एक प्राइभेट जागिरेको भोगाइ:
बाउआमाको बुढेसकालमा जन्मेको एक्लो छोरो म। चार जना दिदीपछिको कान्छो भाइ। दिदीहरूले भुइँमा नबसाइकनै हातहातमा राखेर हुर्काएका रे मलाई। वंश धान्न जन्मेको, कुलको उद्धार गर्न जन्म लिएको व्यक्ति म। सानोतिनो त्यागले कहाँ जन्मेको हुँ र? हरिवंश पुराण लगाएपछि मात्रै जन्मेको रे म। कोही साथीभाइले मलाई गाली गर्नुपर्यो भने हरिवंशे भन्थे, यस्ता कुरा सुन्दैसुन्दै हुर्केको म।
उमेरले तीन दशकको फन्को लगाउँदै छ। काठमाडौंमा बस्न थालेको आठ वर्ष जति भयो। बुवाको निधन भएपछि एक्ली आमालाई गाउँबाट सहरमा ल्याएँ।
दिदी भिनाजुको सहायतामा काठमाडौंमा टेकिने ठाउँ बन्यो। एउटा निजी बैंकमा जागिर छ। आमा छोरालाई आफ्नो कमाइले पुगेको छ। अलिअलि घरभाडा पनि आउँछ। सानोतिनो गर्जो त्यही भाडाले पनि टार्दै आएको छ।
ठूली दिदी हाम्रो घर नजिकै बस्नुहुन्थ्यो, आमालाई दिन कटाउन गाह्रो थिएन। तीन वर्ष भयो, दिदी भिनाजु अमेरिका जानु भएको। अरू दिदीहरू अलि टाढा हुनुहुन्छ, धाएरै भेट्न जानुपर्छ। आमा एक्लै जान सक्नुहुन्न। भाडामा बस्ने एक जना आमा नै मेरी आमाकी गतिली, भरलाग्दी साथी हुनुहुन्छ। ‘आफ्नै छोरीले छाडेर टाढा गई, यी भाडामा बस्ने कतिन्जेल बस्लान् र? यहाँ बसुन्जेल मुखबोलो साथी त भाका छन्’ आमाले वास्तविकता बेलाबेलामा सुनाउनुहुन्छ।
जब बिदाको दिन नजिक आउन थाल्छ आमा अर्कै दुनियाँमा पुगेजस्तो गर्नहुन्छ। जहिले पनि अफिसको ड्रेस लगाउने बेलामा आमा छेउमै आएर बस्नुहुन्छ, सानो बच्चालाई जसरी प्रश्न गर्नुहुन्छ, ए कान्छा भरे कति बेला आउँछस् हँ?
अलि चाँडो आइजा है रात नपार ....।
घरमा अलि बेलैमा आउने गर है...
हुन्छ आमा भन्छु, आमालाई सधैं ढाडस दिन्छु तर आमाको मनले मान्दैन।
गाउँबाट पहिलो पटक सहरमा जान लागेको छोरालाई बिदाइ गरेजस्तै हरेक बिहान अफिस जाने बेलामा आमा मलाई बिदाइ गर्नुहुन्छ। आँखाले देख्ने ठाउँसम्म आमाले हेरिरहनुहुन्छ। छोरो सात/आठ घण्टापछि यही घरमा आउँछ भन्ने फिटिक्कै आमालाई लाग्दैन। निकै टाढा जान लागेजस्तो लाग्छ उहाँलाई।
अरू दिन त ढिलो स्वाभाविक रूपमै हुन्छ तर शुक्रबार पनि घरमा आउँदा झमक्कै हुन्छ। कतिबेला छोरो आउँछ भनेर आमाका आँखा टट्टाइरहेका हुन्छन्। गेटमा उभिएर घन्टी थिच्न नपाउँदै आमाले ढोका उर्घानुहुन्छ।
'आज पनि राति आइस तँ?
पल्ला घरको बाबु (निजामती कर्मचारी) त अघि नै दिउँसै आए त।
साँच्चि ती बाबुको ३ बजे बिदा हुने तेरो सधैं किन राति हँ कान्छा?
तेरो अलि उज्यालोमा बिदा हुन्न?
