अमेरिकामा रहेको नेपाली भाषी भुटानी समाजमा पछिल्लो समय एनआरएनको विषयमा व्यापक बहस, चर्चा अनि कुराकानी चल्न थालेको छ। एनआरएन सुनिरहेको नाम हो। यो मेरो लागि नयाँ भने होइन।
हामीहरू एनआरएन हुनुपर्छ या हुनु हुँदैन भन्ने कुरा दोस्रो कुरा भयो तर एनआरएनको अहिलेकै नीति नियमको स्थितिमा हामी एनआरएन हुँदैनौँ भन्ने कुरा चाहिँ मज्जाले भन्न सकिन्छ। कसले कहाँ के कुरा राख्नु पर्थ्यो या कसले कहाँ गएर कसको आवाज उठाउनु पर्थ्यो भन्ने कुरा मेरो लागि त्यति महत्वपूर्ण हुँदैनन्। अनि म त्यस विषयमा पनि खासै आफ्नो विचारहरू राख्न छोडिसकेको छु।
धेरैले अहिले एनआरएनको कुराभन्दा पनि नेपालमा रहेका भुटानी शरणार्थीको विषयमा बोल्नु पर्ने हो भनेर आफ्नो तर्कहरु राखेको देख्छु। म यस विषयमा केही भन्न चाहन्नँ। जसले जति बोल्न जानेको छ उसले त्यति बोल्ने हो या जसले जति बोल चाहन्छ उसले त्यति नै बोल्छ।
मलाई पहिलादेखि नै हामी एनआरएन होइनौँ भन्ने लाग्थ्यो। फेरि भन्छु, मैले यहाँ हामी एनआरएन हुनुपर्छ या हुनु पर्दैन, भएको राम्रो हो या होइन भनेर भनिरहेको छैन। मलाई अझै पनि लाग्छ, हामी एनआरएन होइनौँ अनि एनआरएनको अहिलेकै नियमवालीमा रहेर कुरा गर्नुपर्दा, हामी एनआरएन हुन कति पनि सक्दैनौँ। मेरो यो तर्कसँग तपाईंहरू सहमत हुने अनि नहुनेले खासै अर्थ त राख्दैन। तर तपाईंहरू मेरो विचारसँग सहमत या असहमत हुन मज्जाले सक्नु हुन्छ। अब केही विचार राख्ने अनुमति चाहान्छु।
गैर आवासीय नेपाली (एनआरएन) भन्नाले नेपाली मूलका विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक सबैलाई जनाउँछ। हामी जुन समुदायमा छौँ या बस्छौँ या हामी जुन समुदायका हौँ भन्छौँ, त्यो समुदायमा बस्नेहरू नेपाली नागरिक थिएनौँ। अलिक तितो सुनिन सक्छ, हामी नेपालको पूर्वी झापामा बस्ने भुटानी शरणार्थी थियौँ।
अहिले कुनै देशको नागरिक भयौँ होला, तर हामी नेपाली नागरिक कहिल्यै पनि थिएनौँ। हामीहरू भुटानका नेपाली भाषा बोल्ने नेपाली भाषीहरू हौँ। नेपाली नागरिक हुनु भनेको तपाईंको भावना अनि कल्पनामा डुबेर हुने कुरा होइन। साहित्यकारहरू त्यसरी डुब्छन्, भावविह्वल हुन्छन्। हामी नेपाली हौँ भन्दै सिर्जना लेख्छन्, तर कल्पनाबाट बाहिर एक न एक दिन निस्किनै पर्छ अनि निस्केपछि थाहा हुन्छ, हामी को हौँ भनेर।
तपाईं हामीले म नेपाली हुँ भनेर तपाईं नेपाली हुनु हुने होइन। तपाईंसँग नेपाली भएको प्रमाण हुनुपर्छ, जुन प्रमाण भुटानका नेपालीहरूसँग छैन। नेपाली भाषा बोल्नेहरू सबै नेपाली हुँदैनन्। जस्तै अंग्रेजी भाषा बोल्नेहरू सबै अंग्रेज हुँदैनन् अनि होइनन्। रीतिरिवाज, संस्कार संस्कृत अनि चाडपर्व पुस्ताबाटै लिएर आएको हौँ। त्यो हाम्रो सम्पत्ति हो। त्यसको जोगर्ना हामीले गर्नैपर्छ।
भुटानले भुटानी भनेर स्वीकार गरेन अनि नेपालले नेपाली भन्न सकेन, अब हाम्रो पहिचान के हो त? भन्ने ताई न तुईको बहस खुब चलेको देख्छु। मलाई त्यो सब समयको बर्बाद जस्तो लाग्छ किनकि कसैले स्वीकार गर्दैमा या नगर्दैमा हाम्रो पहिचान रहने अनि हट्ने हुँदै हुँदैन।
मेरो पासपोर्टमा म जन्मेको देश भनेर 'नेपाल' लेखिएको छ, तर म जन्मिँदा अनागरिक थिएँ। मसँग मेरो देश थिएन। जन्मँदा नै मेरो देश मसँग छैन भन्ने कुरा विश्वलाई थाहा थियो। शरणार्थीको रुपमा जन्मेकाहरूलाई अब नेपाली हो भनेर नेपाल सरकारले कसरी नागरिकता दिनु? हाम्रो जन्मदर्ता पनि नेपालको वडा कार्यलयहरूमा हुँदैन थियो। त्यसैले मैले म नेपाली हुँ भनेर कसरी भन्न सँकू? नेपालीको परिभाषा सीमित नहोला, तर नेपाली नागरिकको परिभाषा सीमित नै हुन्छ। जीवनमा पाएको पहिलो नागरिकता जहाँ लेखिएको थियो मेरो राष्ट्रियता- अमेरिकन। अब मैले म नेपाली हुँ भनेर कसरी भनिरहन सक्छु?
