिलेको जमानामा पनि यस्तो हुन्छ र? मेरो श्रीमानले कति सर्पोट गर्छन्, श्रीमानकै सहायताले मैले नाम निकालेँ भन्ने कति साथीहरू छन्।
उनीहरूलाई मेरा कुरा कहानी लाग्छ तर पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ।’
इज्जत, समाज र आफन्तको लोकलाजका कारण दुई वर्ष पीडामा बिताएँ। श्रीमानको तनावले मृत्युको मुखसम्म पनि पुर्यायो। मान्छेलाई दु:ख दिनु छ भने भौतिक आक्रमण गर्नै पर्दैन, उसको मन मार्दियो भने पुग्दो रहेछ मेरो हकमा पनि त्यही भयो। कति जना साथीहरू छन् श्रीमान, घरपरिवारले यसो गर, उसो घर भनेर साथ सहयोग दिँदा पनि मन मार्छन्। पाल्छु भनेर बिहे गर्ने अहिले यो पढ्, त्यो पढ्, जागिर खा, तैंले पनि कमा भन्न मिल्छ भन्ने साथीहरू पनि देखेकी छु तर मेरो हकमा सबै उल्टो भयो।
म आफ्नो खुट्टामा उभिन चाहन्छु, केही गर्न चाहन्छु , मेरो श्रीमानले अत्तो थाप्छन्। श्रीमानलाई म ऊभन्दा माथि पुग्छे भन्ने भूतले सताएको हो कि के हो बुझ्न सक्दिनँ। दुवै जनाको जागिर हुँदा, दुवै जनाको कमाइ हुँदा आफू, घरपरिवार सबैलाई भरथेग हुन्छ, समाजमा इज्जत पनि हुन्छ भन्ने कुरा कस्ले सिकाइदिने? इज्जत छोरीले मात्रै जोगाइदिनुपर्ने कहीँ छ र? के छोरीको मन हुँदैन?
छोरी बुहारीले चाहेको कुरा गर्न पाइँदैन र? मैले नाजायज केही माग राखेको पनि छैन।
एउटै कुरा पटक पटक भनिरहँदा सद्धे मान्छे पनि पागल हुनेरहेछ। अहिले पनि मैले औषधी खाइरहेकी छु। मेरो पीडाले बुवा आमा नै तनावमा पर्नुभयो।
आमा त थलै पर्नुभएछ। कतिन्जेल तनाव लिने? कति पीडामा आँसुमात्रै बगाउने? अहिले त बुवा आमा नै तेरो ज्यानभन्दा ठूलो इज्जत होइन, तँ खुसी छैनस् भने सम्बन्ध तोडिदे भन्न थाल्नु भएको छ। दिदी भिनाजूले पनि साथ दिनु भएको छ। मलाई केही चाहिँदैन, घरको सबै काम गर्छु, गाउँमै गएर घाँस दाउरा मेलापात गर्छु नगरेको पनि होइन तर मेरो पढ्ने रहर मार्नु भएन।
नाम निकालेर घरपायक सरूवा मिलाएर गाउँमै बस्छु सम्म भनेँ, जे भन्दा पनि उत्तर 'हुन्न' आएपछि मैले के गर्ने? श्रीमानको रहर श्रीमती घरै बसोस् भन्ने थियो भने नपढेकी केटी बिहे गरेको भए भइहाल्थ्यो नि, मेरो जीन्दगी किन बिगारिदियो? नपढेका केटी बिहे गर्नेहरू श्रीमतीलाई पढाएर, स्वाबलम्बी बनाएका कति उदाहरण आफ्नै आँखाले देखेकी छु, मेरो यस्तो हालत भएको ती साथीहरूले देखेकै होलान्।
यदि वर्षौदेखिको मेरो इच्छा मर्छ भने म पनि मरेतुल्य हुन्छु। यदि मलाई पढ्न दिँदैनौं भने म यो सम्बन्ध स्वीकार गर्न पनि सक्दिनँ भनेँ श्रीमानलाई। यति कुराले छ महिनासम्म भूमिगत जस्तै भए मसँग।
आफ्नी श्रीमती कहाँ छे, के खाएकी छ, कोठा भाडा तिरेकी छ कि छैन एकबचन सोधीखोजी गरेनन्।
बिहे हुनुभन्दा पहिले जहाँ बसेकी थिएँ, त्यही कोठामा बसेँ।
आफ्नो बच्चादेखिको चाहना चटक्कै मारेर दुई वर्ष अघि जोडिएको बाध्यताको सम्बन्धलाई कसरी स्वीकार गरौं? बरू सम्बन्ध सकियोस्, करियर सक्ने पक्षमा छैन। आफ्नो खुट्टामा उभिएँ भने कसैको साथबिना बाँच्न सक्छु तर करियर सकाएर समाजको, लोकलाजको डरले श्रीमानले भनेको मानेँ भने जिउँदो मूर्दा हुन्छु। पलपल मरेर बाँच्नुभन्दा हिम्मत गरेर बाध्यकारी सम्बन्ध तोड्ने अठोटमा पुगेँ।
आफ्नो कोमल मन पत्थर बनाएँ। मरेर केही जितिन्न, बाँच्छु र केही गरेर देखाउँछु।
परिवारको डर थियो, आफ्नो आफन्तले साथ दिएपछि म बलियो भएकी छु। दुई वर्षको नाता तोडियोस् तर वर्षौंदेखिको चाहना मार्नेछैन।
एकपटक पक्कै सफल भएरै छाड्ने छु।’
चियामा रङ कडा हालेको निहुँमा, तरकारीमा नून चर्को भएको बहानामा, खानामा पानी बढी भएको बहानामा, भातमा पानी अड्कल गर्न नसक्दा, घरका परिवारजनले नखाइकन बुहारीले केही कारणले पहिले खाना खाँदा पनि यही सानो कुराले टर्चर दिएर सम्बन्ध बिग्रेका बग्रेल्ती घटना छन् समाजमा।
पीडा दिन, दिलमा चोट पुर्याउनका लागि देखिने चोट दिइरहनु पर्दैन। बचनको तीरले घोचेपछि सबैभन्दा बढी हानिकारक त्यही हुँदो रहेछ।
ठूलो कुरा चाहिँदैन डढेलो लगाउन पनि आगोको अगुल्टै चाहिँदैन, सानो सलाईको काँटी नै काफी छ। त्यस्तै हो सम्बन्ध पनि।
जोगाइराख्न पो गाह्रो छ, बिर्गान त सानो बचनले पटक पटक हानिरहने हो भने एक न एक दिन बाध्य भए त्यो सम्बन्ध मक्किइन्छ र धमिरोको गोलो झरेजस्तै गर्लम्मै झर्छ।
कम्तीमा अहिलेको पुस्ताले समझदारी अपनाउन सिकोस्। यो बहिनीको जस्तो पीडा अरूलाई नहोस्, यस्तो मर्मस्पर्शी पीडा अरूको नहोस्।