संसारकै सुन्दर प्यासेफिक हाइवेमा कार हाँकिरहँदा पनि दशैतिहारको टिका, गाइजात्राको लाखे नाच र माघी मेला जस्ता पर्वहरूको सम्झनाले गरिब बनाइरहन्छ।
झण्डै १३ वर्ष अमेरिका बसेर मातृभूमि फर्केपछि म समाजशास्त्रमा स्नाकोत्तर गर्दैछु। पचास कटेपछिको कलेज जीवन रमाइलो बनेको छ।
इष्टमित्र, आफन्त र साथीहरू भेट्नेवित्तिकै सोध्छन्, ‘अब कहिले अमेरिका फर्कनु हुन्छ ?’
मलाई यसरी सोध्नेहरूले विदेशको मनिमाइन्डेड समाजका बारेमा थाहा पाएका छैनन्। उनीहरूलाई के थाहा यतिवेला म ऊर्जाशील नवयुवक साथीहरूसँग रमाएको छु भन्ने कुरा!
आज नजिकका साथी बनेका छन् २४ वर्षे नवराज, बिनायकलगायत। मेरो उमेर पचास कटे पनि पच्चीस वर्ष नकटेकाहरू कलेजका साथी बनेका छन्। छोराछोरी भन्दा पनि कान्छालाई साथी बनाउन पाउँदा बेग्लै संसार बनेको छ।
हाम्रो एम.ए. समाजशास्त्र २०७७ को कक्षा गत २०७८ असोजबाट सुरु भएको हो। हाम्रो कक्षामा चालीस उमेर वरपरका पनि केही साथी छन्। अधिकांश भने २५ वर्ष मुनिकै छन्।
मेरा दुई सन्तान मध्ये छोरो अमेरिकामै कम्प्युटर साइन्समा पि.एच.डी. गर्दै छ। छोरीले पनि इन्जिनियरिङमा मास्टर सकिन्।
जीवनको आधा उमेर घर्केपछि किन म झोला बोकेर कलेज धाउँदै छु त? बिस्तारै भन्छु है !
पोहोर नव वर्षको बिदा मनाउन हामी अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको मियामी बिच कटेर कि वेष्ट तर्फको भ्रमणमा थियौ।
१ सय ५ माइल समुन्द माथि बनेको सिधा हाइवेमा हाम्रो नयाँ कारको स्पिड ८० माइल भन्दा माथि थियो। छोरो कार हाँकिरहेको थियो भने म छेवैमा बसेर अमेरिकाको बिकाससँग नेपालको तुलना गर्दै थिएँ।
छोरो बिचमा प्वाक्कै बोल्यो, ‘देश बिगारेको तपाईं जस्ताले गर्दा नै हो। तपाईं बेलैमा स्नातक पास भैसकेको मान्छे स्नाकोत्तर गर्छु पनि भन्ने तर अमेरिका छाड्न पनि नसक्ने, फेरी दोष जति नेतालाई थोपरेर हुन्छ? शिक्षालाई हैन धनलाई मात्र महत्व दिने तपाईंको पुस्ता नेतृत्वमा गएर देश बिगारिहेका छन्। र, त्यही पुस्ताका पढेलेखेका भन्नेहरू विदेशमा बिलाउँदैछन्। देश बाहिर बसेर नेपालमा विकास भएन भनेर कराउनेहरू पनि नेता जत्तिकै जिम्मेवार छन्।’
देश बिग्रेकोमा म पनि दोषी रहेको छोराको तर्क थियो। ‘अब तपाईंले पढ्न सक्नु हुन्न’ भनेर उसले बाजी थाप्यो। समय र परिस्थिति मिले स्नातकोत्तर गरिछाड्छु भन्दै बाजी ठोकें मैले पनि।
पहिला पनि मास्टर लेभलमा भर्ना भएर केही महिना कलेज गएर छाडेकै हो। कुनै बिषयमा मास्टर गर्ने र त्यसको उपयोग आफ्नै ठाउँमा गर्ने मेरो मानसिकताले उपयुक्त निकास खोजिरहेको थियो। केही समयपछि अर्कैै कारणले २ महिनाका लागि म नेपाल फर्कें।
म यता आको केही दिन पछि कोरोना भाइरसका कारण सवै उडान बन्द भए। मेरो रिर्टन टिकटको समय क्यान्सिल गरि नयाँ उडान तालिकाको टिकट बनाउनु प¥यो। अर्थात मेरो बसाइ लम्बियो। यसैबेला घरका केही सदस्य र आफन्तले अब किन फकर्ने? यतै बस भन्न थाले।
मैले पनि फ्लोरिडामा छोरासँग गरेको बाचा सम्झिएँ र यतै बस्ने निधो गरें। त्यसैले त्यो बाचा जित्न अहिले झोला बोकेर कलेज जाँदैछु।
पढाइअनुसारको काम नेपालमै पाएको भए त्यो बेला म अमेरिका किन भासिन्थें र?