तैंमात्रै जागिर खान्छस् कि के हो?
अहिले आउला छैन। एकैछिनमा आउला छैन, सधैं तारा लागेसी आउँछ।
भोलि बुढी ल्याएसी छोडेर जान्छे अनि थाहा पाउलास्।'
आमाका कुरामा केही प्रतिक्रिया नजनाइकन एकोहोरो सुनिरहन्छु मात्रै। मनमनै आमाको कुरालाई सही ठान्छु। के गर्नु आमा सरकारी कर्मचारीले हाजिर देखाए पुग्छ प्राइभेट जागिरेले काम देखाउनुपर्छ तलब पाउनको लागि।
'ल, ल छिटो हात गोडा धोएर भान्सामा आइजा खाना सेलाइसक्यो।' आमा एक्लै भुनभुनाउँदै भान्सातिर जानुहुन्छ।
म दिउँसोमा नास्ता खान्छु, बेलाबेलामा चिया कफी खान्छु तर आमा.....
कान्छो छोरासँगै बिहानको खाना खानुहुन्छ, दिनभरि केही खानुहुन्न। घर सफा गर्ने, टिभी हेर्ने, भाडामा बस्ने आमासँग गफ गर्ने, बत्ती कात्ने, छोरीहरूसँग फोनमा कुरा गर्ने बस् यही हो आमाको दैनिकी।
कोही आफन्त आइहाले भने उनिहरूको करले केही खानुहुन्छ नत्र आमा छोरो नआएसम्म केही खानुहुन्न। आमा आज खाजा के खानुभयो ? प्रश्न गर्छु।
आमा मेरो मुखमा नहेरीकन जवाफ फर्काउनुहुन्छ, 'जे जे खाएँ नि खाएँ नि .... यतिबेला खाजा सोध्छस्? दिनभरि घर बस्ने मान्छे भोकै बस्छन र?'
'ल खाना खा.... 'दुई वटा थालमा खाना पस्किएर आमा मसँगै बस्नुहुन्छ खाना खान।
आमाले हरेक दिन यही रेडिमेड जवाफ फर्काउँदै खाना पस्किनुहुन्छ।
मेरो मनलाई थाहा हुन्छ कि आज पनि आमाले केही खानु भएको छैन भन्ने कुरा। आमालाई भेट्न कोही आफन्त आएको भए सबै कुरा अघि नै भनिहाल्नुहुन्थ्यो। उल्टै मलाई सोध्नुहुन्छ, 'साँच्चि तैंले खाजा खाइस् त कान्छा? अघाउँजी खान्छस् नि खाजा त?
आधा पेट नखानु नि, यसबेलासम्म काम गर्छस्, अलि टन्न खाजा खानु, यस्तो उमेरदारी मान्छेले जति खाए नि पच्छ।'
'टन्न खाको आमा' आमासँग गफ गर्दै खाना खान्छु। आमाको हातले पकाएको पानीमात्रै उमालेको झोल पनि कति मिठो लाग्छ। साथीहरू गुड फ्राइडेको मुडमा हुन्छन् मलाई भने आमाको मुहारले घरमै तान्छ। आमासँग खाना खाइनँ भने उहाँ भोकै हुनुहुन्छ।
म बाहिर खाएर आएँ भने तैँले नखाए म पनि खान्नँ भनेर आमा त्यतिकै सुत्नुहुन्छ, कहिलेकाहीँ अफिसमा खाएर आए पनि आमाको मन राखिदिन भाग बस्नैपर्छ।
हरेक परिकारमा आमाको ममता देख्छु। जुनसुकै परिकार पनि निकै मिठो बनाउनुहुन्छ आमाले। मेरो कान्छालाई यो मन पर्छ, ऊ मन पर्छ आमाले मेरो रोजाइका परिकार बनाउनुहुन्छ तर म .... सधैं ढिलो आउँछु।
खाना खाएपछि आमा छोरा सँगै टिभी हेर्छौ एकैछिन। आमा मेरो छेउमै बस्नुहुन्छ, कपाल, गाला मुसार्नुहुन्छ। 'ए कान्छा, अब त तँ बुढो हुन लागिस् अब बिहे गर। नातिनातिना हेरेर मरौंला भनेको त्यतिकै पार्छस् कि क्याहो?'
