कुरा २०६२ सालको हो। त्यसदिन मेरो एसएलसीको अन्तिम परीक्षा थियो, १५ घुम्ती घुमी सडकै सडक गुरूरू गुड्दै जाने भए ८ किलोमिटर तर पहाडको भिरालो बाटो खुरूरू झर्दै जाने हो भने लगभग ३ किलोमिटर जतिमा पुगिन्थ्यो परीक्षा केन्द्र, खाडीचौर बजार।
त्यस बिहान पनि आमाले स्टिलको गिलासको एक गिलास तातो दूध दिनु भो, काली भैंसीको सेतो दूध। हल्का जिब्रो नपोली पनि के दूध खानु? पहिलो चुस्की मै चस्स पोल्यो।
अलि लामो सास फेर्दै आमा बोल्नुभो- आज पनि के अशुभ समाचार सुन्न पर्ने हो कुन्नि! मेरा दाया आँखा औधी फरफराउँदै छ।
‘तपाईंको आँखा फर्फराउँदैमा त्यस्तो अशुभ हुन्छ कि क्या हो, जहिल्यै? आँखा चिया धेर खायो, कम सुत्यो भने फर्फराउँछ, थकाई लागेर।’ प्रौढ कक्षा पढेकी आमाको शंका १० कक्षा पढेको मेरो ज्ञानको अगाडि खिसीको विषय बन्यो।
‘विस्तारै जा’ हरेक दिन आमाको माया बोल्थ्यो। बाटो तेर्सो भन्ने कहीँ थिएन म बिस्तारै हिँड्न जानेकै थिइनँ। खुर्मुरिदै झर्थें ओरालो। मलाई मेरैभन्दा पनि मेरी आमालाई मेरो धेर माया थियो, सबै आमा यस्तै हुन्छन।
सँगै अरू साथीहरू पनि थिए उनीहरू पनि मजस्तै, बाटोलाई भन्दा हामीलाई हतार थियो ओरालो झर्ने। के गर्ने ? एकाबिहानै कुनै गाडी त्यो नागबेली सडकको लामो बाटो झर्ने जाँगर जो गर्दैन थिए।
बिहान ७ बजे परीक्षा सुरू, त्यसैले भिरालो सिरालो केही नभनी खुरूरू परीक्षा सुरू हुनुभन्दा अगाडि नै साथीभाइ भेट्न पनि त पर्यो नि।
बुवा हरेक दिन मसँग जान्छु भन्नु हुन्थ्यो तर मैले कहिल्यै पनि पर्खन जानिनँ, त्यो उमेरमा सबलाई कहाँ न पुगौंला, के न छुट्ला झैं हतारो हुन्छ। धेरै साथीहरू बजारमै कोठा लिएर बसेका थिए। भिरालो बाटो झर्दा लडिन्छ कि भन्ने डर थिएन तर छिटो नपुगे साथीहरू भेटिँदैन कि भन्ने डर थियो।
उमेर अनुसार डरले पनि रूप फेर्छ, कति साथी त त्यसदिन छुटेपछि फेरि भेटिएका पनि छैनन्।
समय र परिस्थितिको खेल न हो जिन्दगी। जति हतार गरे पनि, जति आफ्नै भने पनि, छुट्ने कुरा छुटेरै जान्छन् , टुट्ने सम्बन्ध टुटेरै जान्छन्।
हाम्रो पाटीडाँडाको श्री मह्न्द्रोदय र ठोकर्पाको श्री बागभैरब गरी दुइटा स्कुलको एउटै केन्द्र थियो। बजारभरि मान्छे, यता पनि मान्छे उता पनि मान्छे। परीक्षा दिने जम्माजम्मी १५० हुदाँ हुन् रमिता हेर्ने, चिट चोराउने ५०० मान्छे।
देशमा बन्दुकको लडाइँ थियो। हामी फलामे ढोका फोर्न कलम भिरेर कस्सिएका थियौं। बाहिरबाटै लामा- लामा सुनौला गोली भरिएको देखिने, मान्छे जात्रा बन्दुक बोकेका आर्मी पनि एक जथ्था।
