मेरो पन्ध्र वर्षको बेलायत बसाइलाई टुंग्याएर नेपाल आई काम गर्न थालेको एक वर्षभन्दा बढी भइसक्यो। नेपाल आउँदा सुरु-सुरुमा मलाई सोधिने प्रश्न थियो, 'तपाईं किन नेपाल आउनु भएको?' अहिले यो प्रश्न फेरिएको छ। मलाई चिन्ने धेरै जसोले आजकल मलाई सोध्ने प्रश्न हो, 'तपाईं अब यतै बस्ने हो?'
यो प्रश्न म नेपाल बसेर काम गरेकोमा आश्चर्य प्रकट गरेको वा अब पनि नेपालमा बसेर काम गर्न सकिन्छ र? भनी शंकाको रुपमा मलाई प्रश्न गरेको मैले बुझेको छु। यो प्रश्नको पछाडि धेरै कारणहरू छन्, जुन हामी धेरैको लागि अपेक्षित र स्वभाविक पनि हो।
यो प्रश्न जति सरल र सहज देखिन्छ यसको भाव भने निकै गहिरो र अर्थपूर्ण छ। यसले नेपालको अहिलेको समग्र मनास्थितिलाई चित्रित गर्छ। नेपालीहरूले नेपालको भविष्य कस्तो देखेको छन् भन्ने अर्थ समेत राख्छ।
आजकल धेरैजसो पढेलेखेका र सहरीया हुनेखाने युवा जमातको सपना विकसित मुलुकमा गएर पढ्ने र उतै काम गर्ने, अर्थात् विदेशमा नै 'सेटल' हुने छ। यस्तो परिस्थितिमा मजस्तो विदेश बसेर उतै आफ्नो घरजम गरेको, आफ्नै पेसामा राम्रो जागिर खाएको, विदेशी भूमिमा राजनीति समेत गरेको र अर्को अर्थमा भन्ने हो भने उतै जमेर बसेको मान्छे फेरि आफ्नै मातृभूमिमा काम गर्ने सपना देख्ने र त्यसलाई साकार पार्नेहरू एकदम कम छन्। त्यसैले मलाई सोधिने प्रश्न 'तपाईं अब यतै बस्ने हो?' एकदम स्वाभाविक लाग्छ।
विश्वव्यापीकारण भएको आजको संसारमा मान्छेका लागि आफ्नै देशमा मात्रै हैन विदेशमा समेत कामका धेरै अवसरहरू छन्। आफ्नो पेसामा प्रगति गर्न र आफ्नो जागिरमा अधिकतम सन्तुष्टि प्राप्त गर्ने चाहना सबैको हुन्छ। आफ्नो क्षेत्रमा आफूले थप कुरा सिक्ने र जान्ने अवसरको खोजीमा हुन्छ मानिस। त्यसैले पनि मान्छे नयाँ जागिर, अवसर र क्षेत्रको खोजीमा यताउता जानु स्वभाविक हो।
त्यसमाथि हरेक परिवार र व्यक्तिको आर्थिक उन्नन्ति र सन्तानको उज्ज्वल भविष्य आदि पनि सोचनीय र एकदम महत्वपूर्ण पक्ष हुन्, जसले मानिसलाई विकसित मुलुकमा गई काम गर्ने र उतै जीवन व्यतित गर्ने कुराको लागि आकर्षित गर्छन्।
तर, मानिस विदेशमा गएर काम गर्ने कुरालाई जति महत्व दिएको हुन्छ, त्यति नै महत्व आफू जुन देशमा जन्म्यो, हुर्क्यो, बढ्यो, र पढ्यो त्यही मातृभूमिप्रति पनि दिनुपर्छ जस्तो लाग्छ मलाई। आफ्नो मातृभूमिको उन्नन्ति र समृद्धिमा योगदान गर्न नेपालमा आउनु पर्छ भन्ने पनि हैन। तर, आफ्नै मातृभूमिमा बसेर आफ्नो जन्मभूमिलाई जति योगदान दिन सकिन्छ त्यो विदेशमा बसेर दिन सकिन्न। त्यसैले मलाई लाग्यो अब नेपालमा बसेर काम गर्नु पर्छ र मातृभूमिको लागि केही योगदान दिनुपर्छ। यही मनासायले म आफ्नै जन्मभूमि नेपाल आएको थिएँ।
यति भन्दाभन्दै पनि विदेशमा बस्ने नेपाली गैर-आवासीय नेपालीहरूलाई नेपालमा बसेर काम गर्न धेरै प्रशासनिक र कानुनी झमेलाहरू भने छन्। हालको नेपालको संविधानले गैर-आवासीय नेपालीहरूलाई दिएको राजनीतिक बाहेकका अरु अधिकारलाई कानुनी रुप दिने नागरिकता विधेयक अझै संसदबाट पारित भएको छैन। अझै पनि गैर-आवासीय नेपालीहरूको पैत्रिक सम्पत्ति माथिको हकको कुरा स्पष्ट छैन।
