६ वर्षिया बालिका भन्दै गइन्, ‘उहाँ मेरो ड्याड हो, उसले मलाई धेरै माया गर्दैन र हामीसँग पनि बस्दैन। तर मलाई हजुरआमाले धेरै माया गर्नुहुन्छ। ममी मलाई छाडेर अर्कै ब्वाइफ्रेडसँग बोस्टन गई। फोन गर्छिन् तर मलाई बोल्न मन लाग्दैन।’
...
कुनै बच्चाले प्रहरीको कन्ट्रोल नम्बर ९११ फोन गरेमा बाबुआमालाई जेल चलान गर्नुका साथै पटके भएमा निश्चित समयसम्म बाबुआमालाई भेट्न नै नदिने गरि राखिदिन्छन्। हाम्रोमा झैं आफ्नो बच्चालाई सुधार्न पिटेको भनेर धर पाइँदैन।
...
आमाबाबुबाट चाहिने माया नपाएका सन्तान पछि गएर भावनात्मक रुपमा कमजोर हुन्छन्। उनीहरू कि त सामान्य मान्छे भन्दा कमजोर मानसिकताका हुन्छन् कि त कसैलाई नमान्ने सम्हाल्नै नसकिने उग्रवादी भएर निस्कन्छन्। जसलाई कुनै भावानात्मक सम्बन्धले छुँदैन।
अमेरिका अनुभव- ३
अमेरिकाको क्यालिफोर्निया राज्यका दुई ठूला सहर लसएन्जलस् र सानफ्रान्ससिस्को बिचमा पर्ने प्यासेफिक सागर छेउमा ओसेना ड्युन छ जुन रमाइलो समुन्द्री किनार हो।
नजिकै पहाड आई समुन्द्रमा मिसिएको देखिन्छ भने केही नरम करेन्ट हुने समुन्द्री छालमा पौडी खेल्न, सर्फिडदेखि टहल्नेको संख्या अन्य बिचमा भन्दा धेरै हुन्छ।
बिदाका दिन समुन्द्रको छेउमा हिडिरहँदा मलाई एउटा दृश्यले अचम्मित बनायो। दृश्य सामान्य थियो तर मेरा लागि त्यो धेरै अर्थ र कथा बोकेको एउटा किताब थियो।
वास्तवमा एक पिताले अन्दाजी ७ वर्षको बच्चालाई पिठ्यूँमा बोकेर समुन्द्रको छालमा बेजोडले फरालिरहेको थियो। त्यो सानो बच्चालाई पनि चिसो समुन्द्रको पानीको बेजोड छालमा बग्न सिकाइरहेको थियो।
आखिर किन होला? एक नेपाली बाबुको मनमा आउने प्रश्न स्वाभाविक हो, मेरोमा पनि आयो। त्यसका कारणहरू भिन्नभिन्न छन्, के ऊ खराब बाबु हो वा असल अभिभावक? के उसलाई त्यो बच्चाको माया छैन? भोलि के थाहा त्यो बालक भविष्यमा कस्तो हुनेछ, के-के कुराको चुनौती सामना गर्नु पर्नेछ?
असल अभिभावकले अहिलेको मात्र हैन भोलि आफ्ना सन्ततीका चुनौती केके हुनसक्छन् र त्यसका लागि उसलाई कस्तो शिक्षा वा अनुभव गराइदिने भन्नेमा सधैं सचेत भइरहनुपर्छ।
नेपालमा त छोराछोरीलाई पानी पोखरी, ताल, नदी र जलासयबाट सधैं टाढा राखिन्छ, नजिक जान दिइँदैन। वास्तवमा छोराछोरीको अगाध मायाले नै यसो गरिएको हो।
यता अमेरिकीले पनि छोराछोरीको अगाध मायाले नै त्यो सानो बच्चालाई समुन्द्री छालसँग लड्न सिकाइरहेको छ।
उसलाई थाहा छ, ‘यदि मेरो छोराले अहिलेदेखि नै पौडीकला सिकेन भने कुनै दिन यही समुन्द्रको किनारमा छालसँगै डुबेर मर्नुपर्ने हुनसक्छ।’ हुन त नेपालका प्रायः बाबु–आमालाई पौडीको ज्ञान छैन त्यसैले आफैंले नजानेका कुरा कसरी सिकाउने?