यो सवै नेपालीको समस्या हो। वैदेशिक रोजगारी धेरैको सपना बनेको छ। पचास लाख नेपाली विदेशमा छन् भनिन्छ। झण्डै दश लाख जना भारतमा सामान्य रोजगारीमा जीवन विताउँदैछन् भने खाडी मुलुक कतार, साउदी अरब, दुवईलगायत देशमा सामान्य मजदूरि गर्नेको संख्या दश लाख भन्दा धेरै छ। यस्तै मलेसिया र पूर्वी एशियामा जानेको संख्या पनि झण्डै दश लाख नै मानिन्छ। अष्ट्रेलिया र युरोप पुग्नेको संख्या पनि दश लाख भन्दा धेरै ठानिन्छ भने अमेरिका, क्यानेडाजस्ता देश पुग्ने पनि पाँच लाख भन्दा धेरै छन् भनिन्छ।
त्यसैले हामी तीन करोड नेपालीमा वीस वर्ष तलका किशोर वा बालक, ६० वर्ष माथीका ज्येष्ठ नागरिक तथा अशक्त जनसंख्यालाई छुट्याउँदा नेपालको कुल युवा जनशक्तिको ठिक आधा बिदेश पलायन भएको छ भन्न सकिन्छ। चाहे बाध्यताले होस् या रहरले, चाहे दक्ष होस वा अदक्ष कुनै देशको युवा जनशक्ति रोजगारीका लागि बाहिर जानु स्वदेशमा आफ्नो भविष्य नदेख्नु भनेको त्यो देश पतन तिर गएको संकेत हो।
वास्तवमा हामीलाई गरिब बनाउने नै शिक्षाले हो र अझ ब्यावहारिक शिक्षा र त्यसको सहि सदुपयोग नभएर नै हामी गरिव भएका हौ। बन्दै छौ। अहिले त हामी आर्थिक गरिव मात्र हैन, साँस्कृतिक, सामाजिक र राजनैतिक रुपमा पनि गरिब बनिरहेका छौं।
ब्यक्तिगत कुरा गर्दा मैले पञ्चायती काल देखें र २०४६ को जनआन्दोलनमा क्याम्पसे विद्यार्थीका नाताले भाग लिएँ। उतिबेला ठानिन्थ्यो विकासको बाधक राजसंस्था र निरंकुश निर्दलिय पञ्चायत नै हो। जव पञ्चायत गयो, बहुदलिय ब्यवस्था आयो। राजाको स्थान सिमित भयो। नेपालमा केही हुन्छ भन्ने आशा पलाएको थियो। दलहरूको खुलापन र शासनसँगै देशमा विश्व नवउदारबादको प्रभाव पर्न थाल्यो। फलस्वरुप देशको अर्थतन्त्रमा निकै परिर्वतन आयो, निजीकरण र खुल्ला बजारले स्थानीय व्यवसाय र आयआजर्न धरासायी हुँदै गए।
उता रोजगारीका लागि विदेश जाने चलन झन् बढ्दै जान थाल्यो। राजनैतिक र आर्थिक रुपले तरल ब्यावस्थाको फाइदा केही टाठाबाठाले उठाए पनि र साँस्कृतिक परिवर्तन देखिए पनि सामान्य नेपालीको जीवनमा खासै परिर्वतन भएन। त्यसैले खाडी मुलुक र मलेसियामा सामान्य र दुःखको काम भए पनि गाउँदेखि बजारसम्मका नेपाली जान थाले, वैदेशिक रोजगारीको संस्कृति नेपालका गाउँसहर र कुनाकुनामा फैलियो। रेमिटान्सले अर्थतन्त्रलाई केही सहयोग त भएको छ नै तर यसले देशको समग्र आर्थिक अवस्था र सामाजिक एवम साँस्कृतिक पाटो भने अझ अँध्यारो पार्दै लगेको छ।
नेपालको हालको जिडिपी ग्राहस्थ्य उत्पादनमा २५ प्रतिशत वैदेशिक रोजगारीले धानेको छ। त्यो भनेको घर पोलेर बनेको दाउराको कोइला बजारमा बेचे सरह हो। त्रिभुवन विमानस्थलबाट दैनिक एक हजार नेपाली बिदेशिएका छन् भने त्यही सामान्य बैदेशिक रोजगारीमा गएका दैनिक २ भन्दा धेरै नेपालीको शव आइरहन्छ।
