मानिस भएर जन्मिएपछि केही न केही कर्म त गर्नु नै पर्यो। केही कर्म आफ्नै खुसीले रोजिएला भने केही समय र परिस्थितिले रोज्न बाध्य बनाउँला। कर्म जस्तो होस्, ती सिद्धान्तरूपी धर्मको छहारीमा हुन्छन्। कृषि अध्ययन मेरो कर्म हो, स्वेच्छाले चुनेको कर्म।
कृषि विधामा अनेक पात्रहरू छन्। ती सबैका आ-आफ्नै कहानी छन्, दुःख र मर्म छन् अनि सपना र आशा छन्। तसर्थ यिनै कृषि पात्रहरूको समस्या र हाल अवस्था बारे जानकारी राख्नु मेरो कर्म हो, तर कृषिको धर्म कस्तो होला त? यही प्रश्नको जवाफ खोज्दै एकहप्ते सर्वेक्षणका लागि हामी पोखरा महानगरपालिका पुग्यौँ।
दुःख कहाँ हुँदैन र? सहर हेर्दा जति झलमल्ल देखिए पनि त्यहाँका मानिसहरूका पनि आफ्नै कथा र व्यथा हुन्छन्। अझ पोखरा बजारलाई त वरिपरिबाट सुन्दर गाउँहरूले घेरेका रहेछन् जहाँ सबैजसो मानिस कृषि पेसामा नै संलग्न रहेछन् (मुख्यतः तरकारी र फलफूल खेतीमा)।
सबैको कथा सुनियो। किसानहरू साह्रै लगनशील र मेहनती हुँदा-हुँदै पनि भनेजस्तो मूल्य नपाएको गुनासो गरे तर आर्थिक अवस्था भने राम्रै रहेछ। उनीहरूको मेहनतको कथाले हामीलाई समेत हौसला दियो। नजिकै बजार भएकाले अरू भने खासै केही समस्या रहेनछन्। संकलन केन्द्रहरूमा कृषि उपज नै थिएन। सहरिया उपभोक्ताहरू मूल्य वृद्धिले हैरान रहेछन्। व्यवसायीहरू माझ अनौठो प्रतिस्पर्धा रहेछ।
थरीथरीका कहानीहरू सुन्दा, लगभग सबै व्यापारीको मुखबाट एउटा नाम बारम्बार आइरहेको थियो 'डोके पार्टी'। धेरै नकारात्मक टिप्पणी सुनियो। एक व्यापारीले भने, 'डोके पार्टीले हैरान पारेका छन्, सस्तोमा बेच्छन् अनि हामीकहाँ कम मानिस आउँछन्।'
सबैले डोके पार्टीलाई विस्थापित गर्नु नै आफ्नो समस्याको हल बताए। सुरुमा त डोके पार्टी भनेका ठ्याक्क को हुन भनेर छुट्ट्याउन गाह्रो पर्यो तर करा बुझ्दै जाँदा भने अड्कल काटियो। सडक, फूटपाथ, बसपार्क आदि जस्ता ठाउँमा डोको र नाङ्लोमा तरकारी फलफूलहरू बेच्नेहरूको नाम राखिएको रहेछ- डोके पार्टी।
ए साँच्ची! तिनीहरू पनि त कृषि व्यापारको एक अंग हुन्, बल्ल ख्याल भो। तिनीहरूको पनि त आफ्नै कथा हुँदो हो। त्यसैले उनीहरूमाथि उठेको प्रश्न, उनीहरूलाई नै सोध्ने जमर्को गर्यौं। साँझको बेला उनीहरूकै खोजीमा निस्किँदा महेन्द्र चोकको फूटपाथ छेउमा एउटी दिदी फेला पार्यौँ। भुईंभरि बोरा र नाङ्लोमा अनेक थरीका तरकारीहरू सिँगारेर राखेकी थिइन् उनले।
हेर्दै किनौँ-किनौँ जस्तो लाग्ने। नजिकै पुगेर नाम मात्र के सोध्न भ्याएका थियौँ, तरकारी किन्ने मान्छेहरूको ओइरो लाग्यो र उनलाई भ्याइनभ्याई भयो। त्यहाँ तरकारी किन्न हरेक किसिमका मानिसहरू आए। सारीमा सजिएकी हजुरआमा आइन्, कामबाट फर्किदैं गरेका अफिसरहरू आए, कलेजबाट फर्किएका विद्यार्थीहरू आए, छोराछोरीलाई स्कुलबाट ल्याउँदै गरेकी आमा आइन्, साँझको वाकमा हिँडेका जोडीहरू आए।
एउटा डोकोको मूल्यसँग पोखरा बजारका कुनै पनि मन्डी, स्टल वा सटर भाडाको तुलना गर्न मिल्दैन। बाटोमा बेच्दा लागत कम लाग्छ र त सस्तोमा किन्न पाइन्छ। नेपालका अधिकांश जनता मध्यम वर्गीय छन्। उनीहरूले सुपरमार्केटको प्याकेजिङमा बन्द भएका उपज खरिद गर्ने सामर्थ्य राख्दैनन्। हुने खानेले नै पनि यस्तो मुद्रास्फीतिले टाउको थिचेको बेला सस्तोमा पाउँदा पाउँदै किन महँगो किन्न जान्थे र?
