फागु पर्वको बिदाको बेलामा जागिरे जीवनबाट थोरै समय भए पनि निवृत्त भएर परिवार भेट्न जान मन लाग्यो।
नेपालगञ्ज अफिसबाट थप एक दिन बिदा लिएर काठमाडौं जाने योजना बनाएँ।
होलीका कारण हवाई जहाजको टिकट एकाएक महंगिएको र घर लैजानको लागि किनेको 'तरल पदार्थ' जहाजमा लान नमिल्ने भएका कारण रात्रीबसमै जाने निर्णय गरेँ।
बेलुका जाने रात्री बसमा जानको लागि दिउँसै पूर्वपरिचित बसवाला साहुजीलाई फोन गरेँ।
उनले मीठो लयमा 'साढे पाँचमा छुट्ने एउटा एयर सस्पेन्सन डिलक्स बस छ, तपाईं चिनजानको राम्रो मान्छे, दुई नम्बरको झ्यालवाला सिटमा राख्दिन्छु, भाडा चाहिँ १८ सय लाग्छ' भने।
आफूसित धेरै नै सामान भएको र राम्रो सिट भएकोले भाडाबारे चित्त दुखाइ नभएको कुरा बताएँ।
साढे पाँचमै गाडी छुट्ने भनेकोले एक जना साथीको गाडी चढेर हतार-हतार बसपार्क पुगेँ। पुगेर हेर्छु त गाडीमा कोही छैन।
साहुलाई फोन गरेँ। उनी नजिकै रहेछन्, १८०० लेखिएको टिकट लिएर आएँ।
उनले टिकट दिँदै माफी मागेको पारामा भने, 'सर हजुरलाई भनेको सिटमा त अर्कै मान्छेलाई राख्न पर्नि भो, हजुर नौ नम्बरमा जान पर्नि भो। हजुरलाई भनेको सिटको अर्को सिटमा एक जना लेडिज पनि छन्, उनी जो पायो उही केटा मान्छेसँग बस्न डराउँछिन्, त्यही भएर पनि हजुर भए ढुक्क हुनि भ'र पनि हजुरलाई त्यही सिटमा राख्न खोजेको।
मैले भनें, 'आफैंले भनेको सिट पनि नदिने, भाडा पनि बाह्र सयको अठार सय लिने, के पारा हो तपाईंको? तपाईंको आफ्नो मान्छेलाई जता राखे पनि राख्नुस्, म अर्कै बसमा जान्छु' भनें।
उनी पग्लिए।
'हजुर मेरो नियमित यात्रु, तेसो नभन्नुस्, बरू स्टाफ खाना ख्वाउँछु हजुरलाई।'
'सामान राखिसकेको छ, के झगडा गर्नु' भनेर मैले सहमति जनाएँ।
३०/३५ वर्ष जतिकी एउटी महिला आएर 'मलाई त भोमिट पो हुन्छ, त्यही भएर झ्यालै चाहिन्छ' भनेर मलाई झ्यालबाट यता सारेर झ्यालतिर आफू बसिन्।
गाडी समयमै नहिँडेकोले समय बिताउन उनीसित गफ थालें। उनको बुढा अमेरिकातिर र’छन्, ५ वर्षअघि टुरिष्ट भिसामा गएर फर्किएका रहेनछन्।
उनी भने ‘बच्चा पढाउने’ भनेर यताको घर भाडामा लगाएर काठमाडौंमा फ्ल्याट लिएर बसेकी रहिछन्।
बुढा कार्ड नबनेकोले अहिलेसम्म नफर्केका रहेछन्।
कार्ड बनेपछि आएर उनी र बच्चा पनि उतै लाने भनेका छन् रे, त्यही भएर उनी मख्ख रहिछन्।
साढे ५ बजे हिँडिहाल्छ भनेको गाडी सात बजे बल्ल चल्न थाल्यो।
८ बजेतिर बल्ल कोहलपुरबाट कट्यो। गाडीको भाइले ‘अहिले यातायात संघका मान्छे आएर 'भाडा कति दिएको भनेर सोध्छन्, सबैले अठार सय भन्नु है' भनेर उर्दी जारी गर्यो।