हाम्रा पुर्खाहरू नेपाल देशका हुन्। नेपाल, मेरो पुर्खाहरूको देश हो भन्न मज्जाले सक्छु। म नेपालमै जन्मेता पनि नेपाल मेरो देश हो भन्न सक्दिनँ। हाम्रो पुर्खाहरू पछि भुटान गए वा लगियो। त्यसमा कसैको विमति छैन। पुर्खाहरू त नेपाल देशकै हुन्, तर हामी त होइनौँ नि। सार्कको सदस्य राष्ट्रहरू बाहेक अन्य मुलुकमा बस्ने नेपालीहरू (एनआरएन) को सदस्य हुन सक्छन् भनिएको छ। यसको मतलब हाम्रा पुर्खाहरू पनि एनआरएन थिएनन्। किनकि भुटान सार्क सदस्य राष्ट्र नै हो।
अब यति लेख्दा पनि, अमेरिकामा बस्ने नेपालीहरू एनआरएनको सदस्य किन हुँदैनन् त भन्ने प्रश्न आउला, किनकि हामी नेपाली होइनौँ, नेपाली भाषी हौँ। हामी अमेरिकामा नेपालीको हैसियतमा आएको होइनौँ। अमेरिका आउँदा हाम्रो पहिचान 'भुटानी शरणार्थी' थियो। शरणार्थीको रूपमा अमेरिका आएर, यो देशको नागरिक भएकाहरू अब हामी विदेशमा बस्ने नेपाली नागरिक हौँ भन्दै कसरी एनआरएन हुन सक्छन्?
धेरैले हामी नेपाली हौ भन्दै गर्दा एउटा कुरा भनुम है त, कहीं कतै अमेरिकामा रहेका नेपालीहरुले यति सहयोग गरे, अमेरिकामा रहेका नेपालीहरुले कार्यक्रम आयोजना गरे भन्ने समाचार प्रकाशित भएपछि हामी नेपाली नै हौँ भन्नेहरुले नै ती समाचारहरुमा भुटानी शब्द खोज्न थाल्छन्। अनि भुटानी शब्द नभेटिए सुरू हुन्छ, सामाजिक सञ्जालमामा उत्पात।
अस्ति कहिले हो, रामकृष्ण ढकालले के भन्दा उधुम्म नै मच्चेको थियो। धुर्मुस सन्तलीले अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे भनेर भिडिओ बनाउँदा पनि सामाजिक सञ्जालमामा तिनै नेपाली हौँ भन्नेहरुले 'भुटानी किन नभनेको? हामीले पनि सहयोग गरेको थियौँ' भन्दै स्टाटस लेख्न सुरु गर्छन्। अब भनौँ, तपाईं हाम्रो भित्री आत्माले भन्छ चाहिँ के? नेपाली हौँ भन्छ कि भुटानी पहिला अनि नेपाली भाषा बोल्ने दोस्रो हौँ भन्छ? यही परिस्थितिमा हामी नेपाली हौँ भन्दै एनआरएनको सदस्यता लिने होडबाजी नगरे हुन्छ। हामी नेपाली होइनौँ, यदि हौँ भने हामी भुटानका नेपाली हौँ।
अर्को के हो भने, यदि एनआरएनले आफ्नो नियमवाली संशोधन गरेर नेपाल अनि सार्क सदस्य राष्ट्रहरू बाहेक विश्वका अन्य देशहरूमा बस्ने नेपाली भाषा बोल्ने, नेपाली पुर्खाहरूको सन्तान अनि नेपाली संस्कार-संस्कृत जोगर्न गर्दै नेपाल देश र नेपालमा रहेका नेपाली नागरिकहरूप्रति गरिएको योगदान हेरेर नेपाली भाषी भुटानीहरूलाई एनआरएनको सदस्य दिने निर्णय गर्यो भने, सबैभन्दा पहिला म त्यो सदस्यता स्वीकार गर्नेछु।
(लेखक नेपाली भाषी भुटानी हुन्।)