यस्तै नेपालका सम्पूर्ण अड्डा अदालतको कारबाही र मुद्धा हेर्ने हो भने अधिकांस लेनदेन र सम्बन्ध बिच्छेदका हुने गरेका छन्।
लेनदेन तथा सम्बन्ध बिच्छेदका यति धेरै मुद्धा पर्नुमा कहिँ न कहिँ बैदेशिक रोजगारी र त्यसले ल्याएका विकृत व्यवहार स्पस्ट देखिन्छ। तसर्थ बैदेशिक रोजगारीले हाम्रो समाज खराब दिशातिर परिर्वतन भएको छ कि भन्न सकिन्छ।
सांस्कृतिक रुपमा सुगौली सन्धी पछि अर्काको देशमा रोजगारीका लागि नेपाली जाने परम्परा शुरु भएको मानिन्छ। नालापानी लडाईंमा बेलायतले शुरुवाती चरणमा भोगेको असफलता र नेपाली बहादुरले गरेको प्रदर्शनले बृटिस अचम्ममा परे। सोही कारण सुगौली सन्धी मार्फत नेपालीलाई आफ्नो लडाईंको मानव ढाल बनाउन सफल भए। त्यो संस्कृति बिस्तारित हुँदै लाहुरे संस्कृतिमा रुपान्तरण भएको त हो नै, त्यसैको प्रभाव नेपाली समाजमा पनि परेको पाइन्छ। खासगरी पूर्वजले गर्दै आएको पुरानो कृषि पेशा निर्वाहमुखि थियो।
नयाँ ज्ञान र प्रबिधी, उव्जाउ जमिन, यातायात र अन्य सुबिधाको अभावले नेपालको कृषि पेशाले ज्यान पाल्न मुस्किल हुन थाल्यो। तर त्यही मानिस बिदेश गएर कमाएको पैसाले नेपालमा अरुको भन्दा जीवनस्तर उकास्न सक्यो। यसको सिको सिंगो समाजले गर्दै गयो र आजको अबस्थामा आइपुग्यो।
विश्वका हामी जस्तै ७० वर्ष अघि अल्पविकसित मानिएका देश मध्ये साउथ कोरिया एक हो। सन् १९६१ अघि त्यो देश निकै गरिव थियो र नागरिकहरू बैदेशिक रोजगारीमा जाने तथा देशमै दुःखले बाँचेका थिए। जव पार्क चुन हि सेनाको प्रमुखबाट देश प्रमुखमा आए तब उनले ल्याएको योजना र कार्यक्रमले आजको बिकसित कोरिया बन्न सफल भएको हो।
एक असल र विकसित देश बन्न प्रजातान्त्रिक चुनाव प्रक्रियाबाट जनताले चुनेको जनप्रतिनिधीले नै देश बनाउँछ भन्ने करा मात्र सत्य रहेनछ। यस्तै लिबियालाई कर्णेल कद्दाफीले समृद्ध बनाए भलै उनको लामो शासनको अन्त्य तिर विकृत हुँदै गयो र जनताले नै तानेर सडकमा मारे। तर उनले लिबियालाई अरु अफ्रिकी देश भन्दा माथि झण्डै युरोप सरह बनाएको सत्य हो।
अहिले दुबईले विश्वलाई चकित पारेको छ। त्यसको श्रेय पनि एक सेख शासक मोहम्मद बिन रसिदलाई जान्छ। तर विश्व सम्पन्न देशमा स्वास्थ्य क्षेत्र तथा अन्य क्षेत्रमा दक्ष जनशक्ति पठाउने र बैदेशिक रोजगारीको रेमिटान्सले अर्थतन्त्र धान्ने फिलिपिन्स जस्ता देश अझै बिकसित हुन सकेका छैनन्।
लामो समय युरोप र अमेरिकाको कब्जामा रहेको ७ हजार टापु रहेको समुन्दी देश फिलिपिन्स अहिलेका जापान, कोरिया जस्ता देश भन्दा धेरै माथि जानुपर्ने हो। बिडम्बना ! मार्कोस जस्ता भ्रस्टाचारी, अत्यचारी शासकले देश चलाएपछि त्यहाँका नागरिक बिदेश पलायन हुनुपर्ने हुन्छ। देश पनि उँभो लाग्दैन।