बरू त्यो दह वा तालमा भुत छ, सियो छ त्यसले तान्छ भनेर डर भरिदिए बच्चा पानी नजिक जानुहुँदैन भन्यो भने डुबेर मर्ने डर हुँदैन भन्ने सोच छ।
अर्को कुरा, बाबुआमालाई नै पौडीबारे अज्ञानता छ त्यसैले कसरी सिकाउनु वा उत्प्रेरणा दिनु। कैयौं नेपाली खोलानाला, ताल, पोखरी वा विदेशमा घुम्दा समुन्द्री किनार र पौडी पोखरीमा डुबेर मरेका समाचार सुनेको छु। खासमा हाम्रो प्रारम्भिक शिक्षा, ब्यवस्थाको कमी नै हो र असल अभिभावकत्वको पनि।
यो त भयो सामान्य पौडी खेल्ने कुरा मात्र, तर यस्तो शिक्षा र अनुभव जीवनका धेरै क्षेत्रमा हरेक कोणकोणमा छन्। बच्चा एक काँचो माटो हो असल अभिभावकले चाहेको ढाँचामा ढाल्न सक्छ। यसका लागि जान्नै पर्ने असल कुरा के हो भने बच्चाबच्ची बाबुआमाले भनेको कुरा त्यति मान्दैनन् तर बाबुआमाले गरेका कामकुरा ब्यवहारको अवश्य सिको गर्छन्। त्यसैले छोराछोरीका लागि भन्ने होइन, आफैंले गरेर देखाउने हो।
यस्तै हाम्रोमा हामीले भनेको मानुन् भनेर छोराछोरीलाई थर्काउने वा पिट्ने चलन छ। यस्तो प्रचलन मैले अमेरिकामा पनि कतैकतै देखेको छु।
केही वर्षअघि म साउथ क्यारोलिनाको पूर्वीय सहर फ्लोरेन्सको मंग्नोलिया मलमा काम गर्थें। एक दिन मैले काम गर्ने फेशन कपडा पसलमा एक अफ्रिकन अमेरिकी करिब ६ वर्षकी छोरी लिएर आयो। ऊ आफूलाई चाहिने कपडा खोज्न स्टोरको चारैतिर घुम्न थाल्यो। उसकी छोरी काउन्टर नजिकै रहेको सोकेसमा बेच्न राखेका रंगी बिरंगी जिसक घडी हेर्न आई। म सोकेस नजिकै काउन्टरमा थिएँ। त्यो फुच्चीलाई पिंक कलरको घडी मन परेछ, मलाइ निकाल्न भनि। उसको तोते बालापन आवाज र एस्क्युजमी भन्ने बिनम्र शब्द बोलेको सारै रमाइलो लाग्यो।
घडी निकालेर देखाएँ। उसले हेरि र भन्न थाली मेरो ग्रामालाई भनेर म पछि किन्न आउँछु है!
उसले मिठो आवाज र शब्दमा भन्दै गई, ‘ऊ मेरो ड्याड हो उसले मलाई धेरै माया गर्दैन र हामीसँग पनि बस्दैन। तर मलाई ग्रामा (हजुरआमा)ले धेरै माया गर्नुहुन्छ। मेरो ममी मलाई छाडेर अर्कै ब्वाइफ्रेडसँग बोस्टन गएकी छन्। फोन गर्छे तर मलाई बोल्न मन लाग्दैन। मलाई मेरो ग्रामा भए हुुन्छ।’
उसले बोल्दै गर्दा उसको बाबु पनि आइपुग्यो। उसले बाबुलाई देख्ने बित्तिकै ‘मलाई यो घडी मन पर्यो’ मात्र के भनेकी थिई घडी खोसेर सोकेस माथि राख्यो र एक चड्कन लगायो।
फुच्चीले रूदै भनि, ‘मलाई किनी दिनुपर्छ भनेको हैन मन पर्यो भनेको, मेरो के गल्ती छ र?’
बाबुले उसको हात समाएर हिँड्यो। मलाई पनि त्यो सानो नानीलाई बिना कारण पिटेको देखेर मन नरमाइलो भयो। रूदै गइरहेकी फुच्चीलाई म हेर्दै थिएँ। पर पुगेर आँसुृ पुछ्दै हातले बाइबाइ गरि। मेरा परेला भित्रका आँसुले आँखाका डिल भत्काए।
यो घटना धेरै दिनसम्म सम्झिरहेँ। फेरि सोचेँ उसले आफ्नी छोरीलाई एक झापड लगायो त के भो? हामीले पनि त कति पटक छोराछोरीलाई झापड लगायौं होला!