एकैछिनमा नचिनेका देख्दै डरलाग्दा दुई जना केटा आएर 'भाडा कति दिनु भा'को छ ?’ भनेर सोधे।
सबैले अठार सय दिएको कुरा गरे। सत्य कुरा बताए आफैं लफडामा परिन्छ भनेर होला, कम तिरेकाले पनि ‘अठार सय तिरेको’ भनेर स्वरमा स्वर मिलाए।
एकछिन पछि त गाडी भाइ आएर भन्छ कि 'अहिले पुलिस आएर कति तिरेको भनेर सोधेमा बाह्र सय तिरेको भन्नु है।'
यातायात व्यवसायी भाडा बढाउन खोज्ने, सरकार बढाउन नदिने भएको कारण यो लफडा भएको रहेछ भन्ने बुझियो।
सत्य पनि बोल्दिनँ, लफडामा पनि पर्दिनँ भनेर मैले जबर्जस्ती निदाएझैं गरेँ। तर धन्न, कोही पनि सोध्न आएको चाल पाइएन।
तर मेरो पछाडिको सिटका दुई जना केटाले चर्को स्वरमा अश्लिल शब्दहरू प्रयोग गर्दै भद्दा पाराले कुरा गरे।
मेरी छिमेकी हुन आइपुगेकी महिला नचिनेको मान्छेसित बस्न डराउनुको कारण मैले बुझेँ।
गाडीमा बसेका कुन चाहिँ हो यात्रुले खुसुखुसु चुरोट खाइरहेका थिए। गाडीभित्र चुरोटको गन्ध आयो भने मलाई बान्ता आउलाजस्तो हुन्छ।
त्यसैले बारम्बार कराएँ, 'को हो त्यो नखाऊ भन्दाभन्दै पनि गाडीभित्र चुरोट खाने? मलाई बान्ता भयो भने तेसैको जिउभरि बान्ता गरिदिन्छु।'
एक निन्द्रा सुतेपछि खाना खाने ठाउँ आयो। खलासी बन्धुले हात समातेर मलाई 'अंकललाई साहुले स्टाफ खाना खुवाउनु भन्या छ' भन्दै खाना खाने कोठाको कुनातिर लगेर टेबलमा बसायो अनि 'म खाना ल्याउँछु है' भन्दै गयो।
एकैछिनमा एक थाल भात तरकारी ल्याएर दियो।
थालको एउटा कुनामा आलुको बोक्रा ताछेर पिठो दलेर तेलमा डुबाको चपजस्तो लाग्ने दुइटा डल्ला थियो। भातमा दाल हालेर हिल्याउनुभन्दा पहिले चपजस्तो देखिने एउटा डल्लो क्वाप्प मुखमा हालेर चपाउन थालेँ। मासु मासु जस्तो स्वाद पो आउँछ त। म मासु नखाने मान्छेलाई पर्यो आपत!
मुखबाट चपाउँदा चपाउँदैको त्यो चिज थालबाहिर थुकेर होटल भाइलाई 'सादा खानामा के हो यो?' भनेर सोधें।
'स्टाफ खाना भएकोले सादा भए पनि फ्राई चिकेन आउने' कुरा त्यो होटल भाइले बतायो।
त्यो दोस्रो मासुको डल्लो नछोइकन बाँकी भात खाएँ। त्यो मासुको डल्लो ओभानै थियो, कसैलाई दिम्कीजस्तो लाग्यो। जुठै नभए पनि मेरो थालबाट निकालेको कस्ले खान्थ्यो र!
बाहिर कुकुर छ कि भनेर हेरेँ, देखिनँ। मलाई खाना फाल्नुजस्तो नराम्रो केही लाग्दैन। आफूले नखाने भए पनि त्यो महँगो मासु त्यतिकै फाल्नु परेकोमा मेरो मन थकथक भयो।
खाना खाइसकेपछि शौचालय गएँ। हेर्छु त शौचालयको भुइँमा माछा पाल्नेजस्तो पोखरी जमेको छ। गएर साहुसित गुनासो गरेँ।
बिचरो साहु, भात बेचेर बसोस् कि शौचालय सफा गरेर बसोस्!