अन्त्यमा आफ्नै कुरा गरौं, म त्यही देशको नागरिक हुँ जसको समाजमा ज्ञानको भन्दा धनको महिमा छ। हाम्रो समाजमा कलेज पढाउने लेक्चर भन्दा लाहुरेलाई खोजेर छोरी दिने चलन छ। मैले भोगेको बिदेशमा नेपालीले पाएका दुःख, सुख र ब्यावहारिक पक्ष धेरै फरकफरक छन। सुखी र खुसी जीवन विताउने पनि प्रशस्त छन् तर दुःख पाउने र असन्तुष्टी बिच पनि बिदेशमै रहनुपर्ने बाध्यता भएका अझ धेरै छन्।
वास्तविकता के हो भने बिदेश बिदेश नै हो चाहे खाडी, मलेसिया वा युरोप अमेरिका नै किन नहोसु। काममा फरक होला, स्टाटसमा वा आर्थिक उपार्जनमा फरक होला, दक्ष तथा अदक्षमा फरक होला तर हाम्रो समाज, संस्कृति र परम्परा त्यहाँ पाइँदैन।
मलाई लाग्छ गरिबी कुरा आर्थिकमा मात्र हैन सामाजिक र मानसिक गरिवीले पनि धेरै भुमिका खेल्छ। मेरै देश मेरै घर ठिकै छ भन्दाभन्दै पनि घर परिवार वा समाजको कुरा सुनेर वा उनीहरूको प्रत्यक्ष वा परोक्ष दवावमा परेर बिदेशिने धेरै छन।
म लामो समय बिदेश बसेर नेपाल फर्के पछि ‘कहिले जाने हो उता’ भन्ने पनि उनीहरू नै हुन्। के नेपाल मेरो हैन र ? कताकता लाग्छ नेपालमा महिला र बिदेश गएर फर्केका नेपालीको मानसिक र सामाजिक उस्तै अवस्था छ। बिबाह नगरेकी छोरीलाई यो त अर्काको घरमा जाने त हो नि भनि जन्मेको आमाबुबाको घर पराय भन्न सिकाइन्छ। फेरी उता बिबाह गरेर गइसकेपछि घर तिर अर्काको ठाउँबाट आएर यहाँ हाम्रो घरमा रजाइँ गर्ने भनिन्छ।
आखिर कुन हो महिलाको आफ्नो घर ? बिदेश बसेर आएकालाई पनि बिदेशमा बिदेशी नै भने स्वदेशमा आफ्नै घरमा आउँदा पनि कहिले फर्किने हो रे । नेपालमा आएर केही काम गरौं न भने पनि नेपाली समाजले हेर्ने दृष्टिकोण नै फरक छ कि त यो सँग धेरै पैसा पैसा छ भन्ठान्छन वा बिदेशमा केही गर्न नसकेर बाध्यताले फर्केको हो जस्ता अडकल काट्छन्।
बिदेश बिदेश नै हो। बिदेशिने पहिलो पुस्ता त परिवर्तित जीवनशैलीले जेनतेन रमाएकै छ। नेपालको संस्कृतिको छाप परेकै हुन्छ तर दोश्रो वा तेश्रो पुस्ता त नेपाल र नेपाली समाज एवं संस्कृतिलाई घृणा गर्ने पनि भएका छन्। खासगरि भाषा, संस्कृतिको अनबिज्ञताले ‘म नेपाली हैन’ भन्ने उनीहरूलाई भान हुन्छ। त्यहाँको रैथाने समाजले उसलाई मेरो समाजको भनि कहिल्यै स्विकार गर्दैन्।
कानुनले बर्जित अवस्था बाहेक उसलाई त्यहींको समाजले सधै विदेशीको नजरले हेरिरहन्छ। संसारकै सपनाको देश भनेर दिग्भ्रमित भएका हामी नेपालीको सपनाको देशमा लामो समय बसे पनि यस्तै सोचले स्थायी हुन सकिँन। आखिर जागिर खाए पछि रिटायर्ड हुन्छन के बिदेश जाने उतै बुढो भएर मर्नु पर्ने, के नेपालमा केही गर्नै सकिँदैन र?
