तीन वर्ष पूरा भयो कोरोना महामारी फैलिएको।
यो तीन वर्षको अवधिमा आ-आफ्नो परिवारबाट कोही न कोही नगुमाउने सायदै कम होलान्।
यही पीडा मभित्र पनि गुज्रिएको थियो।
मैले पनि आफ्नो ज्वाइँ सापलाई गुमाएँ।
बहिनी ज्वाइँको बिहे भएको छ महिना मात्रै पूरा भएको थियो।
यो सहनै नसक्नुको पीडा ज्वाइँ सापको परिवार र मेरो परिवारले भोग्नुपर्यो।
यो घटना भुल्न म र हाम्रो दुबै परिवारलाई त्यति सहज थिएन।
हामी त सृष्टिकर्ता नै त हौं, कर्मले जे चाह्यो, जे माग्यो कर्ताले त्यही नै पूरा गर्नुपर्ने रहेछ।
थोरै भए पनि पीडा भुलाउन राहत हुन्छ कि भन्ने सोचले टिकटक हेर्ने गर्थें।
कहिलेकाहीँ आफू पनि बनाउने गर्थें। दिनहरू यसरी नै बित्दै थिए।
एक दिन रमाइलोको लागि एउटा टिकटक भिडिओ बनाएँ, त्यो पनि आफ्नो भ्वाइसमा ठट्यौली शैलीमा 'हेल्लो टेलिकमकी दिदी साबुन पानीले हातमात्रै धुनी भन्नुहुन्च पन्ध्र दिन भो नुहाउन पर्च कि पर्दैन' भनेको थिएँ। राम्रै भ्युज कमाएछ त्यो भिडिओले।
त्यसपछि मलाई टिकटकको मोह बढ्दै गयो। रमाइलो शैलीमा प्रत्येक दिन मैले एउटा टिकटक पोस्ट गर्न थालेँ।
मिलियनसम्म भ्युज आउन थाले।
कमेन्ट पनि चार, पाँच सयभन्दा बढी आउने भएकाले मैले कसैलाई पनि नोटिस गर्न सकेको थिइनँ।
एक दिनको कुरा हो म टिकटकमा लाइभ बस्दै थिएँ। रातो प्रोफाइल पिक्चरमा सजिएकी केटी साथीले त्यहाँ लेखिन् 'हेल्लो जी गुड आफ्टरनून, मैले इस्टाग्राममा फलो गरेको छु है म टिकटक खासै प्रयोग गर्दिनँ, फलो ब्याक दिनु होला है' यती भनेर मेरो लाइभ छोडेर गइन्।
म भने केहीबेर लाइभ नै बसेँ। लाइभ सकेर यसो इन्स्टाग्राम हेरेको त मेरो सबै फोटोमा लाइक आएको रहेछ।
लाइक आएको प्रोफाइल खोलेर उनी को रैछिन् म हेर्न पुगेँ। उनी अरू कोही नभएर टिकटक लाइभमा कमेन्ट गर्ने तिनै केटी रहिछन्।
ठूला आँखा भएकी, न मोटी न पातली सर्लक्क जिउडाल परेकी रहिछन् उनी।
मैले नि फलो ब्याक दिएँ अनि उनको सबै फोटो हेर्नतिर लागेँ।
म फोटो जुम गरी गरी हेर्दै थिएँ, त्यही बेला उनको म्यासेज आयो । 'थ्यांक्यू जी, फलो ब्याक दिनुभएकोमा, अनि वेलकम माई इन्स्टा, मेरो सुत्ने बेला भयो, भोलि कुरा गर्छु है गुड नाइट'!
मैले गूड नाइट टू भन्न नपाउँदै उनी अफ लाइन भइन्।
देखेको, भेटेको, चिनेको जानेको केही थिएन उनीसँग। तर मनमा एक खालको कौतुहलता भने आइसकेको थियो।
मनमा उनीप्रतिकै भाव खेलाउँदै म नि ओछ्यानमा पल्टिरहेको थिएँ निदाएछु। बिहान उठ्दै आठ, नौ बजिसक्छ !