‘यत्रो यार, पिताम्बर सरले बन्दुकभन्दा कलम ठूलो भनेर पढाएका तर कलम भन्दा त गोली नै ठूलो हुँदो रहेछ है !’ देबराजले हसाएको हो कि तर्साएको? तर म तर्सिएँ।
साथीहरूले गेसपेपर च्यातेर जता जता अट्छ उता उता हाले। मैले हालिनँ, केसँग डराएको? बन्दुक ? होइन्, गार्ड ? होइन। मलाई चोर्नसँग डर लाग्छ। एउटा खैरो बोर्ड त्यसमा च्यापेको प्रवेश पत्र र स्केल अनि खल्तीमा तीनवटा डट्पेन, चाइनिज क्यालकुलेटर र एउटा पेन्सिल। त्यति थिए मेरा फलामको गेट फोर्ने हातियार।
मेरो कोठामा दुवै स्कुलका टप टेन विद्यार्थी थिए। प्रश्नपत्र हात पर्ना साथ झुकेको टाउका हत्तपत्त उठ्दैन थिए। आफूलाई चाहि कहिले टाउको चिलाउँथ्यो एक घण्टाको घन्टी लागेकी घरि पिसाब आउनि घरि तिर्खा लाउनि हुन्थ्यो। तर फेल हुन्छु कि अनि अर्काले जित्ला कि भन्ने डर कुनै दिन लागेन।
'एस एल सी फेल हुनेहरूले पनि धेरै कुरामा जितेकै छन् फेरि पास हुनेले पनि धेरै कुरामा हारेकै छन्। पास र फेल फगत नतिजा हुन्, जिन्दगीको निस्कर्ष होइनन्। जिन्दगीले धेरै परीक्षा लिन्छ, नतिजासँग नडराई परीक्षामा सहभागी हुनु नै ठूलो कुरो हो। नतिजा हाम्रो बसमा छैन।'
कोठाभित्र पसेको केहीपछि कापी आयो। नाम लेख्ने काम हुँदै थियो, आर्मीका फराकिला, फरासिला भुँडे जुङ्गे हवल्दार बा, हँसिला दुई आर्मीसँगै भित्र पसे 'यो कक्षामा त सबै जान्नेहरू हुनुहुन्छ र अरू कक्षाभन्दा एकदमै कम हल्ला हुन्छ। तपाईंहरू सबै भविश्य हुनुहुन्छ हाम्रो देशको, भोलि यो देश कहाँ लाने भन्ने कुरा तपाईंहरूको काँधमा छ, म कामना गर्छु कि अहिले हाम्रो देशमा जे हुँदैछ यो समस्याको छिट्टै नै समाधान भेटिने छ।
देशमा हामीले लडिरहेको बन्दुकको लडाइँ छिट्टै सकिएर तपाईंहरूले लडिरहेको कलमको लडाइँको जित होस्, बन्दुकले ज्यान मार्ने दिन सकिएर कलमले ज्ञान छर्ने दिन छिट्टै आओस्। तपाईंहरूले भोलि गएर के बन्ने सोच्नु भएको छ त्यो कामना पूरा होस्। उज्वल भविष्यको शुभकामना'
उनी हाँसे।
सबैले ताली पिटे, धन्यबाद भन्दै हवल्दार ढोकामा पुगेर रोकिए 'अनि भाइबहिनीहरू भोलि तपाईंहरूमध्ये कति विदेश पुग्नु हुन्छ होला, जहाँ पो पुग्नुहोस् तर यो देशलाई माया गर्न कहिलै नछाड्नुहोस् है त' हामीले फेरि ताली पिट्यौं।
त्यसको १५ मिनेटपछि प्रश्नपत्र आयो, परीक्षा लेखा विषयको थियो,गाइगुइँ हल्ला भयो, गार्ड दाजुले सब चुप भनेपछि सब चुप।
टाउकाहरू सर्लक्क झुके, मेरो पनि झुक्यो। करिब २० मिनेट बितेको हुँदो हो, छेउको केटाले ट्यार्रर पारेर गेस पेपर च्यात्दै खवाङ्ग खवाङ्ग खोक्यो, खोकीको आवाजले गेस पेपर च्यातेको आवाज रोक्यो।