'आफ्नो खुट्टामा उभिन्छु, डिग्री पढ्छु भन्थिस् सबै त गरिसकिस अब के कुराले रोकेको छ हँ ? अब बुहारी भित्राउने काम गर कान्छा। तँ भन्दा कान्छा भाइहरूको घरजम उहिल्यै भइसक्यो, तँ किन यति अटेरी भएको हँ? कि कोही केटी मन पराको छस् भने भन, तेरो जिन्दगी तैंले बिताउने हो। तँ खुसी हुन्छस् भने मबाट केही रोकटोक छैन बाबै तर तिम्रो बुहारी यो हो आमा भनेर देखा, अब पनि अल्लारे बनेर नहिँड।'
आमाको कुराले विगततिर पुर्याउँछ।
***
दुर्घटनामा परेर बुवा बित्नुभयो। बुवाले सधैं मलाई भन्नुहुन्थ्यो, 'मैले पनि मेरी आमाको एकथोपा आँसु झारेको छैन आजसम्म, हेर छोरा बुढेसकालमा धेरै जपतपले जन्मिएको होस् तँ। तेरी आमाको कहिल्यै आँसु नझार्नु। मेरो हजुरआमा पाँच वर्षअघि बित्नुभयो। चार भाइ काकाहरूसँग नबसेर हामीसँगै बस्नुभएको थियो। हजुर आमालाई निकै माया गर्नुहुन्थ्यो बुवाले। आमाको आँसु लाग्छ केटा। संसारमा सबै चिज पाइन्छ तर आमा किन्न पाइँदैन' सधैं यसै भन्नुहुन्थयो बुवा।
अहिले सोच्छु बुवा तपाईंले आमा किन्न पाइन्न भन्नुहुन्थ्यो, किन्न त बुवा पनि कहाँ पाइने रहेछ र? तपाईंको अभाव कसरी पूरा गरौंला म?
'सबै कुराको ऋण तिर्न सकिन्छ तर आमाको दशधारा दूधको ऋण तिर्न सकिन्न। कहिल्यै पनि दिदीहरूको मन नदुखाउनू,
माइती म पछिको तैं होस्, दिदीहरूको अन्त जाने ठाउँ छैन। अरू दाइभाइ कोही छैनन्। भान्जाभान्जी झोलीका देउता हुन्। उनीहरूलाई कहिल्यै बेखुसी नबनाउनू।' बुवाका आर्शीवचनहरू एकपछि अर्को घुमिरहन्छन्।
आफू भर्खर अठार उन्नाइस वर्ष थेँ। बुवाले हरेक दिनजसो यस्ता अर्ति दिइरहनुहुन्थ्यो। मेरा सैँसाथी अल्लारे भएर हिँड्दा, बाउको पैसामा मोजमस्ती गर्दा म भने परिपक्क जस्तो भएको थिएँ।
बुवाले सधैं यस्तै उपदेश दिइरहनुहुन्थ्यो, म २० वर्षको हुँदा बुवा बित्नुभयो। बुवाका अर्ति उपदेशहरू पूरा गर्नु मेरो जिम्मेवारी हो भन्ने मात्रै मनमा लागिरहन्थ्यो।
चार जना दिदी, चार जना भिनाजु , नौ जना भान्जा भान्जी, एक्ली आमा मेरो नितान्त परिवार भित्रका सदस्य हुन्। यिनीहरूमध्ये कोही एक जनाको मन खिस्रिक्क भयो भने पनि बेचैनी हुन्छ।
आमाले सधैं बिहे गर भन्नुहुन्छ तर बिहेपछि यो सबै तारतम्य साँच्चिकै बुवाले भनेकै लयमा जाला त? मेरो जीवन साथीले मेरा यी आफन्तको मन राख्लिन् त? आमालाई बुहारी भित्राइदिन मन नभएको होइन तर हरेक व्यहारिक पक्ष हेर्दा सोच्दा त्यो अवस्थामा अझै पुगेको छैन। अझै केही समय लाग्छ पक्कै पनि।
मनले अनेक सोच्दासोच्दै शनिबार बिहान हुन्छ। आमा अलि झिसमिसेमै उठ्नुहुन्छ, नित्य पूजा गर्नुहुन्छ। आमाले पढेका रामायणका श्लोक र पूजा गर्दा बजेको घण्टीको आवाज मेरो निद्रा व्युँझाउने अचुक अस्त्र हुन्।
आज बिदाको दिन, छोराले कतै मन्दिरतिर घुमाउन लैजान्छ कि?
