पूर्वाह्नको ४ बजेर १८ मिनटको साइत परेछ। बारा जिल्लाको कोल्वी बजारस्थित एक होटेलमा बास बसेको थिएँ। यसै त मधेस ढिलोसम्म सुत्छ, त्यसमा पनि अघिल्लो दिन पानी परेर मौसम थोरै चिसो भएको थियो।
परमप्रिय धीर भण्डारीलाई फोन गरेँ। उहाँ म बसेको होटलबाट तीन किलोमिटर टाढा एक स्थानीयवासीकहाँ बस्नुभएको थियो।
योग–ध्यान नगर्ने मान्छेका लागि घडीचरो समेत नबासी फोनको घन्टी बज्नु कुसाइत हुन सक्छ। कतिपयले त झुक्किएर थिचियो होला भन्लान्। यो समयमा गरेका नगन्य मात्र उठ्दा हुन्।
मलाई थाहा थियो धीरजी साधना गर्नुहुन्छ। अन्यथा मलाई पनि यो आँट आउने थिएन। रवीन शर्माले ‘फाइभ एएम क्लब’ भन्ने किताब नै लेखेका छन्। बिहान चाँडै उठ्नेले संसार हाँक्छ भनिन्छ।
केही घन्टीपछि आवाज आयो।
‘अबको संसदीय निर्वाचनपछि नेपालको प्रधानमन्त्री को बन्ला?’
‘अहिले रंगमन्चमा देखिएका पुरानै पात्र त बन्लान् नि हजुर!’
प्रश्न मेरो थियो। जवाफ धीरजीको।
‘मिलेन! त्यो प्रधानमन्त्रीसँग अहिले हजुर फोन वार्तामा हुनुहुन्छ।’
हाँसोको फोहोरा छुट्यो। धीरजीको बेजोड हाँसोको आयतनमा सूत्रधारको समेत मिसिँदा त्रिशूलीमा काली मिसिएर नारायणी भएको जस्तो भयो।
म होटलको कारागारमा थुनिएको थिएँ। यसैले ब्रह्ममुहूर्तमा धीरजीलाई बिथोल्न पुगेको थिएँ। यो होटलमा बासको अवसर उहाँकै सौजन्यमा प्राप्त भएको थियो। धीरजीले होटल सञ्चालकलाई फोन गरेर मलाई कारागार मुक्त गर्न प्रयास गर्ने वचन दिनुभयो।
म होटल कारागारमा यसरी पटकपटक थुनिएको छु। नरेन्द्र मोदीले भारतमा ‘प्रधानमन्त्री हुन चिया बेचेको अनुभव हुनु पर्छ’ भन्ने मापदण्ड बनाइदिए। नेपालमा भने जेल विश्वविद्यालयको डिग्री लिएको हुनु पर्छ भन्ने मान्यता छ।
सिन्धुलीको कमलामाई, बाराको गौर, तनहुँको दमौली र बाराकै कोल्वीका होटेल कारागारहरूमा थुनिएको म पनि प्रधानमन्त्री बन्न योग्य भएको छु भन्ने मेरो जिकिर हो।
काठमाडौं–तराई द्रुत मार्ग पूर्व–पश्चिम जोडिने बिन्दुबाट लगभग १५ किलोमिटर जति दक्षिणमा अवस्थित कोल्वी नगरपालिकाको ‘तामागढी इभेन्ट भेन्यु’ नामको होटलमा बसेको थिएँ।
पूर्वाह्नको तीन बजेतिर निद्रादेवीले मलाई छाडेर हिँडिन्। बिजुलीदेवी पनि राति कुन बेलादेखि बेपत्ता रहिछन्। स्वीच अन गर्दा अपेक्षित प्रतिक्रिया आएन। मोबाइल फोनमा इन्धन दस प्रतिशतभन्दा कम बाँकी थियो। ल्यापटपले त बेलुकै रातो बत्ती बालेको थियो।
इन्जिनियरिङमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि र उत्तर विद्यावारिधि समेत उपाधि हासिल गरेर अब जेल विश्वविद्यालयको समेत डिग्री हासिल गरेको फुइँ डाक्टरसामु संकट खडा भएको थियो। बिहान छ बजेसम्मको तीन घन्टा निशाचर भएर कसरी बिताउने! पाँच बजे त योगसाधना गर्ने साथीहरू ‘जुम’ मा भेला हुने रीत छ। त्यसो हुँदा पनि १२० मिनेट जो बिताउनु थियो।
केही लागेन भने आनापाना ध्यान गर्छु भन्ने सोचेँ।
भईपरी आएको बिपत्ति नआत्तिई समाधान गर्न बानी परेको फुइँ डाक्टरको दिमागले उपलब्ध साधनस्रोतको विश्लेषण थाल्यो। आर्किमिडिज पौडी खेल्दा खेल्दै ज्ञान फुरेर ‘युरेका’ भन्दै निर्वस्त्र दौडेका थिए रे! फुइँ डाक्टरको दिमागमा पनि बेजोडको झड्का लाग्यो।
सुटकेसमा ‘पावर ब्यांक’ छ नि त!