बसको पल्लो सिटमा बसेका दुई जना लट्टाधरी सन्तहरू गाडीबाट झरेनछन्।
मैले 'महाराजहरू खाना खान झर्नु भएन?' भनेर सोधेँ।
उनीहरूमध्ये लामो जट्टाधारी बाबाले जवाफ दिए, 'हामीले खानेजस्तो केही रहेनछ, चियासम्म खाम भनेको त ह्याँ चियै रहेनछ। तेसै आइयो।'
गाडीमा चढेँ। गाडी बिस्तारै अगाडि बढ्न थाल्यो। पल्लो सिटमा ३०/३२ वर्षका एक जना हुम्ली भाइ र १४/१५ वर्षकी नानी थिई। गाडी चल्न लाग्दा ती नानी झुक्किएर अर्को बसमा चढिछन् र ती भाइले बल्ल बल्ल खोजेर ल्याएछन्।
भाइले भतिजी पर्ने ती नानीलाई हकार्दै तिनको बारेमा हामीलाई बताउँदै पनि थिए, 'यो आज मात्तै घर छाडेर आयाकी हो, जहाज पनि आजै चढेकी, गाडी पनि आजै चढेकी हो, झन्डै हडाई गयाकी? घरमा त प्यार प्यार बोली बस्छे, यहाँचाहिँ सोध्नु पढ्दा केकेन भैजालाजस्तो गर्छे। कसैलाई सोध्याको भयात भैजान्थ्यो।'
बिचरी भतिजी निली काली भएर डरले थरथर कामे जस्ती भएको थिई।
ती भाइ होटल म्यानेजमेन्ट पनि पढ्ने, जटामसी, पाँच औँले जस्ता जडिबुटीको व्यापार पनि गर्ने भनेर काठमाडौं बसेका रहेछन् र भर्खरै बिरामी भएका उनका बालाई पनि उपचार गर्ने भनेर ल्याएका रहेछन्।
अनि यिनको दाइ नाता पर्ने ती नानीका बाले 'यसलाई पनि काठमाडौं लगेर काम लगाऊ' भनेकोले ५ कक्षा पढ्दै गएकी ती नानीलाई लिएर आएका रहेछन्।
ती नानी कुहिरोको कागझैं भएर के गरम् र कसो गरम् हुँदै थिई। एकैछिनमा उसले बान्ता गर्न थाली र बान्ता गरेपछि रून थाली।
'किन रोएको?' भनेर सबैले पटक/पटक सोधेपछि टाउको दुखेको बताई।
घर छोडेर आउनु छ, पहिले देखेको मात्रै हावामा बेतोडले बत्तिने चिलगाडी चढ्नु छ, कहिल्यै हिमाली गाउँ नछोडेको मान्छे, एकैछिनमा आगोको भुंग्रोजस्तो तातो न तातो मधेशको मैदानमा आइपुग्नु छ, एकैछिनमा टिनको घर जस्तो बट्टाभित्र बसेर कुद्नु छ, केटी त्यसैले आत्तिईजस्तो लाग्यो।
मैले आफूसित भएको सिटामोलको ट्याबलेट र पानीको बोतल दिएँ। केटीले डराई डराई त्यो खाई र लुपुक्क निदाई। एकैछिन पछि ब्युँझिँदै वाक्दै फेरि निदाउँदै गर्न थाली।
एक निन्द्रा सुतेपछि एउटा जंगलको छेउमा पुगेर गाडी रोकियो र गाडी भाइले सबैलाई 'पिसाब गर्नु भए झर्नू' भनेर उर्दी जारी गर्यो। अनि दायाँ र बायाँ हात दुईतिर फैलाउँदै पुरूषलाई दायाँतिर र महिलाई बायाँतिर देखायो।
मेरो छेउमा बस्ने महिला जाँदा जाँदै हिलोमा गएर जाकिइछन् र भर्खर ब्युटीपार्लरबाट निस्केझैं गरी चिटिक्क परेर गाडी चढेकी तिनी हिलोमा आहाल बसेको भैसीझैं बनेर गाडीमा आइन् र रूँला झैँ गरिन्। त्यता धारा कुलो केही रहेनछ।
गाडीमा बस्ने यात्रुहरूले आफूले पिउन ल्याएका पानीका बोतल तिनलाई दिए। त्यहाँ जम्मा भएको तीन चार बोतल पानीले सफा गरेपछि तिनी अलि हेर्न हुने भइन्।
हिलोबाट निस्किँदा खुट्टामा झाडीले पाछेकोले मसँग भएको डिटोल लाइदिन पर्यो भनेर खुट्टामा हेरेको त बिचरीको त्यस्तो कल्कलाउँदो खुट्टा सुनिएर हात्तीपाइले लागे जसरी सुनिएर बेहाल भएको रहेछ।
'आफू त्यस्ति राम्री, हिलो लागेर हेर्नै नहुनि पो भैछु कि!' भन्ने पीरले होला, निन्याउरो मुख लगाएर तिनी गनगनाउन थलिन्, 'तपाईंहरूको होली सुरू नै भएको छैन, मैले त हिलोमा डुबेर होली मानिसकें।'
