आपत् वा विपद् भनेको आकस्मिक वा अनपेक्षितरुपमा आइपर्ने समस्या हो। अपर्झट आइलाग्ने असहज परिस्थिति जसले मानवीय तथा भौतिक क्षति गराउँछ र जनजीवनलाई कष्टकर तथा असजिलो बनाउँछ भने यस्तो अवस्थालाई पनि हामी आपत् वा विपद् भनेर भन्न सक्छौं।
नेपालको भू-अवस्थिति तथा भू-बनोटको प्रकृति अध्येताहरूले नेपाल भूकम्पीय जोखिमलगायत अन्य मौसमी र बेमौसमी खतरा उच्च रहेको देशको रुपमा रहेको तथ्य सार्वजनिक गरेका छन्। जलवायु परिवर्तन, भूमण्डलीकरण तथा विश्वव्यापी जलवायुप रिवर्तनको प्रभावले पनि विभिन्न प्रकारका जोखिमहरू आइलाग्ने सम्भावना देखिन्छ।
विकासको नाममा विनायोजना र जोखिम सम्भाव्यता अध्ययन नगरी खनिएका पहाडी सडकहरूको कारण बाढी-पहिरोको जोखिम पनि नेपालको लागि चिन्ताको विषय बनेको छ। नेपालको सन्दर्भमा अव्यवस्थित सहरीकरण, नदी किनार तथा कमजोर धरातलीय अवस्थितिमा बनाइएका भौतिक संरचनाहरू पनि विपद् निम्त्याउने अर्को महत्वपूर्ण कारकको रुपमा रहेको देखिन्छ।
भूकम्प, शीतलहर, हावा-हुरी, बाढी-पहिरो, चट्याङ, डढेलो, आगलागी, सुख्खा, अतिवृष्टि, अनावृष्टि, डुवान, महामारीजस्ता विपदहरू झेलिरहेको नेपालले वर्षेनी यी र यस्तै विपदबाट धेरै जनधनको क्षति पनि व्यहोरिरहेको छ। यस्ता विपदबाट खासगरी बालबालिकाहरू बढी प्रभावित हुने गरेको देखिन्छ। विपद व्यवस्थापन संयन्त्र प्रभावकारी नहुँदा वा आपतकालीन योजना नहुँदा यसको सार्थक व्यवस्थापन गर्न समेत हामी पटक पटक चुकिसकेका छौं।
मानवीय वा प्राकृतिक कारणले सिर्जित आपतकालीन अवस्थामा उद्धार कार्यको प्राथमिकता गाँस, बास र कपास पर्ने गरेको विश्वव्यापी प्रचलनमा अब शिक्षा पनि मूल प्राथमिकतामा राखिनुपर्छ भन्न बहस जोडदार रुपमा उठ्ने गरेको पाइन्छ। शिक्षा नागरिकको नैसंर्गिक अधिकार भएको र जोखिम प्रभावितहरूको समग्र पक्षको व्यवस्थापन गर्न आवश्यक शिक्षाको प्रबन्ध मिलाउन सक्दा उनीहरूको दैनिकीलाई सहज बनाउन सकिने तथ्यहरू पनि उजागर भएको छ।
आपतकालीन शिक्षा
आपतकालीन शिक्षा भनेको आपत वा विपदबाट प्रभावित बालबालिकाहरू तथा वयस्कहरूको स्वास्थ्य, शिक्षा, मनोविज्ञान, जीवनयापन तथा सहज समायोजन सम्बन्धी ज्ञान, सीप प्रदान गरिने शिक्षा हो। उनीहरूको गाँस, बास, कपासको व्यवस्थापनसँगै आपत् वा विपदमा पनि परिस्थितिजन्य असहजतालाई सहजतामा रुपान्तरण गर्ने भरपर्दो माध्यम पनि आपतकालीन शिक्षा हो।
प्रभावित बालबालिकाहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक मार्गदर्शन गर्न पनि आपतकालीन शिक्षाले सघाउँछ। आपतकालीन अवस्थामा पनि शिक्षा प्राप्त गर्ने नागरिकको अधिकारलाई प्रत्याभूत गराउन सक्दामात्र सरल र सहज जीवनयापनको अवस्था सिर्जना गर्न सकिन्छ। विपद् प्रभावित बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक, सम्वेगात्मक पक्षको समुचित ख्याल गर्दै मनोवैज्ञानिक सहजता कायम गर्न तथा सहज समायोजनको वातावरण निर्माण गर्न आपतकालीन शिक्षा महत्वपुर्ण हुने देखिन्छ।