घरमा कोही आफन्त बोलाउँछ कि?
दिनभरि मैसँग बसेर गफ गर्छ कि?
आमा आज यो खाऊँ, त्यो खाऊँ भन्छ कि?
आमाको मनले के के सोच्छ होला तर आफ्नो पीडा अर्कै छ। प्राइभेट बैंकको जागिर। अरू बेला त बिहान गएर साँझ घरमा फर्कन्छु। तर अब असार मसान्त, पुस मसान्त, चैत मसान्त हुन्छ घर फर्कने टुंगो हुँदैन। एक दुई पटक त बिहान दुई बजे घरमा पुगेर सुतेको छु हिसाब मिलाउँदा मिलाउँदै नसकिएर। पाएको जिम्मेवारी जसरी नि पूरा गर्नैपर्छ।
आमालाई यो बाध्यता सुनाऊँ भने भोलिदेखि जागिर खान नजा भन्नुहुन्छ। अर्काको काम गरी खानलाई कहाँ सजिलो छ र आमा? अर्काको खटनमा चल्नुपर्छ।
शनिबार पनि आमालाई भन्न करै लाग्छ, 'आमा आज पनि हिजोकै टाइममा खाना पकाउनु पर्छ है' आमाको मुहार एकाएक अर्कै हुन्छ।
'किन कान्छा?'
'आज त बिदा हो नि विस्तारै खाए नि हुन्छ'
आमा कसरी भनौं आज पनि अफिसमा जानु छ भनेर?
आमा आज मेरो अफिसको वार्षिक उत्सव हो, आज जसरी पनि जानुपर्छ। आमालाई बाध्यता सुनाउँछु। अब भने आमाको रिसको पारो विस्तारै उकालो चढ्न थाल्छ। 'यो संसारमा मेरै छोराले खाएछ कसैले नखाएको जागिर।
हैन कस्तो जागिर हो कान्छा तेरो?
कहिल्यै घरमा बास हुन्न, कहिले के भन्छ, कहिले के भन्छ?
बिहान पनि अरू दश बजे पुगे हुन्छ तँलाई नौ बजेभित्रै पुग्नुपर्छ।
साँझ अरूको पाँच बजे बिदा हुन्छ तँ उज्यालोमा आएको रेकर्ड छैन।
शुक्रबार अरूको तीन बजे बिदा हुन्छ त्यो दिन पनि तँ आउँदा तारा लाग्छन्।
हैन कस्तो जागिर हो यो ?
सबै तैँजस्ता छन् त जागिर खाने?
अस्ति कान्छा बुवाको घरमा पूजा थ्यो, त्यहाँ जान पनि तेरो बिदा मिलेन। त्यो भन्दा पहिले काकाको घरमा ब्रतबन्ध थियो त्यहाँ पनि मलाई पुराइदिस् तेरो बिदा मिलेन।'
सार्वजनिक बिदाको दिन मेरो पनि बिदा हुन्छ तर आफ्नै काम सकिएको हुँदैन, बाध्य भएर कहिलेकाहीँ अफिस गइरहनुपर्छ। कामको पेलान भए पनि बैंकमा सेवासुविधा चित्त बुझ्दो नै छ यसमै खुसी छु।
'अस्ति छिमेकी काकाकी छोरीको पास्नी थ्यो त्यहाँ जान पनि तँलाई फुर्सद भएन। हुँदाहुँदा दिदी अमेरिका जाँदा एयरपोर्ट जानेधरी तँलाई फुर्सद भएन। जागिर तैंले खाको छस् कि जागिरले तँलाई खाको छ कान्छा? मैले भेऊ पाउन सकिनँ।
जागिर आफूले पो खाने हो त आफैंलाई त्यही जागिरले खाने गरी कोही जागिर खान्छ र? यो जागिर छाडिदे , सरकारीमा लड्' आमाको कुरा सकिएको हुँदैन।