करिब एक वर्षपछि म अर्कै ठाउँमा सरेको थिएँ तर काम र स्टोर भने उस्तै थियो। हाम्रोमा कपडा फेर्ने सानो क्याबिन थियो। एक दिन एक महिलाले करिब ७ वर्ष जतिको केटालाई रुवाउँदै लिएर आईन्। ऊ चिच्चाई चिच्चाई रोइरहेको थियो। कालीले ‘तिम्रो कपडा फेर्ने कोठा कुन हो’ भनेर सोधी र बच्चालाई भित्र लिएर गई। उसले २ थप्पड लगाई।
केटा बढी चिच्चायो। उनले चुप लाग्न भन्दै भन्दै आवाज मात्र बाहिर निकाले घरमा लगेर फेरि पिट्छु भनि। केटा हिँक्कहिँक्क गर्दै रून बन्द गर्यो। उसले बाहिर निकालेर मसँग टिस्यु पेपर मागी र केटाको आँसु तथा सिँगान पुछि अनि ‘आवाज बाहिर निकाले पुलिस आउँछ’ भन्दै लिएर गई।
बच्चाहरूका लागि यति कडा कानून भएको देश अमेरिकामा यी दुई जस्ता घटना बिरलै हुने देखिने मध्येका पर्छन्। तर हाम्रो नेपाली समाजमा हरेक दिन र हरेक घरमा हुने सामान्य कुरा हुन यी। अमेरिकामा केटाकेटीलाई कुट्न त थर्काउन पनि सख्त मनाही छ। स्कुलमा शिक्षकले नै सिकाउँछन कि ‘यदि तिमीलाई तिम्रो बाबुआमा, अभिभावकले गाली गरेमा, पिटेमा ९११ मा फोन गर्नू।’
प्रहरी कन्ट्रोलको यो फोन नम्बर सबैले कण्ठ पारेका हुन्छन्। कुनै बच्चाले फोन गरेमा बाबुआमालाई जेल चलान गर्नुका साथै पटके भएमा निश्चित समयसम्म बाबुआमालाई भेट्न नै नदिने गरि राखिदिन्छन्। हाम्रोमा झैं आफ्नो बच्चालाई सुधार्न पिटेको भनेर धर पाइँदैन।
मेरा एक पाकिस्तानी साथी दुखेसो सुनाउँदै थियो। एक दिन उसले साथीसँग पार्टीमा वाइन खाएछ। मातेर घरमा जाँदा आफ्नो संस्कृती बिरुरूद्ध रक्सी खाएको भन्दै श्रीमतीसँग झगडा परेछ। बाबुले आमालाई गाली गर्न थालेको देखेर कसैलाई थाहा नै नदिई छोराले ९११ मा फोन गरेछ। तत्कालै प्रहरी आई पक्रेर लगेछ।
श्रीमतीका आफन्त अझ सालाले ‘तलाक दे’ भन्न थालेछ। ‘पाकिस्तानी संस्कारमा सालाले दिदी बैनीको घर बसाउन वा बिर्गान सजिलै सक्ने हुँदा मलाई मेरी प्यारी श्रीमतीले तलाक दिई। मेरो छोराछोरी आमासँग गए’, साथी सुनाउँदै गयो, ‘अहिले अदालतमा मुद्दा चलिरहेको छ। मेरो तलवको धेरै भाग स्वतः काटिएर उता जान्छ तर आफ्नो प्राणभन्दा प्यारा छोराछोरी र श्रीमतीलाई भेट्न पनि अदालतले दिँदैन। उनीहरुलाई भेटेर मेरो कसुर के हो सोध्न र गल्ती भए माफ माग्न पनि नपाईने कस्तो देशमा आएछु?’
