हो, परीक्षादेखि डर लाग्छ मलाई र म थाकिसकेको छु।
म किन थाकेँ त?
म थाकेको छु किनकि परीक्षा भन्ने बित्तिकै मलाई रिजल्टको धेरै चिन्ता लाग्न थाल्छ।
रिजल्टको धेरै चिन्ता किन लाग्छ?
कुरा साधारण छ, रिजल्ट राम्रो आएन भने कलेजको भित्तामा मेरो फोटो टाँसिन्न र बुबाले गालामा उहाँको हातको फोटो टाँसिदिनु हुन्छ। अब मेरो गालामा टाँसिएको बुबाको हातको फोटोमा नुनचुक दल्न मेरा शिक्षकहरू, मेरा साथीहरू र हाम्रो समाज त छँदै छ।
मलाई वर्षभरि पढेको ठाउँ छोड्न लागाएर कुनै नौलो कोठामा लगिन्छ र तीन घन्टाभित्र मैले त्यस्ता दुई हजार नौ सय २० पटकका तीन घन्टाहरूमा (तीन सय पैसठ्ठी दिन) पढेको कुराहरू लेख्न लगाइन्छ।
पढाउने एकजना, प्रश्नपत्र बनाउने एकजना, परीक्षा लिने एकजना र उत्तर जाँच्ने एकजना। यी भिन्न-भिन्न एक जनाहरूले खोजेका एक-एक कुरा दिन सक्ने हिम्मत नै छैन ममा। किनकि म थाकिसकेँ अब।
अब प्रश्न आउन सक्छ यसो गरिएन भने सिकाइको गुणस्तर कसरी मापन गर्न सकिन्छ त?
म तपाईंलाई नै प्रश्न गर्न चाहेँ, वर्षभरि पढेका कुराहरू परीक्षाको सीमित अवधिमा सकिने गरी कसरी प्रश्नपत्र तयार गर्न सक्नुहुन्छ?
सीमित अबधिमा कुनै अन्जान मान्छेले कपिमा लेखिएका कुराहरूलाई हेरेर कसरी यो जान्ने, यो नजान्ने, यसले भविष्यमा राम्रो गर्छ, यसले गर्दैन भनेर छुट्टाउन सक्नुहुन्छ?
त्यस्तो कुनै जादुको छडी अथवा मन्त्र केही छ भने दिनु न एकैपटक मात्र म देख्न चाहन्छु, सिक्न चाहन्छु।
सबैभन्दा ठूलो प्रश्न यहाँ छ मेरो, वर्षभरि पढाउने शिक्षक जसले चाहिँ प्रत्येक विद्यार्थीको हरेक कुराहरू नजिकबाट देख्नु भएको हुन्छ, सँगै हिँड्नु भएको हुन्छ, सँगै खेल्नु भएको हुन्छ, सँगै खानु भएको हुन्छ के उहाँले भन्दा नि राम्रोसँग मूल्यांकन गर्न अरु कसैले कसरी सक्नुहुन्छ?
मेरो एउटा कथा छ।
कलेज जा!
पढ्!
घर आइज, फेरि जा अनि आइज।
यसरी नै म एक्काइस वर्ष भैसकेँ।
म जिन्दगीका सुनौला भिन्न-भिन्न रंगले भरिएका ब्याग बोक्न चाहन्छु तर मलाई ठूला र मोटा इन्डियन तथा अमेरिकन लेखकका बुकले भरिएका ब्यागहरू मात्र बोकाइन्छ।
यो भन्दै गर्दा मेरो आँखाबाट मोतीको दाना पो टुप्लुक्क झरेर झन्डै यही लेखिरहेको अक्षरहरू पुछिएछन्, धन्न छिटो थाहा पाएँ। नत्र मेरो कथा नि आफैभित्र रहेर बस्ने थियो।
हुन त मेरो कथा नसुनेर कसलाई फरक पर्छ होला र? किनकि यहाँ धेरै यस्ता विद्यार्थीको कथाहरू कथामै सीमित भैइरहेको मैले नदेखेको हो र!
यस्तै धेरै हामी विद्यार्थीका कथा सुनिदिने फुर्सद नै कसलाई छ र? आज धेरै युवा विद्यार्थीका आँखाबाट मोती दानाहरू झर्दा पनि किन देश धनी नभएको होला?
के पढेको?
किन पढेको?
कहाँ, कसरी लगाइन्छ? भनेर कसैले मलाई सोध्नुभयो भने मसँग एउटा गज्जब्को उत्तर छ।
सुन्न चाहनु हुन्न? विल्कुल सही सोच्नुभयो!
मेरो उत्तर हो 'थाहा छ नि किन थाहा नहुनु! यो प्रश्न यहीँ अघिल्लो वर्षको वार्षिक परीक्षामा सोधिएको थियो आठ मार्कमा र आठ मार्कको लागि दुई पन्ना लेखेँ भने त मेरो सात त आइहाल्छ। यो-यो कुरा लेख्ने भनेर मैले मज्जाले रटेको छु, सब आउँछ नि थाहा छ मलाई मज्जाले।'
शिक्षकलाई यो कहाँ कसरी आयो भनेर सोध्ने हिम्मत पनि छैन ममा किनकि अस्ति सँगै बसेको तनवीर साथीले सोध्दा 'एक्जाममा यहीँ आउँछ, यही लेख्ने हो र त धेरै जान्ने नबन् बुझिस्!' भनेको यिनै मेरा कानले सुनेका थिए।
अलिपछि 'मैले तँजस्तालाई पढाको बीस वर्ष भयो बीस' भन्दै हुनुहुन्थ्यो।
तपाईंलाई शिक्षको कुरा ठिक नलाग्न पनि सक्छ तर मलाई चाहिँ एकदम ठिक लागेको छ।
एकदम ठिक!
किनकि आजसम्म म त्यही गर्दै आएको छु।
त्यो लेखेन भने मार्क आउन्न, मार्क नआएपछि कलेको भित्तामा फोटो आउन्न।
अस्ति भर्खरैको एउटा कुरा सुनाइहाल्छु।
पल्ला घरे तिलक दाइको सधैं कलेजकको भित्तामा पहिलो नम्बरमै फोटो आउँथ्यो। अस्ति भर्खरै नेपालमा केही काम नपाएर मलेसिया जानु भएछ।
कतै भोलि मेरो अवस्था नि त्यही आउने त हैन?