मलाई साह्रै रमाइलो लाग्यो त्यो दृश्य देखेर। कस्तो भिन्नता अनि त्यसभित्र लुकेको कस्तो समानता! यसरी व्यापार हुँदा पनि उनको मुहारमा भने हर्ष थिएन बरु आँखाहरू शंकास्पद नजरले घरी यता त घरी उता डुलिरहेका थिए। केही मिनेटमै त्यहाँको माहोल फेरियो। कोही करायो- 'नगरपालिकाको गाडी'।
दिदीको अनुहार रातो भयो। सकी-नसकी बोराहरू कुनातिर घिसार्न थालिन्। केही सहयोग हामीले पनि गर्यौं तर हेर्दाहेर्दै बाँकी रहेका तरकारी भुईंभरि छरिए, नालीमा फालिए अनि दिदीमाथि तिता नमिठा वाणी बर्सिए। यस्तो लाग्यो मानौं कुनै सुन्दर संसारमा परमाणु बम फ्याँकियो। एकअर्कामा चर्काचर्की हुन थाल्यो र नमिठो कोलाहल छायो।
कर्मचारीहरूलाई स्थानीय बासिन्दाले खुब गाली गरे, कोही त लड्न पनि खोजे। दिदी भने चुप थिइन् किनकि उनलाई कानुनले बाँधेको थियो। उनका आँसु भने कराइरहेका थिए र सँगै हाम्रा पनि आँखा रसाए। केही समयपछि गाडी फर्कियो अनि लडाइँ सकिएको युद्धभूमिजस्तै शान्ति छायो।
लासजस्तै तितरबितर भएका थिए तरकारीहरू। केही थिचिएका, केही किचिएका, केही माटोमा लटपटिएका त केही बोरामा बच्न सफल भएका। दिदी कुनाबाट सुरुक्क उठिन्, बचेको तरकारी फेरि बोरामा बिछ्याइन्, लामो सास फेरिन् र पुनः ठूलो स्वरमा कराउन थालिन्; 'आउनुहोस्, आउनुहोस्, लैजानुहोस् ३० रुपैयाँ किलोमा टमाटर।'
मन अमिलो भयो। अब कुनै प्रश्न सोध्नुको औचित्य नै रहेन। सबै कहानी एक घटनाले नै छर्लङ्ग पारिदियो। यहाँ सही को, गलत को, हुनुपर्ने के थियो, कस्तो-कस्तो नियम लागु हुनुपर्छ? भन्ने बारे म बोल्ने छैन। यसको जिम्मा न्यायपालिकाको रहला तर यति भने पक्कै भन्ने छु कि सडकमा यसरी डर र त्रासका साथ संघर्ष गर्दै तरकारी बेच्नु ती दिदीले रोजेको कर्म भने पक्कै होइन।
अनि अर्को कुरा, नगरपालिकाका कर्मचारीहरू पनि आफ्नो धर्म पालनाकै हेतु आए किनकि देशमा कतै पनि कानुन नियमको उल्लंघन हुन नदिनु उनीहरूको धर्म हो तर दुःख गरी उब्जाएको बालीनाली फ्याँक्यो भने न्याय हुन्छ भनेर नेपाली कानुनको सिद्धान्तमा कतै लेखिएको छ र?
अन्ततः एउटा प्रश्नको जवाफ खोज्न आएका हामी यस्ता अनेकौँ प्रश्नहरू लिएर फर्किँदै थियौँ जसमध्ये मुख्य प्रश्न बन्यो, डोके पार्टी! यो कस्तो सम्बोधन?