उठेर आफ्नो नित्यकर्म सकेर म अफिसतिर लागेँ। पेसाले म नुडल्स कम्पनीको सेल्स मार्केटिङ गर्छु।
दिनभरि बाइकमा यताउता धुलो, घामपानी केही नभनी सदाका दिनमा जस्तै काम सकेर घर आएँ।
घर आएपछि त त्यही हो रमाउने साथी टिकटक! एउटा भिडिओ पोस्ट गरिहालेँ।
खाना खाएर आफ्नो कोठामा बस्दै मेरो टिकटक लाइभ सुरू भयो। ती केटी साथी भने मेरो लाइभमा आइनन्, म पनि लाइभ छिटो नै सकेर इन्स्टा हेर्न थालेँ।
उनी अनलाइनमै रहिछन्। मैले उनलाई उनकै शैलीमा म्यासेज गरेँ 'हेल्लो जी कल गरम' उनको रिप्लाई तुरून्तै आयो 'ओके जी' मैले भिडिओ कल गरेँ।
फोटोमा देखे भन्दा निकै राम्री रहिछिन्।
उनको आँखाको तारिफ गरिदिएँ मैले, उनले सहजै स्वीकारिन्। उनलाई यस्तो तारिफ आउनु सामान्य लाग्दो रहेछ।
सुरूको दिन त्यस्तो व्यक्तिगत कुरा गर्न मन लागेन मलाई। सामन्य कुरा भयो पढाइ, पेसा, घर,बसाइ, टिकटक समसामयिक विषयवस्तु। एक घन्टा बितिसकेछ।
उनले सुत्नुपर्छ अब भनिन् मैले हुन्छ भोलि कुरा गरौंला भनेर फोन राखियो।
उनी पेसाले पत्रकार रहिछन्। समसामयिक विषयमा निकै रूचि रहेको देखाइन्।
माया प्रेमभन्दा पनि एउटा घनिष्ठ मित्रताको सम्बन्ध बनाउन मन लाग्यो उनीसँग।
म पनि निदाएछु। बिहान भएपछि उही त हो मेरो दैनिकी कामतिर लागेँ।
मैले त्यो दिन सोसल मिडिया प्रयोग गरिनँ।
कामको व्यस्तताले म कहिले कता, कहिले कता भएँ। महिनौंसम्म मैले इन्स्टाग्राम चलाइनँ।
टिकटकमा भने बेला मौकामा भिडिओ अपलोड गरेकै हुन्थेँ।
एक दिन समय मिलाएर नै टिकटकमा लाइभ बसेको थिएँ, उनी लाइभ हेर्न आइन्।
मैले उनलाई वेलकम गरेँ, उनको फेसबुक अकाउन्ट नाम सोधेँ, उनले इन्स्टा र टिकटकभन्दा अरू प्रयोग नगर्ने बताइन्।
लाइभ सकेर टिकटककै म्यासेज बक्समा उनलाई म्यासेज गरेँ। मैले उनलाई फेसबुक चलाउन आग्रह गरेँ उनले सहजै स्वीकारिन्। त्यो दिन म्यासेन्जरमा हामी दुई घन्टासम्म कुरा गर्यौं।
दैनिकीजस्तै बेलुका नौ बजेदेखि दश बजेसम्म हामी गफ गर्थ्यौं।
एक दिन कुरै कुरामा मैले मेरो मनमा भएका सबै गुनासो एक साथ पोखेँ।
मेरा कुराले उनको आँखा रसाउँदै थिए। मलाई आफ्नो जीवन्त भोगाइलाई ब्लगमा उतार्न मन लागेको थियो।
'तिमी त पत्रकार मेरा भोगाइबारे लेखिदेऊ न!' भनेँ।
उनले मलाई लेख्न सहयोग गर्छु, यी यी कुराबाट सुरू गर्नुस् भनिन्। उनको हरेक शब्द गहकिला लाग्छन् मलाई, बोल्नु अघि सोचेर, गहिराइमा पुगेर बोल्ने उनी मेरोबारे पनि मैले लेख्न लगाएँ।
उनको स्वभाव नै यस्तै रहेछ कसैलाई पनि नाइँ भन्न नसक्ने!
'दुई चार दिन अलि बिजी छु। तपाईं बनेर मैले लेख्दा धेरै कुरा छुट्न सक्छ, म सुरूआत र अन्त्य हेरिदिन्छु। तपाईंको भोगाइ आफैं समेट्नुस्' ती साथीले भनिन्।
त्यसपछि मैले मेरा भोगाइको सानो अंशलाई समेटेर यो लेख तयार पारेँ।
हामी सबैको जीवनमा एउटा न एउटा कहालीलाग्दो घटना घटेको हुन्छ। कसैले आफ्नो वेदना खोल्न चाहन्छन् त कसैले मनमै राख्न।
ती मेरी केटी साथी र मबीच भेट भएको छैन सोसल मिडियाबाट नै चिनजान भए हो।
भेट्ने कुरासम्म भएको छ समयले साथ दिएसम्म भेटघाट पनि गर्नेछौं।
आज हामी एउटा पक्का दोस्ती बनेका छौं। यसरी हेर्दा सोसल मिडिया नराम्रो माध्यम होइन यसको प्रयोगकर्ताले यसलाई नराम्रो बनाए हुन् कि जस्तो देखिन्छ।