गत दसैंताका मैले संयुक्त राष्ट्र संघको एक विकास नियोगका लागि काम गरेको थिएँ। भारत सरकारले नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणको काम गरेको थियो।
मैले पालिकाका प्रमुख लगायत अन्य जननिर्वाचित प्रतिनिधिहरूको कार्यशालामा सहजीकरण गर्ने भूमिका पाएको थिएँ, छ दिनको काम थियो। आम्दानी दुई लाख हाराहारी।
काठमाडौं विश्वविद्यालयमा सहप्राध्यापक पदमा कार्यरत रहँदा त्यति आम्दानी प्राप्त गर्न चार महिना पर्खनु पर्थ्यो।
मेरा मित्र सूर्यमान शाक्य भन्थे, ‘मैले मेरा छोराछोरीलाई सिमुलेटेड पोभर्टीको झड्का दिने गरेको छु।’
सिमुलेटेड पोभर्टी भनेको सिर्जना गरिएको कृत्रिम गरिबी हो।
मेरो जीवनमा पनि सूर्यमानले भनेजजस्तै कित्ता सिर्जना भएको थियो। मेरा छोराछोरीले मेरो आम्दानीबारे नयाँ धारणा बनाएका थिए। खर्चबर्चका लागि रकमको मागफारम भर्दा विचार पुर्याउन थालेका थिए।
‘हाम्रो अभिभावक विश्वविद्यालयमा पढाउँछ। उसले हाम्रा न्यूनतम आवश्यकता मात्र पूरा गर्न सक्छ’ भन्ने थाहा पाएका थिए।
मैले विश्वविद्यालयमा राजीनामा गरेँ। म स्वतन्त्र परामर्शदाताको कित्तामा आइपुगेँ। त्यही हाराहारीमा दुवै छोराछोरी बाटो बिराउने कालखण्ड पार गरे। कृत्रिम गरिबीको झड्काले मूल्य थप गर्यो।
नुवाकोटको कार्यशालामा दातृसंस्थाले परियोजनाको तर्फबाट सबै सहभागीलाई विद्युत सञ्चय गर्न मिल्ने उपकरण पावर ब्यांक बाँडेको थियो।
मैले बिजुली नभएको तोडमा सुटकेस खोतलखातल पारेर पावर ब्यांक निकालेँ। मोबाइल फोनमा जोड्न खोजेँ। यसमा विशेष किसिमको तारले दुई विद्युतीय यन्त्रलाई जोड्छ। दुर्भाग्य! मोबाइल फोनको अति सानो प्वालमा जोडाइ मिलेन क्यारे, तार जोडिएन। निष्पट्ट अँध्यारो जो थियो।
सर्वसाधारणले सजिलै बुझून् भनेर इन्जिनियरहरू ताला र चाबीको भूमिकामा रहेका एक अर्कामा जोडिने तारका टुप्पालाई भाले र पोथी भन्छन्। मोबाइल फोन र पावर ब्यांकको हकमा भालेपोथीको मिलन नभएपछि फुइँ डाक्टरको पारो तात्यो।
मोबाइलमा थोरै इन्धन थियो। मोबाइलकै टर्चले त्यसकै फेदको प्वाल देखिने कुरै भएन। साधन भएर पनि प्रयोग गर्न सकिएन भने इन्जिनियरलाई पीडाबोध र हीनताबोध दुवै हुन्छ। मेरो त्यही हाल भयो।
हातमा पावर ब्यांक र मोबाइल बोकेर म कोठाबाट बाहिर निस्केँ। टहटह जुन लागेको थियो। जुनको उज्यालोले पनि काम गरेन। होटेलको आवासगृहको पहिलो तलामा म बसेको थिएँ। नजिकै अर्को दुई तले भवनमा चमेनागृह र केही कोठा थिए।
होटलको काम सकेर कर्मचारीहरू आफ्नै घर जाँदा रहेछन्। मैले ‘होटल कारागार’ को उपमा दिएका प्रसंगहरूमा अधिकांशमा यही भएको छ। यही बुझेर मैले रात्रिको खाना खाने क्रममा सञ्चालकलाई सोधेको थिएँ– राति होटेलमा अतिथिबाहेक कोही कर्मचारी बस्छ कि बस्दैन?
