हरेक वर्ष विश्वभर १.३५ मिलियन मानिस सडकमा मारिने गरेका छन्। कार, बस, मोटरसाइकल, साइकल, ट्रक, वा पैदल यात्रीहरू समावेश भएका दुर्घटनाहरूमा हरेक दिन लगभग ३७ सय मानिसहरू विश्वव्यापी रूपमा मारिएका छन्।
मारिनेमा आधाभन्दा बढी पैदलयात्री, मोटरसाइकल चालक वा साइकल चालक छन्। सबै उमेर समूहहरूको लागि विश्वव्यापी रूपमा मृत्युको आठौं प्रमुख कारण र ५-२९ वर्ष उमेरका बालबालिका र युवाहरूको लागि मृत्युको प्रमुख कारण दुर्घटना हुने अनुमान गरिएको छ। अब एचआईभी/एड्सबाट भन्दा दुर्घटनामा धेरै मानिसहरू मर्छन्। घातक र गैर-घातक दुर्घटना चोटहरूका कारण विश्व अर्थतन्त्रलाई लगभग १.८ ट्रिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ।
एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटर क्षेत्रफल रहेको नेपालको जनसंख्या राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक परिणामअनुसार २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। कोरोनाका कारण लकडाउनका बाबजुद आर्थिक वर्ष २०७७/७८ मा नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या झण्डै २५ सय पुगेको छ।
गुगललाई आधार मान्ने हो भने ३२ लाख ८७ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको छिमेकी मुलुक भारतको जनसंख्या झण्डै एक अर्ब ४० करोड ३३ लाख ९ हजार ८९७ पुगेको छ भने अघिल्लो वर्ष झण्डै एक लाख ५० हजार जना सडक दुर्घटनामा परी मृत्यु भएको देखिन्छ।
विश्वभरमा भएको सवारी साधनको झण्डै एक प्रतिशत सवारी साधन रहेको भारतमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या विश्वभरको सवारी दुर्घटना संख्याको एघार प्रतिशत पुगेको छ।
९८ लाख ३४ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको संयूक्त राज्य अमेरिकाको अमेरिकी जनगणना ब्युरोले जनवरी १, २०२२ मा संयुक्त राज्यको जनसंख्या ३३ करोड २४ लाख तीन हजार ६५० हुने अनुमान गरेको छ भने संयुक्त राज्य अमेरिकाको यातायात विभागको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले जारी गरेको आफ्नो २०२० वार्षिक ट्राफिक दुर्घटना डाटाअनुसार राष्ट्रव्यापी ट्राफिक दुर्घटनाहरूमा ३८ हजार ८२४ जनाको मृत्यु भएको छ।
तसर्थ, यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरण दिन प्रतिदिन विश्वकै लागि चुनौतीका रुपमा खडा भएको छ। दुर्घटना कसैको प्रिय हुन सक्दैन, त्यसमा पनि गम्भीर र घातक दुर्घटनाहरू त झन् सबैका लागि त्रासदीपूर्ण हुन्छ नै। यस्ता दुर्घटनाका कारण विश्वले ठूलो धनजनको क्षती व्यहोरिरहेको छ, लाखौँ मानिसहरूले अकालमा ज्यान गुमाइरहेका छन्, लाखौँ मानिसहरूले जीवनमा अपाङ्गता भोग्नुका साथै जीवनका सुमधुर क्षणहरू तितो गरी बिताउनु परेको छ। यसमा नेपाल पनि अछुतो हुने कुरै भएन।
नेपालजस्तो विकासशील देशमा मात्र नभई भौतिक पूर्वाधारको चरम विकास र सवारी दुर्घटना न्यूनीकरणका प्रविधिहरूको अधिकतम प्रयोग गर्ने विकसित देशमा पनि यातायात व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण एउटा ठूलो चुनौतीका रूपमा रहेको।
सहज यातायात व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि राज्यले सडक/राजमार्गसँग सम्बन्धित भौतिक पूर्वाधार विकास निर्माण र सवारी दुर्घटना न्यूनीकरणका प्रविधिहरूको अधिकतम प्रयोगमा जति ध्यान वा लगानी गर्नुपर्छ। त्यसको निश्चित प्रतिशत चालकहरूको कुशलता, निपूर्णता , जिम्मेवारीपन, सचेतना अभिवृद्धि गर्ने र शारिरिक वा मानसिक क्षमतामा सुधार ल्याउन खर्च गर्नु पनि उत्तिकै जरुरी छ।
यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरणसँग सम्बन्धित पक्षहरूमा सबैभन्दा प्रभावशाली र संवेदनशील पक्ष चालक हो। गम्भीर वा घातक दुर्घटनाको प्रमुख कारणका रुपमा यान्त्रिक गडबडी, मादक पदार्थ सेवन (मापसे) वा तीव्रगति रहने गरेको छ जुन चालकको चरम लापरबाहीका कारण हुने गर्दछ।
सवारी साधन चलाउनुअघि यान्त्रिक चेकजाँच र आवधिक मर्मत सम्भार गर्नु, सवारी नियमको पालना र तीव्र गतिलाई रोक्नु चालकको प्रत्येक्ष नियन्त्रणमा हुन्छ। अझ ऊसँग राज्यले दिएको विश्वास, जिम्मेवारी अर्थात् सवारी साधन चलाउने अनुमति पत्र (लाइसेन्स) हुन्छ।
चालकले सचेत भई जिम्मेवारीपूर्वक सुरक्षित रुपमा सवारी साधन चलाएमा जाम घट्ने, यातायात व्यवस्थापन सहज हुने मात्र नभई दुर्घटनाजस्तो अप्रिय घटना नै उल्लेखनीय रूपमा न्युनीकरण हुनेतर्फ गुणात्मक परिणाम आउँछ। तसर्थ राज्यका तर्फबाट चालकहरूको कुशलता, निपूर्णता, जिम्मेवारीपन, सचेतना अभिवृद्धि गर्ने तथा शारीरिक वा मानसिक क्षमतामा सुधार ल्याउने पक्षमा विशेष ध्यान दिनु जरूरी छ।
यसका लागि राज्यले कक्षा ४ बाट कक्षा १० सम्मै कुनै एउटा अनिवार्य विषयमा 'ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण' विषयक एउटा छुट्टै अध्याय/च्याप्टरको रुपमा राखी अध्ययन अध्यापनको थालनी, सवारी/पैदल यात्रु/चालक/सहचालक आदिलाई समयसापेक्ष परिणाममूखी जनचेतनामूलक कार्यक्रमहरू संचालन, सवारी नियम उलंघन गर्ने चालकहरूको नियमन र नियन्त्रणमा कडाई र हालको लिखित र ट्रायल परीक्षामा पास हुने वित्तिकै सवारी साधन चलाउन सवारी चालक अनुमती (लाइसेन्स) प्रदान गर्ने परम्परागत विधिमा परिमार्जन गर्नु जरुरी छ।
सवारी चालक अनुमती वितरण गर्नुअघि लिखित र ट्रायल परीक्षा अघि वा पछि चालकमा हुनुपर्ने ज्ञान, कुशलता, निपूर्णता, जिम्मेवारीपन, सचेतना अभिवृद्धि गर्न ड्राइभिङ सीप, ज्ञान, भाषा, उत्तरदायित्व आदिसंग सम्बन्धित विशेष व्यवहारिक ज्ञान प्रदान गर्नु वा व्यवस्था गर्नु पनि राज्यको दायित्व हो।
सार्वजनिक सवारी साधन चलाउने, अझ लामो दूरीको सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालकहरूको राज्यले विशेष ध्यान दिनुपर्छ। चालक र सहचालकहरूको आजको प्रवृत्ति तथा समाजमा उनीहरूप्रति आजको नकारात्मक सोचमा व्यापक परिवर्तन ल्याउनु जरुरी छ।
यात्रुहरूलाई समयमै सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउने चालक र सहचालकहरू पनि समाजको एउटा अभिन्न अंग हो। सार्वजनिक सवारी साधन चलाउनु एउटा सीप हो, डाक्टर, नर्स, ईन्जिनियर, वकिल, चित्रकारीता, कलाकारीता भने झैँ एउटा महत्वपूर्ण पेसा हो भन्ने कुरामा राज्यको ध्यान जानुपर्छ। साथै चालक, सहचालक र समाजलाई बुझाउनु पर्छ।
यसका बाबजुद तिनीहरूको जीवनस्तर उकास्ने तर्फ पनि राज्यले विशेष ध्यान दिनुपर्छ। अझ भन्नुपर्दा सार्वजनिक सवारी साधन चलाउने काम कम पढे-लेखेको, काम नपाएपछि गरिने कामको रुपमा समाजमा स्थापित गरी राख्नु हुन्न। बरु शिक्षित व्यक्तिहरूलाई पनि यसतर्फ आकर्षित गरी पेसाको रुपमा अंगाल्न र समाजमा गर्व गर्न सकिने वातावरण बनाउने तर्फ पनि राज्यको विशेष ध्यान जानुपर्छ। किनकि एकैपल्ट धेरै जनाको मृत्यु सार्वजनिक सवारी साधनबाटै हुने गरेको छ।
नेपालमै पनि सवारी साधन चालकहरूलाई केही मात्रामा भए पनि विशेष जिम्मेवारी बोध, तालिम र जीविकोपार्जन गर्न सहज हुने तलब सुविधा दिइएकाले साझा बस, टुरिस्ट बस वा टुरिस्टहरूलाई ओसारपोसार गर्ने सवारी साधनहरूको दुर्घटना र दुर्घटनाबाट हुने मृत्यु संख्या ज्यादै न्यून रहेको अवस्था छ।
(लेखक प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका ट्राफिक ईन्जिनियर हुन्।)