म आफूलाई आउने जति लेख्न व्यस्त भएँ। उसले सुइ सुइ गेस पेपरको पाना सार्यो, सक्यो, अनि स्केल राखेर डिक दियो। ऊ अर्को स्कुलको जान्नेमध्ये एक विद्यार्थी थियो। उसलाई आफ्नो नाक जोगाउनु थियो, चोरेरै सही।
उसले मतर्फ्र सातिर तरिकाले हेर्दै आँखाले इसारा गर्यो, चाहिन्छ ? मैले प्रफुल्ल मुद्रामा आँखा चिम्लिएर मुन्टो हल्लाएँ।
हाम्रो केन्द्रका आर्मीको जत्थाका प्रमुख सेकेन्ड लेफ्टिनेन्ट बडा जवान मान्छे थिए, फुरूक्क फूर्तिला उनी आफ्ना दुई अङ्गरक्षकसँगै भित्र छिरे, कोठाको एक चक्कर मारे, निस्के।
हैन सेकेन्ड लेफ्टिनेन्ट हुन् पर्छ कि क्या हो ? आफैंलाई सोधे। हैन केटा देशको हालत यस्तो छ, होस् पैला आज पास त् हु। म फेरि लेख्न थालें।
ट्वाङ्ग एक घन्टीले एक घण्टा बितेको संकेत दियो। लअअअअअअ को आवाज कोठाभरि गुञ्जियो, फेरि शान्त, मेरो पछाडिको साथीले खुसुक्क हिँड ट्वाइलेट भन्यो, म पहिला निस्किएँ, आज आर्मीहरूको अरू दिन भन्दा बाक्लो उपस्थिति थियो खोलाका किनारमा पनि आर्मी, चौरको कुना पनि आर्मी, उनै कलमभन्दा ठूलो गोलीवाला बन्दुक भिरेर।
म ट्वाइलेट छिरेँ, कोही पिसाब फेर्दै थिएनन्। उनीहरू पिसाब आएर भन्दा नि लेखाको हिसाब नआएर ट्वाइलेट पसेका थिए, मेरा साथीहरू पनि थिए, हाम्रो पहिले नै गोप्य सहमति थियो पहिलो घन्टी बजेको ५ मिनेटपछि ट्वाइलेटमा भेला बस्ने र कसरी कसरी कुन कुन गर्ने रणनीति बनाउने।
सबैलाई एउटा कुरा थाहा थियो लेखामा फाइनल एकाउन्ट मिलाए पास, मेरो पछाडिको साथी पनि फुत्त छिर्यो, एउटाले प्रश्न पत्र नै ल्याएको रैछ, चोर मोरो, हुन त मुटु हुनेले चोर्ने हुन् नहुनेले हेर्ने हुन्, साहसी मेरो यार।
कुनमा के गर्ने छलफल गर्यौ, ल आज त होटलमा मासु र भात खान पर्छ है केटा हो मैले प्रस्ताब राखें, सबैले हुन्छ भने,सबै एकै चोटी निस्कियौं, मैले मन मनै सोचे "बास अब यति लेखेसी पास," "आज भिडन्त पर्छ कि क्या हो?" कोठातिर जाँदै गर्दा एउटा साथीले झसंग बनायो, मनमनै सोचे "हो आज आर्मीहरूको तरिका देख्दा नै त्यस्तै देखिन्छ", सबै चनाखो थिए।
'भिडन्त भएनि विद्यार्थीलाई त न मार्लान् नि है?' अर्कोले डरको आगोमा प्रश्नको घ्यु थप्न खोज्यो।
'ह्या केही हुन्न, आफूलाई यहाँ फेल भइएला कि भन्ने डर छ,ताल न तुलको कुरो गर्छ।'
अर्को साथीले घ्यु थप्न दिएन।
'फेल नि हुँदैन भिडन्त नि पर्दैन ढुक्कले लेख केटा हो' मैले डरको आगोमा साहसको पानी हालें।
भित्र पसेर, बेञ्चमा बसेर लेख्न थालेँ तर मनभरि कुन बेला बन्दुक पड्किन्छ कि भन्ने डर बेस्मारी खलबली मच्चाइरहेको थियो।
आफू भित्रको डर लुकाएर अरूलाई भर दिन सक्नु पनि गज्जब कला हो जिन्दगानीमा।