सरकारी बैंकमा जागिर खाएका साथीभाइको पीडा पनि मेरो जतिकै त नहोला तर खटन उनीहरूको पनि अन्य सरकारी जागिरको तुलनामा बढी हुन्छ। जहाँ पनि कामको स्वरूप त उस्तै हो तर यो सब आमालाई भन्नु भएन।
आमाले धाराप्रवाह आफ्ना कुरा राख्नुहुन्छ। के गर्नु आमा ? भन्दा बित्तिकै सरकारी जागिर हात लाग्दैन। पहिले पनि दुई वर्ष बोर्डिङ स्कुलमा पढाएकै हो। स्कुलमा पनि कम्ती पेलान् थिएन। स्कुलमा त झन् आठ बजे पुग्नुपर्थ्यो, एकदिन बिदा माग्दा पनि प्रिन्सिपल सरको मुख अँध्यारो बन्थ्यो।
एकदिन केही जरूरी काम परेर स्कुल पुगिएन भने त्यो दिनको तलब काटिन्थ्यो, कम्तीमा बैंकमा वर्ष दिनमा फोर्सलिभ पाइन्छ, बोनस हुन्छ। कमर्समा डिग्री गरेको मान्छे, म फिट हुने बैंकमै हो।
कि त आफ्नै केही उद्यम गर्नुपर्यो, आखिर अर्काको खटनमा काम गर्नुपरेपछि जहाँ पनि यस्तै त हो नि मनमनै आफैंले आफैंलाई सम्झाएँ।
यो एक प्रतिनिधि पात्रको भोगाइले धेरैको भोगाइलाई उजागर गरेको छ। हप्ताको एक दिन पनि परिवारलाई समय दिन नसक्ने जागिरेहरू धेरै छन्।
एक जना विवाहित साथीका श्रीमान श्रीमती नै निजी बैंकमा जागिरे थिए। बेला-बेलामा साथीले सुनाउँथिन्, दुवै जना प्राइभेट बैंकमा जागिर खाने हो भने बच्चा नपाए पनि हुन्छ। बच्चाले बाउआमा चिन्दैन जन्माएर मात्रै के गर्नु? उनको भोगाइमा धेरै कुरा लुकेको थियो।
अर्की साथीले सुनाउँथिन् श्रीमान सरकारी अफिसमा श्रीमती प्राइभेट बैंकमा जागिरे हुने हो भने धेरैको डिभोर्स हुन्छ यहाँ। सबैका परिवार बुझ्ने हुँदैनन्, हरेक दिन किन यतिबेला? कस्तो जागिर हो ? कसैले नखाएको जागिर ? यस्ता प्रश्नको उत्तर दिँदादिँदा श्रीमतीहरू थाकिसक्छन्। या त करियर सकिन्छ या त सम्बन्ध।
प्राइभेटमा पनि माथिल्लो पदमा सुविधै सुविधा हुन्छ, तल्लो तहमा पेलानै पेलान धेरै हुन्छ। एकदिन पनि आफ्ना छोराछोरीलाई कहीँ कतै घुमाउन नलैजाने, कोही आफन्तको निम्तो मान्न नभ्याउने, आफन्त मर्दापर्दा पनि उपस्थिति जनाउन नसक्ने जागिरेहरू धेरै छन्। पहिले परिवार त्यसपछि जागिर हो। जागिर हामीले खाने हो तर धेरै परिवारमा जागिरले खाइरहेको देखिन्छ।
जागिर, पद, प्रतिष्ठा भनेको क्षणिक समयको लागि हो तर परिवार, आफन्त, छिमेकी जागिर हुँदा पनि चाहिन्छन् जागिर सकिएपछि पनि चाहिन्छन्। बाध्यता, विवशता आफ्नो ठाउँमा होलान् तर जागिरले नै हामीलाई खानेगरी सकभर जागिर नखाए कसो होला?
परिवारकै खुसीको लागि जागिरे बनेका हामी हाम्रै बाध्यताले परिवार टाढिन्छ, आफन्त टाढिन्छन् भने त्यस्तो जागिरको के औचित्य होला र?