‘सुरक्षा गार्ड बस्छ हजुर!’
उनको भनाइ सम्झेर मैले आवाज दिएँ– ‘ए भाइ! को हुनुहुन्छ?’
स्वर अझै ठूलो पारेँ। चरोमुसो पनि नभएको जस्तो भयो। मेरो प्रयास काम लागेन।
होटल परिसरबाट बाहिर निस्कने गेटतिर आएँ, बन्द थियो। चकमन्न रातको अन्तिम प्रहरले आफ्नो बिरासत फैलाएको थियो। म निरीह थिएँ।
होटल परिसरसँगै जोडिएको एक मार्ट थियो। मार्टको आँगनको किनारामा सोलारको एउटा बत्ती थियो। बत्ती म उभिएको ठाउँबाट विपरीत फर्केको हुनाले मेरो काम हुने सम्भावना न्यून थियो। मार्ट र होटल परिसर छुट्याउन राखिएको तारजालीको माथिको भागबाट दुवै हात फैलाएर भालेपोथी जोड्ने प्रयास गरेँ। पार लागेन।
म कोठामै फर्किएँ। मेरो मनमा यो भईपरी आएको परिस्थितिले दुई वटा विचार जन्माइदियो। पहिलो, कारागारको जीवन। हाम्रा नेताहरू केही वर्ष कारागार बसेका थिए। नेतृत्व कौशलमा विश्व प्रख्यात राजनेता नेल्सन मन्डेला २७ वर्ष बसे।
आखिर सानो घेरामा खुम्चिनु र आफूले चाहेको काम गर्न स्वतन्त्र नहुनु नै हो क्यारे बन्दी जीवन। म पनि केही घन्टाका लागि बन्दी भएको थिएँ।
दोस्रो विचार भने एकल महिला वा एकल पुरुषको बारेमा थियो। उनीहरू कसरी जीवनयापन गर्दा हुन्! अहिले म आफ्नै निवासमा भएको भए वा मेरी धर्मपत्नी साथमै भएकी भए परिस्थिति अर्कै हुन सक्थ्यो। अरू केही नभए पनि उनीसँग दुःख बिसाउँथे। चार आँखा र दुई मष्तिष्क हुन्थे, केही न केही समाधान निस्कन्थ्यो।
मेरो ढोका बाहिर कसैले आवाज दियो। सुरक्षा गार्ड रहेछन्।
‘त्यत्रो ठूलो आवाजले बोलाएँ। तपाईंले सुन्नु भएन! अहिले कताबाट झुल्किनु भयो त हजुर?’
‘सर! राति अबेरसम्म बस्नु पर्यो। गार्ड हाउसमा सुतेको थिएँ। भुस भएर निदाएछु।’
सुरक्षा गार्डले आफू इमानदार भएको प्रमाण दिए।
मैले सुरक्षा गार्डले सपना देखेर मालिकलाई दुर्घटना बचाएको अनि मालिकले पुरस्कार दिएर जागिर खोसेको कथा सम्झेँ।
लगभग तीन घन्टाको बन्दाबन्दी सकिएको थियो। गेट खोलियो, छ बजेतिर म होटलबाट निस्केँ। अब मेरो मोबाइल फोन ऊर्जावान् भएको थियो। पावर ब्यांक र मोबाइल हातमा बोकेर मूल सडकमा हिँड्न थालेँ। प्रधानमन्त्री बन्न जेल विश्वविद्यालयको उपाधि पाएको प्रसंग साथीभाइलाई सुनाउन मन आतुर थियो।
‘युवा नेतृत्व क्षमता अभिवद्धि’ अभियानका सहयात्री पाण्डव कार्कीलाई फोन गरेँ।
‘ओहायो गोजाइमास!’