दुई घण्टाको घन्टीपछि चिट चोर्नेहरूको चहलपहल झन् बढेको थियो। करिब साढे दुई घण्टापछि गार्ड दाजुले जे गर्नु छ गर तर हल्ला नगर भनेपछि, त के कुरा गर्ने ,कसको कपी कता कसको कता, आफूलाई नआएको पनि साथीले मज्जाले कपी देखायो सुइ सुइ सारे सकियो लेखेर लामो सास फेरे, "कट्यो मूला एस एल सी, फोरियो फलामे ढोका,चपाइयो फलामे चिउरा" अन्तिम घन्टी बज्यो, कोठाको भुइँ गेस पेपरका पाना र चिटका कागजले सेताम्य।
कोठाभित्र कोलाहल थियो। फुत्त ढोकाबाट जुँगे हवल्दार भित्र छिरे 'लौ सबैभन्दा भद्रहरूको कोठा भन्या त् झन्' उनी हाँसे, सबै चुप, "ल अब एस एल सी सक्की गयो भनेर तपाईंहरू हल्ला खल्ला गरेर बजार मै नबस्नु होला, खोलामा पौडी खेल्न पनि नजानु होला, जति सक्दो छिटो आफ्नो आफ्नो घर जाने प्रयास गर्नु होला है त, तपाईंहरूलाई उज्वल भबिष्यको शुभकामना" सबैले एकै स्वरमा 'धन्यबाद' भने।
बाहिर निस्कँदा सबैको मुहारमा हाँसो "अ ह कति रमाइलो" गेटबाट बाहिर निस्कँदा संसार जितेजस्तो अनुभव भयो।
बुबा गेटमै हुनुहुन्थ्यो सोध्नु भो 'कस्तो गरिस्?' 'पक्का पास' 'ल ल त तल बस्दै गर, म आउँछु अनि जानु पर्छ घर' मैले मुन्टो हल्लाए, साथी देख्यो कि यही प्रश्न, कस्तो भो ? नराम्रो भन्ने कसैको जवाफ थिएन। हामी ४ जना भने सिधै हटेल हान्नियौं, होटल जाने बाटोमा दुई सैनिक भेटिए, उनीहरू उही जुँगे हवल्दारका दाहिने र देब्रे सारथी थिए।
हामीलाई हेरेर मुसुक्क मुस्कुराए, हामीले पनि मुस्कान फिर्ता गर्देउ। उनीहरू फोन गर्ने पसल लागे, हामी होटल छिर्यौं, सबैले दुई दुई थाल मासु भात बुत्याएउ अनि एक एक बोतल कोक पनि खाडीचौर बजारको चैते घामभन्दा हाम्रो भुडी धेर चर्किएको थियो।
सुप चपाउँदै दाँत कोट्याउँदै पुग्यौं पुलको छेउ। फेरि दुई जना आर्मीसँग देखादेख भयो अनि फेरि हाँसो साटासाट भयो। उनीहरू पुल तरेर हिँड्दै अघि बढे।
एक अर्का आर्मीले तिनी दुई जवानलाई बीच बजारमा सबैले सुन्ने गरी हपारे 'सालेहरू बजार डुल्दै छौ खुब रमिता चल्दै छ हैन ? तातो गोलीको छाती प्वाल पर्छ अनि देख्छौं रमिता ल हिँड छिटो छिटो' उनीहरू हल्का दौडदै पुल पारि पुगे।
थुप्रै साथीहरू पनि गाडीकै प्रतीक्षामा त्यहाँ थिए, सँगै मेरो बुवा पनि हुनुहुन्थ्यो, कस्तो भो के भो भन्ने कुराकानी हुँदै थियो, तलबाट एउटा मिनी ट्रक आयो, पछि पछि टाटा मोबाइल पनि आयो, मिनी ट्रकमै भए पनि घर जाने कि भन्दै एक साथीले हात दियो, यस्सो रोकेको जस्तो गर्यो, 'ठाउँ छैन देख्दैनस्?' खलासीले रिस देखायो।
बुवाले सोध्नु भो 'कहाँ जाने हो?'