यस्तो शिक्षा औपचारिकभन्दा बढी परिस्थिति सापेक्ष र अनौपचारिक प्रकृतिको हुने हुँदा नियमित तथा औपचारिक शिक्षाको विकल्पमा भन्दा पनि सहयोगीको रुपमा हुन आवश्यक हुन्छ। विपदको अवस्थामा स्वभाविक रुपमा नियमित र औपचारिक शिक्षाको निरन्तरता जटिल हुन सक्छ। यस्तो अवस्थामा कुनै न कुनै उपयुक्त विकल्प सहितको वैकल्पिक शिक्षा र सिकाइ निरन्तरताका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ।
आपतकालीन शिक्षा योजना निर्माण नहुँदा विसं २०७२ सालको भूकम्पपछि लामो समयसम्म बालबालिकाहरू शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित भए। उनीहरूमा उत्पन्न त्रास र मनोवैज्ञानिक संकटले पनि सहज समायोजनमा समस्या पैदा भयो। त्यसैगरी सन् २०१९ देखि अप्रत्यासित रुपमा विश्वव्यापी विपद् (महामारी) कोभिड-१९ को कारण विश्व नै नराम्ररी प्रभावित भएको सन्दर्भमा यसबाट भएको शैक्षिक क्षतिपूर्ति गर्न अझै पनि सकस भइरहेको अवस्था छ।
कतिपय देशहरूमा आपतकालीन शिक्षा योजना निर्माण गरी सिकाइ निरन्तरताका आसलाग्दा प्रयासहरू पनि भए। कोभिड- १९ को असहज परिस्थितिमा पनि शिक्षण सिकाइका वैकल्पिक माध्यमहरूको प्रभावकारी कार्यान्वयन गर्ने कार्यमा बढोत्तरी भएको पाइयो। तर, हाम्रो सन्दर्भमा भने आपतकालीन शिक्षा व्यवस्थापन अपेक्षाकृत रुपमा सफल बनाउन सकिएन।
अनपेक्षित रुपमा आइपरेको कोरोना महामारीको चुनौतीलाई अवसरमा बदल्ने कार्यमा केही शैक्षिक संस्थाहरूले वैकल्पिक सिकाइमार्फत सिकाइ निरन्तरता दिँदै शैक्षिक क्षति न्यूनिकरणमा उल्लेख्य योगदान दिने काम पनि भए। विगतका अनुभव र भोगाइबाट पाठ सिक्दै आपतकालीन शिक्षा योजना निर्माण गर्ने अभ्यासहरूको सुरुआत भए पनि समय, सन्दर्भ र परिवेश अनुकूल स्थानीय परिवेश सापेक्ष आपतकालीन शिक्षा योजना निर्माण आजको प्रमुख आवश्यकता बनेको देखिन्छ।
संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले अब आपतकालीन शिक्षा योजना निर्माण गरी सम्भावित शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न सक्नु पर्दछ। आपतकालीन शिक्षा भनेको केवल शैक्षिक क्षति कम गर्ने, सिकाइ निरन्तरताको बन्दोबस्ती मिलाउने कार्य मात्र होइन, यो त प्रभावितहरूलाई सुरक्षित हुने, सम्भावित शोषण र हिंसाबाट बच्ने र सारमा सहज समायोजनमा सघाउने शिक्षा पनि हो।
आपतकालीन शिक्षा योजना
आपत् वा विपद् भनेको भैपरी आउने असहज परिस्थिति भएकोले यस्तो परिस्थितिमा हाम्रो दैनिकी नै प्रभावित हुने गर्छ। जीवन रक्षा आपतकालीन अवस्थाको प्रमुख प्राथमिकता हो। तर, जीवन रक्षा र सहज जीवनयापनको वातावरण निर्माणसंगै व्यक्तिको दैनिकीलाई सामान्य बनाउन भने धेरै पक्षहरूमा ध्यान दिनुपर्ने हुन्छ। मूलतः बालबालिकाहरूलाई मनोवैज्ञानिक रुपमा सहजता दिन सक्नु, परिस्थितिको समाना गर्दै सहज समायोजनाका मार्गहरू अवलम्बन गर्ने वातवारण सिर्जना गर्नु आपतकालीन शिक्षा योजनाको मुख्य ध्येय हो।
