कुरा गएको तिहारको बेलाको हो। एकजना मेरो आफन्त नाताले दिदी पर्नुहुन्छ, उहाँले सोध्नुभयो, 'सुधा, तिम्रो सानो बाबु कति वर्षको भयो?'
'चार वर्ष,' मैले जवाफ दिएँ।
'ए, अब एउटी छोरी जन्माऊ,' उहाँले कत्ति पनि नहिचकिचाएर भन्नुभयो।
'छोरी बिनाको घर त शून्य हुन्छ, चाडपर्वहरूमा विशेष गरेर तिहारमा त झन् सधैंको तनाव छोराहरूलाई कोसँग टीका लगाउन लगाउने?'
एकछिन मलाई उहाँको कुराले झनक्क भयो किनकि हाम्रै आफन्तको जो समाजमा चिनिएकै व्यक्ति हुनुहुन्छ उहाँको दुई छोरीपछि केही समय अघि छोरा जन्मिएको छ। त्यही बेलामा 'जान्ने-सुन्ने भनेर मात्र के हुन्छ र, त्यस्तैले झन् छोरा र छोरीमा विभेद गर्छन्' भन्दै गुनासो गर्न पनि उहाँ नै मकहाँ आउनुभएको थियो।
अनि मनमनै सोचें कि दुई छोरापछि छोरी जन्माउँदा चाहिँ विभेद नहुने तर दुई छोरीपछि छोरा जन्माउँदा विभेद हुने? यो कहाँको न्याय भयो? एउटा जोडीले दुई जनाभन्दा बढी सन्तान जन्माउन नपाउने भन्ने कुनै नियम त छैन, उनीहरूले आफ्नो इच्छा, जन्माउन, हुर्काउन, पढाउन सक्ने क्षमताका आधारमा सन्तान जन्माउन सक्छन् र पाउँछन् पनि। तर सकेसम्म दुई सन्तान ईश्वरका बरदान भन्ने भनाइलाई आधार मानेर अघि बढेको हाम्रो परिप्रेक्ष्यमा पाइन्छ।
श्रीमानले श्रीमतीलाई दुई छोरीपछि मलाई अर्को छोरा चाहिन्छ भन्दा हिंसा हुने तर दुई छोरापछि छोरी चाहिन्छ भन्दा चाहिँ छोरीको रहर हुने? यो कस्तो सोचाइ? छोरा नै चाहिन्छ भन्नु गलत भए झैँ छोरी नै चाहिन्छ भन्नु पनि सही होइन। भएसम्म छोरा र छोरी दुवै जन्मिँदा एउटा परिवार पूर्ण मानिन्छ तर सोचेर र खोजेर मात्र त हुँदैन भन्ने हामी सबैलाई थाहा छ।
हाम्रो देशमा विभिन्न समयमा जारी भएका संविधानहरूमा पनि लिंग, जात, धर्म, वर्ग वा कुनै पनि आधारमा कुनै पनि नागरिकबीच भेदभाव गर्न नपाइने कुरा उल्लेख भए पनि हामीले जानेर वा नजानेर, चाहेर वा नचाहेर परपम्परादेखि मान्दै आएका कतिपय परम्परा र रुढिवादी सोचहरू र संस्कार छन् जसका कारण पनि छोरा र छोरीका बीचमा विभेद गरिएको छ।
बुवाआमाको निधनपछि उनीहरूलाई स्वर्गमा बास गराउन काजकिरियाका लागि छोरा नै चाहिने भन्ने रुढिवादी सोचका कारण पनि कतिपय छोरीहरू भ्रुणमै हत्या गरिएका छन्। त्यसैगरी जन्मिसकेका छोरीहरूले विभेद पनि सहनु परेको छ। विभिन्न चाडपर्वहरू मनाउने क्रममा पनि छोरा र छोरीका बीचमा विभेद बढेको जस्तो मलाई लाग्छ। ती मध्येको एउटा उदाहरणका रुपमा भने तिहारलाई पनि लिन सकिन्छ।
परापूर्व कालदेखि हिन्दु धर्म मान्नेहरूले तिहारलाई दिदीबहिनी र दाजुभाइको पर्वका रुपमा मनाउँदै आइरहेका छन्। यस पर्वलाई भाइटीकाको नामले पनि चिनिन्छ। जुनसुकै चाडपर्वका पनि सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्। त्यसैगरी तिहारका पनि केही नकारात्मक पक्षहरू मध्येको एक हो, टीका लगाउनका लागि दिदीभाइ र दाजुबहिनी नै चाहिने। जसले गर्दा धेरै परिवारहरूमा यो पर्व सुरु भएसँगै कसलाई र कसबाट टीका लगाउने भन्ने पिरलो सुरु हुन्छ।
छोरीहरू र छोराहरू मात्र हुने घरमा एक दिनको तिहारको टीका लगाउनकै लागि भए पनि दिदीबहिनी, दाजुभाइ कहाँबाट ल्याउने भन्ने तनाव हुन्छ। हुन त परापरम्परादेखि चलिआएको चलनलाई अहिले आएर हामीले परिवर्तन गर्न त सक्दैनौं तर पनि आफूलाई सजिलो पर्ने खालको त बनाउन सक्छौं नि, होइन र?
छोरा र छोरी हुने घरकाले त दिदीभाइ अथवा दाजुबहिनी मिलेर टीका लगाउन सक्छन् तर जसको घरमा दाजुभाइ र दिदीबहिनी मात्र हुन्छन् उनीहरूलाई सहज हुने खालको वातावरण तयार गर्नु पनि हाम्रो कर्तव्य हो भन्ने हामीले कहिले बोध गर्ने? कतिपय ठाउँहरूमा दिदीबहिनी र दाजुभाइ बिचमा एकआपसमा तिहार टीका लगाउने चलन सुरु भइसकेको छ।
बुवा आमाको मृत्यु पछि किरिया गर्न छोरा चाहिने भन्ने चलनलाई मात दिँदै धेरै ठाउँमा छोरीहरूले किरिया गर्न लागिसके भने तिहारकै लागि मात्रै भनेर छोरा या छोरीलाई भ्रुणभित्रै हत्या गर्नेजस्तो पापबाट सबैलाई बचाउनुपर्ने देखिन्छ।
दैनिक जीवनमा हामी कोही न कोही यी यस्ता कुनै न कुनै घटनाहरूबाट गुज्रिरहेका हुन्छौं र हामी महसुस भने गरिरहेका हुँदैनौं कि हामीले विभेद गरिरेहका छौं वा हामीमाथि विभेद भइरहेको छ भनेर।
हाम्रा आमाहरूको पालोको तुलनामा हामीहरूलाई आफ्नो दैनिकी केही मात्रामा भए पनि सजिलो गरी चलाउन पाएका छौं। त्यसैले कुनै पनि चालचलन, संस्कृतिहरूमा भएका अथवा देखिएका कुरीतिहरूलाई हामीले समयानुकूल परिमार्जन गर्दै जानु आजको आवश्यकता हो। अनि मात्रै परिवर्तित, सम्मानित र समुन्नत समाज निर्माण गर्न सकिन्छ।