'ठूलोपाखरसम्म,' ट्रक मोडिएर पुलतर्फ लाग्यो तर मोड पुगेन, ब्याक गर्दा गर्दै हाम्रो ठिक अगाडि पछाडिको टाटा मोबाइलसँग जुध्यो।
हामी सबै करायौं, 'कस्तो ड्राइभर रैछ, हेर्न पर्दैन पछाडि?' तर टाटा मोबाइलमा खचाखच बसेका मान्छे चुइक्क बोलेनन्, अचम्म! ट्रक मोडियो, अघि बढ्यो टाटा मोबाइल पनि पछि लाग्यो।
'ठूलोपाखर जाने भन्छ कोही चिनेको मान्छे छैन? फेरि त्यसरी ठोकिँदा पनि केही बोलेनन्? के खालको गाडी हुन्?' मैले प्रश्न गरें।
'खै ? कामदार जस्ता देखिछन् मान्छे होलान रोडको काम गर्ने कामदारहरू' बुवाले त्यसो भन्नु भयो र 'ल हिँड मेरो साथीले छोरो चिनाउनु भन्दै थियो गाडी नआउन्जेल त्यता जाऊँ' हामी त्यहाँबाट निस्कनु पनि, प्ल्याट गरेर ठूलो आवाजमा केही पड्कियो।
सबैले गाडीको टायर पड्कियो भन्दै पुलतिर लागे, बुवाले मेरो हात च्याप्प समाउनु भो र भन्नु भो "टायर हैन गोली पड्कियो" हँ?
त्यसपछि प्ल्याट प्ल्याट प्ल्याट प्ल्याट। बजारमा कोलाहल मच्चियो, मान्छेको आवाज भन्दा पनि ठूलो गरी आर्मीको ठूलो गोली वाला बन्दुक पड्किन थाल्यो, गटट्ट गटट।
अब सबैको सात्तो उड्यो भागाभाग मच्चियो, मलाई बुवाले तानेर छेवैको कपडा पसलभित्र हाल्नु भो, पसल भित्र अरू पनि मान्छे गुजुमुजु एकै डल्लो परेर रूँदै थिए, तलबाट पसले साहु "ओई सटर तान," भन्दै कराउदै आएर सटर ताने, बाहिरबाट खोल खोल भन्दै सटर हान्ने मान्छे हुँदा हुँदै पूरै सटर लाग्यो।
'ढाल्यो मान्छे सर भक्लक भक्लक,मान्छे मार्यो' मेरो बुवातिर हेर्दै लामो लामो सास फेर्दै साहुजी मुटु छाम्दै थिए।
तल सुतौं, तल भन्दै हामी सबै भुइँमा लम्पसार पर्यौं, खोलापारि बन्दुक अझ जोर जोडले पडि्कन थाले, वारि बजारमा, मेरो बच्चा खै? भदै रूने आमाहरूको चित्कार सुनियो, आफ्नै भन्दा पनि सन्तानकै ज्यानको माया धेरै बोक्ने छाती भएका सबै आमाहरू भगवानभन्दा एक तह माथि हुन्छन्।
सँगै लुकेका महिलाहरू र सानासाना केटाकेटी डाँको छोडेर रून थाले। कसैको डरलाई आँसुले जित्छ कसैको आँसुलाई डरले जित्छ।
म भने कुन बेला गोली कताबाट आएर लाग्ने हो कि भन्ने डरले थरथर काँपें। सँगै बुवा हुनुहुन्छ भन्ने कुराले केही आधार महसुस गरेँ।
करिब २० मिनेटपछि बन्दुक पडि्कन छोडे, एकदम शान्त मात्र सुनकोसी सुसाएको आवाज।