आर्थिक लगानी नेपाल भित्र्याउन र नेपालबाट मुनाफा वा लगानी फिर्ता लैजान प्रशासनिक झमेलाहरू छन्। गैर-आवासीय नेपालीहरूलाई नेपाली राजनीतिक दलहरू र अहिलेसम्म बनेका सबै दलका सरकारले जति उदारतापूर्वक हेर्नु पर्ने हो र सम्मानजनक सुविधा दिनु पर्ने हो त्यो व्यवहारमा देखिएको छैन।
विदेशमा बस्ने गैर आवासीय नेपालीहरूले आफ्नो पेसागत क्षेत्रमा विदेशमा धेरै उन्नति र प्रगति गरेका छन्। उनीहरूले सिकेको सीप नेपालको लागि एकदम महत्वपूर्ण हुन्छ। नेपालजस्तो विकासोन्मुख मुलुकको लागि गैर-आवासीय नेपालीहरूको सीप नेपालमा हस्तान्तरण गराउन सके धेरै क्षेत्रमा उन्नति र समृद्धिको सपना साकार हुन मद्धत हुने कुरा निर्विकल्प हो। तर, यो क्षेत्रमा नेपाल सरकारले खासै चासो र महत्व दिएको छैन। त्यसैले मजस्तो नेपाल बसेर यतै काम गर्न चाहना राख्ने नेपालीहरूले 'तपाईं अब यतै बस्ने हो?' भन्ने प्रश्को सामाना गर्नु परेको छ।
नेपालमा धेरैजसो निकाय र ठाउँमा अ-व्यवस्थाको चरम नमुना देख्न सकिन्छ। संस्थागत भ्रष्टाचार झन् मौलाएको छ। राजनीतिक अस्थिरता अहिले पनि कायमै छ। सरकारी, सार्वजनिक र स्थानीय निकायहरूमा पद्धतिलाई भन्दा व्यक्तिलाई महत्व दिने प्रचलन छ। सबैतिर राम्रालाई हैन हाम्रालाई प्रश्रय दिने प्रथा चलेको छ। भनसुन नगरी कुनै पनि काम सहज ढंगले हुँदैन भन्ने मान्यता छ। निजी निकाय र संस्थाहरूमा पनि यसको बाछिटा देख्न सकिन्छ। यी र यस्तै नकारात्मक कुरा सुन्ने र देख्ने हो भने नेपाल बस्ने गैर-आवासीय नेपालीहरूको मन भाडिन पनि सक्छ।
यी सबै विकृति र विसंगतीहरूलाई चिर्न र नयाँ ढंगले अघि बढ्न अबको नयाँ नेपालमा नयाँ सोच, पद्धति र प्रक्रियाहरूको निर्माण गर्नु जरुरी छ। यसका लागि पनि विदेश बस्ने गैर नेपाली नागरिकहरूको भूमिका महत्वपूर्ण हुन्छ। यो काम आफ्नै जन्मभूमिमा बसेर वा बाहिर बसेर पनि गर्न नसकिने हैन। यसका लागि मनमा दृढ इच्छा शक्ति र मनमा अठोट चाहिन्छ।
'तपाईं अब यतै बस्ने हो?' सायद यो प्रश्न मैले नेपाल बसुन्जेल धेरै पटक सुन्नु र उत्तर दिनुपर्ने हुन्छ। यो प्रश्न जति सरल र सहज छ, यो प्रश्नको उत्तर भने त्यति सहज छैन। मलाई थाहा छ, यो नितान्त व्यक्तिगत प्रश्न हो। त्यसैले पनि मेरो जवाफ पनि मेरो व्यक्तिगत चाहना, जन्मभूमि प्रतिको मेरो सोचाइ र आफ्नो आदर्शमा भर पर्ने कुरा हो।
अहिलेसम्म मेरो अनुभवको आधारमा मैले यो प्रश्नको उत्तर दिँदा 'म नेपालमा नै बस्ने भनेर उता छोडेर आएको हुँ' भन्ने छ। भविष्यमा के हुन्छ त्यो मलाई थाहा छैन। यो कुरा समयलाई नै छोडिदिन उत्तम होला।
'तपाईं अब यतै बस्ने हो?' यो प्रश्नले सांकेतिक रुपमा धेरै कुरा भनेको र खोजेको छ। त्यसैले हामी सबैले आफ्नो जन्मभूमि प्रति सकारात्मक सोच्ने र यही नै केही गरूँ गरूँ जस्तो नेपाल बनाउने हो भने गैर आवासीय नेपालीहरूलाई नेपाल फर्केर यहीं नै केही काम गर्न उत्प्रेरित गर्नुपर्ने हुन्छ।
मेरो व्यक्तिगत अनुभवमा यो भन्नु जति सजिलो छ नेपालको हालको अवस्था र नेपालीहरूको सोचको विश्लेषण गर्ने हो भने यो एकदम चुनौतीपूर्ण छ, तर असम्भव भने छैन।