आपतकालीन शिक्षा योजना निर्माण गर्दा हामीले हाम्रो परिवेशलाई विशेष ध्यान दिन आवश्यक हुन्छ। कहीँ कतै बनाइएको योजना सबै स्थान र परिवेशमा कार्यान्वयन गर्न सम्भव हुँदैन। खासगरी कोभिड- १९ को असरसँगै स्थानीय तहमा आपतकालीन शिक्षा योजना निर्माण गर्ने कार्यमा तीव्रता आएको देखिन्छ। यस कार्यमा विभिन्न विकास साझेदार संघ/संस्थाहरूको सक्रियता पनि बढीरहेको छ। तर, विचारणीय कुरा त के छ भने एउटा बनिबनाउ खाकामा आधारित भएर स्थानीय वस्तुस्थितिसँग नजोडिएका यस्ता योजनाहरू खासै कामयावी हुन सक्दैन।
स्थानीय परिवेश सापेक्ष आपतकालीन शिक्षा योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने हो भनेमात्र बालबालिकाहरूलाई आपतकालीन अवस्थामा पनि सहज समायोजन गर्दै सिकाइ निरन्तरताको वातावरण निर्माण गर्न सकिन्छ। आपतकालीन शिक्षा योजना निर्माण गर्दा भैपरी आउने असमान्य परिस्थिति वा विपदको आँकलन गरी सोसँग सम्बन्धित कार्ययोजना निर्माण गर्नुपर्ने हुन्छ।
हाम्रा शैक्षिक संस्थाहरूको अवस्था, सम्भावित जोखिमको पूर्वानुमान, विपद्पूर्व गरिनुपर्ने कामहरू, विपदको समयमा ध्यान दिनुपर्ने पक्षहरू र विपद् पश्चातको शैक्षिक व्यवस्थापन र सिकाइ निरन्तरताको सवालमा वस्तुगत अध्ययन गरी योजना निर्माण गर्न सके यसको सफल कार्यान्वयन हुने सम्भावना रहन्छ।
आपतकालीन शिक्षा योजनाको आवश्यकता
आपतकालीन शिक्षा योजनाले मूलतः असहज परिस्थितिमा पनि प्रभावित व्यक्तिहरूलाई सहज जीवनयापन र सिक्न पाउने अधिकारको सुनिश्चिता गर्ने प्रयास गर्दछ। सम्भावित आपतकालीन अवस्थाको आँकलन गर्न तथा सोही अनुरुपका व्यवस्थापकीय पक्षहरूको बन्दोवस्ती मिलाउन आपतकालीन शिक्षा आवश्यक हुन्छ।
शिक्षाका लागि न्यूनतम मापदण्ड पूर्व तयारी, प्रतिकार्य र सुधारका मार्ग पहिल्याउन आपतकालीन शिक्षा आवश्यक हुने भएकोले स्थानीय विशिष्ट अवस्थाको जगमा यसको निर्माण वाञ्छनीय हुन्छ। हाम्रा परिवेशमा घट्न सक्ने सम्भावित विपदहरू, त्यसको समाना गर्ने संयन्त्र निर्माण र प्रभावित बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, पोषण र अनुकुलित वातावरण निर्माणका लागि सान्दर्भिक वैकल्पिक सिकाइ संयन्त्रहरूलाई उपयोगमा ल्याउनुपर्ने हुन्छ।
आपतकालीन शिक्षा योजनाले सम्भावित विपद्प्रति सजग हुन र भैपरी आउने असहज परिस्थितिमा पनि सिकाइ निरन्तरताको उपयुक्त विकल्प उपयोग गर्न सघाउने भएकोले पनि यसको आवश्यकता महसुस गरिएको हो। गत वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ लाई आवश्यकतानुसार सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्दै सिकाइ निरन्तरताको उत्तम विकल्पको उपयोगमा समुचित ध्यान दिनसक्दा सिकाइ निरन्तरता सभ्भव हुनसक्छ।
यसो हुँदा सबै स्थानीय तहले आफ्नो परिवेश सापेक्ष आपतकालीन शिक्षा योजना निर्माण गरी कार्यान्वयन गर्नसके सबै बालबालिकाहरूको सिक्न पाउने अधिकारको सुनिश्चिता गर्न सकिने सम्भावना रहन्छ।