साहुजीले हल्का सटर माथि खोले मैले लामो सास फेर्दै चिहाउँदै बाहिर हेरेँ, प्याट आवाज आयो गोली अगाडिको नालामा लाग्यो, झिलिक्क्क बल्यो, फेरि सात्तो गयो, फेरि सटर लाग्यो, त्यसपछि दुई चार गोली पड्के, अनि माओवादी जिन्दावाद! जिन्दावाद! जिन्दावाद! महान जनयुद्ध जिन्दावाद! जिन्दावाद! जिन्दावाद! प्रचण्डपथ जिन्दावाद! जिन्दावाद जिन्दावाद! वारि पारि सबैतिर जिन्दावाद! जिन्दावाद! घन्कियो।
दुइटा गाडी काठमाडौंतिर लागे नारा घन्काउँदै।
जिन्दाबाद सुन्न छोडेको केहीबेरमा साहुजीले सटर खोले। मान्छेहरू बाहिर निस्किए, बल्ल सास फेरे।
अब के गर्ने ? बुवालाई हेर्दै मैले सोधें ‘माथि जाने गाडी आउन साथ जाने, यहाँ बस्न हुन्न।’
सबैको अनुहार रातो पिरो थियो, कोही केही बोलिरहेका थिएनन्, सबैको अनुहारमा एउटै प्रश्न थियो।
‘अब के हुन्छ ?’
गोलीको आवाजभन्दा सुनसान झन् डरलाग्दो भयो।
त्यतिकैमा तलबाट दुइटा बसमाथि जान ठिक्क परेको देखिए। हामी चुपचाप बसतर्फ लाग्यौं, सबैलाई घर जान थियो, बस खचाखच भरियो।
बुवा म र मेरा साथीहरू बसको छतमा उक्लियौं, त्यहाँबाट जति सक्दो चाँडो निस्कियो उति धेरै बाँच्ने सम्भावना थियो।
पहिलो बसमा नअटेकाहरू दोस्रोमा चढे। हामी चढेको बस पुल तर्दै अघि बढ्यो। कोही चुइँक्क बोलेका थिएनन्। सबैका ओठ मुख सुकेका थिए। मेरो मुटु बाहिर निस्केलाजस्तो गर्दै थियो। हात गोडा लगलगाउँदै थियो।
मैले प्रश्न पत्र च्यापेको बोर्डले घाम छेकेँ। घामभन्दा पनि मेरो अनुहार छेकेँ। बस बिस्तारै उकालो लाग्दै गयो। त्यही मुठभेड भएको ठाउँ आइपुग्यो। म पछाडि भर्याङको छेउमा थिएँ।
कालो सडकको माथि रातो रगतका ठूला ठूला टाटा चैतको घामले टलक्क ढल्किएका थिए, सडक, नाला,छेउ, कुना रगतै रगत झन्डै वाक्क आयो।
मैले आँखा छोपेँ। मलाई मान्छेको लास हेर्नु थिएन। आँखा चिम्लिँदा पनि झल्झली ती दुई सिपाहीहरूको हाँसो आँखाभरि झल्कियो। उनीहरू अन्तिममा थिए,सायद अलि अघि बजारबाट घरमा फोन गरेर हामी सञ्चै छौं भनेका हुँदा हुन्, म घुँक्क रोएँ, सिंगान पुछेको आवाज निकालेर आँसु पुछेँ।
बस बिस्तारै अघि बढ्दै थियो। मात्र बसको उकालो चढ्दाको आवाज थियो। बसले एक किलोको पहिलो घुम्ती मोड्यो।
बुबा बोल्नुभयो ‘अब बाँचिन्छ’ सबैले लामो सास फेरेको सुनियो।
‘लास त देखिएन तर पक्का त्यो अन्तिममा हिँडेका दुई राम्रा आर्मी मरे होला’ सँगै बसेका हामीभन्दा एक वर्ष पहिले एसएलसी दिने दाजुले अड्कल काटे। ‘किन थुप्रै बेर हराएका थिए तिनीहरू?’ अर्को कस्ले हो प्रश्न गर्यो।
‘फोन गर्ने पसल छिरेका थिए त्यही भएर होला’ साथीले जवाफ दियो, ‘त्यो ट्रक र त्यो टाटामोबाइल भरिका कामदार भनेका त माओवादी रहेछन्। तिनीहरू पनि मरे होला’अर्कोले अनुमान लगायो।