यसो निदाउन लागेको, पछाडिको सिटमा बसेको एक जना मधेशीजस्तो लाग्ने भाइले 'म बुटवल झर्ने हो, कति बेला आउँछ? मलाई भन्दिनु है।' भनेर चिन्ता व्यक्त गर्दै आवाज गरिरह्यो।
त्यसपछि ऊ निदाको निदाइ होला र बुटवल पुग्दा कसैले नउठाइदेला भन्ने पीरले होला, उठेर गाडीको ढोकै नेर गएर उभियो।
म अलिकति निन्द्रामा झकाउन थलेको मात्रै थिएँ बुटवल आइपुगेछ र त्यहाँ सायद पहिलो छुट्टिमा गोरखपुरको बाटो हुँदै घर फर्किंदै गरेका भारतीय फौजी भाइहरू चढेछन्।
उनीहरूको खैलाबैलाले फेरि ब्युँझिएँ। उनीहरूले ल्याएका झोला, कार्टुन र सुटकेशले गाडीको प्यासेजनै जाम भयो। उनीहरू भिडिओ कल गरेर र फोन गरेर गाउँतिरका आफ्ना साहिँली माइलीलाई आफू नेपाल प्रवेश गरिसकेको र भोलि सखारै भेट हुने जानकारी दिन थाले र हुँदाहुँदै यसपालि त उनीहरूलाई घरमा भित्र्याएर मात्रै फर्किने बाचा गर्न पनि भ्याए।
फेरि बल्ल बल्ल झकाउन मात्रै के लागेको थिएँ , ‘ऐंया, मारी गो’नि ‘ भनेको आवाजले ब्युँझिएँ। यसो हेरेको त हुम्ली भाइ आफ्नो टाउको सुम्सुम्याउँदै रहेछ।
लाहुरेहरूले कार्टुनमा देशी रक्सी ल्याएका रहेछन् र कार्टुनलाई सिटमाथिको सामान राख्नेमा राखेका रहेछन्। त्यही मध्येको एउटा कार्टुन हुम्ली भाइको टाउकोमा बजारिएको रहेछ।
प्रेमिकासित मस्किरहेको लाहुरे भाइले हुम्ली भाइको टाउको भन्दा पनि आफ्नो रक्सीको बोतल पो फुट्यो कि भनेर चिन्ता व्यक्त गर्यो।
'मेरो टाउकोले थेगिहाल्यो नि तिम्रा बतल, नत्र सप्पै फुटी जान्या थियो' हुम्ली भाइ टाउको सुम्सुम्याउँदै बोल्यो।
अब त गाडी चाँडो कुद्ला र काठमाडौं चाँडो पुगिएला भनेको त गाडी बिस्तारै ख्वारख्वार गर्दै बिस्तारै चल्न थाल्यो।
अगाडि गएर हेर्छु, गाडी त सहचालक भाइले पो चलाइरहेको रहेछ।
'गाडी किन अर्कालाई छोडेको गुरू' भनेर चालकलाई सोध्दा, 'आफूले एक्लै चलाउनु पर्दा थकाइ लाग्ने भएकाले उसलाई चलाउन दिने गरेको' गुरूले बतायो।
पूर्वतिर चल्ने रात्री सेवाको गाडीमा दुइटा चालक हुने र हेटौंडामा फेरिने गरेको थाहा पाएको थिएँ। यहाँ भने ‘राम राम, त्रिशूलीको किनारमा नखसाली देऊ।' भनेर पुकारा गर्नुको विकल्प रहेन।
नारायणगढमा ३ जना नेत्रहीन अपांगहरू बस चढे। लठ्ठीको सहारामा छामछाम छुमछुम गर्दै बडो मुश्किलले उनीहरू गाढी चढे। धन्न उनीहरूले एकुन्टा सिट पनि पाए।
एकैछिनपछि एउटी महिला नेत्रहीनले पिसाब लागेकोले गाडी रोकिदिन बारम्बार अनुरोध गरिन्, सुन्ने कस्ले!
यसरी हिजो पाँच बजे चढेको म १७ घन्टापछि भिषण युद्ध जितेर आएझैं गरी आज दिनको बाह्र बजे काठमाडौं आइपुगें।
मैले केही वर्षअघि म बेलायत बस्दा अनुभव गरेको सबभन्दा राम्रो कुरा गाडीको सहज व्यवस्था थियो। ठीक समयमा हिँड्ने, तोकिएको मात्र भाडा लिने, ठीक समयमा ठिक ठाउँमा मात्र रोक्ने, गाडीभित्र हल्ला खल्ला गर्न नपाइने, प्यासेजनै थुनिने गरेर सामान राख्नु नपाइने, भित्रै शौचालय भएको आदि कारणले गर्दा त्यहाँको यातायात व्यवस्था नमूना नै लाग्छ।
देश कति विकासित छ र त्यहाँको सरकार कति योग्य छ अनि त्यहाँका बासिन्दा कति सभ्य छन् भन्ने कुरा त्यहाँको सार्वजनिक यातायात व्यवस्थाको अवस्थाले देखाउँछ रे।
घरमा आएर मस्ती सुत्छु भनेको दिमागमा नेपालमा यस्तो यातनायुक्त यातायत व्यवस्था हामीले कहिलेसम्म भोगिरहने ? भन्ने प्रश्नले खैलाबैला मच्चाएर निदाउनै सकिनँ।