पुस महिनाको एउटा शनिबार, बिदाको दिन भएकाले छोराहरूको अनुरोधमा बाहिर खाजा खान निक्लिएका थियौं। हामी सँगैको टेबलमा ५/६ जना किशोरीहरू बसेर मज्जाले गफ गरिरहेका थिए।
त्यो देखेर मलाई पनि आफ्नो कलेज पढ्दाको समय अनि साथीहरूलाई एकदमै सम्झिरहेकी थिएँ। नजिकैको टेबल भएर पनि होला उनीहरूको गफ प्रष्ट सुनिरहेकी थिएँ। उनीहरू बीचको एउटा छलफलको विषयले भने मेरो कानसम्म मात्र होइन मनैसम्म छुन पुग्यो।
एकजनाले सोधिन्, 'ओए, तिमीहरूलाई नि आफू के भएर जन्मिएको भए हुन्थ्यो भन्ने लाग्छ?'
एकजनाबाट प्रश्न सोधी नसक्दै फ्याट्टै जवाफ आयो, 'म त केटा भएर जन्मिएको भए हुन्थ्यो।'
उनले यो जवाफ किन दिइन् थाहा छैन तर यदि मलाई पनि कसैले यही प्रश्न सोधेको हुन्थ्यो भने मेरो जवाफ पनि त्यही हुन्थ्यो।
हाम्रो जस्तो पितृसत्तात्मक मुलुकका धेरै छोरी मान्छेहरू जसले कुनै पनि कामहरू आफ्नो इच्छाले अधिकारले, आवश्यकताले गर्न पाउँदैनन् उनीहरूको इच्छाले हुन पाउने भए सायद यही नै इच्छा राख्थे होला। म पनि त यही समाजको छोरी हो, स्वभाविक रुपमा मेरो पनि यही इच्छा हुन्छ। छोरीहरूले जन्म त अरुको इच्छाका आधारमा लिनुपर्छ, जन्माउनेहरूको आवश्यकतामा छोरी छ भने उनीहरू जन्मन पाउँछन् तर यदि आवश्यकतामा छैन भने उनीहरूको जीवन भ्रुणभित्रैबाट समाप्त हुन्छ। सबै ठाउँमा यो नहुन सक्छ तर केही अपवादका अवस्थाहरू बाहेक हुने यही नै हो।
अहिलेका हामी छोरीहरू, हाम्रो घरका दाइभाइ, श्रीमानहरू बराबर नै योग्य हुन्छौँ/छौँ, कमाउन सक्छौं/कमाइरहेका छौं, घरपरिवार चलाउन सक्छौं/चलाइरहेका छौं तर निर्णय लिने कुरामा भने हामीलाई सधैं पछाडि राखिन्छ अथवा पुरुषहरूकै निर्णयका आधारमा हामी चलिरहेका छौं, चलिरहनुपर्ने अवस्था छ।
हामीले भोगिरहेका अथवा हाम्रै जीवनमै घटिरहेका सामान्य घटनाहरूबाट हामीमा कति विभेद छ अथवा समाजले हामीलाई कति कमजोर तुल्याइरहेको हुन्छ भन्ने कुरा हामी स्वयम् भोग्नेहरूलाई नै थाहा हुँदैन या हामीले ध्यान पुर्याइरहेका हुँदैनौं।
मेरो श्रीमानले एउटा पसल सञ्चालन गर्नुभएको छ जुन पसल उहाँले बेलुका ८ बजेपछि मात्र बन्द गर्नुहुन्छ तर यदि उहाँ विविध कामले बाहिर जानुपर्यो भने बेलुका अफिस पछिको समय मैले पसलमा दिनुपर्छ। अघिपछि बेलुका ८ बजेसम्म खुल्ने पसल उहाँ बाहिर हुँदा भने ६ बजे नै फोन आउँछ- 'अब पसल बन्द गरिहाल है, फेरि घर जान ढिला हुन्छ।'
अघिपछि ८ बजेसम्म आउने ग्राहक के उहाँ पसलमा नहुँदा ६ बजेपछि नआउने हुन् त? मलाई घर जान गाह्रो हुन्छ भनौं भने पनि मसँग आफ्नै साधन छ, म सजिलै घर जान सक्छु। यसलाई मप्रतिको उहाँको केयरको रुपमा लिउँ कि मेरो क्षमताको कम आकलनको रुपमा लिउँ? यो विषयमा हामी बीचमा छलफल पनि हुने गर्दछ। उहाँको जवाफ यदि मेरो ठाउँमा तिमी भएको भए पनि यही हुन्थ्यो भन्ने आउँछ। पहिलेदेखि नै हामीले यही सिक्दै आएको भनेर त कहाँ छुट्कारा पाइन्छ त?