‘त्यो अगाडिको ट्रक तेर्सो पारेर पछाडिबाट गोली हानेका रे, घरको छतमा हुनेहरूले देखेका रैछन्’ अर्को बोल्यो।
बस तेस्रो मोड मोडिँदै थियो, पारिबाट ठूलो आवाज निकाल्दै आएको पाइलट देखिने हेलिकप्टर स्वाट घुमेर हाम्रो ठिक माथि आयो, ‘ला….आआआआ अब आर्मीले मार्छ’ सात्तो फेरि उड्यो। बुवाले हत्त न पत्त प्रवेशपत्र माथि देखा भन्नु भयो हामी सबैले त्यसै गर्यौं।
हेलिकप्टर हामी पछाडि आउँदै गरेको बसतिर गयो। सबैले लामो सास फेर्यौ, मेरो छेउमा बसेको साथी बोल्यो ‘अब माओवादी कता पुगिसके अनि आउँछ हेलिकप्टर,’ हेलिकप्टर पारि पुग्यो र बरर गोली बर्सायो।
टाउकोबाट बोर्ड हटाएर मैले पारि पुगेको हेलिकप्टर हेरे र लामो सास फेरेँ, ‘अब त् मरिँदैन कि ?’
तर बस अर्को घुम्ती घुमेको मात्रै के थियो पारिको हेलिकप्टर फनक्क घुमेर हामी माथि आइपुग्यो, फेरि सबैले प्रवेशपत्र आकाशतिर फ़र्कायौं। यसरी फर्कीफर्की किन आउँदैछ हेलिकप्टर ? हेलिकप्टरले हाम्रोमाथि आकाशमा ताण्डव देखायो, टेढो, बाङ्गो, तेर्सो, घोप्टो जस्तो जस्तो पर्न मिल्छ पर्यो, हामी ज्यानको डरले घोप्टो परिरह्यौं। कालो निलो भइरह्यौं। प्रवेशपत्र आकाशतर्फ फर्काइरह्यौं।
मनमनै भगवानको नाम जपिरह्यौ। त्यति त थियो हामीले गर्न सक्ने।
जब दोहोरो भिडन्त परेको थियो, हामी सबै जसो घरभित्र थियौं, गोली छेक्ने घरका भित्ताहरू थिए तर अहिले परीक्षामा कापी ओछ्याउने खैरो बोर्ड र त्यसमा च्यापिएको प्रवेशपत्र मात्र।
जता दुस्मन भागे उता नगर् जता जनता लागे त्यतै फर्की फर्की आउने र निमुखालाई तर्साउने यो कस्तो हेलिकप्टर?
तल बस गनगनदै उकालो चढ्दै थियो, माथि हेलिकप्टर फनफनदै वारिपारि गर्दै थियो।
भित्र मुटु भुक्लुक भुक्लुक गर्दै थियो, सबैले अब प्रवेश पत्र आकाशतिरै मात्रै फर्काएर राखिरह्यौं, कुक्रुक्क परेर बसिरह्यौं।
एउटै आश थियो बन्दुक मेसिन हो, त्यसभित्र गोलीले नबुझे पनि बन्दुक चलाउने मान्छेले त बुझ्ला नि कि हामी विद्यार्थी हौं, हामीसँग बन्दुक छैन, कलम छ।
हामी क्रान्तिकारी होइनौं जो ज्यान हत्केलामा राखेर, मान्छे मारेर परिवर्तन खोज्दै सत्तामा पुग्ने सपना देख्थे, हाम्रो त हातमा केबल कलम थियो र हामीलाई सकुशल घर पुग्नु थियो।
हरियो हेलिकप्टर हाम्रोमाथि काल बनि फनफनाइरहेको थियो। मैले पोहोर साल २०६१ वैशाख २७ गते दोलखाको मैनापोखरी घटना सम्झिएँ।
