भर्खर अफिस पुगेर काममा लाग्न नपाउँदै मोबाइलमा घण्टी बज्छ। दिदीको फोन रहेछ। दुईपटक लगातार घण्टी बजिरहँदा नि मैले फोन उठाइनँ। फेरि तेस्रो कल आएपछि केही अपरझट नै परेछ कि भनेर कल उठाएँ।
'घरमा आमा बिरामी हुनुहुन्छ रे, हाकिम सरसँग तुरुन्तै बिदा मागेर आउनू। गाउँ जानुपर्ने भयो,' यति भनेर फोन काटियो।
मलाई फोनको पृष्ठभूमिमा कोही रोइरहे झैँ लाग्छ। दिदीलाई फोन लगाउँछु, फोन उठ्दैन। मनमा चिसो पसिहाल्यो, गर्दै गरेको काम साथीलाई सुम्पेर हाकिम सरको कोठामा गएँ। खुट्टाहरू काँपिरहेका हुन्छन, काँपेकै आवाजमा सरलाई घरबाट आमा बिरामी भएको र तुरुन्तै गाउँ जानुपर्ने कुरा राख्छु।
के कसो केही नसोधि 'हुन्छ जानु, केही परे मलाई खबर गर्नु' भन्ने अभिभावकत्व जोडिएको शब्दहरूले मेरो इन्द्रियहरू केही शान्त हुन्छन।
कसैसँग केही नबोली पार्किङमा गएर साधन लिएर घरतर्फ लागेँ। बाटोमा मनभरि अशुभ सोचाइहरूले राज गरिरहेका हुन्छन्। कोठामा पुगेर हतार-हतार ड्रेस चेन्ज गरेपछि दिदीलाई कल गर्छु।
दिदीको फोन उठ्छ। मसिनो आवाजमा 'अफिसतिर छुट्टी अलि दिनलाई भन्नु है, आमा अलि सिकिस्त हुनुहुन्छ' भनिरहँदा पृष्ठभुमिमा कोही रोइरहेको आवाज प्रष्ट सुनियो।
गाउँमा बाबालाई कल गरेँ, मन आत्तिएर कुनबेला फोन काटिसकेको हुन्छ। फेरि हिम्मत जुटाएर बाबालाई कल गर्छु, फोन उठ्छ।
'बाबा, आमालाई के भएको हो?'
पृष्ठभुमिमा रोइरहेको कोलाहल उस्तै हुन्छ।
'छोरा, तेरो आमाले यो संसार छोडिसकेकी छिन्। तँलाई फोनमा आमा बिरामी हुनुभएको भनिदिए होला हैन? अरुले तैँले गाह्रो मान्लास् भनेर बिरामी भएको भनिदिए, अब तँलाई तँ टुहुरो भएको कुरा म कसरी लुकाउँ? मेरो अब यो दुनियाँमा तँ बाहेक को छ र?'
बाबाले यसो भनिरहँदा म गलिसकेको हुन्छु। एकाएक दिन अँध्यारो हुन्छ। मैले बुबा पहिलो पटक यसरी रुनुभएको सुनेको थिएँ, तर मसँग बुबा नरुनुस् हजुर भनेर भन्नेसम्म आँट आएन। फोन काटेँ, मनमा कति प्रश्नहरू उठिरहेका थिए, मैले आमासँग अन्तिम पटक दुई तिन दिन अगाडि कुरा गरेको थिएँ, बीचमा किन कुरा गरिनँ?
गाउँ पुगेपछि बालापनमा आमासँगै काखमा लट्पटिएको ठाउँमा अहिले उहाँको पल्टिरहेको पार्थिव शरीर थियो। तीन दिन अगाडिसम्म त्यति उज्यालो बोली सुनिरहेको आमा आज आफ्नो आँखाअगाडि कहिले नफर्किने गरी टाढा जानुभएको थियो। उहाँका ओभाना ओठहरूमा अन्तिम पटक एकथोपा पानीसम्म खुवाउन नपाएकोमा भित्र-भित्र ग्लानी महसुस भएको थियो।
उहाँका निदाइरहेका आँखाहरूले मलाई बोलाइरहेका थिए। मलाई निद लागेन भने कपाल मुसारेर मिठो निद्रा बोलाउने ती हातहरूले मलाई खोजिरहे झैं लाग्थे। म अरुलाई सम्हाल्न खोज्थेँ, तर आफैंलाई सम्हाल्न गाह्रो भैरहेको थियो।
सदाझैं सबेरै उठेर चिसो मौसममा पनि घरलाई सूर्यको उज्यालोले नदेख्ने गरी उज्यालो बनाउनुहुने मेरी आमा त्यस दिन पनि उठ्नुभएको रहेछ। उठेर सरसफाईका कामहरू सकेर खाना बनाउनु भई खाना खानुअघि चक्कर लागेर खाटमा पल्टिनुभएकी आमा सदाको लागि निदाउनुभएछ।
गाउँमा सानो मिटिङमा उपस्थित जनाउन जानुभएको बुबालाई खाना खाएर निस्कन कर गर्दागर्दै फर्केपछि खाऔँला भनेर जानुभएको बुबाले आमाको हातको अन्तिम खाना खान पाउनुभएन।
मेरो काँधहरू काँपिरहेका थिए, बचपनमा आमाले मलाई उहाँको काँधमा राख्दा कहिल्यै काँपेका थिएनन् होला। उतिबेला म आमाको काँधमा हुँदा संसारको सबैभन्दा खुसी मान्छे थिएँ। अहिले उहाँ मेरो काँधमा हुनुहुन्थ्यो, म संसारको सबैभन्दा दुखी मान्छे थिएँ।
फूलका गुच्छाहरू कसैको गलामा पहिरिँदा मात्रै सुन्दर हुने रहेछन्, जब कसैको तस्बिरमा पर्छन्, ती मान्छेहरू फेरि कहिले बोल्दैनन्। जब यी फूलका गुच्छाहरू आमाको तस्बिरमा परे, त्यसपछि फूल प्रतिको मोह पनि मरेर गयो।
जुन मानिसलाई विपनामा भेट्न सम्भव छैन, तिनीहरू अक्सर सपनामा भेटिने गर्छन्, कहिलेकाहीँको आमासँगको सपनाको भेटले आफूलाई सम्हालीरहेको छु। आमाको देहावसानपछिको धेरै पछिसम्म पनि आफूलाई विश्वास दिलाउन सकिरहेको छैन म, अझै पनि फर्केर आइहाल्नु हुन्छ भन्ने लाग्छ। आमालाई सम्झिएर सुत्न नसक्दा कैयौँ रातहरू अनिदो बनेका छन्।
भगवानले राम्रो मान्छेलाई छिट्टै प्यारो बनाउँछन् भन्ने सुनेको थिएँ, अहिले आफैँ भोगीरहेछु। हजुर जहाँ हुनुहुन्छ खुसी नै हुनुहुन्छ भन्ने अपेक्षा राखेको छु। हरेक पाइलामा हजुरलाई सम्झिरहेको हुन्छु। हजुर जहाँ हुनुभए पनि हामी सधैँ सँगै छौँ, हजुरको आत्माको चिर शान्तीको कामना आमा। सपनामा मात्रै आउनुहुने उहाँलाई धेरैपटक आमा भनेर बोलाउन मन छ, किनकि मलाई आमा भनेर बोलाउन पुगेकै छैन।