हामीसँगै काम गर्ने पुरुष साथीहरू अफिस समयपछि कुन रेष्टुरेन्ट अथवा क्याफेमा भेट्ने भन्ने सल्लाह गरिराख्नु भएको हुन्छ। बेलाबेला विभिन्न ठाउँहरूमा घुम्न गइराख्नु भएको हुन्छ। मेरो जागिरे जीवन सुरु भएको अहिले करिब १३ वर्ष भयो तर अहिलेसम्म मलाई अफिस समयपछि महिला कर्मचारी साथीहरूले रेष्टुरेन्ट अथवा क्याफेमा चिया खाजाका लागि भेटेको, सहकर्मी महिलाहरूको मात्र टिम बनाएर घुम्न गएको मलाई याद नै छैन। कहिल्यै त्यसरी भेटेको भए पो याद हुन्छ!
अविवाहितहरूलाई अलिकति मात्रै पनि ढिला हुँदा घरमा गाली गर्ने डर हुन्छ भने विवाहित अथवा अभिभावकहरूलाई छोराछोरीहरू स्कुलबाट रिसिभ गर्ने, घरधन्दा गर्ने हतार हुन्छ।
हाम्रो समाजमा पुरुषहरू सधैँ उच्च स्थानमा रहने र हामी महिलाहरू घरको काममा सहयोग गर्ने, निःशुल्क सहयोगीको रुपमा हेर्ने परम्परा कायम नै छ। यदि उनीहरू बाहिर निक्लिएर काम गरेता पनि घरायसी जिम्मेवारी भने उनीहरू एक्लैले नै बहन गर्नुपर्ने बाध्यता छ। यदि कुनै महिला बाहिरका कार्यक्रममा जानुपर्ने भएमा उनले अघिल्लो दिनदेखि नै घरायसी कामको चाँजोपाजो स्वयमले मिलाउनुपर्ने बाध्यता छ।
दैनिक रोजगारी, व्यापारमा बाहिर जाने महिलाहरूले पनि जसोतसो गरी घरको व्यवहार स्वयमले नै मिलाउनुपर्ने बाध्यता अहिले पनि छ र हामी स्वयमले पनि यसरी नै चलाइराखेका छौं।
प्राकृतिक रूपमा नारी र पुरुषको अन्योन्याश्रित सम्बन्ध छ। एकअर्काबिना बस्न र बाँच्न नसक्ने किसिमको प्रकृति छ। तर, पुरुषले त्यो अन्योन्याश्रित सम्बन्धलाई शासक र शासितका रूपमा स्थापित गरिरहेको छ। र, महिलालाई कज्याएर आफू बलियो बन्दै गइरहेको छ।
यसकारण पनि महिला पुरुषका बीचमा विवाह हुँदा पुरुषले महिलाहरूप्रति बढी नै जिम्मेवार भएको महशुस गर्न त्यति आवश्यक हुँदैन। यसमा दुवैको बराबर जिम्मेवारी हुन्छ भन्ने कुरा जबसम्म बुझ्न सकिँदैन तबसम्म महिला र पुरुष व्यवहारिक रुपमा बराबर हुन सक्दैनन्।
जबसम्म महिला र पुरुष प्रकृतिको सुन्दर श्रृष्टि हो भन्ने कुरालाई स्वीकार गर्दै एकअर्काको परिपूरकको स्थानमा राखेर पुरुष जत्तिकै स्वतन्त्र भएर आफ्नो जीवनशैली चलाउन महिलाहरूले सक्दैनन्, महिला र पुरुष व्यवहारिक रुपमा बराबर हुँदैनन्, पाउँदैनन् तबसम्म मजस्ता धेरै छोरीहरूलाई सायद म पनि छोरा भएर जन्मिएको भए हुन्थ्यो भन्ने सोच मनमा आइरहन्छ।
धेरै ठाउँहरूमा छलफलको विषयका रुपमा यस्ता विषयहरू नआएका त होइनन्, हाम्रा पुरुष नेताहरूले नै विभिन्न आमसभा अथवा महिला अधिकार सम्बन्धी गोष्ठीहरूमा जोडजोडले भाषण गर्छन्। तर महोदय! भाषणमात्र धेरै भयो अब यसलाई व्यवहारमा उतार्न धेरै नै ढिला भइसकेको छ।