जिरीबाट काठमाडौं हिँडेको बसमाथि माओवादीले अन्धाधुन्ध गोली चलाउँदा निर्दोष ८ सर्वसाधारण मारिएका थिए। अनि सम्झिएँ त्यो जन्मेको २० दिन मै टुहुरो बनेकी बच्चीलाई काखमा च्यापेकी बज्यैको फोटो, जुन कान्तिपुरमा छापिएर भोलिपल्ट हाम्रो स्कुल पुगेको थियो।
‘कतै हामी पनि उसै गरी मारिने र बाँचेकाहरूको तस्बिर पत्रिकामा छापिने पो हौं कि?’ मेरो डरको सीमा थिएन।
‘किन डराएको?’ ‘मरिन्छ कि?’ यो भन्दा भयानक डरलाग्दो प्रश्न अर्को के छ र जिन्दगानीमा ? सबैलाई मर्नसँग डर लाग्छ।
बस १५ औं ( तितिरेको ) घुम्ती घुम्न लाग्दा, सबैले लामो सास फेरे, खुइईअ गर्दै छेउको साथी बोल्यो ‘अब त् पक्का बाँचियो’।
मैले मुन्टो घुमाएर उसलाई हेरेँ, आँशुले उसका आँखा भरिएका थिए। ठिक त्यही बेला हेलिकप्टर हुत्तदै हाम्रो माथि आयो, बटटटट गोली बर्सायो, ‘आमा! लौ मार्यो’ सबै चिच्याए, तर गोली कसैलाई लागेन।
हेलिकप्टर सर्लक्क मोडियो, पारि पारि पुग्यो फेरि फर्किएन, बस सात किलोमा रोकियो, दुई तीन साथीहरू झरे, सबै चुपचाप चुपचाप।
‘ल है त साथी फेरि भेटौंला’ भन्ने आँट पनि कसैको आएन।
बस अघि बढ्यो, पर पर पारि टाढा दुई हेलिकप्टर यताउता गर्दै केही हराएर खोजे झैं गर्दै थिए।
बस ८ किलोमा रोकियो, हामी झर्यौ। सात्तो गएको बच्चाजस्तै कोही केही बोलेन।
बुबा र म घरतिर अघि बढ्यौं, दिदी र आमा बाटो हेर्दै डिलमा देखिनु भयो, , आमा दुवै हातले पालैपालो आँशु पुस्नु भयो, टाढैबाट मैले देखेँ।
थाहा छैन ती क्रान्तिको नाममा मारिने निरिह सिपाहीका आमाहरूको आँशु कस्ले पुछ्यो? सायद एक घण्टा पहिले म सञ्चै छु
आमा भन्दै फोन गरेका हुँदा हुन्। सबैका आमा उस्तै हुन् भने सबैका आमाको आँशु पनि त उस्तै हो।
मेरी आमाले म देखेर आँशु पुछिन्, ती मारिने सिपाहीका आमाहरूले आफ्ना छोरो अब फेरि देख्ने छैनन्। ती आमाहरूका आँखा सायद धेरै दिनदेखि फरफराउँदै थिए होला।
म फेरि रोएँ ‘भो भो न रो अब घर आयो’ बाले सम्झाउनु भयो।
पिलिक्क बालाई हेरे आँशु त बाका आँखामा पनि टम्म भरिएका थिए।
ठिकै हो बाहरूले सन्तानलाई बलियो हुन सिकाउनु पर्छ। तर के ती मारिने सिपाहीका बाका आँखाहरू पनि रसाएर, डिलडिल सम्म आएर, टिल्पिलाए, नझरी बस्न सके होलान्? पक्कै सकेनन्। बिचरा! बाहरूको पनि त कठोरताका सीमा हुन्छ नि।
अलि परैबाट आमाको मुहार हेरेँ, बिहानै फर्फराएका मेरी आमाका आँखामा आँशु र हाँसोको मात्रा उत्ति थिए।
आफ्नो घरको आँगन टेकेपछि, रून्चे हाँसो हाँस्दै गरेकी आमा देखेपछि भित्र एउटा आवाज गुञ्जियो ‘अब हाम्लाई कसैले मार्दैन’।