अचेल यिनै पश्नहरूको उत्तर खोज्न नवयुवा साथीसँगै उस्तै अल्लारे बन्दै झोला भिरेर पढ्न जाँदैछु। विश्व समाज मात्र नभई नेपाली समाज र समाजको सैद्धान्तिक स्वरुपबारे पनि बुझ्ने प्रयास गर्दैछु।
मेरो कक्षाकोठा नै समाजको प्रयाप्त स्वरुप हो, मेरो कलेज नै देश हो, मलाई देखेर नजिकै कुमारी हिमाल माछापुच्छ्रे पनि मुस्कुराई रहन्छ।
मैले अमेरिकाको उच्च दश मध्यमा पर्ने केही ठुला र धेरै अरु विश्वविद्यालय देखेको छु। त्यहाँ पढ्ने विद्यार्थीको जीवन पढेको छु।
मैले झण्डै ५ वर्ष बिताएको नर्थक्यारोलिना राज्यको दुराम शहरको मेरो वासस्थान नजिक रहेको डुक विश्वविद्यालय अमेरिकामा निकै चर्चित छ। सधैं मेरो बिहानी हिँडाइ हुने त्यस विश्वविद्यालयमा पढ्ने बुढा विद्यार्थी पनि देखेको थिएँ।
पछिल्लो समय मैले ४ वर्ष बिताएको क्यालिफोर्निया राज्यको सिलिकन भ्यालीमा हाम्रो बसाई नजिकै विश्वकै चर्चित स्टानर्फोड विश्वविद्यालय छ। कामको सिलसिलामा म त्यहाँ दिनहुँ पुग्थें। त्यो धनीहरूको विश्वविद्यालयमा विश्वभरका धनीका छोराछोरी पढ्छन्। त्यहाँ विभिन्न उमेर समूहका विद्यार्थी पढ्छन्।
अमेरिकामा पढ्ने संस्कृति छ। त्यसैले समाज बिकास भएको हो जस्तो लाग्छ। प्रायः अमेरिकीहरू प्लसटु गरेपछि अर्थात हाइस्कुल पछि विश्वविद्यालय जाँदैनन् बरु काम तिर लाग्छन। किनकी त्यहाँ १८ वर्ष कटेपछि आत्मनिर्भर हुनुपर्छ।
प्लसटु सम्मको निःशुल्क पढाइ पछि कलेज महँगो हुन्छ। अझ ब्याचलर डिग्री गरेपछि धेरैले मास्टर गर्दैनन किनकी स्नातकमा नै सामान्य पढाइबारे सबै जानेको हुन्छ। मास्टर वा पि.एच.डी. भनेको त त्यस पढाइको बिशिष्टिकरण गर्ने मात्र हो। त्यसैले अमेरिकामा स्नाकोत्तर गर्ने वा पि.एच.डी. गर्नेहरूको उमेर निकै पाको हुन्छ। धेरै वर्ष अन्यत्र काम गरेर फुर्सद मिलाएर मात्र पढ्न आएका हुन्छन्। यही देखिरहेकाले मैले पनि उमेरलाई भुलेर नेपाल गई स्नाकोत्तर गरिछाड्छु भन्ने अठोट लिएको थिएँ।
विदेशको काम, समाज, परिवेश र शिक्षाको महत्व फरक ढंगले बुझेर नै म अहिले यहाँ आएको छु। आफूलाई अझै सामाजिक बनाएर मातृभुमिमा केही योगदान दिनुछ। सेल्फिको जमनामा सेल्फिस भएर बाँच्नेको मनोदशाबारे बुझ्नु छ भने सपनाको देश नेपालै हो भन्नु छ।
मलाई स्पस्ट थाहा छ कि कामको छुट्टीका दिन खल्तीभरी डलर, क्रेडिट कार्ड राखेर लक्जरी गाडीमा संसारकै सुन्दर प्यासेफिक हाइवे सानफ्रान्सिस्को हुँदै हाफमुन वे तिर गुडिरहँदा पनि नेपालको दशैतिहारको टिका, गाइजात्राको लाखे नाच र माघी मेला जस्ता पर्वहरूको सम्झनाले गरिब बनाइरहन्छ। अझ छिमेकी साथीको जन्त जान नपाउँदा, आफन्तको मलामी बन्न नपाउँदा र छोराछोरीको स्कुलको अभिभावक दिवसमा आफू उपस्थित हुन नपाउँदा समाजबाट मात्र हैन परिवारबाट नै बहिस्कृत भएका भान हुन्छ।
छोराछोरीले परीक्षामा उत्कृष्ट अंक ल्याएबापत पाउने पुरस्कार थाप्नेबेला मेरो अनुपस्थितीले भएको उनीहरूको मलिनोे अनुहारको क्षतिपूर्ति मेरो खल्तीको हरियो डलरले कहिल्यै तिर्न सक्दैन। म र मेरा सन्तती, परिवार वा समाज र संस्कृति बीच हुने सामिप्यताको खाडल पैसाले कहिल्यै पुर्न सक्दैन।