पाण्डवजीसँगको चिनजान पुरानो हो। उनी जापानमा व्यपार व्यवसाय गर्ने भएकाले हाम्रो कुराकानीको केही अंश जापानी भाषामा पनि हुने गर्छ। सिंहदरबारको इन्द्रासनमा विराजमान हुने प्रसंगले उनलाई मजैले हँसायो।
केही दिनअघि भारतको आम आदमी पार्टीका नेता केजरीवालले लोकतन्त्रको एउटा नमूना उदाहरण पेस गरे।
उनले पञ्जावका जनतालाई सोधे– अबको मुख्यमन्त्रीको उम्मेदवार कसलाई बनाउने?
२२ लाख जनताले टेलिभोटमार्फत आफ्नो मत जाहेर गरे, ९० प्रतिशतभन्दा बढीले भगवन्त मानलाई चुने। केजरीवालले उनैलाई उम्मेदवार बनाए।
मैले पाण्डवजीलाई यही दृष्टान्त दिएर भनेँ, ‘नेपालमा पनि यस्ता नौला प्रयोगले राजनीतिक दलको दलालीमाथि बज्र प्रहार हुन सक्छ। सिंहदरबारमा युवा नेतृत्वको वर्चस्व हुन सक्छ।’
म दक्षिणतिर लागेँ। चौडा सडक, दायाँबायाँ बढ्दै गरेको आवादी। आधुनिक सहर बन्ने दिशामा कोल्बीले कोल्टे फेरेको अनुभूति भयो। काठमाडौं–तराई द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेल आदि यो भूगोलमा नयाँ थपिन लागेका पूर्वाधार हुन्। कलैया जाने र सिम्रौनगढ जाने उत्तर दक्षिण सडकहरूले पनि कोल्वीको द्र्रुत सहरीकरण हुने सम्भावनामा थपेका छन्।
अर्को फोन भूगर्भशास्त्री प्राडा तारानीधि भट्टराईलाई लगाएँ।
‘नेपालमा अबको निर्वाचनपछि सरकार प्रमुख को बन्ला?’
उहाँले पनि परम्परागत जवाफ दिनुभयो। मैले आफूलाई सिंहदरबारको इन्द्रासनमा विराजमान हुन आवश्यक जेल विश्वविद्यालयको डिग्री प्राप्त भएको जानकारी गराएँ।
प्राडा भट्टराई र मैले केही अनौठा र रमाइला सहकार्य गरेका छौं। त्योमध्ये एक थियो नेपालका मूर्धन्य साहित्यकार दाहाल यज्ञनिधिलाई भेट्ने। हामी उनकै निवासमा पुगेका थियौं। लगभग दुई घन्टा उनको विचार सुनेका थियौं।
नेपालका राजनीतिक दल, तिनका नेता र समग्र नेपालीको वर्तमानका बारेमा लेखिएका दाहालका रचना मलाई औधि मन पर्छन्। उनले एक निबन्धमा नेपालका प्रमुख तीन दललाई राँगो, अर्ना र साँढे दर्जा दिएका छन्। जनताको मताधिकारको शक्ति पहिचान गरी व्यंग्यात्मक शैलीमा उनले एक ठाउँमा लेखेका छन्, ‘यी तीन वटै गणका भालेलाई कोरलो छँदै चेपुवा लगाएर खसी पार्न हामी दाप्सा पेट (जनता) ले सकेनौं।’
मैले जेलयोग्यताको कुरा गरे पनि जनताले यो योग्यताको भरमा चुनाव जित्ने सपना देख्ने फुक्लेका ढिकीहरूलाई दाहालले भनेझैं तह लगाउने सूचीमा अझै राख्ने छैनन्।
जनताको कसीमा घोटिन चाहने युवा नेताहरू भारतमा आम आदमी पार्टीले गरेजस्तो जनमतको कदर गर्ने नयाँ संयन्त्र विकास गर्न किन अग्रसर नहुने!