यति भनेर ऊ रुन थाल्यो।
यहींका रैथानेहरू पनि यस्तै परिस्थिति र कानूनी प्रक्रियाबाट निकै प्रताडित भएका पाइन्छन्। अझ हामी इमिग्रेन्टहरू त फेमिली भ्वाइलेसन गर्नेमा अगाडि भएको प्रहरी रेकर्डले देखाउँछ।
मैले अमेरिकामै देखेको अर्को दृष्य पनि रमाइलो छ। क्रिसमसका बेला थियो, म काम गर्ने स्टोर अगाडि ४ वटा कुर्ची राखिएका थिए। एक दिन अन्दाजी २५ वर्षे युवकलाई ६५ वर्षे आमाले ल्याएर बस्न भनिन्।
युवक मानसिक रुपमा स्वस्थ रहेछ। देख्दा हट्टाकट्टा भए पनि बिभिन्न हर्कत गरिरहन्थ्यो। कहिले उठ्थ्यो, कहिले सुत्थ्यो त कहिले भुइँमा पल्टिन्थ्यो। ती बृद्धा मुस्कुरावट अनुहारमा कुनै आवेग र आक्रोसको छिटा नपारी उसको कामलाई सघाई रहेकी थिइन्।
उनीहरू करिब ३ घण्टा त्यहाँ बसे होलान्। ती बृद्धाले त्यो युवक छोरालाई हँसिलो अनुहारमा नै हेरचाह गरेको देखेर मलाई भगवान छन् भने तिनै हुन जो आमाको रुपमा त्यो मानसिक बिरामी छोराको त्यति सारो हेरचाह गरिरहेकी छिन् भन्ने लाग्यो। यस्ता दृष्य अमेरिकामा धेरै देखिन्छन्।
मलाई लाग्छ म यसरी शितल मानसिकतामा यति धेरै बस्न र अरुको हर्कतलाई सहज लिइरहन सक्दिन होला! किनकि, म त्यो समाज, घरपरिवारबाट हुर्केर आएको हुँ जहाँ कमजोरलाई बलियाले हेप्ने, हप्काउने र हिर्काउने मात्र गर्दछन, हृदय दिँदैनन्।
हामी दक्षिण एशियालीहरूको बिशेषता र संस्कार एउटै छ जसलाई सामन्ती संस्कार पनि भन्न सकिन्छ। कतिपय हाम्रा संस्कृती, परम्परा, नियम र कानूनले पनि केही कुरामा र्निदयितालाई मान्यता दिएका छन् जस्तै आमाले कुटेको र दुधले पोलेको दुख्दैन।
एक दिन म भारतीय परिवारको निम्तोमा मान्न गएको थिएँ। उनका एक ५ वर्षका छोरा र ८ वर्षकी छोरी थिए। हामी एकै टेवलमा खान खान बस्यौं। खाना खाँदै गर्दा छोरीको चम्चा भुइँमा खस्यो। आमाले मातृभाषामा गाली गर्दै रिसाएर नयाँ चम्चा दिइन्। मलाई नरमाइलो लाग्यो। बच्चीलाई औंल्याउँदै उनले भनिन्, ‘यसले त खाना खानै जान्दिनँ। साह्रे बदमास छ मेरो त आडमा पनि पर्दिन। बाउ नभएका बेला म सँग घरमा पनि बोल्दिन।’
मैले पुलुक्क ती बच्चीको अनुहारमा हेरें। उसका ओठ काँपिरहेका थिए। ऊ सारै नर्भस थिई।
मैले सोधें, ‘तपाईंले छोरीलाई पिट्नु हुन्छ के ?’
उनले पहिले त नाई भनिन्। तर पछि हाँस्दै स्वीकारिन्, ‘के गर्ने छोरीको जात अलि उत्ताउलो हुन दिनु त भएन नि, आफ्नै कभरमा राखी राख्नुपर्छ। गल्ती गर्छे अनि रिस उठ्छ। म त बजाइदिन्छु।’
मलाई झनक्क रिस उठ्यो। गेटटुगेदरमा गएको नरमाइलो मन लिएर फर्कें। पछि उनीहरूले कैयौंपटक खाना खान बोलाए, मैले बहाना बनाइरहें। अहँ फर्केर पनि तिनकोमा गइनँ।
मलाई ती सानी छोरी आमाको सामु काँपेको हेर्ने मन छैन। छँदै छैन।
मलाई सम्झना छ, मैले पनि चकचक गरेर धेरै पटक आमाको चड्कन चाखेको छु। त्यसपछि मैले पनि सिकेको कुरा भाई सानो हुँदा दाजुको पावर देखाउँथे। अझ पछि छोरालाई ‘पढ् भनेर र यो काम गर्, त्यो नगर भनेर बाबुको पावर देखाउँथे। कहिलेकाहिँ त चड्कन पनि चखाइदिन्थें।
मलाई ग्लानी तव महशुस भयो जब मैले ब्रहमाकुमारी राजयोग अन्तर्गत भारतको माउन्ट आबुमा एक प्रशिक्षण शिविरमा जाने मौका पाएँ। त्यहाँ पाएको पारिवारिक सम्बन्ध तथा मानसिक सोच बारेका महत्वपूर्ण प्रवचन र रेर्कडेड सिडीले थाहा पाएँ। बच्चाहरूको मानसिकता र संसारमा हामी अभिभावक सवै भन्दा ठूला अर्थात सर्वेसर्वा अझ उनीहरूका भगवान सरह ठूला मान्छे हौं। हामी उनीहरूका हरेक इच्छा, आकांक्षा र खुसी उपलब्ध गराइदिन सक्छौं।
अब भनौ यिनै सर्वेसर्वा सोचेका भगवानले नै गाली गरे के होला ?
हामीलाई कोही अरुले आवेगमा आएर धकेलेमा वा नराम्रो शब्द प्रयोग गरेमा वा छोएमा मात्र पनि आत्मसम्मानमा ठेस पुगेको अनुभव हुन्छ। हेपेको सम्झेर तुरुन्तै प्रतिक्रिया दिन्छौं। नरमाइलो र दुःख लाग्छ। तर हाम्रा साना बाबुनानी जसले हामीलाई नै सर्वेसर्वा अर्थात सुपरपावर ठान्छन्, उनीहरूलाई नै आफ्नो सोचको आज्ञा पालन गराउन तिनै सुपरपावरले गाली गर्ने, पिट्ने वा भर्खरै बिकास भैरहेको भावना, आत्मबल र स्वसम्मानलाई भाँच्ने काम गर्यौं भने बच्चाको भावनात्मक भविष्यमा के होला ? र फक्रने बेलाको आत्मविश्वास कस्तो होला ?
वास्तविक कुरा त के रहेछ भने जो मान्छे आन्तरिक रुपमा कमजोर छ त्यो मानिसको कोप क्यापेसिटी ग्रहण गर्ने क्षमता हुँदैन तर त्यो कुरा अरुलाई भन्न वा देखाउन सक्दैन भने उसले भित्रभित्र तनाव पालेर राखेको हुन्छ। यसै मानसिक तनावका कारण कुनैबेला कहीँकतै आवेगमा आउन सक्छ। यस्तो बेला उसले आफ्नो भित्री तनाव वा कमजोरीलाई आफूभन्दा कमजोर मान्छेसँग अर्कै तरह प्रतिकृया जनाएर बाहिर निकाल्ने रहेछ।
कतिपय ठाउँमा जानकारीको कमि, प्रतिस्पर्धात्मक महत्वकांक्षा, सम्मानको अपेक्षा आदिले पनि मानिस आवेगमा आउने रहेछ।
अमेरिकी समाजको अध्ययनले भन्छ, २३ प्रतिशत बच्चाहरू एकल आमाबुबाबाट हुर्केका छन् तर यो दर चीनमा केवल ३ प्रतिशत छ भने भारतमा ५ प्रतिशत।
सिङ्गल प्यारेन्टिङ पनि बच्चाको हुर्काइमा ठूलो समस्या हो। यो दर विश्वव्यापिकरण र बिज्ञान प्रबिधीले अझ बढाउँदो छ।
हरेक मानिसमा जस्तो अभिभावक, घरपरिवार, समाज, संगत र संस्कारले बनाएको वातावरण छ, त्यही अनुरुपको सोच र कार्यक्षमता उसमा विकास भएको हुन्छ। यही सोच र कार्य क्षमताले भाग्य र भविष्य बनाउने हो।
प्रायः अभिभावक वा आमाबाबुबाट चाहिने माया र भावना नपाएकाहरू पछि गएर भावनात्मक रुपमा कमजोर हुन्छन्। उनीहरू २ प्रकारका हुन्छन्, कि त सामान्य मान्छे भन्दा कमजोर मानसिकताका हुन्छन् कि त कसैलाई नमान्ने सम्हाल्नै नसकिने उग्रबादी भएर निस्कन्छन्। जसलाई कुनै भावानात्मक सम्बन्धले छुँदैन।
भनिन्छ मानिसमा प्राकृतिक, जैविक स्वभाव र सोच ल्याउने जम्मा २५ प्रतिशत हो। बाँकी ७५ प्रतिशत सोच, संस्कार र ब्यवहार त यही आफन्त र आफूले देखेको, सिकेको र भोगेको परिबेशले बनाउने हो। त्यसमा पनि आमाबाबु र घरपरिवार सोच र संस्कारका प्रमुख श्रोत हुन्। अव हरेक श्रोतले सोच्ने बेला हो आफ्नो सन्तान कस्तो बनाउने ?
(अमेरिकामा १३ वर्ष बसेर मातृभूमि फर्केका पोखराका पत्रकार घनश्याम पौडेल अमेरिका डायरी पुस्तक प्रकाशनको तयारीमा छन्।)